तारासँग जूनको कथा कहाँ सुहाउँछ र! तातो तेलमा हात हाले अवश्य पोलिन्छ रे। त्यस्तै भयो उनीसँगको सम्बन्धमा। औकात नमिल्नेसँग सिँगौरी खेल्न खोजे सिङ त पक्कै टुट्छ नै, आज म पनि सिङ टुटेको गोरुजस्तै बनेको छु। सिङ त छ तर काम नलाग्ने सिङ।
रातो सारीमा सजिएकी, कोमलतामा लचक्क परेको कम्मरमा को लट्ठ पर्दैन र? त्यसैमाथि शिरमा सजाएका ती बुलाकी फूलका त्यान्द्राहरूले झनै मग्न बनाउने। हाइ, म कसरी वर्णन गरूँ उनको?
त्यो घुमाउरो बाटोमा पहिलो पटक जम्का भेट भएर एक अर्कामा ठोक्किएका हामी, अहिले मलाई मुटुमा परेको चिराको खाल्डै खाल्डामा ठोक्किने बनाएको छ। असार महिनाको हिलाम्मे पानी थाम्न जुधाएका हातहरू अहिले आँखाको नानीबाट बग्ने आँसुको बाढीलाई रोक्ने बार बनाएको छ। अझ भनौँ प्रेमिका उपमा थपिने पागल बताएको छ।
असारको महिना दिदीलाई सघाउन उहाँको घर गएको थिएँ। भिनाजु जागिरको सिलसिलामा बाहिर जानु भएकोले घरमा रोपाइको लागि सघाउने कोही नभएकोले दिदीले मलाई बोलाउनु भएको थियो। दिदीको गाउँ म पहिलो पटक गएको थिएँ। बिहे हुँदा म सानो भएकाले जान नै दिएनन्। त्यसैले पहिलो पटक देखेर होला साह्रै-साह्रै राम्रो लाग्यो उहाँको गाउँ।
गाउँमा सबै आफ्नो आफ्नो रोप्ने काममा खेतमा नै देखिन्थे। पहिलो दिन रोप्नको लागि एक दुई वटा खेत गोरु जोतेर सक्काइयो, अर्को दिन सोही खेत रोप्न भनेर दिदीले बिउ निकालिसक्नु भएको थियो। बिहान खाजा खाएर खेतको लागि गोरु, हलो, जुवासहित घरबाट हिँड्यौँ। भान्जीले गोरु हाँक्दै रोडको बाटो हुँदै गयौँ।
बाटो त अर्को पनि थियो तर पानीले हिलाम्मे भएर चिप्लो हुन्छ भनेर रोडको बाटो रोजियो। पछि दिदी पनि डोको बोक्दै हाम्रो पछि नै आउनु भयो। माथिबाट आउँदै गर्दा कदम घुमाउरो बाटोमा अगाडि 'उही मा' भनेर चिच्याइएको आवाज आयो। भान्जीले 'मर्दैन हो मर्दैन’ भनेको आवाजसँगै म पनि त्यहीनेर पुगिहालेँ।
रातो सारीमा सजिएकी, साइड ब्याग भिरेर मोहडाको साइड कुनामा डराएको अनुहार लगाएर उभिएकी देखेँ। म केही बोलिनँ। त्यतिखेर बोल्नु पनि कसरी? चिनेकै थिएन। तर दिदीले भने एकै आवाजमा ‘गोरुले मार्दैन किन डराएकी यसरी? टाढै हो कि?’ भनेर प्रश्न गर्नु भयो।
उताबाट मधुरो स्वरमा ‘सदरमुकामतिर रेडक्रसको कार्यक्रममा बोलाएका छन्, त्यतै जान लागेकी’ भन्दै हतारको पाइला अगाडि बढाएर निक्ली हाली।
मैले दिदीलाई सोधेँ, ‘को हुन् दिदी उनी?’
