बा!
हामीले झैँ तिमीले
न कुनै दिन गुनासो पोख्यौ
न त अबेरसम्म सुत्यौ
न कहिल्यै मिठो खाना खोज्यौ
न त कहिल्यै राम्रो नाना रोज्यौ
न कहिल्यै धेरै बोल्थ्यौ
न त मनमा धेरै कुरा नै राख्यौ
न तिम्रो कहिल्यै मन दुख्यो
न त मनको इच्छाले केही माग्यो
अहिले महसुस हुँदै छ
तिमीसँग समय पनि त कहाँ थियो र
ती सबैका लागि।
'अन्त' र 'जन्त' जाने बेला बाहेक
न त कुनै दिन राम्रो लुगा नै लगाउँथ्यौ
न त कुनै दिन चिटिक्क परेर हिँड्थ्यौ
'कस्तो नराम्रो भएको हाम्रा बा' लाग्थ्यो
तर आज बुझ्दै छु
हामीलाई राम्रो बनाउन
तिमीले आफैलाई बिर्सी नै सकेका पो रहेछौ।
हाट गएको दिन तिमीले
आफूलाई केही नकिनी
आमाको लागि नङ पालिस र फेयर एन्ड लब्ली
मेरा लागि कापी, जुत्ता र खेलौना
अनि घरका लागि सामग्री ल्याएर
अलि कड्किएर घुर्याउँदै भन्थ्यौ
‘बोटबाटै टिपेर ल्याएको हुँ
जतन गरी नचलाउनु, छिट्टै मास्नु’
तर त्यो 'जतन' शब्द भित्र लुकेको यथार्थ
आज महसुस गर्दै छु बुवा
तिम्रो असीमित दायित्व र सीमित आम्दानी।
कहिलेकाहीँ अक्कल-झुक्कल
घोप्टो परी ढल्किएर
जीउमाथि गोडाले टेकी
'एकछिन उफ्री-उफ्री त, ए केटा' भनेको बाहेक
कुनै दिन बिसन्चो भएको
र अस्पताल गएको थाहा पाइएन
बा! अहिले एहसास गर्दै छु
खप्न सक्ने जत्तिको चोट र दुखाइ
आफै भित्रै लुकाउन सक्ने
अदम्य साहस जे थियो तिमीमा।
सिनेमा हेर्न जान पैसा माग्दा
'पर्दैन जान' भन्दै हकारे पठाउँथ्यौ
'कस्तो लोभी' भन्दै फन्किएर गई
आमाको पटुकीमा परेको सानो गाँठो समाउँदै
लाडे पल्टिदिँदा झर्ने हुँदा
म आमा पट्टिकै प्रयासमा लाग्थेँ
तर अहिले महसुस गर्दै छु
सिनेमा लत बसेर पढाइ बिगार्ला कि
भनेर पो रहेछ त्यो हप्काइ।
काम बिगार्दा सधैँ कराउँथ्यौ
‘दुई पैसाको ढङ्ग छैन, तैँले गरी खाँदैनस्’
जति गाली गरे पनि
कटमेरो र पाकेको दुई अम्बा भेट्यौ भने
पहिलो टर्रो आफूले खाई
दोस्रो चाहिँ हाम्रा लागि ल्याइदिन्थ्यौ
के थाहा त बा, त्यो बेला
इख लिएर काबिल बनोस् भनेर पो
त्यसरी कराएको रहेछौ।
कहिलेकाहीँ सँगै बाहिर जाँदै गर्दा
हिँड्न अल्छी लागेर 'बोकिदियोस्' मनसायले
