म हजारौँ दुख सुन्न थालेँ
तर मलाई दुख पर्दा कसैले सुनेन।
कुनै दिन म पवित्र थिएँ
आज म दूषित बागमती बनेँ।
अमर छन् मभित्र हजारौँ बाल्यकालका इतिहास
गल्लीलाई उज्यालो छर्ने मेरो प्रकाश
आज निभेको गल्लीको बत्ती बनेको छ।
म जनताको आशा
देश बनाउने मेरुदण्ड थिएँ
आज म स्वार्थमा लिप्त छु
सिद्धान्तलाई कुर्सीसँग बेचेर खाएको छु।
म सत्यको रक्षक
न्यायको प्रतिमूर्ति थिएँ
तर राजनीतिको भुमरीमा परी
समयसँगै पैसा र शक्तिमा हराएँ।
म जीवनदाता थिएँ
तर अब बिरामी चिन्दिनँ
जनताको पहुँचबाट बाहिर छु
अस्पताल खोलेर पैसासँग जीवन बेच्दै छु।
म कहिल्यै नफेरिने पुस्तक
तर आज आफैँ असक्षम बन्दै छु।
म विद्यालय थिएँ
विद्याको ज्योति छर्ने थलो
तर मोबाइलको छायामा
पूर्णतया हराएको छु।
म सपनाको नगरी
सफलताको शिखर पुग्ने एक मात्र सिँढी थिएँ
म आशा, खुसी र सुखको केन्द्रबिन्दु थिएँ
तर आज सन्तान बेचेर
रेमिटेन्स भित्र्याउने एजेन्सी बनेको छु।
मैले गाउँ रित्याएँ
मैले सन्तान बेचेँ
मैले सपना टुटाएँ
मैले खुसी लुटेँ।
मैले धर्म भुलेँ
मैले न्याय मारेँ
मैले संस्कृति मासेँ
मैले सिद्धान्त कुल्चिएँ।
यसरी नै समेटिएको छ मेरो इतिहास
म हुँ काठमाडौँ
यही रहेछ मेरो पहिचान।