कडा प्रहारले ऐना फुटाउँदै कैलाश ठूलो स्वरमा करायो 'के तँ पागल भइस्? कम्तीमा तैलें त मलाई हेर। ऐना मात्र कहिल्यै झुटो बोल्दैन भन्छन्। अनि तेरो पनि अनेक बहाना।'
'शशी दौडँदै आइन् र अचम्म मान्दै फुटेको ऐना हेर्दै आमालाई बोलाइन् 'आमा... कोठामा कोही छैन, तर यो ऐना कसरी फुट्यो।'
'बिरालोले हुनुपर्छ, यताउती लुकेको हुनुपर्छ, ध्यान दिएर हेर।' आमाले आफ्नो कोठाबाट भनिन्। बिरालोको नाम सुनेपछि शशी डराएर कोठाबाट भागिन्। कैलाशले हाँसो थाम्न सकेन।
शशी अचानक रोकिइन् र अनौठो किसिमले पछाडि फर्केर हेरिन्। मानौं उनले सबै सुनिसकेकी छिन्। कैलाश खुसी भयो। कैलाशलाई लाग्यो कि सबैले उलाई सुन्न र देख्न सक्छ।
'शशी…! म हुँ, तिम्रो कैलाश । म तिम्रो कैलाश हुँ ।' भन्दै कैलाश शशीको नजिक पुग्यो। शशी कैलाशको हाँसो सुनेरर फर्किएकी होइन रहेछ। उनको सल ढोकाको ह्यान्डलमा अड्किएको थियो। उनी ढोकामा फर्कन अल्छी गरिन् र परैबाट झट्का दिएर ढोकाको ह्यान्डलमा अड्किएको सल निकाल्ने प्रयास गर्न थालिन्। ढोका नजिक गएर कैलाशले बिस्तारै सल निकालेर उनीतिर लैजान थाल्यो। तर कैलाश नपुग्दै उनी भान्सातिर दौडिन्। कैलाश पनि सलको अर्को छेउ समातेर उनको पछिपछि दौडिन थाल्यो।
शशी भान्सामा पुगिन्। छिटो छिटो हतारिदैं आएको कारणले रोकिन सकिनन्, आमासँग ठोक्किइन्। कैलाश चिन्तित थियो। अब शशीले आमाको गाली सुन्नु पर्नेछ।
'पागल केटी, बिरालोसँग पनि कोही यति डराउँछन्? के भयो, किन आँखा चिम्लेर हिँडेको? त्यो बिरालो हो, बाघ त होइन होला।' बुहारीलाई सान्त्वना दिँदै आमा हाँस्न थालिन्।
'कसरी हो कुन्नी पूरै सिसा फुटेको छ । यो बिरालो नै गरेको त होइन होला।' शशीले भनिन्।
'फौजीकी श्रीमती भएर पनि किन यति डरपोक छौ? छेपारो, साङ्लो र मुसा तिम्रो लागि आतंककारी जस्तै हुन् गोलीगठ्ठा लिएर तिम्रो पछि पछि दौडिरहेको जस्तो ... हाहा... आज कैलाश आउँदा, उसलाई पहिला घरमा भएको आतंककारीहरूलाई समाप्त गर्न भन्नु।' आमाले भनिन्।
हल्का मुस्कानका साथ, शशीले पनि चुल्होमा पाक्दै गरेको खीर चम्चाले चलाउन थालिन्। कैलाश घर आउन लागेकोमा उनीहरू दुवै धेरै खुसी छन्। बिहानै देखि कैलाशले आएको छु भनेर उनीहरूलाई भन्दा भन्दा थाकिसकेको छ। धेरै बेरदेखि उनीहरूको वरिपरि घुमिरहेको छ, तर ... उनीहरूलाई उसमा रुचिनै छैन, उनीहरूलाई उसको मन पर्ने खाना बनाउनमा मात्र ध्यान छ।
'त्यो चलाइ राख्नु पर्दैन... कैलाशलाई फोन गर। हिजो राती हामी सँग कुरा गर्दा उसले भन्दै थियो, बिहान आठ बजेसम्म आइपुग्छु, नौ बजिसकेको छ नास्ता तयार गर,' आमाले भनिन्।
