खै किन रुन्छन् मान्छेहरू, जाबो विदेश त गएका हुन्! सम्झनुहोस् त कति काउकुती लाग्दो हो!
विदेशी चकलेट, महँगा-महँगा चिजबिज अनि मगमग बास्ना आउने त्यो परफ्युमको ब्यागको आकारलाई हतार-हतार गरी खोलेर हेर्दाको दृश्यले खुसीको सीमा नै नहुने गरी आउँदा नि कोही कसै विदेश जाँदा नि मन भारी पार्नु पर्छ र? आँसु झार्नु पर्छ र? यो सब देखावटी हो, सब नौटङ्की हो भन्ने मेरा सजिला अनि खिसाइला प्रश्न आफूलाई अहिले निकै गाह्रो र भारी भएका छन्।
पर्दा मात्र थाहा हुँदो रहेछ। देखेको भन्दा नि परेको यथार्थ निकै भावुक अनि तीतो हुँदो रहेछ। सम्हाल्न नसक्दा मात्र थाहा हुँदो रहेछ आड अनि भरोसाको।
आज एउटै घरका एक हल गोरु छुटिएका छन्। काँध फेर्दै तानेका हलो एक्कासि अड्किएको छ। जुवाको सोइला जस्तै आड अनि भरोसामा दौडेका पाइलाले भिन्न-भिन्न गन्तव्य पहिरिएको छ, ठाउँ फेरिएको छ। कोही कसैले बन्धकीमा एउटा गोरु केही समयको लागि अलग बनाएको छ। एकै सासले संसार पल्टाउने अहमता पहिरिएर हिँडेका चालले झन् बढी फड्को मारेको छ।
पाटा (हलोले जोतेपछि माटो सम्याउन बनाइएको काठको कृषि औजार) को एक-एक कुना-कुनामा रमाएर हुर्केका हाम्रा समयहरू निकै रमणीय थिए। खेतका आली-कन्दरामा चिप्लेटी हान्दै एकले अर्कोको हात समाएर हुईँकिएका हाम्रा जिन्दगीमा एक हातले बाई-बाईको सङ्केत दर्शाएको छ। पखेटाको सहारामा उडेको यन्त्रलाई हातले हल्लाउँदै 'जा है' भन्दै चिच्याएको आवाज सुन्न नपाई परदेशको भूमिमा टेकेको खबरले कहीँ कतै खुसी भए तापनि मन भने निकै भावुक अनि वफादार भएको छ।
'फेरि घुमी-घुमी पुनः यहीँ आउँछ कि' भनी टोलाएका अनि एकोहोऱ्याएका आँखाले त्यो दृश्यलाई निकै बेर नियालिरहेको थियो। बढेका पाइला अनि देखेका गन्तव्यहरूले कहिल्यै पनि पछाडि फर्केर हेरिँदैन भन्ने भान भएपछि आफ्नो मनलाई स्थिर बनाई आफूलाई सम्हालिएको थिएँ।
आँसु लुकाएर हाँस्नु, बिदाइ गर्नु पनि निकै कठिनाइ हुँदो रहेछ। कति बेला झर्छ अनि कति बेला सुक्छ पत्तो नै नहुने रहेछ। सम्झिँदा मात्र पनि हो मन रोएको थाहा नै नहुने। एकले अर्कोको काँधमा हात राखेर 'चल रे बेटा' भन्ने शब्दले त झन् कति भावुक बनाउँदो रहेछ। छुटिने समयभन्दा केही दिन अघि 'कहिले रुनुपर्ने हो भन् है कि अहिलेदेखि नै रुइदिऊँ' भन्ने ठट्यौली पारालाई त्यही समयले नमज्जाले छातीमा टेकेर लात हानेको छ।
