विचार बिक्न छाडेको समाजमा
तिमी कुन विचारको कुरा गर्छौ?
जहाँ विचार होइन, व्यक्ति बिक्छ
खैर, अचम्म नमान्नु।
जहाँ भाइरलिजमको मूल्य छ
नग्नताको बजार छ
अधर्मको प्रचार छ
तर सत्य र विचारको मूल्यहीनता छ।
हामी यस्तो समाजमा आइपुगेका छौँ?
जहाँ सोच होइन, स्वरूप पुजिन्छ
जहाँ प्रश्न होइन, पहिचान बिक्छ
जहाँ विचार होइन, व्यक्ति पुजिन्छ।
विडम्बना त के छ भने—
यही समाजका हामी
फेरि गर्वका साथ भन्छौँ
‘हामी सचेत नागरिक हौँ।’
हामी घुर्की लगाउँछौँ
सभ्यताको खोल ओढ्छौँ
तर व्यवहारमा
समर्थन गर्छौ स्वार्थ हेरेर
विरोध गर्छौ अनुहार हेरेर।
विचारको पक्षमा उभिन
हामीसँग समय छैन
न त धैर्यता नै छ।
हामी रातारात कायापलट खोज्छौँ
रातारात आमूल परिवर्तन खोज्छौँ
सर्वगुण नेता खोज्छौँ
तर धैर्य र आत्मसंयम खोज्नै जान्दैनौँ।
देशको समृद्धि
हामी सधैँ अरूबाट अपेक्षा गर्छौँ
आफू भने हरेक दिन
देशलाई असभ्यताको किनारतिर धकेल्छौँ।
अरूको सफलता
हामी सहन सक्दैनौँ
अरूको उन्नति
हामी देख्नै जान्दैनौँ
तर सभ्य समाजको सपना भने
हामी हरेक दिन देख्छौँ।
सभ्य समाज तब बन्छ—
जब व्यक्ति होइन, विचार बोकिन्छ
जब अनुहार होइन, मूल्यको पहिचान हुन्छ
जब भाइरलिजम होइन, विवेक रोजिन्छ
किनकि
व्यक्ति क्षणिक हुन्छ
तर विचार अमर हुन्छ।