'मैले बिहानदेखि चार पटक फोन गरिसकेको छु। तर फोन उठिरहेको छैन, उसले मेरो मेसेजको जवाफ पनि दिएन। आज आएपछि, म ऊसँग कुरा पनि गर्दिनँ,' शशीले भनिन्।
'ऊ गाडीमै निदाएको हुनुपर्छ, ट्राफिक जाममा परेको हुनसक्छ, उसले जानाजानी हामीलाई बेवास्ता गरेको होइन, एक पटक फेरी मेरो फोनबाट गर्नु फोन गर,' आमाले भन्नुभयो।
शशीले फ्रिज माथिबाट आमाको फोन उठाइन् र कैलाशको नम्बर डायल गर्न थालिन्।
कैलाश मुस्कुराउँदै सोच्न थाल्यो कि शशीकलालाई उसको नम्बर सम्झना होला? उनले आफ्नो फोनबाट कैलाशको नम्बरमा डायल गर्छिन्, नम्बर सेभ गरिएको हुन्छ। घन्टी बजिरहेको थियो तर उठिरहेको थिएन। घण्टी बजेको सुनेपछि कैलाशले आफ्नो खल्तीमा हात हाल्यो तर उसको फोन खल्तीमा थिएन। उलाई मन पर्ने रिंगटोन सेट गरेको थियो।
***
सुनसान जंगलमा फोनको रिङटोन गुन्जिरहेको थियो। जमिनमा रहेको हल्का घाँसले ढाकिएको शीतका थोपाहरूमा मोबाइल कम्पन गरिरहेको थियो। अलि पर एउटा गाडिको ढोका आधा जलेको अवस्थामा थियो र शीशाका टुक्राहरू छरिएका थिए। अनि नजिकै एउटा पाङ्ग्रामा अझै पनि आगो बलिरहेको थियो।
कैलाश मोबाइलको नजिकै पुगेको हुनाले रिङटोनको आवाज उसको कानमा गुन्जिरहेको थियो। मोबाइलको नजिकै जलिरहेको गाडि र झाडीमा केही लाशहरू अड्किएको देखेर कैलाश छक्क पर्यो। जब ऊ मोबाइलको नजिकै गएर हेर्यो, आमाको नम्बरबाट फोन आइरहेको थियो। उसलाई थाहा थियो यो उसकी श्रीमती शशीले गरिरहेकी छन्।
ती लासहरूको बीचमा आफूलाई देखेर, कैलाश बेस्सरी चिच्चायो – 'होइन !' उसको आवाज सम्पूर्ण क्षेत्रमा गुन्जियो, तर त्यो पनि उसको लागि मात्र। कैलाशले चरैतिर हेर्दै बिस्तारै आफ्नै लाश भएको ठाउँमा पुग्यो र उठाउन थाल्यो। उसले त्यसको छाती रगड्न थाल्यो ताकि त्यसले फेरि सास फेर्न सकोस्। तर यो सम्भव थिएन।
कैलाशले हिम्मत गुमाइसकेको थियो। एकातिर शशी र आमा उसलाई पर्खिरहेका थिए भने अर्कोतिर उ चढेको गाडीमा विस्फोट भएको थियो। त्यो गाडीमा कैलाश र उसका अन्य पाँच-छ जना साथीहरू यात्रा गरिरहेका थिए। सायद गाडी सडकबाट तल खसेको थियो।
***
कैलाशलाई रातको त्यो समय याद आउन थाल्यो जब उनीहरू बिदा स्वीकृत भएपछि नजिकैको प्रहरी पोष्टबाट सँगै फर्किरहेका थिए। उनका सबै साथीहरू बिदा पाएकोमा खुसी थिए। उनीहरू गाडीबाट अलि टाढा पुगेका थिए, अब्दुलको मेसेजमा एउटा दुखद् इमोजी आयो – ‘मिस यु यार’।
