म चियाको मिठो चुस्की लिँदै बरन्डामा बसेर निलो आकाश अनि त्यहाँ कपास जस्तै देखिने सेता बादल नाचिरहेको हेर्दै थिएँ। प्रस्ट रुख बिरुवा नचिनिए पनि घनघोर जंगलले ढाकेको त्यो विशाल पहाड त्यही निलो आकाशको छहारीमा एक टकले उभिएको थियो।
मैले आँखालाई अलि नजिक केन्द्रित गराएर हेरेँ, आकाशको सौन्दर्यलाई बढाउँदै रंगीबिरंगी चंगाहरू फरफराई रहेका थिए। साना-साना हातले सकी नसकी केटाकेटीहरू काठका लट्टाई नचाएर चंगालाई आफ्नो नियन्त्रणमा राख्न प्रयास गरिरहेका थिए। उनीहरूको उत्साहलाई प्रोत्साहन गर्न तिनका बुवा, आमा, दाइ, दिदीहरू त्यही नजिकै बसेर सहयोग गरिरहेका थिए। मनमोहक यो दृश्यसँगै मैले चियाको अर्को चुस्की लिएँ र मेरो नजर दायाँपट्टि केही पर उभिरहेका मानिसहरू माथि पर्न गयो।
यसो नियालेर फेरि हेर्दा त्यहाँ मैले चिनेका केही अनुहारहरू पनि थिए, एउटा हँसिलो अनुहार मेरो बुवाको रहेछ। उहाँहरू किन जम्मा हुनु भएछ भनेर म सोच्दै मात्रै थिएँ त्यतिकैमा अलि परबाट अझै केही व्यक्तिहरू आउँदै गरेको देखेँ। राम्ररी नियालेर हेरेको कसैका काँध बासका लिङ्गोहरू थिए, कसैका हातमा कुटो, खन्ती त कसैका हातमा डोरीहरू थिए भने कसैका काँध खरको भारीले भरिएका थिए।
अघिसम्म अलमल परेको म एकाएक मुस्कुराउन पुगेछु। मैले बुझिहालेँ, मेरो घरभन्दा अलि पर स्थित त्यो दायाँ पट्टिको चौरमा आज घटस्थापनाको दिन पिङ हाल्न लागिएको रहेछ। आहा! यो दसैँमा पहिले पहिले गाउँघरमा खेलेको जस्तै पिङ खेल्न पाइने भयो भन्दै म दङ्ग परेँ।
बिहानीपख बरन्डामा चलेको असोज महिनाको शीतल हावाले मलाई स्पर्श गर्दा पिङमा मच्चिरहेको कल्पनामा म केही बेर हराउन पुगेछु। तातो चियाको अर्को एक चुस्की लिन खोजेको चियाको कप पहिले नै खाली भइसकेको रहेछ, बाहिरको माहौलमा हराएर मैले समय गएको पत्तै पाइन।
ओहो! अब त दसैँ आयो, खाउँला पिउँला भन्दै गुनगुनाउँदै बाहिरको सुन्दर दृश्यहरू आफ्नो आँखामा कैद गर्दै म मेरो कोठातर्फ लागेँ। चियाको खाली कपलाई मेरो खाट छेउमा रहेको सानो टेबलमा राखे अनि मुस्कुराउँदै त्यही खाटमा पल्टिएँ। के सोचेछु कुन्नि, भुसुक्क निदाएछु थाहा नै पाइनँ।
गाडीको ट्या-ट्या आवाजले मेरो निद्रा खलबलियो। बिस्तारै आधा आँखा खोल्दै छेउमा रहेको टेबलमा सजाएर राखिएको घडी हेरेँ, बिहानको ९ बजिसकेको रहेछ। मैले राखेको कप त्यहाँ देखिनँ। सोचेँ आमाले लिएर जानु भएछ। तर मलाई किन उठाउनु भएन?
हतार हतार उठेर सिरानी छेउमा राखेको मोबाइल हातमा च्याप्दै आज त यत्रो बेर सुतेछु भन्दै आफैँसँगै बरबराउँदै राम्रोसँग आँखा पनि नखोली म कोठा बाहिर निस्किएँ। ‘आमा! जमरा राख्नुभयो त?’ भन्दै।
कोठाको ढोकाबाट निस्किएर केही पाइला सार्दैमा म बैठक कोठामा पुगेँ अनि पो अलमल्ल परेँ। न त्यहाँ वरिपरि आमा हुनुहुन्थ्यो न बुवा, न त अरू कोही। त्यो ठुलो बैठक कोठामा म एक्लै उभिएकी थिएँ। मलाई साथ दिने केही तस्बिरहरू र केही कृत्रिम फूलहरू बाहेक अरू केही थिएन।
केही पलसम्म मैले बुझ्नै सकिनँ यो के हुँदै छ? अलिअलि निद्राले छोडे जस्तो भएपछि बैठकको एउटा कुनामा रहेको सिसाको ढोका बिस्तारै सार्दै म बाहिर बरन्डामा निस्किएँ, अलि पर हेरेँ। आकाश त्यस्तै निलो थियो, बादल अझै सेता थिए तर घनघोर जंगलको पहाडको ठाउँमा लाइन मिलाएर रोपिएका एकनासका रुखहरू थिए जसमा कुनै पात पहेँला थिए भने कुनै पात हरिया।
दुई औँलाको सहाराले बिस्तारै आँखा मिच्दै फेरि हेरेँ। त्यहाँ न कुनै चङ्गा थिए न पिङ हाल्ने मानिसहरूको भिड। त्यहाँ थिए त केवल पार्किङमा राखिएका रङ्गीबिरङ्गी गाडीहरू। यत्तिकैमा एउटा गाडीको चुइँ-चुइँ आवाजले म पूर्ण रूपमा निद्राबाट जागेँ अनि एक्कासि मेरो मनमा नजानिँदो चिसो पस्यो।
के यो केवल सपना मात्र थियो?
