गाउँको पश्चिम पाखामा फैलिएको विशाल चौर, जहाँ ऋतुहरू आएर गए तर चौरको सौन्दर्य कहिल्यै मरेन। वसन्त आउँदा घाँसमा हरियाली हुन्थ्यो, शीतका थोपा मोतीझैँ चम्किन्थे। गर्मीमा त्यही हरियाली सुनौलो बन्थ्यो, वर्षामा आकाशका आँसु पिउँदै ओसिलो हुन्थ्यो। जाडोमा भने चौर सेतो हिउँले ओढिन्थ्यो र शान्त ध्यानस्थल जस्तो देखिन्थ्यो।
त्यो चौर घोडाहरूको संसार थियो। सयौँ घोडा त्यहाँ दौडन्थे— सेता, खैरा, धर्से, कालो। कोही स्थूल, कोही पतला, कोही तेजस्वी, कोही मृदु। सबैका आफ्नै सौन्दर्य र सामर्थ्य थिए। तर ती सबैमध्ये एउटै घोडा अनुपम थियो।
उसको शरीर हल्का रातो रङमा सुनौलो झिल्को मिसिएको। घाम परेपछि उसका रौँ चम्कन्थे, मानौँ रगत र सुन मिसाएर बनाइएको मूर्ति जस्तो। निधारमा अर्धचन्द्राकार सेतो टिका, चारै खुरमा दूधजस्ता गोरेटाहरू। उसको केश र पुच्छर रेसमी— हावाले छोएरै नाच्ने खालको थियो। उसको नाम थियो कन्चन।
गाउँका मानिसहरू प्रायः एउटै कुरा भन्थे— ‘यो त राजा बोक्ने घोडा हो।’
कन्चन पनि गर्वले भन्थ्यो— ‘म सामान्य यात्रुको लागि होइन। मेरो पीठमा केवल राजाको लागि हो।’
वर्षौँसम्म ऊ यही गर्वमा डुब्यो। धेरै प्रस्ताव आए— व्यापारीहरूले धन देखाए, धावकहरूले कीर्तिको वाचा गरे, आरोहीहरूले साहसिक यात्राको प्रस्ताव राखे। तर ऊ हरेकलाई उही जवाफ दिन्थ्यो—’राजा बाहेक अरूलाई म बोक्दिनँ।’
वर्षौँको प्रतीक्षापछि त्यो दिन आयो— चौरले जीवनमै पहिलो पटक यस्तो तामझाम देख्यो। बिहानैदेखि नगाऱ्याहरू बज्न थाले, शंखध्वनि गुन्जियो। सैनिकहरूको लामो पङ्क्ति ध्वजासहित प्रवेश गर्यो। धुलो उड्दै थियो, सूर्यको किरण सुनौलो धाराजस्तो चौरमा खस्दै थियो। वातावरण एकाएक राजकीय भइसकेको थियो।
टाढाबाट स्वर्ण कवचमा राजा देखा परे। उनको अनुहार शान्त तर दृढ, आँखा परखमा गहिरा थिए। उनका पछि सेनापति, सैनिक र दरबारीहरू; अगाडि शाही ध्वजाहरू फरफराइरहेका थिए। हावामा धूपको सुवास, नगाऱ्याको गडगडाहट र जनसमुदायको जयघोष मिसिएको थियो।
घोडाहरू पङ्क्तिबद्ध उभिए। तीमध्ये सबैभन्दा अगाडि रक्तवर्णी अनुपम घोडा कन्चन थियो। उसको मुटु ढकढकाइरहेको थियो।
‘आज मेरो सपना पूरा हुन्छ,’ ऊ सोच्दै थियो।
राजा हिँड्दै एक–एक घोडा निरीक्षण गर्दै अघि बढे। जब उनी कन्चन घोडासामु आए, केही क्षण मौन रही उसको रूप निहालेर मधुर तर गम्भीर स्वरमा सोधे— ‘युद्धको धूलो सुँघेको छौ?’
‘छैन, महाराज।’
‘दुर्गम पर्वत चिरेर यात्रा गरेको छौ?’