कैलाशले पनि उसलाई मुस्कुराएको मेसेज पठायो। अब्दुल लतिफ कैलाशको सबैभन्दा मिल्ने साथी थियो। उसले कैलाशलाई सबैभन्दा धेरै दुःख पनि दिने गर्थ्यो। उसले कैलाशलाई हरेक सानो कुरामा जिस्काएको र अरूसँग उसको मजाक उडाएको मन पर्दैनथ्यो। तर जब उसले कैलाशलाई हरेक समस्यामा साथ दिन्थ्यो, उलाई विश्वास थियो कि उसले सबैको मजाक उडाउँछ र मित्रता पनि कायम राख्छ। त्यो दिन जब हाम्रो पोष्टमा आतंककारीहरूले आक्रमण गरेको थियो, अरू सबै त्यहाँबाट लड्दै भागेर अर्को छेउमा पुगेका थिए, तर अब्दुल लतिफले कैलाश उम्किन नसक्दा सम्म पर्खाल पार गरेन। जबकि ऊ सबैभन्दा फूर्तिलो थियो। पहिले उसले कैलाशलाई पर्खाल पार गर्न लगायो र त्यसपछि मात्र उसले हाम फाल्यो। त्यस दिन कैलाशले महसुस गर्यो कि अब्दुल लतिफ उसको सबैभन्दा बिश्वासिलो साथी हो।
हिजो साँझ अब्दुलले हाँस्दै उसलाई बिदाइ गरेर ठट्टा गर्दै भनेको थियो- "अब केही दिन श्रीमतीको अँगालोमा बाँधिएर बस, जसलाई मैले हिजो ‘म तिमीलाई माया गर्छु’ भनेर मेसेज पठाइदिएको थिएँ।'
सबैजना आश्चर्यचकित भएर अब्दुल लतिफलाई हेर्न थाले, त्यसैले कैलाशले उसलाई हाँस्दै भन्यो- 'शशीसँग मेरो बोलाचाल बन्द थियो, मैले उसलाई भनेको थिएँ, मलाई थाहा छैन कतिबेला उसले मेरो फोनबाट मेसेज पठाएको रहेछ, यो बदमास।'
सबै जना हाँस्न थाले।
कैलाश गाडीको अन्तिम सिटमा बसेर, मोबाइल हातमा लियो। शशीलाई मेसेज पठायो 'अब तिमी खुसी छौ, हैन र ? म बिदामा आउँदै छु, त्यो पनि एक महिनाको लागि।' त्यससँगै उसले अन्तिम सिटमा सुतेर सेल्फी खिच्यो र शशीलाई पठाएको थियो।
त्यतिबेला पनि शशीले पत्याइनन्, किनकि कैलाशले प्रायः शशीलाई यसरी जिस्क्याउँथ्यो ... पुराना तस्बिरहरू पठाएर। उनले तुरून्तै भिडिओ कल गरिन्। त्यतिबेला ऊसँग हेडफोन थिएन। कैलाशले कल काटेर झोलाबाट हेडफोन निकालेर फेरि फोन गर्न खोज्यो। त्यसपछि शशीको मेसेज आयो – 'मलाई थाहा छ तपाईं आउँदै हुनुहुन्छ, म भिडिओ कल गर्दै थिएँ तर अब म आमासँग बजार जाँदैछु । ढीलो भएमा म बेलुकीपख कल गर्छु । यदि कुरा भएन भने पनि, तपाईं भोलि जसरी पनि आइपुग्नुहुनेछ।'
शशीको मेसेज हेरेपछि, कैलाशले फोन गरेन्, उसले आमालाई फोन गर्यो – 'ढोग् गरे आमा।'
'तिमी गाडीमा बसिसकेको हो ? सावधान भएर आउनु ... है त।' आमाले भन्नुभयो ।
'तर... तर तपाईलाई कस्तो छ...' कैलाशले केही भन्नु अगाडि आमाले फेरि बोल्न थाल्नु भयो – 'मलाई धेरै समयदेखि तिमीलाई भेट्ने आशा लागिरहेको थियो। जब बुहारीले खुसी भएर छोरा आउँदैछ भनिन, मेरो त्यो दिनको सपना पुरा हुने भयो । दुई चार दिन अघि मात्र तिमी मेरो सपनामा घरमा आएका थियौ।'
