बिहानको हावा अलिक चिसो थियो।
सहर भर्खर बिउँझन थालेको थियो। म भने त्यो घडीभन्दा धेरै पहिल्यै उठिसकेकी थिएँ— कुनै विशेष उद्देश्यबिनै, केवल श्वास लिने चाहनामा। शरीर त थाकेको थिएन तर मन थाकिसकेको थियो। केही भन्न नसकेर, केही पाउन नसकेर र अरू कसैलाई थाहा नहोस् भनेर मुस्कान ओढेर बाँचिरहँदा भित्र कतै आफैसँग टाढा भइसकेको महसुस भइरहन्थ्यो।
सहरबाट केही टाढा, तिरिङ खोला बग्दथ्यो— कन्चन, शान्त अनि निरन्तर।
त्यो खोलाले मलाई सधैँ आकर्षित गर्दथ्यो। न त उसले कहिल्यै आफ्ना बहावको घमन्ड गर्यो, न त उसले रोकिएर कसैको प्रतीक्षा।
ऊ केवल बगिरहन्थ्यो— उत्तिकै गम्भीर, उत्तिकै मौन। त्यसै मौनताभित्र म पनि समाहित हुन चाहन्थेँ। त्यसैले त्यो बिहान म मर्निङ वाकको बहानामा एक्लै त्यहाँ पुगेँ— बिना फोन, बिना साथ, केवल म र प्रकृति।
किरणहरू बगेका लहरसँग खेलिरहेका थिए, जति हेरे पनि नअघाउने दृश्य। हजारौँ भिडभाडबाट थाकेर, म आज फेरि पनि त्यही बाटो हिँडिरहेकी छु जुन बाटोले मलाई सबैभन्दा टाढा, भीडभन्दा बाहिर अनि मनको शान्तिको नजिक पुर्याउँछ।
जूनको न्यानो घाम, हल्का हावा र बर्सेनि एउटै रागमा बग्ने खोलाको आवाज। यहाँ सबै थोक स्थिर लाग्छ तर मन भने कहिल्यै स्थिर भएको छैन।
सामान्यतः मान्छे घुम्न आउँछन्, म चाहिँ ‘बाँच्न’ आउँछु। खोलाको त्यो ठुलो पत्थरमा बसेर मैले घामका किरणहरूलाई पानीमा छचल्कँदै गरेको देखेँ। एउटा बिरक्तिएको लामो श्वास छोड्छु अनि शान्त मुस्कान।
खोला किनारमा बसेर म नदीको बगाइसँगै आफ्ना अधुरा सोचहरू बगाइरहेकी थिएँ। जून हल्का हाँसिरहेको थियो, पानीमा चन्द्रको छाया नाचिरहेको थ्यो।
त्यही बेला खोलाको भँगालोभित्र केही बगेको देखेँ। दूरीबाट हेर्दा त्यो केही सामान्य थिएन— पानीमा बगेको एउटै वस्तुले मेरो आँखासँग यसरी आँखा जुधाउनु अनौठो कुरा हो।
म नजिक गएँ। न केही सोचेँ, न केही बोलेँ— बस् त्यो हेरिरहेँ। तर त्यसले पनि मलाई हेरेजस्तो लाग्यो।
ह्या जेसुकै होस् अनदेखा गर्न खोजेँ— होला त कागजको टुक्रा वा फालिएको चाउचाउको खोल। तर त्यो टुक्रा बग्दै बग्दै मेरै नजिक आइपुग्यो, मानौँ कसैले मेरो लागि नै पठाएको हो।
म झस्किएँ।
पानीमा आधा डुबेको सेतो खोल जस्तै लाग्ने त्यो वस्तु पट्याएर अति नै सुरक्षित तरिकाले अति नै जतनले राखेको हो भन्ने शंका लाग्यो। हात अघि बढाएँ, फेरि रोकिएँ।
फेरि मन मानेन झार पन्छाउँदै हात बढाएर कागजलाई आफू तिर तानेँ। मैले त्यो कागज हातमा लिएँ।
पानीको थोपा अझै बगिरहेको थियो कुनाबाट। जसरी भर्खरै रुँदा आँखाबाट अश्रु बग्छ— ठ्याक्कै त्यस्तै महसुस भयो। तर त्यो कागज त केवल कागज थिएन।
के हो यो?