थचक्क बसी दङ्गाउँदा
आमा भन्थिन्-
‘कठै बरा! बोक्नुस् न, थाक्यो मेरो बाबु’
तर तिमी सिर्कना उठाउँदै भन्थ्यौ- 'खुरुक्क हिँड्'
एक क्लास नपढेको भए पनि
थकाइ र दङ्गाइ बिचको मनोविज्ञान बुझ्न सक्ने
तिम्रो त्यो खुबी
कुनै साइकोलोजीको माड्सापभन्दा
बा! साँच्चै नै कम थिएन।
काँधैकुरी कमै चढाउँथ्यौ
भन्थ्यौ- 'फटाफट आफै पाइला चाल'
हात समाएर हिँडाउनु पर्ने थियो,
तर तिमी अलि टाढा उभिन्थ्यौ
र भन्थ्यौ ‘आफैँ हिँड्’
हो, त्यो दिन म खुत्रुक्क लडेँ
कस्तो निर्दयी लाग्थ्यो त्यस बेला
तर बा! त्यो लडाइले
मलाई आज बलियो बनाएको छ।
अहिले अनुभूति गर्दै छु-
'बोकेको कुकुरले हरिण नमार्ने' सिद्धान्तको अवधारणा
बा! तिमीलाई उही बेलै थाहा रहेछ।
आमाले झैँ
‘म तिमीलाई माया गर्छु बाबु, सानु, कान्छु’
मेरो मुटुको टुक्रा
तिमी त हाम्रो संसार
तिमी बिना हामी अधुरो हुन्छौ’
कहिल्यै मुखले भनेनौ
न त कुनै दिन
लोकाचारी भाका नै बोल्यौ
त्यो बेला मलाई तिमी त दुस्मन जस्तै लाग्थ्यो।
तिमीले कहिल्यै मलाई
'विशेष स्याहार' गरेनौ
न त सधैँ घोडा नै बन्यौ
न त हात समाएर आकाश देखायौ
न मधु मालतीको कथा नै सुनायौ
न त कुनै दिन आमाले झैँ लोरी गाउँदै सुतायौ
तर बा तिमीले
बोल्दै नबोली, भन्दै नभनी
मलाई त्यो सबै थोक दियौ
जे मलाई आवश्यक थियो।
तिमी कहिल्यै रोएनौ, कम्तीमा हाम्रो सामु
तर एक दिन ढोकाको चेपबाट देखेँ
आँखा चिम्म पारी
एकोहोरिएर भित्ता पट्टि फर्किएर
तिमी आँखा पुछ्दै थियौ
त्यस दिन मलाई थाहा भयो
तिमी भित्रको कठोरपना
अनि हामीले ठानेको ढुङ्गाको मन
केबल हाम्रो आँसु बचाउनको लागि पो रहेछ।
बा! तिमी कहिलेकाहीँ झुट पनि बोल्थ्यौ
जुन दिन ‘आज बाहिर तिरै खाएर आए’ भन्थ्यौ
त्यस दिन तिमी भर्खरै खेतबाट
काँधमा जुवा बोकी आएको हुन्थ्यौ
पछि थाहा पाएँ कि, बाँड्दै जाँदा
खानेकुरा सकिएको पो थियो त्यो बेला
विरक्त लागेको दिन
कसैलाई केही नभनी
बरु 'निन्द्रा लागेको छ' भनी
समसाँझै ओछ्यान जान्थ्यौ
तर मध्यरातसम्म पनि
आँखा नझिम्क्याई एकटकले
बिडी तान्दै टोलाएर बस्थ्यौ।
बा!