'सपना त मैले पनि देख्छु आमा, तर धेरै अनौठा सपनाहरू देख्छु। यस्ता सपनाहरू कसैलाई भनौं भने पनि कसरी भन्नु ? सपनाहरू अनौठा तरिकाले सुरु हुन्छन् र अनौठा तरिकाले अन्त्य हुन्छन्,' कैलाशले भन्यो।
'तिमीले बच्चा हुँदादेखि नै अनौठा सपना देख्दै आएका छौ। तिम्रो सपनाको बारेमा लेख्यो भने एउटा सिङ्गो किताब बन्छ। अहिले ती सबै कुरा छोड् र भोलि बिहानको खानामा के खान्छौ भन,' आमाले सोध्नु भयो।
'जे पकाउनु हुन्छ त्यो मेरो लागि स्पेशल हुन्छ, जे पनि पकानुस् ... म आठ बजेसम्म आइपुग्छु।' कैलाशले भन्यो।
आमा बजार जानुपर्ने भएकोले उहाँले फोन काट्नुभयो। बाटोमा धेरै नेटवर्कको समस्या थियो। नेटले पनि काम गरिरहेको थिएन। उसले मोबाइलमा गीत बजाएर सुत्नु राम्रो ठान्यो। कैलाशको अर्को विशेष कुरा थियो, जसको कारण साथीहरूले उसलाई जिस्काउने गर्थ्यो। त्यो विशेष कुरा यो थियो कि ऊ जस्तो सुकै ठाउँमा पाँच मिनेट आँखा बन्द गर्दा निदाउन सक्दथ्यो। कहिले कुर्सीमा, कहिले ढुङ्गा माथी, कहिले पोष्ट भित्र म्याटमा सुत्ने गर्थ्यो। यो यति मीठो निद्रा हुन्थ्यो कि ऊ आँखा बन्द हुने प्रतीक्षा गर्थ्यो।
***
गीत सुन्दै गर्दा ऊ गाडीमै निदायो। त्यो निद्रा पछि उसलाई केही याद छैन। किन हो कुन्नी घर पुग्दा उसलाई कसैले देख्न सकेनन्। घरको सिसा पनि फुटायो किनभने उसको प्रतिबिम्ब त्यसमा देखिँदैनथ्यो। न शशीले उसलाई देखिन्, न उनको आमाले। शशीले आमाको फोनबाट फोन गर्दा कैलाशले आफूलाई कुनै जंगलमा बेहोस अवस्थामा पल्टिरहेको पाएको थियो।
उसको फोनको घण्टी तारन्तार बजिरहेको थियो। उसले गाडीका जलेका भागहरू र साथीहरूको शवहरू हेरिरहेको थियो। ऊ भित्र एउटा अनौठो डर भरिएर आएको थियो। किनभने उसले भर्खरै ऐनामा आफुलाई किन देखेन् भन्ने कारण पत्ता लगाएको थियो। शशीले उसलाई किन देखिनन्? आमाले उसलाई किन महसुस गर्नुभएन? कैलाशलाई सबै कुरा थाहा भइसकेको थियो। यी सबैको कारण ऊ मरिसकेको थियो। तर उसको आत्मा केवल घर जान चाहन्थ्यो, त्यसैले शरीरलाई छोडेर उसको आत्मा घर गएको थियो।
अब ऊ घुँडा टेकेर आफ्नो खसेको मोबाइल तिर लाग्यो। झाडी यति बाक्लो थियो कि उभिएर हिँड्न सकिँदैनथ्यो। मोबाइल समात्न खोज्दा उसले मोबाइलको नजिक कसैको खुट्टा देख्यो। खुट्टा देखेर उसले टाउको उठायो। उसको अगाडि एउटा घाइते सिपाहीलाई देख्यो जसले मोबाइल उठायो र आगमन कल विच्छेद गरेपछि हेल्पलाइन नम्बर डायल गर्यो।
