मैले नतर्की नाचेको देखेँ
त्यो भिडमा, त्यो कोलाहलमा
अग्निका लप्काबिच
मैले नै खनेको
आफ्नै कब्रस्तानमा।
भष्मासुरको ताण्डव थियो—
असुर संहार्न निस्किएको म
तर चिहानका ढोकाबाट
फर्केर हेरेँ—
आफैँले आफैँलाई
गरेको त्यो मौन कत्लेआम।
भावनाका प्रेतहरू
ढोलक ठोक्दै थिए
र म—
कात्रो ओढेर
खरानीको थुप्रामाथि
चण्डाल नाचिरहेको थिएँ।
कब्रस्तानको शून्यताभित्र
मैले आफैँलाई देखेँ—
बिना डर, बिना देह
अस्तित्वविहीन अवस्थिति
जहाँ न ‘म’ थिएँ
न 'मेरो’ भन्ने केही बाँकी।
यो सपना थियो कि यथार्थ?
सपनामा बाँचिरहेको थिएँ
वा यथार्थमै म मरेको?
बिपनामा—
शरीर लत्रिएको
चेतना बन्धक
धड्कनविहीन
म
मरेको मन बोकेर
बाँचिरहेछु।
मेरो दिवा सपनामा
म जीवित छु कि मृत?
त्यो गर्भ गृहबाट निस्किएको
धुवाको मुस्लो—
मेरो चेतनाको खरानी उडाउँदै छ?
कि
मेरो अस्तित्वको चिता बाल्दै छ?
के म सपना देखिरहेको छु?
वा
चण्डाल झैँ
आफ्नै मृत्यु नाचिरहेको छु?