‘छैन, महाराज।’
‘जनताको भारी बोकेर लामो बाटो काटेको छौ?’
‘छैन, महाराज।’
राजा मौन भए। त्यो मौनताले चौरलाई शून्य बनायो। नगाऱ्याहरू रोकिए, हावा पनि थामियो।
त्यस बेला राजाका सैनिक अघि बढे। उनीहरूको स्वर दृढ तर चिन्तित थियो— ‘महाराज, यो यात्रा छोटो छैन। मार्ग दुर्गम छ, वन र नदी पार गर्नु पर्नेछ। शत्रुहरूको सम्भावना छ। तपाईंको सुरक्षा पहिलो कर्तव्य हो। अनुभव नभएको घोडामा राजकीय जीवन राख्नु खतरापूर्ण हुन्छ।’
राजाका गुरुले पनि मधुर तर गहिरो स्वरमा थपे— ‘रूपले दृष्टि जित्छ महाराज, तर यात्राले रूप होइन, धैर्य र अनुभव माग्छ। अनुभवी घोडा मात्र संकट पार गर्न सक्षम हुन्छ।’
राजाले गहिरो सास ताने। आँखामा मिश्रित भावना थियो— सौन्दर्यप्रतिको मोह र जिम्मेवारीको भार। उनी रक्तवर्णी कन्चनतर्फ हेर्दै शान्त तर दृढ स्वरमा बोले— ‘तिम्रो रूप अनुपम छ। तर राजा बोक्ने योग्यतामा रूप मात्र पुग्दैन। यो यात्रा लामो छ, गन्तव्य कठिन। त्यसैले म अनुभवी घोडा रोज्छु।’
त्यस वाक्यसँगै राजाले अर्को घोडा रोजे— अलिक साधारण देखिने तर युद्ध र यात्रामा तातो–चिसो भोगिसकेको अनुभवी। जयघोष गुन्जियो। नगाऱ्याहरू पुनः बज्न थाले। सैनिकहरूको पङ्क्ति अघि बढ्दै गयो र राजकीय रथ चौरबाट टाढिँदै गयो।
रक्तवर्णी कन्चन त्यहीँ उभिएको थियो। गर्वले बनेको पहिरन एकाएक भत्कियो। उसको आँखा भरियो, आँसु पोखियो। ऊ भक्कानिएर रोयो। उसको रोदन मौन चौरमा टल्कियो।
अन्य घोडाहरू, जो पहिले उसलाई हेरेर चुपचाप हुन्थे, अहिले कानमा कान राखेर कुरा काट्न थाले—
‘रूप मात्र भएर के हुन्छ र?’
‘अनुभव बिना राजा बोक्ने सपना के कामको!’
‘अब उसको गर्व फुट्छ।’
यी शब्दहरूले रक्तवर्णी कन्चन हृदयमा बाणझैँ चोट पुर्याए। उसको घमन्ड टुक्रा टुक्रा भयो— छताछुल्ल। उसले महसुस गर्यो, ‘मेरो सौन्दर्य नै मेरो बाधा बन्यो। मैले यात्राको धूलो सुँघिनँ, मैले कठिनाइको बाटो हिँडिनँ। गर्वमै रमाएँ र अवसर गुमाएँ।’
पीडाले भरिएको मुटु लिएर ऊ थचक्क भुईँमा ढल्यो। आँसु ओसझैँ झरिरहे। हावाले उसका रेसमी केश उडाउन थाल्यो। तर यो पटक त्यो हावामा गर्वको झल्को थिएन, पीडाको धुन मात्र थियो।
सूर्य अस्ताउँदै गयो। पश्चिम क्षितिज रक्तिम भयो, सुनौलो किरण गाढा रातमा हराउँदै गयो। आकाशका बादलहरू पनि निस्तब्ध भए। चौर सुनसान भयो। चिरबिर गर्ने चराहरू थामिए, नगाऱ्याहरूको ध्वनि पनि टाढा हरायो।
र रात आयो— चकमन्न, गहिरो, मौन। केवल त्यो मौन रात र एक पीडाले भुईँमा ढलेको कन्चन— जसको गर्व रूपमै बन्धक भएको थियो।