देशमा दसैँ आयो
खेतमा धान झुले, मखमली नि फुले
पिपलको हाँगामा काग करायो
तर आँगनमा त अझै सुनसान छ
बा-आमाले जमरा पनि राख्नुभयो
जमरा लाइदिने छोराछोरी छैनन्
तर जमरा राख्नु हुन्छ किन?
कतै सर्प्राइज दिन
आइहाल्छन् कि जस्तो लाग्छ!
रेडियोमा दसैँका गीत गुन्जिएका छन्
बच्चाहरू पिपलको रुखमुनि
चर्खे पिङमा रमाउन गए झैँ लाग्छ
झस्किएर हेर्दा मेरो घरमा मौनता छ!
पहिले नपाकेका छोराछोरीले
अम्बालाई कहिले पाक्न दिँदैनथे
अहिले पाकेका अम्बाले
पाकेका छोराछोरीलाई देख्न पाएको छैन!
आमाले धन्सारबाट चामल झिकिन्
अक्षता तयार पारिन्
बुबाले दियो बाल्दै भन्नुभयो—
‘यसपालि पनि हाम्रो छोराले
टीका लाउन पाएन है?
छोरो मोबाइलको स्क्रिनबाहेक
अन्यत्र कतै देखिँदैन!
दसैँको सुगन्धले नाक भरिए पनि
मुटु खाली छ
किनकि
दसैँ मनाउने छोराछोरी
परदेशको उद्योगहरूमा
घामसँगै पसिना बगाइरहेका छन्।
हे दसैँ,
तिमी पनि थाकेका हौला—
किनकि जसका लागि तिमी आउँछौ
उनीहरू यहाँ छैनन्
तिमीलाई रङ, खुसी र मेलमिलाप चाहिएको छ
तर तिमीलाई साथ दिने मान्छे
विमानको खिड्कीबाट
मौन आँसु खसाल्दै विदेशिरहेका छन्!