भदौरे दिन। झरी परेकै छ। बाटामा हिँड्नेहरू भिजिरहेकै छन्। ट्याक्सीमा आफ्नो डेरातर्फ हिँडेका एक दम्पतीको मन भने एकअर्काप्रति भिज्न सकिरहेको छैन। दुई वर्षपछि पूजा इजरायलबाट फर्केकी थिई। केवल आफ्नो देश र आफ्नो पति महेशलाई सम्झेर।
ट्याक्सी भर्खर एयरपोर्ट गेटबाट बाहिर निस्केर गौशाला उकालो लाग्दै थियो। सहर रुझेकोले बाहिर हल्का चिस्यान थियो। सायद भित्र बसिरहेका दम्पतीबिच व्याप्त चिसोपनभन्दा कम। उनीहरू दुईबिचको अस्वाभाविक मौनता र असहजताले चालकलाई समेत घरीघरी रियर भ्यु मिररमा हेर्न बाध्य बनाइरहेको थियो।
पूजा महेशसँग कुरा गर्न सकिरहेकी थिइन। ऊ महेशतिर प्रेमपूर्ण हेराइ हेर्छे। महेश भने निर्वाक् झ्यालबाहिर एकोहोरो हेरिरहेको छ। आज पूजा विदेशबाट फर्केकी छे तर ऊ एक्लै आएकी छैन। ऊसँगै, अझ भनौँ ऊभित्रै उसले अरू कसैलाई पनि लिएर आएकी छे। छिनछिनमा महेश पूजाको बढ्दै गएको पेटतिर हेर्छ र एउटा उच्छ्वास फाल्छ।
‘ब्रदर हामीलाई चाबहिलमै झार्दिनू। पहिलाको लोकेसन क्यान्सिल गरौँ है,’ अघि देखिको मुर्दा शान्ति महेशले भंग गर्छ। ट्याक्सी चालकले पनि स्थितिको गम्भीरतालाई बुझेर केही नबोली सहमतिमा टाउको तलमाथि गर्छ।
सबै ट्याक्सीबाट ओर्लिए। चालकले डिकी खोलेर पूजाको कालो सुटकेस निकाल्यो। महेशले भाडा दियो। ट्याक्सी धुलो उडाउँदै त्यहाँबाट हुइँकियो।
चाबहिलको गेस्ट हाउस। गेस्ट हाउस एउटा सानो रुम। महेश र पूजा बेडमा बसेर अघिकै शून्यतालाई निरन्तरता दिइरहेका छन्। नीलोपुल बस्ने महेशले आफ्नी पत्नीलाई दिउँसोको उज्यालोमै डेरा लान चाहिरहेको छैन। कारण पूजा हैन। उसमा देखिँदै गएको शारीरिक परिवर्तन हो।
‘केही खाने हो?,’ महेशले नै कुराको गाँठो फुकाउँछ।
‘अघि फ्लाइटमै खाएँ मैले। तपाईं खानु न,’ पूजा बल्ल बोल्न पाउँछे। अनि मनमनै थोरै हलुंगो पनि हुन्छे।
आज एकअर्कासँग यसरी नापजोख गरेर बोल्नु पर्ला भनेर सायद यी दुवैले कहिले सोचेका थिएनन्। महेश चुपचाप कोठाबाट निस्केर तल झर्छ। पूजाले ऊ सिँढी झर्दै गरेको आहट सुनिरहन्छे र आफू पनि वर्तमानको खुड्किलो झर्दै विगततिर पुग्छे।
दुई वर्षअघि महेश र पूजा एक नवदम्पती थिए। उनीहरू बिच प्रगाढ माया थियो। गर्नलाई सीमान्त कुराहरू थिए। तर दुवैसँग एउटा दिगो र भरपर्दो जागिर थिएन। पैसाको अभावले यिनीहरूको जीवनलाई निकै कष्टकर बनाइरहेको थियो। दुवैले एउटै कलेजबाट स्नातक गरेका थिए।
बिए पास गरिसकेपछि दुवैले जागिरको लागि धेरै दौडधुप र कसरत गरे। पूजालाई पत्रकारितामा औधी रुचि भएकोले ब्याचलरमा पनि मेजर आमसञ्चार नै लिएकी थिई। एक दिन एउटा राष्ट्रिय स्तरको मिडियामा संवाददाताको रिक्त देखेपछि पूजाले आफ्नो सिभी पठाइहाली। निकै तयारी गरेर एकदमै राम्रो अन्तर्वार्ता पनि दिई।
