‘खबरदार!’ भन्यौ
झिनो मनले जब्बर मनलाई फनफनी कसेर
तिमीतिर नफर्कने गरी
होलो बारभित्र बन्दी बनाएको छु
एक झोक्का सासले पनि ढल्न सक्ने यो घुम्ती बार
तिम्रो त्यो कठोर मनलाई ढाकछोप गर्ने गरी
तिम्रो हर उपस्थितिको सामुन्ने ठड्याएको छु।
‘अगाडि नबढ्!’ भन्यौ
तिम्रै दैलो टेक्न तम्सिरहने
यो खुट्टा अर्को खुट्टाको जन्जिरभित्र जेलेको छु।
‘दुष्ट नजर हटा!’ भन्यौ
पटक्कै नधिप्किएर तिमीलाई नै हेरिरहन खोज्ने यी आँखा
परेलीले छपक्क छोपिदिएको छु।
‘नछो!’ भन्यौ
तिम्रै केश सुमसुम्याइरहन उत्सुक औँलाहरू
अर्को हातको हतकडीले अँठ्याएको छु
‘बकवास बन्द गर्!’ भन्यौ
तल्लो ओठलाई माथिल्लो ओठले बेसरी च्यापेर
मुखमा भोटेताल्चा ठोकिदिएको छु।
तर
तिम्रो उपस्थिति टाढैबाट पहिचान गर्ने यो घ्राण शक्ति
कसरी रोकूँ? प्रिया, तिमी आफै भनिदेऊ!
एक थोपा पनि आँसु नचुहिने गरी
गहमा अग्लो बाँध बाँधेको छु
तिमीलाई देख्ने बित्तिकै छताछुल्ल हुने यो दिललाई छोप्न
छातीमा बलियो ढुङ्गा राखेको छु
तिम्रो सुन्दर चित्र बन्द आँखाभित्र बस्न नदिन
तिम्रा निषेधाज्ञाहरूका काँडा बिछ्याएको छु।
तथापि
कान हरदम खुलै राखेको छु प्रिया
तिमीले कुनै दिन आममाफी दिन सक्ने घोषणा सुन्नकै लागि।
त्यो दिन आफै ढल्नेछ मनको होलो बार
आफै चुँडिनेछ हतकडी, फुक्लिनेछ पाउकडी
आफै खुल्नेछ मुखको भोटेताल्चा
र बिजुलीभन्दा तीव्र गतिमा
यो गुम्सिएको मन बत्तिँदै तिम्रोसामु पुग्नेछ
अनि
तिम्रोसामु पेस गर्नेछ यति लामो फेहरिस्त कि
तिमीबाट आफूलाई टाढा राख्न गरिएका बनावटी यत्नहरू
तिमीलाई भुल्न गरिएका लाखौँ प्रयत्नहरू
जो तिमीले कुनै दिन पहिल्याएर फुर्सदमा पछुताउने छौ।