दिदीले जवाफमा सुब्बाको छोरी भन्नुभयो। सुब्बा को हो मैले चिनेकै थिइनँ तर पनि ए भन्दै अगाडि बढेँ। उताबाट भान्जीले उत्तर थप्दै, ‘हाम्रो घरभन्दा उता छेउको सेतो कलरको घर छ नि, हो त्यही घरकी हो।’
मैले भान्जीको कुरामा पनि 'ए' थप्दै अगाडि बढेँ। अरू कुरा गर्दै गोरु हाँक्दै खेतमा पुगियो। मैले गोरुलाई जुवा चढाउँदै खेत जोत्नतिर लागेँ। दिदी खाना बनाउँछु भन्दै घर जानु भयो। मैले आधा जति जोतेर सक्काएको थिएँ, दिदीले खाना लिएर आइपुग्नु भयो। खाना खाएर म फेरि गोरु जोत्न थालेँ।
मैले लगभग साढे एक बजेतिर रोप्नको लागी खेत तयार गरिसकेको थिएँ। दिदीले पनि रोप्ने बिउ बोकेर सकिसक्नु भएको थियो। एक दुई जना रोपार आइसक्नु भएको थियो। खेत ठुलो भएकाले दस/बाह्र जना जति बोलाउनु भएको रहेछ। उनीहरू रोप्न थालेसँगै म खेतको भित्तामा बसेर आराम गरिरहेको थिएँ।
त्यही बखत बिहान बाटोमा चिच्याएको आवाज फेरि बोलेको सुनेँ। म बसेको ठाउँबाट रोप्ने ठाउँसम्म देखिँदैन थियो। उठेर हेरेँ, उही रहेछिन् सुब्बाको छोरी। गाउँमा उसका बुवाले पहिलो पटक नायब सुब्बामा नाम निकालेकाले उसको नामै सुब्बा भनेर बोलाउँदा रहेछन्। अहिले उपसचिव छन् रे उसका बुवा, पछि थाहा पाएको भिनाजुसँगको कुराकानीबाट।
उसलाई देख्नकै लागि भए पनि म खेतको भित्ताबाट माथि खेतमा उक्लिएँ। निधारमा टाढैबाट देखिने टीका, कपास जस्तो कोमल शरीरलाई ढाक्न कुर्ता सुरुवालमा सजिएकी, कम्मरमा भिरेको चुन्नी कस्दै खेतमा पसी। यस्तो लाग्यो, सेतो रंगमा कालो दाग पसे जस्तै उसका पाउले खेतको हिलाम्मे पानीमा चुर्लुम्मै डुबुल्की हान्यो। मेरा नजर एक्लिएर एकोहोरो भए।
उसलाई नजिकबाट देख्नकै लागि रोपिरहेको खेतको माथिल्लो खेतको मिलाइसकेको आलीलाई फेरि मिलाए जस्तै गरेर नजिकै गएर मिलाउन थालेँ। मलाई थाहा थिएन मिलाइसकेको आली जस्तै उनी अर्कैसँग मिलेको सम्बन्धमा म फेरि सम्बन्ध मिलाउने छु भनेर।
त्यही बखत उनीसँग मेरा नजरका तीरहरू एक अर्कामा जुध्न थाले। जुध्दा जुध्दै कति खेर मेरो दिलमा उनको प्रहारको तिरले लागिसकेछ थाहै पाइनँ। दिदीसँग मेरो बारे लिएर भाउजू भन्दै जिस्किन थाली। दिदीकी नन्द साली तिला।
उसको नाम त कुसुम थियो तर उसको आँखाको नानीको कुनामा कालो तिलाखोटी थियो। त्यसैले मैले उसको नाम नै तिला राखिदिएँ। यो नाम उसका लागि असह्य थियो। आफूलाई होच्याए जस्तै ठान्थी। अरूले नाम लिए गाली गर्थी, त्यति मात्र नभई झगडा समेत गर्न तम्सिन्थी। तर मैले भन्दा भने त्यति अप्ठ्यारो नमाने झैँ कुरा गर्थी।
रोपाइको खेतबाट सुरु भएको हाम्रा सम्बन्ध प्लेनको जेटसम्मको यात्र बाट अन्त्य भयो।
दिदीको मोबाइलबाट उहाँले थाहा नपाउने गरी उसको नम्बर खोजेँ। तर दिदीले नामले नभई नन्द भनेर सेभ गर्नु भएको रहेछ। खोज्दा मैले नचिनेपछि भान्जीलाई उनी नजिकै भएको बेला फोन गर्न लगाएँ। भान्जीलाई थाहा रहेछ उनको नम्बर, भान्जीले नै सेभ गरेकी रहेछिन्। भान्जीले पनि जिस्किँदै मिसकल गरिन्। उनले फोन खोलेर हेरिन्। त्यसपछि मुस्कुराएर रिसाए जस्तै गरी भान्जीलाई गाली गर्न थालिन्। मैले उनको नम्बर त्यही बखत याद गरेर आफ्नो फोनमा सेभ गरिहालेँ। उनले थाहा पाइसकेकी थिइन् भान्जीले आफैले नभई मैले नै फोन गर्न लगाएको भनेर, मतिर हेर्दै मुस्कानको छरपस्ट छाडिन्।