तिमी कस्तो लुरे, कस्तो कमजोर थियौ
लाग्थ्यो तिमीमा खासै तागत र बल पनि छैन
तर मलाई सर्पले डसेको दिन
एक्लै दुई घण्टा उकालो गोरेटो
बिसाउँदै-नबिसाई दगुराउँदै
‘मन दह्रो बना है केटा
तँलाई केही हुन्न, म छु’
बारम्बार मात्र यही एक वाक्य बोल्दै
सदरमुकाम पुर्याएको थियौ।
मलाई अझै याद छ
आमासँग ठाक्ठुक परेको दिन
‘मलाई केही मतलब-सतलब छैन’ भनी झर्किन्थ्यौ
तर मध्यरातमा उठेर
हामीले झारेको सिरक ओढाएर कोल्टे फेर्थ्यौ
पानी नथपेको निक्खर दूध
अलग्गै लोहोटामा हामीलाई
छुट्टाइसके पछि मात्र डेरी लग्थ्यौ
दूधमा थोरै पानी थप्नु गलत भए पनि
तर जे गर्थ्यौ, हाम्रै लागि गर्थ्यौ
बचेको दूध जमाएर बनेको दही
अलग्गै बटुकोमा छुट्टाएपछि मात्र
पानी थपेर 'मही-पखाले' पिउँथ्यौ।
पछि, सहरबाट मैले फोन गर्दा
आमा घण्टौँ बोल्थिन्
तिमी दुई सासमै बोली भ्याउँथ्यौ
‘सन्चै छस् नि? पढाइ कस्तो गर्दै छस्?
फीस तिर्ने बेला आउन कति बाँकी छ?
बरालिएर नहिँडेस्
केही इलम पनि पनि गरेस्’ यस्तै-यस्तै।
लाग्थ्यो, कस्तो फोनमा समेत
ङ्याङ ङ्याङ गर्ने के हाम्रो बा
'राम्रोसँग बोल्न समेत खोज्दैनन्'
तर आमासँग मैले बोलेको
मेरो सबै बोली नजिक बसेर
सुनिरहेका हुन्थ्यौ।
बुबा,
तिमीले कहिल्यै 'ऐया' भनेनौ
सायद सो ले मलाई पनि 'दुख्छ' भनेर
बरु भन्यौ ‘रोएर के हुन्छ मोरा
छोरो मान्छे भए पछि रुनु हुँदैन’
साँच्चै बुवा,
हो त्यहीँदेखि मैले पनि
आफ्नो आँसु लुकाउन सिकेँ।
मैले आजसम्म नबुझेको केही प्रश्न-
बुबा, किन तिमीले आमाले झैँ
कहिल्यै पनि ‘छोरा, म तिमी माथि गर्व गर्छु’
खुलेर भन्न सकेनौ?
कि तिमी कमजोर देखिन चाहँदैनथ्यौ
या त्यो 'मैले पनि त्यस्तै बानी सिकोस्' भन्ने चाहन्थ्यौ?
या 'माया देखाउने कुरा होइन'
भन्ने 'अव्यक्त प्रेम' प्रमाणित गर्न चाहन्थ्यौ
कि त, ए बा!
तिमी साँच्चै निष्ठुरी नै थियौ?
तर साँच्चै बा, तिमी जे थियौ,
मेरो लागि मेरो लागि सबथोक थियौ
सिंगो ब्रह्माण्ड नै थियौ।
तर आज आएर यति बुझेँ कि
तिमीमा कोमल हृदयभित्र
नौनी झैँ पग्लिने ढुङ्गाको कठोर मन
असीमित मायाको ढुकुटी बोकेर उभिएको
तर देखिँदा मान्द्रो झैँ खस्रो थियो मन
झट्ट हेर्दा जस्तो देखिएता पनि
निकालेर पढ्दा तिम्रो मन
यत्ति चाहिँ 'लिखितम' गर्न सक्छु अहिले
एक बुबाले आफ्नो सन्तानलाई गर्ने
तिमीले गरेको त्यो 'अव्यक्त प्रेम'
न त यो संसारमा कसैले गरेको हुन्छ
न गर्ने नै छ।
बा!
अहिले आफै बा भएपछि
तिम्रो पथ पछ्याउँदै छु
जसरी म तिमीसँग रिसाउँथे ऊ बेला
त्यस्तै छिन फुच्ची नातिनीहरू पनि अहिले
सायद यहीँ त होला
आनुवंशिक नियम
जसरी मैले बुझे- 'बुझ्ने भएपछि'
उनीहरूले पनि पक्कै बुझ्लान्
हरेक बा को कठोर अव्यक्त प्रेम
आफ्ना बाको कठोर अव्यक्त प्रेम।