अहिले जब जब
उभिन्छु ऐना अगाडि,
हुन्छ प्रश्न एउटै मनमा
कतै म साँच्चै
अपराधी त होइन?
उद्यम गर्नु
रोजगारी दिनु
सफल हुनु
धन कमाउनु
कतै बन्दै त छैन,
अपराध?
मानेर कर्म नै धर्म,
बुझेर अर्थको मर्म,
लिएर जोखिम हजार
गर्नु अहोरात्र परिश्रम,
कतै भएको त होइन अभिशाप?
आन्दोलनको रापमा
उद्यम र उद्योगी पर्दा,
स्वाभिमानी हात जोडेर
विध्वंस रोक्न खोज्दा,
मन मनै छ उठेको आवाज,
कतै म साँच्चै
अपराधी त होइन?
यी सबै सोचसँगै
मन भित्रको कोलाहल बीच,
त्यो राँकोको एउटा झिल्कोले
त्यो विध्वंस पछिको शुन्यताले,
छ दिएर गएको नयाँ सोच,
छ सिंचेर गएको नव उर्जा,
गर्ने नै हो
अझै अथक प्रयास,
बाल्ने नै हो
थप चुल्हो हजार,
उद्यमी हूँ म,
उद्यम मेरो संस्कार,
मेरो नजरमा कहिल्यै
छैन म झरेको,
किन हुनु निरूत्साहित
छैन म अझै गलेको।
रहेरै कर्मशील
सपना कयौंको
पार्नु छ साकार,
भएर झनै अटल
उच्च राखी मनोबल
खरानीलाई बनाई मल
फलाउनु छ फेरी फल।
लडेर फेरी उठ्न
सधैं तैयार,
म उद्यमी।
समुदाय, क्षेत्र
वर्ग भन्दा पहिले,
म उद्यमी।