आफू पत्रकारिताको नै विद्यार्थी भएकोले र अन्तर्वार्ता पनि सोचेभन्दा राम्रो भएकोले ऊ आफूले जागिर पाउनेमा ढुक्क थिई। तर हामी तपाइलाई सम्पर्क गर्छौँ भनेर बिदा गरेका अधिकारीहरूसँग फेरि कहिल्यै पूजाको सम्पर्क भएन। पछि त्यहीँको समाचार बाचिका साथी रेखाबाट उसले थाहा पाई कि त्यो जागिर उनीहरूकै कार्यकारी सम्पादकको नाता पर्ने कोही मान्छेले पाइसकेको रहेछ।
भ्याकेन्सी, अन्तर्वार्ता त केवल देखाउनलाई गरिएको औपचारिकता मात्र थियो। रेखाको कुराले पूजाको मन साह्रै खिन्न भएको थियो। आफूसँग योग्यता र सक्षमता भएर पनि तल पर्नु पर्ने समाजको व्यवहार र व्यवस्थासँग उसलाई उदेक लागेको थियो।
पूजासँगै महेश पनि एउटा स्थायी जागिरको खोजीमा दिनदिनै भौँतारिरहेका थियो। एक पटक नेपाली सेनामा अधिकृत क्याडेट र एक पटक नेपाल प्रहरीमा इन्स्पेक्टरको लागि पनि भिडिसकेको थियो। लिखित, शारीरिक, अन्तर्वार्ता, सहनशीलता सबै परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदा ल्याउँदै पनि महेश राजनीतिक सिफारिस र शक्तिशाली पहुँचको जाँतोमा घुन जसरी पिसियो।
मेरिट लिस्टमा आफ्नो नाम आँखा नचिम्ली तीन पटकसम्म खोज्दा पनि नभेटेपछि महेशले आफ्नो फोनलाई भित्तामा झटारो हान्यो। मनमनै देशको भ्रष्ट व्यवस्थालाई आमाचकारी गाली गर्यो। अनि सिरकले सिरदेखि पैताला छोपेर सुतिरह्यो। तर सधैँ सुतिराखेर उसलाई ओछ्यानमै कसैले केही टक्राउने वाला थिएनन्।
उठ्नु पर्ने त थियो नै। अरू जागिर नखोजी अर्को विकल्प पनि थिएन किनकि अब ऊ पहिला जस्तो एक्लै पनि त थिएन। गाउँमा भएका बुवाआमासँग अलिअलि खर्च पठाइ माग्दै महेशले जेनतेन काठमाडौँमा पूजासँग रुक्खा सुक्खा जीविका चलाइरहेको थियो। आफू सबल र सक्षम छोरो भएर पनि प्रत्येक पटक घरकारहरूसँग पैसाको लागि हात पसार्दा उसलाई मनको भित्री तहसम्म लाज र संकोच लाग्थ्यो। त्यसैले उनीहरू दुवैले चाँडोभन्दा चाँडो कुनै दिगो रोजगार पाउनलाई हड्डी खियाउँदै थिए।
ढक्-ढक्! ढक्-ढक्!
महेशले ढोका खोल्यो। पूजा महेशलाई हेरेर मुसुक्क मुस्कुराई। निधारमा फुटेका पसिनाका थोपा पुछ्दै भित्र छिरी।
‘खाना खानुभयो?’
‘खाएको। हातखुट्टा धोऊ। म खाना पस्की दिन्छु,’ महेशले चुला बाल्दै भन्यो।
‘हस्।’
‘अन्तर्वार्ता कस्तो भयो?,’ महेशले पूजालाई एक पन्युँ भात थपिदिँदै सोध्यो।
‘दामी भएको छ। कहिले रिजल्ट आउँछ जस्तो भइसक्यो,’ पूजा उत्साहित सुनिई।
‘किन र?’
‘कस्तो किन र? जति छिटो जागिर पाइयो, त्यति राम्रो नि।’
पूजाको उत्साह देखेर उसले जागिर पाउनेमा महेश पनि लगभग निश्चिन्त भयो। ऊ धेरै दिनपछि दिल खोलेर मुस्कुरायो।
दुई हप्ता बित्यो। जुन बोर्डिङमा शिक्षिकाको लागि पूजाले अन्तर्वार्ता दिएर आएकी थिई, त्यहाँबाट न कुनै फोन आयो न मेल। दिनहरू अझै बित्दै जाँदा उसले बुझिसकेकी थिई कि ऊ फेरि पनि योग्य हुँदाहुँदै तल परिसकेकी छे। आफ्नै देशमा आफ्नो सक्षमताको भरमा जागिर खान नपाउनु कस्तो विडम्बना! कस्तो बिचल्ली!