'जय नेपाल ... सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको प्रहरीको जीप एम्बुसमा परेको छ। गाडीमा रहेका सबै मारिएका छन्। बिद्रोहीहरूले आक्रमण गर्दा म गाडीबाट उछिट्टिएकोले म मात्र बाँचेको छु । गाडी विद्युतीय धरापले बिष्फोट गरिएको थियो र यसको सन्तुलन बिग्रिएर पल्टिएको बेला गोली चलाइएको थियो। धेरै कठिनाइका साथ, म सबै साथीहरुको शवसम्म आइपुगेको छु।'
'ठीक छ, आफ्नो ख्याल राख्नु, हामी केही गर्छौं।' यति भन्दै उताबाट फोन काटियो।
'ओहो, यो त भवानी हो...।' कैलाशले आफैलाई भन्यो र झाडी हटाउँदै भवानीको नजिक पुग्यो।
उसले भवानीलाई केही भन्नै लागेको थियो। शशीको फेरि फोन आयो। भवानीले उनको नाम लिँदै भन्यो।
'मैले अब शशी भाउजुलाई के भनूँ, कसरी फोन उठाऊँ?'
'ए ! प्लीज उठाउन, र कैलाश आउँदैछ भन्देऊ।' उसले भनेको थियो । भवानी पनि बोल्यो- 'कसरी भन्नु, मसँग हिम्मत छैन, तर कैलाश जान्छ, कैलाश घर जान्छ र त्यो पनि पूर्ण शानका साथ, चन्द्र सूर्य अंकित झण्डा ओढाएर। कैलाश चन्द्र सुर्यमा बेरिएर घर पुग्नु अघि, उसको कथा पुगिसकेको हुनेछ। यी आठ वर्षमा उसले विद्रोहीहरूको क्रियाकलापलाई निष्क्रिय बनाएको थियो। कैलाशले उनीहरूको आधार क्षेत्रमा प्रवेश गरेर महत्वपूर्ण दस्तावेजहरू प्राप्त गर्ने सफल भएको थियो। प्रहरी रत्न पदक पनि पाएको थियो। यति मात्र होइन, कैलाशले एक्लै विद्रोहीहरूको अपहरण गरी लगेको नागरिकहरूलाई उम्काएर ल्याएको हुनाले पूर्ण शान्ति पदक पनि पाएको थियो।' भवानीले आँखामा आँसु लिएर एक्लै कैलाशको प्रशंसा गरिरहेको थियो ।
‘ए साथी, नरोऊ, तिमी मेरो लागि रोयौ। मलाई त्यो आमाको चिन्ता छ जसले भोलि बिहान छोरासँगै खाना खानेछु भनेर सोचेर हिजो राती राम्ररी खाना पनि खाएको छैन होला। मेरी श्रीमती शशी... कति अभागी उनी, मैले वर्षमा एक पटक मात्र मायाले अँगालो हाल्छु। उनी पनि म आउने प्रतीक्षामा हुनुपर्छ। पहिले उनी धेरै गुनासो गर्छिन् र त्यसपछि उनले आफ्नो मनको कुरा मलाई भन्छिन्, म फेरि उनको हात समातेर औंलाले घुमाएर कुनै पुरानो नेपाली गीतमा रमाउने छु। जसरी हामी हरेक पटक रमाउँथ्यौं । हाम्रो धेरै सपनाहरू चकनाचुर भएका थिए।’
कैलाश रोकियो र भवानी पनि त्यहीँ रोकियो। उसले फोन उठाएन तर आफ्नै मोबाइलमा फोन गर्न थाल्यो किनभने उसको मोबाइल पनि हराएको थियो। झाडीहरू छिचोल्दै सूर्यको प्रारम्भिक किरणहरू उनीहरूतिर आउन थाल्यो र झाडीहरूको शीत पनि कुहिरो बनेर उड्न थाल्यो। भवानी लासहरूको नजिकै बस्यो र मद्दत टोली आउने प्रतीक्षा गर्न थाल्यो।