निराश हुँदै म पुनः बैठक कोठाभित्र छिरेँ। एउटा छेउमा राखिएको खैरो रङको सोफामा बस्दै मोबाइल हेरेँ। आज त साँच्चै मैले सपनामा देखेको जस्तै घटस्थापना रहेछ। ठाउँ फरक, देश फरक र परिवेश फरक भए पनि घटस्थापना त्यही रहेछ।
ओहो! आज त जमरा छर्ने दिन। कसरी छर्ने? केमा छर्ने ? म अलमल्ल परेँ। आफ्नो घरमा हुँदा नवमी, दशमीको दिन हलक्क परेको पहेँलो जौको जमरा काटेको त मलाई झलझली याद छ तर जमरा छरेको केही सम्झना आएन। सायद कहिले आफूले गर्न नपरेर होला आमाहरूले कसरी गर्नुहुन्थ्यो कहिले मतलब पनि भएन। तर अब मसँग केही विकल्प थिएन।
अलि सबेरै उठेको भए श्रीमानले केही सिकाउनुहुन्थ्यो कि! मिठो सपना देखेर अबेरसम्म सुत्न पुगेछु, उठ्दा न कोठामा श्रीमान् हुनुहुन्थ्यो, न पार्किङमा उहाँको गाडी! अर्काको देशमा आज किन बिदा हुन्थ्यो र! बिहानै अफिस गइसक्नु भएछ।
यति सोच्दै अझ ढिला नगरी म फटाफट बाथरुमतर्फ लागेँ, नुहाईधुवाइ सकेर हतार हतार निस्किएँ अनि सरासर बैठक कोठाको एउटा कुनाको कपबोर्डमा राखिएको सानो मन्दिरतर्फ लागेँ। त्यहाँ रहेका दुई तीन वटा पूजाका भाँडाकुँडा निकालेँ र त्यही बैठक कोठाको एउटा कुनामा सानो पर्खालले छुट्टाएर बनाइएको भान्सातर्फ लागेँ।
रातो तामाको कलशलाई माझेर केही उज्यालो बनाएँ र जल भरेँ, पूजा सामग्री तयार गरेँ। सबै तयार गरेँ तर जमरा केमा रोप्ने? म फेरि अलमल्ल परेँ। भान्साको छेउमै जोडिएको डाइनिङको कुनामा रहेको एउटा खाली गमला र केही समय अगाडि किनेर ल्याएको एक प्याकेट कोको पिटमा मेरो आँखा पर्यो। खुसीले दङ्ग परेँ।
भान्सा कोठामा पपकर्न बनाउन भनी राखेको एक पोका मुरली मकैको पनि मलाई सम्झना आयो। त्यो याद आउनासाथ मेरो खुसीको सीमा रहेन। यति भएपछि त अब जमरा छरिहाल्छु नि भन्दै म मक्ख परेँ। त्यतिमै मलाई एउटा ठुलो जित हासिल गरेको महसुस भयो।
पानीले भिजेर पुक्क फुलेको कोको पिटलाई गमलामा भरेर चोरी औँलाको सहायताले सानो सानो खाल्टाहरू पार्दै त्यसमा हुन नसकेको पपकर्नलाई एक-एक गर्दै गाडिदिएँ। हल्का पानी छम्किएर चोखो बनाएँ र जे-जे सामग्री उपलब्ध थियो त्यसैले पूजा गरेँ।
अघि चिसो पसेको मेरो मनमा न्यानोपन भरिँदै गयो। त्यत्तिकैमा मेरो नजर भान्साको ऱ्याकमा रहेको कपमा पर्न गयो। सपनामा जस्तै मिठो चियाको चुस्की लिने इच्छाले विदेशमै भए पनि मैले घरमा बनाउने जस्तै चियाको स्वादमा चिया बनाएँ र सोफामा आएर बसेँ। छेउमा रहेको मोबाइल खोलेर आमालाई फोन हानेँ।
एउटा हातमा मिठो चियाको कप अनि अर्को हातमा मोबाइलमा आमाबुवा सँगको मिठो गफ। यो पल मेरा लागि उत्कृष्ट पल भयो। लाग्यो, दसैँ साँच्चै अब आयो। मैले मेरो मिठो सपना आमाबुबालाई सुनाएँ। मेरो सपनाको कुरा सुनेर आमाको आँखा रसायो, बुवा मौन हुनुभयो।
त्यही पनि पीडा मनमा लुकाएर बिस्तारै आमाले भन्नुभयो, ‘यति गरेपछि भैगो नि अब केही दिनमा जमरा उम्रिन्छ, अलिअलि पानी हाल्दै गर्नु अनि अँध्यारोमा राख्नु राम्रो हुन्छ।’
आमाको कुरा सकिन नपाउँदै मैले मोबाइल स्क्रिनबाट मेरो नजर हटाएर डाइनिङको कुनामा राखिएको त्यो निलो गमलामा हेरेँ अनि आफैँलाई सोधेँ- के यो पपकर्न साँच्चै उम्रेला त?