दिदीकोमा रोपाई सक्काएर घर फर्किएँ। फर्कँदा बाटोसम्म छोड्न दिदीसँग तिला पनि पुगेकी थिइन्। घर पुगेपछि हाम्रो कुरा हुन थाल्यो। उनी सहरमा बसेर प्रविणता तह पढ्न गइन्। मैले गाउँमै १२ कक्षा पढेर सक्काएँ। उनीसँग दिनहुँ मिठा-मिठा मायाले भरिएका कुराकानी हुने गर्थे।
‘तिम्रा बाबाले हाम्रो सम्बन्ध स्वीकार नगरे के गर्छौ?’ भनेर सोधेको प्रश्नमा ‘तिमीसँग भागेर जाने’ उत्तर दिन्थिन्। यस्तो लाग्थ्यो म उसका लागि उसको परिवारभन्दा ठुलो छु। तर म भ्रममा रहेछु। उनी सहरमा पढे पनि हाम्रो +२ सँगै सक्किएको थियो। +२ पछि विदेश जान्छु भन्दै थिई तर उसका बुवाले भने नेपालमै बसेर लोक सेवाको तयारी गर भनेर विदेश जान दिएनन्।
एक वर्ष जति उनले र मैल सँगै मिलेर लोक सेवाको तयारी गर्यौँ। तर नाम कसैको निस्केको थिएन। फागुनको महिना हुँदो हो। हाम्रो सम्बन्धको बारे उनका बुवाले थाहा पाए। उनको फोन नै खोसेर फाल्दिए। उनलाई घरबाट समेत बाहिर निस्कन दिएका थिएनन्। उनका बुवाले मलाई बोलाएर उनकै अगाडि नानाथरी कुरा भने। मलाई मेरो औकात नमिल्नेसम्मको अपमान गरे। आफूलाई असह्य भएर म घर फर्किएँ।
कोठाको एकान्त कुनामा बसेर खुब रोएँ। अपमान गरेको कुरा सम्झेर झारेको आँसुले समेत आफूलाई गिज्याइरहेको जस्तो लाग्यो। मेरो र तिलाको भेट कहिल्यै भएन। उनलाई विदेश पठाइदिए उनका बुबाले। विदेश जान्छु भन्नेलाई रोकेर लोक सेवाको तयारी गर्न लगाएका तिलाका बुवाले अहिले आफैले विदेशको भिसा लगाएर पठाइदिए। त्यसपछि मलाई पनि लाग्यो, साँच्चिकै हाम्रो औकात नमिलेकै रहेछ।
म एक्लै बसेर लोक सेवाको तयारी गर्न थालेँ। नभन्दै मैले एक वर्षमै संघीय नायव सुब्बामा एक नम्बरमै नाम निकालेँ। त्यति खेर लाग्यो म त यसअघि लोक सेवाको तयारी होइन, मायाको तयारी गरेको रहेछु। एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ भन्थे हो रहेछ। प्रेमको ढोका मेरा लागि बन्द भए पनि सफलताको ढोकाले भने उच्च विन्दुमै पुर्यायो।
पहिलो नम्बरमा नाम निकालेकालाई कार्यालय छनोट गर्न पाइँदो रहेछ। मैले अर्थ मन्त्रालय रोजेँ। जहाँ मानप्रसाद ठाकुर कार्यालय प्रमुख थिए। जसले यस अगाडि गरिब, बेरोजगार, फेलर भनेर मेरो मायाको अगाडि अपमान गरेका थिए। तिलाका बुवा।
आज तिनै मानप्रसादले ‘वेलकम सुब्बा साब’ भन्दै आफ्नो कार्यालयमा स्वागत गरे। बोलीले नभने पनि अनुहारको रङले पछुताएको देखाइरहेको थियो कार्यालय प्रमुखको।
काम गर्दै समयपछि मैले सरकारी स्कलरसिपमा विदेश अस्ट्रेलिया पढ्न गएँ। म पढ्ने कलेजमा नेपाली केटीसँग परिचय भयो। उनी पनि सोही कलेजमा पढ्दै गरेकी रहेछिन्। विदेशको ठाउँमा मैले त्यति चिने जानेको ठाउँ थिएन। समीक्षासँगको चिनाजानले मलाई धेरै सहयोग भयो। हाम्रो फ्याकल्टी फरक थियो तर पनि भेट भई राख्ने कलेज आओ जाओ सँगै हुने। प्रायः हाम्रो समय कलेजको क्यान्टिनमा र लाइब्रेरीमा बित्थ्यो।