त्यस दिन पूजालाई नराम्रो धक्का लाग्यो। महेश दिनभरि ऊ नजिकै बसिरह्यो। उसलाई आफ्नो अङ्गालोमै कसिराख्यो। आज ऊ काम खोज्न पनि बाहिर गएन। पैसा सकिँदै गएको पर्सबाट ४०० रुपैयाँ झिक्यो। सुँगुरको आधी किलो मासु ल्यायो र मीठो गरी बनाएर पूजालाई आफ्नै हातले खुवायो। पूजा महेशको मायाले पूर्णतः रुझी। उसले एकछिनलाई आफ्नो समस्याहरूलाई पनि बिर्सिदिई।
राजनीतिक सिफारिस, माथिल्लो तहसम्म पहुँच, नातावाद, कृपावाद, बेथिति, अनियमितताले शिथिल भएका नेपालीहरूको लामो सूचीमा उनीहरूको पनि नाम दर्ज भइसकेको थियो। आफ्नो देशमा सिधा तरीकाले कुनै गतिलो जागिर पाउने अब उनीहरूलाई आस थिएन। बाँच्नलाई केही त गर्नै पर्ने थियो। दुई छाक खाने र लाउने जीवनशैलीमा सीमित उनीहरू बस्न सक्दैन थिए।
अलि पढे लेखेको हुनाले साह्रै मामुली काम गर्न पनि उनीहरूको मनले मान्दैन थियो। त्यसैले आखिरमा पूजाले पनि त्यहीँ बाटो रोजी जुन दैनिक हजारौँ नेपालीले रोज्छन्। अंशमा परेको गाउँको एक रोपनी जग्गा बैंकमा धितो राखेर महेशले पूजालाई इजरायल पठायो।
खासमा ऊ आफू नै ड्राइभिङ कामको लागि साउदी जाने वाला थियो तर मेडिकल दिएर पठाओमा फर्किँदै गर्दा चालकले बाइक सिधै एउटा ५–६ फिट गहिरो खाडलमा लगेर छिराइदियो। महेशको दाहिने हातमा प्लास्टर लाग्यो। डाक्टरले महेशको हात ७–८ महिनासम्म यस्तै रहने जानकारी दिएपछि उसको पसिना छुट्न थाल्यो। बैंकको सावाँ-ब्याजले उसलाई निद्रामा पनि झस्काउन थाल्यो। यता आफ्नो उपचार खर्चले झन् जटिलता निम्त्याइरहेको थियो। तब बाध्य भएर उसले पूजालाई नै विदेश जान सुझायो।
घर, परिवार र झन्झन् बिग्रिँदै गएको जीवनको सन्तुलन मिलाउन पूजाले सोझै महेशको सुझावमा सही थपी। महेशको भाइ जो काठमाडौँमै छुट्टै कोठा लिएर बसेको थियो। उसलाई केही समय महेशसँगै बस्न र दाइको राम्रो हेरचाह गर्नु भनी जिम्मा लगाएर पूजाले नेपाल छोडी। इजरायल छिरी।
इजरायलमा एउटा धनी यहुदी परिवारको घरमा उसले केयर गिभरको काम गर्न थाली। नील र उसकी श्रीमती रोना दुवै कामको सिलसिलामा घर वा सहर बाहिर हुँदा पूजाले उनीहरूको दुई छोरीको स्याहार गर्नुपर्थ्यो। साथै धेरथोर घरायसी काम पनि उसले गर्थी।
इजरायल आएको डेढ वर्षसम्म त सबै राम्रै चलिरहेको थियो। पूजाले कमाए जति पैसाबाट आफूलाई थोरै खर्च राखेर बाँकी सबै महेशलाई पठाइरहेकी थिई। यता महेशले पनि त्यस पैसाले बैंकको ऋण तिर्दै घर व्यवहार चलाउने र सानोतिनो बचत, लगानी पनि गर्न थालेको थियो। ऊ आफू पनि एउटा रात्रि क्लबमा बाउन्सरको काम गर्थ्यो।