के छ यहाँ?
कसले लेख्यो?
कसको लागि लेख्यो?
कुनै उत्तर छैन, केवल प्रश्न मात्र छन्!
कुनै हस्ताक्षर छैन, न कुनै नाम।
फोल्ड गरिएका ती किनाराहरूले बताउँथे— कसैले धेरै चोटि हातमा लिएको छ, कुनै विचार गरेर, मन भित्रको पीडा वा प्रेम राखेर मोडेको हो।
त्यसको गन्ध... सामान्य कागजको थिएन।
मैले सोचिरहेँ— ‘यदि खोलेँ भने के भेटिन्छ?’
‘कसैको अन्तिम सन्देश?’
‘कसैको अधुरो प्रेम?’
‘कि म आफैँ त्यो चिठ्ठीको भाग बनेको त हैन?’
मन चुप थियो तर शंका जागेको थियो।
‘किन मैले यो कागज पाएँ?
कि उसले मलाई पाउने उपाय यत्ति हो भनेर बगाएको?’
त्यो रहस्य भारी लाग्न थाल्यो। त्यसैले मैले फेरि त्यो कागजलाई ढुंगाको छेउमै राखेँ— तर त्यो क्षणबाट म सामान्य थिइनँ।
म एउटा रहस्य बोकेकी मान्छे थिएँ— कसैले लेखेको तर मैले पाएको रहस्य।
‘खोलूँ? अरूको व्यक्तिगत कुरा त हैन?’ मनमा अर्को द्वन्द्व चल्यो।
‘खोल्ने? कि यत्तिकै बगाइदिने?’
कागज त हातमा थियो तर निर्णय अझै मनमा थिएन। अन्ततः साहस जुटाएर त्यो कागज हातमा लिएँ। म नखोली रहन सकिनँ, हात अगाडि बढाएँ।
कुना कुनामा मेरो औँला घुम्छन्, धेरै पटक बन्द भएको तहहरू एक-एक गर्दै खुल्दै छन्। कागज बिस्तारै, बिस्तारै खुल्दै छ, जसरी बिर्सिएको सम्झना फेरि फाट्दै छ।
एक एक कुना खोलिसकेँ-
‘यो चिठी तपाईँका लागि लेखिएको हो,
तर कहिल्यै तपाईंको हात पुग्ने छैन।
मेरो मनका हरेक भावना यहाँ लेखिएका छन्,
तर ती कहिल्यै तपाईंको मनसम्म पुग्ने छैनन्।
तपाईं मेरो जीवनको अनकहा संगीत हुनुहुन्छ,
जहाँ मेरो प्रेम सधैँ मौन छ, तर कहिल्यै मरेको छैन।’
पहिलो लाइनले नै म स्तब्ध भएँ। चिठीका शब्दहरूले मेरो मनभित्र आँधी ल्याए। शब्दहरू सुक्खा थिए तर तिनीहरूले हृदयको सारा भावना बगेका थिए।
मेरो मन भारी थियो तर कसैले सुन्न नसकेको त्यो प्रेम अझै जीवित थियो। मौन त छ तर मरेको छैन।
चिठी हातमा लिएर मैले गहिरो सास फेरेँ। खोलाको पानी शान्तै बगिरहेको थियो तर मेरो मनले प्रश्नहरूको बाढी ल्याएको थियो।
‘यो प्रेमको अन्त्य हो कि कुनै नयाँ सुरुवात?’
उत्तर छैन।
राहत छैन।