पुराना दिनहरू कोट्याउँदा पनि कति आनन्द अनि मिजासिलो लाग्ने है! उडेका चराहरू हेर्दा चराझैँ हुन रहर लाग्ने। हावा-बतास सँगसँगै बगिरहने मन हुने। माछाझैँ परेडी खेल्ने इच्छा हुने। कस्ता मीठा है ती हातहरू अनि काँधहरू! एकले अर्काकोमा राखेपछि संसार नै जितेको आभास हुने। संसार नै आफ्नो हो जस्तो लाग्ने। दुवै भएपछि युद्धभूमि नै पुरै एकलौटी आफूले जमाएको झैँ महसुस हुने।
हिजोआज त ती कान्ला-कन्दरा, बाटो-घाटो, चउर-मैदान नै सुख्खा-सुख्खा, उराठलाग्दो भएका छन्। सबै कुरा भएर नि केही नभएजस्तो खाली-खाली भएको छ। सँगसँगै हिँड्ने पाइलामा काँडा बिझेझैँ भएको छ। घर-आँगन, फूलबारी, धानबाली धेरै दिनको थकाइले गलेर लत्रक्कै भएका झैँ देखिन थालेका छन्।
भुटेको भातको नसा-नसामा गढेको स्वाद बर्गर र पिज्जाले नभेटिएला तर पनि कहिलेकाहीँ बिहान अलिक बढी चामल हालेर बेलुकी भुटेर खाएस्। एसी र कुलरले शरीरमा स्पर्श नदिएला तर बेला मौका बाहिर निस्केर घाम तापेर आफ्ना इन्द्रियहरू चम्काएस्। जाडोको धुवाँले हातका औँलाहरू कठ्याङ्ग्रिएला, पन्जा र ग्लोब्सले न्यानो नहोला, त्यही पनि कहिलेकाहीँ सेकुवा खाने निहुँमा हात सेकाएस्।
घरको याद अनि माया आएमा बार्दलीको सिरिरी हावा आउनेतिर फर्केर निकै बेर नियालेर हेरेपछि चन्द्रमाको आवरणले झल्झली आँखाको वरिपरि छर्लङ्ग दर्शाउने छ। आवरणले आँखालाई भिजाइदेला। हावातिर फर्केर एक कप चिसो कफीको चुस्की लिनु।
बाख्रा कराएपछि मात्र उठ्ने आँखा अनि तन्किने गोडाहरूलाई ठूलो अनि मिजासिलो अलार्म लगाएर सुतेस्। होइन भने दुई-चारवटा कुखुरा पालेस्। अब त एक्लैले पहाड फुटाउनु अनि जुटाउनु पर्ने छ, बाँडेको अनि बारेको जस्तो सजिलो नहोला तर पनि ज्यान अनि तनको पनि ख्याल गरेस्। आफ्नै माटो अनि देशमा पौरख गरेर खाएझैँ नहोला, सक्ने अनि सहने सम्मलाई मात्र अगाडि बढाएस्।
बेला-मौका जमिनसँग पनि मित्रता गाँस्नु। सकिन्छ भने लडीबुडी गर्नु। जमिन-माटोको सुगन्ध लिनु। रूख समाउनु, हाँगा-हाँगामा घुँघुटी मार्नु। देश सम्झनु। धरातल सम्झनु। हिलो-माटो सम्झनु। हावा-बतास सम्झनु। पानी सम्झनु। गहिराइ सम्झनु। समाज सम्झनु। छिमेकी सम्झनु। खेल-चौर सम्झनु। बाटो-घाटो सम्झनु। बाख्रा-पाठा सम्झनु। गाई-वस्तु सम्झनु। पाठशाला सम्झनु। अक्षर सम्झनु। आँट सम्झनु। आड सम्झनु।
नसम्झनु केबल त, म टाढा भएँ, एक्लो भएँ। नसम्झनु केबल मेरा लागि प्रेम अनि स्नेह टाढा रहे। नसम्झनु गाँस-बास फेरियो भनेर। आउँदा यसरी आउनु, राजा आउँदा प्रजाले खुसीले थपडी मारेझैँ बनेर आउनु। यस्तो बाटो रोज्नु-खोज्नु जहाँ सुगन्ध पसिनाको आवोस् अनि गन्तव्य सफलताको। विदेशी जीवन सोचेजस्तै होस्। धेरै-धेरै शुभकामना छ।