उनलाई नेपाली खानामा समोसा खुब मन पर्ने रहेछ। तर विदेशी-क्यान्टिनमा, होटेलहरूमा पाउँदैन थियो। समोसा खान एक जना नेपालीले खोलेको कलेजभन्दा १० किलोमिटर दूरीमा रहेको होटेलसम्म पुग्थ्यौँ। एक दिन समीक्षाले मलाई घुम्न जाऊँ भन्दै समुद्रको किनारमा लगिन्।
हामीले समुद्रमा खुब रमाइलो गर्यौँ। दिन भरको समय त्यतै बित्यो। फर्किने बेलाको समयमा जोरको वर्षा भयो। हामी भिजिरहेका थियौँ। त्यही बखत समीक्षाले मलाई प्रेम प्रस्ताव गरिन्, अरू घुम्न आएका पर्यटकहरूले हेरिरहेका थिए। मैले एकैछिन अलमलमा पर्दै यताउति हेरेर उनको प्रस्ताव स्वीकार गरेँ। हेरिरहेका विदेशीहरूले ताली बजाएर खुसी मनाए। यसअघि साथी रहेका हामी अब प्रेमी प्रेमिका थियौँ।
समय यसै गरी बित्दै गयो। हाम्रो स्नातक तहको पढाइ पनि अन्तिम वर्षमा पुगिसकेको थियो। समीक्षाले एक दिन मलाई आफ्नो परिवारसँग मिलाउन भन्दै डिनरमा बोलाइन्। उनले मेरो बारेमा घरमा भनिसकेकी रहेछन्। म उनको निम्तालाई स्विकार्दै उनको घर गएँ। मैले ढोकाको बेल बजाएँ।
भित्रबाट ढोका खोल्दै ‘को हो?’ को आवाजमा उही पुरानो अनुहार देखेँ। जुन अनुहारले मलाई अपमानको दूरी हुँदै सफलताको धुरीसम्म पुग्यो। कुसुम क्या! उही तिला। म एकैछिन अलमलमा परेँ। गलत लोकेसनमा आएछु भन्दै पछाडि फर्किँदै थिएँ। भित्रबाट समीक्षाले मेरो नाम लिँदै बोलाइन्। तिलासँग ‘मेरो ब्वाइफ्रेन्ड भाउजू’ भन्दै परिचय गराइन् र भित्र बोलाइन्।
म अझै पनि असहज अवस्थामा थिएँ। मनमा डर र त्रासको तरङ्गहरू फुट्न थाले। लाग्यो कतै भगवानले नै यो सबै बदलाको प्लान बनाएर मलाई पठाएका त होइनन्। तिला समीक्षाको भाउजू रहिछिन्। समीक्षाका दाइसँग तिला सहर पढ्न आएका बेला प्रेममा परेका रहेछन्। त्यसपछि समीक्षाका दाइले अस्ट्रेलिया आएका रहेछन्।
यसअघि तिलाको विदेश जान्छु भन्दै जिद्दी गर्नुको कारण यही रहेछ, बल्ल बुझेँ। तिला विदेश आउने बित्तिकै बिहे गरेकी रहेछिन्। विवाहकै विषयमा आफ्ना बुबासँग नोकझोक चलेको रहेछ। त्यसैले अहिले बोलचाल छैन रे बाबु छोरीबिचमा।
यी सबै कुरापछि समीक्षाले मलाई भनेकी थिइन्।
हामी एकैछिन आराम गरेर खाना खान टेबलमा बस्यौँ। टेबलमा धेरै थरीका खानाका परिकारहरू पकाएका थिए। प्रायः माछा र मासुका परिकार थिए। सबै जना आफ्नो थालमा आफूलाई चाहिए जति खाना थप्दै खाइरहेका थिए तर तिलाले भने माछा-मासुका कुनै पनि परिकार खाएको नदेखेपछि किन यो पनि खान अनुरोध गर्दा माछामासु नखाने कुरा जानकारी पाएँ।
मनमनै आवाज आयो, सिधै मुटु खान सक्नेले किन माछा मास खाँदिनँ भनेर नाटक गरेको होला। हुन त मेरो मुटु खाएर कहिल्यै खान नसक्ने गरी अघाएको पो हो कि! खाना खाएर म बिदा भएँ।
विदेशको पढाइ सकिएसँगै समीक्षा र म कोट म्यारिज गरेर नेपाल फर्कियौँ। अहिले छोरीको नाम पनि तिला राखिदिएको छु। तिला मलाई खुब मन पर्ने नाम हो। उनीलाई मैले बाहेक अरू कसैले तिला भनेर बोलाउँदै थियो, कुसुमको पनि मैले मायाले राखिदिएको नाम थियो तिला। त्यसैले आफ्नै छोरीको नाम तिला राखेको हुँ।
समीक्षा पनि अहिले नेपाल सरकारको शाखा अधिकृत छिन्। घरबार पनि राम्रै चलिरहेको छ तिलाकी आमासँग।