कविता
आमा,
तिमीलाई भुलेको होइन म।
तिमी मेरा लागि केवल आमा मात्र हैनौ,
तिमी पृथ्वी हौ,
तिमी आकाश हौ,
तिमी उज्यालो दिने सूर्य हौ,
शीतलता दिने चन्द्रमा हौ।
तिमी शिवकी अर्धाङ्गिनी पार्वतीजस्तै
त्याग र तपस्याको मूर्त रूप हौ।
तिमी लक्ष्मीसरह समृद्धिको प्रतीक हौ,
तर आफ्नै जीवनमा समृद्धि खोजेनौ,
छोराका लागि मात्र चाह्यौ।
तिमी सरस्वतीसरह ज्ञानकी नदी हौ,
तर आफ्नै अक्षरलाई
मेरो उज्यालो बनाउन चढाइदियौ।
समाजले तिमीलाई कहिले बुझेन,
तर म बुझ्छु आमा—
तिमी देवी हौ,
जसको पूजा गर्ने मन्दिर
मेरो मुटु भित्रै बनेको छ।
बुबाले भन्नुभएको थियो—
'सन्तान, जीवनको बाटोमा
सिद्धान्त र श्रम गुमाउनु हुँदैन।'
आज म त्यही बाटोमा हिँड्दै छु।
तर आमा,
थाहा छ तिमीलाई,
हाम्रो समाजले हामीलाई
पखेँटा दिएन।
हाम्रो देशले
हामीलाई आफ्नै माटोमा बस्ने अधिकार दिएन।
त्यसैले त,
छोराहरू आकाश चुम्न परदेश लागे,
आमाहरू पर्खाइमा धुलो खाँदै बसे।
आमा,
चाडपर्व आयो कि
तिमी घरको ढोका हेरिरहन्छौ।
छिमेकी आमाहरू छोराछोरीसँग हाँस्छन्,
तर तिमी सुनसान कोठामा
मेरो नाम जपिरहन्छौ।
तपाईँका हातका चुरा सुनसान हुन्छन्,
तपाईँको निधारमा सिन्दुर नाच्दैन।
तर आमा,
म भन्छु—
तिमी रोएनौ भने मात्र
छोराले परदेशमा आँसु थाम्न सक्छ।
मलाई थाहा छ—
तिमीले भोकै बस्नुहुन्छ,
तर छोरालाई फोनमा भन्नुहुन्छ,
"सबै राम्रै छ, पिर नगर्नू।"
तर आमा,
मेरो मुटु काटिन्छ त्यो सुन्दा।
मेरो निधार चिरिन्छ
तपाईँको पीडा सम्झँदा।
तिमी देवी हौ आमा,
तर तिमीलाई त दुःखले पूजा गर्यो।
म फेरि प्रतिज्ञा गर्छु—
म फर्किन्छु।
मेरो पसिना, मेरो परिश्रम
गंगाजस्तै पवित्र हुन्छ।
मेरो संघर्ष
एक दिन तपाईँको आँचलमा फूलझैँ खस्छ।
म फर्किन्छु,
मेरो पहिचानसहित,
मेरो विजयसहित।
त्यो दिन
तिमीलाई केवल आमा भनेर हैन,
"देवी" भनेर पुकार्नेछु।
तपाईँको काँधमा हात राखेर भन्छु—
"यो संसारमा म जे भएँ,
तपाईँकै कारण भएँ।
माया, त्याग, तपस्या र आँसु—
यी चारवटा मन्त्र हुन्,
जसले मलाई जीवन दिन्छन्।"
आमा,
तिमी देवी हौ।
तिमीलाई पूजा गर्ने
सन्तान म आफैं हुँ।
मेरो जीवन तिम्रो चरणमा चढेको प्रसाद हो।
मेरो सास तिम्रो आशीर्वादको दीप हो।
मेरो यात्रा तिम्रो मायाको आकाश हो।
आमा,
तिमी पर्खिरहनुहोस्—
छोरो फर्किन्छ।
तिमीलाई गर्व बनाउने,
तिमीलाई इतिहासको देवी बनाउने,
तिमीलाई समाजको आँखामा
शक्ति, श्रद्धा र विजयको प्रतिमा बनाउने।