कैलाशलाई अब महसुस भयो कि ऊ मरिसकेको छ। त्यसैले यी झाडीहरूमा बस्नुभन्दा घर गयो। उनीहरूसम्म खबर पुगेको छ कि छैन भनेर हेर्नु बढी महत्त्वपूर्ण थियो। जब ऊ घर पुग्यो, उनीहरूलाई अझै पनि कुनै पत्तो थिएन। उनीहरू पक्कै पनि चिन्तित थिए कि साढे नौ बजिसकेको छ तर ऊ घर आइपुगेको छैन। न त उसले फोन उठाइरहेको थियो।
'तिमीसँग उसको साथीहरूको नम्बर होला। कसैलाई फोन गरेर सोध।' आमाले शशीलाई भनिन्।
'एउटा मात्र नम्बर थियो, अब्दुलको, तर ऊ विदामा आएको छैन। मैले उसलाई फोन गरेंको थिएँ।' शशीकलाले भनिन्।
'फेरि एक पटक सोध, उसले कैलाश बाहेक अरू कसैलाई फोन गरेर सोध्नेछ।' आमाले भनिन्।
आमाको जिद्दी देखेर शशीले फेरि अब्दुललाई फोन गरिन्। यसैबीच अब्दुललले भवानीसँग कुरा गरेको थियो। त्यसैले अब्दुललाई सबै कुरा थाहा भइसकेको थियो। अब्दुललेले हिच्किचाउँदै फोन उठायो।
'हेलो... दाइ... के तपाईंले उसँग कुरा गर्नुभयो ?' शशीकलाले भनिन्।
अब्दुलसँग बोल्नको लागि कुनै शब्द थिएनन् । उसले काँपिरहेको स्वरमा भन्यो- 'भाउजू... कृपया टिभी खोल्नुहोस्।' मुश्किल यति भन्दै राहुलले फोन काट्यो।
एकातिर अब्दुलको पीडादायी आवाज सुनेर शशी छक्क परिन् र थप उसले केही भनेन। शशीलाई टिभी खोल्ने हिम्मत थिएन। तर पनि उनी अगाडि बढिन् र टिभी खोल्दै सोफामा बसिन्।
शशीलाई मौन देखेर आमा चिच्याइन्। बिहानै ऐना फुट्नु पहिले नै अशुभ संकेत थियो। त्यसमाथि, बिहानैदेखि उनको दाहिने आँखा फर्फराइरहेको थियो। यसलाई उनी बेवास्ता गर्दै थिइन्, किनभने सधैं राम्रो र सकारात्मक सोच्नुपर्छ।
टिभीमा एकोहोरो समाचार आइरहेको थियो-
- कैलाश र उनका साथीहरू बिद्रोहीहरूको एम्बुसमा।'
- केही दिन अघि कैलाशले देखाएको कारबाहीबाट डराएका बिद्रोहीहरूले रातको अँध्यारोको फाइदा उठाउँदै बदला लिए।
- देशले फेरि छ जना प्रहरीको क्षति भोग्यो। नेपाल आमाका छ जना सपुतहरू फेरि एक पटक आफ्नी आमाको काखमा सदाको लागि सुतेका छन्।
- सम्पूर्ण देशले छ जना शहीद प्रहरी कर्मचारीहरूलाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।
समाचार हेर्दा हेर्दै शशी बेहोस भइन्। आमा पनि आँखाभरि आँसु लिएर टिभी हेरिरहेकी भए पनि न त केही देखी रिरहेकी थिइन् न त केही सुनिरहेकी थिइन्। किनकि उनले जे सुनिरहेकी थिइन त्यो बाहेक संसारमा सुन्न लायक अरू केही थिएन।