उनीहरूको जीवनको सन्तुलन बल्ल मिल्न थालेको थियो तर जीवनमा सबै सधैँ एकनास रूपमै चल्ने भए किन पो जीवन। पूजाको सहज हुँदै गएको जिन्दगीमा एक दिन बज्रपात पर्यो जब उसको मालिक नीलले उसको पासपोर्ट, नागरिकता मागेर आफूसँगै राख्यो। उसलाई यौन शोषण गर्न थाल्यो।
उसकी पत्नी रोना कामले दुई–तीन दिन नै बाहिर हुँदा उसले पूजाको शरीरलाई जबरजस्ती धेरै पटक भोग्यो। अरूको देशमा, अनजानहरूको बिच, यसै त सिँधी सोझी पूजाले केही प्रतिकार गर्न सकिन। पासपोर्ट र नागरिकता जफत गरी नपुगेर नीलले उसको नग्न तस्वीर र भिडियोहरू पनि बनाएको थियो।
‘कसैलाई यसबारे भनिस् भने तेरो सबै फोटो र भिडियोहरू पोर्न साइटहरूमा हाल्दिन्छु,’ प्रत्येक पटकको करणी पछि एउटा धम्कीपूर्ण चेतावनी दिन उसले छुटाउँदैन थियो।
अपराधी नील भए पनि पूजाले आफूलाई दोषीसरह सजाय दिइरहेकी थिई। परदेशी ठाउँमा उसको मन बहलाउने र खुसी हुने आधार महेशसँग फोनमा हुने कुराकानी नै थियो। तर पहिला जस्तै ऊसँग घण्टौँ खुलेर फोनमा गफिने उसको चाह मरिसकेको थियो। महेशसँग राम्ररी कुरा नगरी नै उसले बिचैमा कल काटिदिन्थी।
उसले पटक-पटक सम्पर्क गर्न खोज्दा पनि पूजाले फोन उठाउँथिन। धेरै पटक महेशलाई यताको बारे भन्न उसले कोसिस गरी तर मनको भावनाले शब्दको आकार लिन सकेन। नेपालबाट ऊ बिचराले के पो गर्न सक्ला र भन्ने सोचेर चुपै रही। सबै सही रही। महेशलाई झन् पीडा थपिदिन उसले सकिन।
यता आएको दुई वर्ष पुग्न लागेकोले उसले चाँडै छुट्टीमा नेपाल जाने सोच बनाइसकेकी थिई । नेपाल पुगेर भेट्ने बित्तिकै महेशलाई अङ्गाल्ने, चुम्ने र मनभरिको माया गर्ने सपना थियो उसको। सबै धुलो भए। घरीघरी आफ्नै शरीर र रूपसँग उसलाई रिस उठ्यो। त्योभन्दा बढी आफ्नो भाग्यसँग झोक चल्यो। चितामा पुर्याउने चिन्ता र मानसिक पीडाले उसको रूप, रंग, तौल, पहिरन सबै टिठलाग्दो देखिन थालेको थियो।
एक दिन उसलाई अचानक रिँगटा लागेझैँ भयो। जीउ साह्रै बोधो र निष्क्रिय जस्तो देखेकोले रोनाले नै उसलाई हस्पिटल जान भनी।
ऊ दुई महिनाको गर्भवती पनि भइसकेकी रहेछ। अत्यधिक मानसिक तनाव र पीडाले शरीरमा समस्या आएकोले महिनावारी बिग्रेको होला भनेर यतिन्जेल उसलाई लागेको थियो। तर हस्पिटलमा वास्तविक कारण थाहा पाएपछि उसले टेकिरहेको भुइँ जोडले थर्कियो। चर्चरी धाँजो फाटेको जमिन जस्तै उजाड भयो उसको मन। जीवन।
निष्प्राण जस्ती भएर पनि उसले दिन कटाउँदै गई। नीलकी दुइटी छोरीलाई हेर्दा उसलाई उनीहरूप्रति दया लागेर आउँथ्यो। बाउको पाशविकतासँग साक्षात्कार भएको दिन यिनीहरूको हालत के होला? कसरी अरूको सामु पर्लान् यिनीहरू?
उता आफ्नो बद्लिएको व्यवहारले गर्दा महेश कुन सकसमा होला। सम्झिँदा उसको तनमन फेरि फतक्कै गल्थ्यो।