सबैलाई विश्रामस्थलबाटै फर्कन भनेँ
एक गेडो नरिवल
एक मुठो कुश
चार वटा अग्राखका छेस्काहरू
हातमा झुन्ड्याएर
स्वर्गलोकको बाटो हुँदै
म घाटतिर ओर्लिएँ, एक्लै।
दुई/चार पाइला हिँडेपछि
सुरु भयो मेरो पछिल्तिर
कल्याङमल्याङ... कल्याङमल्याङ...
फेरि के विधि मान्छेहरू आइसकेछन्!
सबै एकै दर्कौँले
उस्तै, सबै म जस्तै, लक्काजवानहरू।
मलामीहरू पनि यति प्रफुल्लित!
शोकाकुल म मात्र?
एक-एक गरेर पालैपालो तिनीहरूलाई नियालेँ
अनुहार लजाएजस्तो
त्यो रातो टोपी लगाएको केटो
पहिलो डेटिङमा निस्किएजस्तो।
त्यो ओभरकोट लगाएको केटो
बगलीमा रातो गुलाफ बोकेर
प्रेम प्रस्तावको लागि निस्किएजस्तो।
दायाँ हातमा बुकि च्यापेको केटो
बिल्कुल क्याजुअल
भर्खरै अवतरित प्रेमिकाको
स्वागतमा निस्किएजस्तो।
अरू तन्नेरीहरू
रक्तबीजबाट भरर्र निस्किएका जस्तै
एकै छिमलका
उस्तै, बिल्कुल मै जस्ता
कति हो कति... लावालस्कर!
हातमा केही न केही लिइरहेका
डार्क चकलेट
सुगन्धित अत्तर
वाइनका प्याला
कफीको कप...
केटाहरूको घण्टाघेरको बीच नदी किनारमा पुगेँ
नरिवल
खप्पर ट्वाल्ल परेको कालो आँखासहित
अग्राखका छेस्काहरू
अङ्गप्रत्याङ्ग
कुश
मांसपिण्ड
हेर्दाहेर्दै एउटा मानवाकृति जस्तो
लम्पसार चार हातखुट्टा फालेको।
पूर्वीयाहरू भौतिक आकृति खोज्छन्
स्ट्रबेरी बोकेको केटोले
एउटा स्ट्रबेरी
देब्रे छातीमा राख्यो, ठ्याक्कै मुटु जस्तै
किन हो, अडिएन त्यसको छातीमा।
शनैःशनैः
ती एकै छिमलका केटाहरू
नरिवलको खप्परमा छिरे
बिना भिडभाड पालैपालो, पालैपालो
कल्याङमल्याङ, घोर सन्नाटामा बदलियो।
कान टुऽऽऽऽटु बज्यो
बुढापाका भन्छन्- तागत सकिएपछि कान बज्छ।
एक काँटी सलाई कोरेर
चिता र सिगरेट दुवै सल्काएँ
प्रिय भावक!
नसोच कि,
अन्तिम एक काँटी सलाई उसैलाई छोड्नुपर्थ्यो।
ती केटाहरू नै थिए कि मेरा विगतहरू?
बिझाउने यादहरूको दहन
एक नयाँ जीवनको अवतरण।