थाहा छ मलाई पत्रकार महोदय
तिमी यहाँ आउनुको कारण
अब तिमीले
मेरो जीवनलाई दुई तस्वीरमा विभाजित गर्छौ
एउटा असाध्यै सुन्दर
अर्को असाध्यै कुरुप
सुन्दर तस्वीरलाई पहिलेको सौन्दर्य भन्नेछौ
दोस्रोलाई अहिलेको क्रुर यथार्थ
हुन पनि हो
पहिलेको तस्वीरको शिरमा सुन्दर झरना छ
अहिले पहिरो गएपछिको नाङ्गो डाँडो
तिमी त्यही दुई तस्वीरको फरक देखाएर
दुनियाँको आँसु लुटनेछौ
र जम्मा गर्नेछौ
मेरो खातामा केही लाख
अनि तन्काउनेछौ जीवनलाई रबर जस्तो एकपटक तनक्क।
तिमी जे गर
करौडौँ उठाएर मलाई बचाए पनि
के म पुरानो तस्वीरमा फर्किन सक्छु?
च्यातेका फूलहरू के फेरि सिलाउन सक्छु?
ऐना फेरि मेरो ढकमक्क फुल्न सक्ला र?
नजर फेरि मेरो जगमग बल्न सक्ला र?
मेरो ढुकढुकी कति नै हाँस्यो र
तिम्रो यो कुरा सुनेर
तिमी बाँच्नछौ अब
तिम्रो खातामा पन्ध्र लाख जम्मा भएको छ
तैपनि बाध्यता मेरो
अरुको टुक्रा-टुक्रा दयालाई जोडेर
म अहिले जीवनको भिख माग्दैछु।
हो, म आज जीवनदेखि गलेकी छु
फूल ढकमक्क फुल्दा म झरेकी छु
आफनै शरीर उचाल्न नसक्ने गरी थलेकी छु
चराको पखेटा मुनि ढलेकी छु
मलाई विश्वास छ
म फेरि चरामाथि माथि उडनेछु
हिजो मैले प्रेम अस्वीकार गर्दा
यिनको रूप झरोस् भनेर सराप्नेहरू
आज बेसरी हाँस
म क्यान्सरको तेजाबले जलेकी छु
दया पनि पर्दैन तिमीहरूको आज
अभिशाप फिर्ता पनि माग्नु पर्दैन
के ती फूलहरू जुन म सुन्दर हुँदा
फुलेका थिए
ती फूलहरू फेरि फुल्लान् र?
सराप फिर्ता माग्दैमा
झरेका कपालहरू मेरा फेरि खुल्लान् र?
मैले बिर्सिसकेँ सबै कुराहरू विगतका
म जिउँदै लास भइसकेकी छु
मेरो लासलाई बोल्न दिएको छ आज
म बाँच्न चाहन्छु
फेरि हाँस्न चाहन्छु
यसरी बोलेबापत
सकी नसकी हाँसेबापत
जीवनको भिख मागे बापत
सुनाइएको छ मलाई भर्खरै खुसीको खबर
तिम्रो खातामा पन्ध्र लाख जम्मा भएको छ।
यस्को मतलब यो होइन
म जीवनलाई माया नै गर्दिनँ
मलाई अझै जीवन मन पर्छ
यो युद्धमा कि म जीवन जित्नेछु
हार्दा पनि, संघर्षलाई जिताउनेछु
ताकि आत्महत्या गर्नेहरूले बुझुन्
जीवनको महत्त्व कति छ।