पूर्वको आकाश सुनौलो बन्दै जान्छ, चराहरू गीत गाउन थाल्छन्, हावाले रूखका पात हल्लिन्छन् र आकाशको हरियो–सुनौलो मिश्रणले ओछ्यानमा पल्टिएको मेरो निद्रामा समेत चम्किलो प्रकाशको किरण फाल्छ। तर मेरो निद्रा अझै अजम्बरी साम्राज्यका राजा भएर पलङमा शासन गरिरहन्छ, विश्वका सबै नियम र घण्टीको आवाजलाई बेवास्ता गर्दै।
ट्रिङ्ग! ट्रिङ्ग! अलार्मको आवाजले ऐना फुटेझैँ मेरो मस्तिष्कमा घण्टी बजाउँछ। हातमा हजारौँ किलोको बोझ झुन्डिएको जस्तो हुन्छ, त्यसै भारी हातले अनायासै फोन खोज्छु। कहिले ओछ्यानको यो कुनामा, कहिले त्यो कुनामा। बल्लतल्ल फोन भेटिन्छ अनि दुई आँखामध्ये एउटा आँखा, त्यो पनि दश प्रतिशत मात्रै खोल्दै अलार्म बन्द गर्छु। तर त्यो पनि केही बेरको लागि अनि दस मिनेटमै फेरि बज्छ। फेरि बन्द। फेरि बज्छ। फेरि बन्द। यो चक्र निरन्तर चलिरहन्छ।
यसबीचमा निद्रा टुक्रिसकेको हुन्छ तर शरीर अझै ढुङ्गा सरह। घडीतिर हेर्छु ओहो! ढिलो भइसक्यो। मनमा उठेर गर्नुपर्ने कामहरूको सूची तयार हुन्छ; उठ्नुपर्ने, नुहाउनुपर्ने, नित्यकर्म गर्नुपर्ने, ब्रेकफास्ट बनाउनुपर्ने अनि घरबाट निस्किनुपर्ने। तर दिमागले जति योजना बनाउँछ, शरीर भने अझै लम्पसार।
त्यो क्षण लाग्छ, आज बिहान गर्नुपर्ने सबै कामहरू मेरो ओछ्यानसम्म आउँछन्।
स्नानगृह भन्छ— तिमी उठ्न सकेनौ भने के भो र, ल म आफैँ तिम्रो ओछ्यानमै आइपुगेँ।
किचन भन्छ— ब्रेकफास्ट बनाउन उठ्नै पर्दैन, ल म आफैँ तिम्रो सिरानीमै आइदिन्छु।
पत्रिका, चिया, ब्रस— सबैले एउटै स्वरमा भन्छन्, तिमी उठ्न सकिनौ भने के भो र, हामी आफैँ तिम्रो ओछ्यानमै आएर सेवा गर्छौं।
तर वास्तविकता म अझै पनि त्यहीँ, लाज नभएको मान्छेझैँ ओछ्यानमा पल्टिएको हुन्छु। दिमागले यत्रो ठूलो सभा सकेर कार्यतालिका पास गरिसक्छ तर शरीर अझै पनि जाममा अड्किएको राजधानीझैँ।
यो त केही हैन। राति सुत्नुअघि म फरक मान्छे हुन्छु। आत्मविश्वासको स्तर यति उच्च हुन्छ कि लाग्छ, आँखा खुल्नासाथ ओछ्यानबाट जुरुक्क उठ्छु। छाती फुलाएर अलार्म बन्द गर्छु। विश्वास हुन्छ, म संसारमै सबैभन्दा अगाडि उठ्छु। भालेको 'कुखुरि काँ' त मेरो इशारामा चल्छ। अलार्मको घण्टीलाई बेकार ठान्छु, सूर्यमुखी जस्तो उठ्ने योजना गर्छु। अझ मानौँ सूर्य भगवानलाई भन्छु: प्रभु अब हजुर आफ्नो नित्यकर्मतर्फ प्रस्थान गर्नुस्। तर बिहान— त्यो सबै आत्मविश्वास ओछ्यानको गद्दामा हराउँछ।
बाल्यकाल सम्झिन्छु। स्कुल जानुपर्ने बिहान, मम्मीले सत्र पटक बोलाए पनि उठ्दिनथेँ। मम्मी ओछ्यानसम्म आइपुग्नु हुन्थ्यो। कहिलेकाहीँ मम्मीले उठाउँदा उठेन भने ठूलो डर लाग्ने आवाज आउँथ्यो, 'अनिल! अनिल! अनिल!' अनि कुनै दिन त्यतिले मैले 'हजुर' भनिनँ भने, 'अनिल' बाट 'अनिलले' हुनासाथ बुझ्नुपर्ने हुन्थ्यो आजको दिनको सुरुवात पिटाइबाट, त्यो पनि ओछ्यानबाटै प्रारम्भ हुँदैछ। जसले मेरो प्यारो निद्रालाई एकैपटक झस्काउँथ्यो। अहिले सम्झिँदा लाग्छ, मम्मी र बुबाको मायामा केही फरक थिएन, दुवैले जगाउन चाहन्थे तर बुबा शनि जस्तो कठोर, मम्मी वृश्चिक जस्तो विचारशील, मनले हल्का दबाब दिने।
त्यही बाल्यकालको निद्रा सम्झिँदा लाग्छ, स्कुल नजाने दिनहरूमा जतिको मीठो निद्रा अनुभव गरेँ, आजको जस्तो जिम्मेवारी, तनाव, काम र डेडलाइनको भार थिएन। अब भोलिको बिहान, काम र जिम्मेवारीको संसारमा, मेरो निद्रा अझ मूल्यवान् छ। अझै पनि शरीर कहिल्यै तत्काल जाग्दैन, दिमागले जति योजना बनाउँछ, शरीरलाई सम्झाउन सक्दैन।
तर एउटै कुरा साझा छ— निद्रा। चाहे बाल्यकाल होस्, चाहे आजको व्यस्त जीवन। चाहे म स्कुलको बच्चा जस्तै ओछ्यानमा पल्टिएको छु वा जिम्मेवारी बोकेको वयस्क, निद्रा सधैँ शासन गर्छ। र हामी मानव कहिल्यै उसलाई पूर्ण रूपमा जित्न सक्दैनौँ।
ओहो! यति पनि मैले ओछ्यानबाट सोचिसकेछु अनि फेरि निद्रामा हराइसकेछु। अलार्मको एक पटकको घण्टीले झसङ्ग बनाएर चेतायो, घडी हेर्दा उठेर तयार हुनका लागि जम्मा १५ मिनेट बाँकी थियो। म हतार-हतार नुहाउनतिर लागेँ अनि आज मैले ब्रेकफास्ट 'स्किप' गर्ने निर्णय गरेँ।
अलार्म 'स्किप' गर्दै गर्दा आफ्ना नित्यकर्म पनि छाड्नुपरेपछि अब मलाई अघि उठ्न लाग्दा सोचेको पश्चात्ताप अहिले व्यवहारमा भयो अनि आफैँलाई भनेँ, 'हरे! अनिल, अलिकति चाँडै उठेको भए कमसेकम भोकै हिँड्नु पर्ने थिएन, के गर्छस् मङ्गले आफ्नै ढङ्गले।' अनि सोच्छु, भोलिबाट चाहिँ बिहान चाँडै उठ्छु।
तर ढिलो उठे पनि जीवन रोकिन्न, निद्रामा जित्नेले पनि कहिलेकाहीँ हार चाख्छ। म आफ्नो ढङ्गले, आफ्नै नियमले भोग्दै छु।