समाचार मन पराउने छिमेकीहरू पनि खबर सुनेपछि घरमा आउन थाले।
***
‘पिप....पिप....टिटिट....’ एउटा गाडी लगातार हर्न बजाउँदै थियो र बारम्बार बजिरहेको मोबाइल। बसको सिटमुनि झुण्डिएको हेडफोन र झोलामा टाउको अड्याइएको... सडकको अवस्था र बसको ढिलो गतिले उत्पन्न हुने कम्पनका कारण सबै हल्लिरहेका थिए। शरीर पसिनाले निथ्रुक्क भिजेको कैलाशको आँखाबाट आँसु बगिरहेको थियो। अनि अचानक ब्रेक लाग्दा कैलाश सिटबाट तल खस्यो। लज्जित हुने डरले ऊ तुरून्तै उठ्यो र कसैले उसलाई लडिरहेको देख्यो कि भनेर हेर्न थाल्यो। धन्न सबैजना शान्तिपूर्वक सुतिरहेका रहेछन्। बस चालक मात्र जागा थियो। कैलाशले झ्यालबाट बाहिर हेर्दै लामो हाई गर्दै आफ्नो सिटमा बस्यो।
'हे भगवान्... यी सपनाहरूले पनि मलाई किन यति धेरै सताउँछन्। मैले उनीहरूको आधार क्षेत्रमा धावा बोलेर यति धेरै दस्ताबेजहरू कसरी कब्जा गरें... अनि म आफैं पनि मरेँ... बेकार... आजको सपना पूर्णतया निरर्थक थियो।' यति भन्दै कैलाशले कानमा हेडफोन राख्दै शशीलाई फोन गर्यो – 'हेलो ... तिमी उठ्यौ कि अझै सुतिरहेकी छ्यौ?'
'कसरी सुत्न सक्नु ? खै किन हो, तपाई आउने भनेपछि निद्रा कहाँ हराउँछ मलाई थाहा छैन।' शशीले भनिन्।
'तर अहिले बिहानको ५ बजेको छ, म आइपुग्न अझै पूरा तीन घण्टा लाग्छ र बसको स्पिड हेर्ने हो भने चार घण्टा पनि लाग्न सक्छ।' कैलाशले भन्यो।
'तपाईंको लागि पनि ब्रेकफास्ट बनाउनु छ। आमा बिहानै देखि भान्सामा चलिरहनुभएको छ, सायद उहाँले आज केही विशेष बनाउन लाग्नु भएको छ।' शशीकलाले भनिन्।
'ठीकै छ ... बिस्तारै गर, म पनि बिस्तारै आउँदैछु र ...अनि घर आएपछि म तिमीलाई आजको सपनाको बारेमा भन्नेछु। आजको सपना यति खतरनाक थियो कि जब म ब्यूँझिएँ मेरा आँखा पूरै भिजेका थिए।' कैलाशले भन्यो।
'के देख्नुभयो? घर आएपछि भन्नु होला। म पनि केही काम गर्छु।' पूजाले भनिन्।
'हुन्छ ... बाइ ' कैलाशले फोन काटेर आँखा बन्द गर्यो। अरू सबै साथीहरू पनि सुतिरहेका थिए। कैलाश निदाउन सकेन। ऊ त्यो अनौठो सपनाको बारेमा सोचिरहेको थियो।
'आमाले ठीकै भन्नुहुन्थ्यो, मेरो सपनाको बारेमा एउटा किताब लेख्न सकिन्छ। अवकाश लिएपछि ... म मेरा सबै सपना लेख्नेछु,’ यति सोच्दै कैलाशले पुन: सुत्ने प्रयास गर्यो।
सडकको अवस्था बसको झट्का र यात्रा, अनि त्यससँगै एउटा नयाँ सपना। कैलाशको जीवन निद्रा र सपनामा अल्झिएको थियो। उसले जहाँ आँखा बन्द गर्दथ्यो त्यहीँ सुत्थ्यो र एउटा नयाँ सपना देख्दथ्यो।
***