कविता
तिमीले बसाइँ सारी गयौ
यो मन त्यसै मारी गयौ
गल्ती के भयो र मेरो मायामा 'माया' ?
मलाई मज्धारमा पारी आफू पारि गयौ।
भन्ने गर्दथ्यौ,
'दीप म बत्ती तिमी
आकाश म धर्ती तिमी
विश्वास म शक्ति तिमी'
तिम्रा यी उपमाको आज उपहास गरी गयौ।
मेरो जीवनमा अब,
कथा तिमी व्यथा पनि तिमी
हाँसो तिमी आँसु पनि तिमी
कसरी भनूँ मेरो शिरताज अनि सर्वस्व तिमी- २
श्रीपेचका सारा रत्न भुइँमा पछारी गयौ।
जीवन प्रेमगीत हो भन्थ्यौ
प्रेमको गीत अभिषप्त पारी गयौ
भरे यही हालमा भेटिनु तिमी- २
जुन हालमा मलाई छाडी गयौ।
कृतज्ञताको पात्र नै हौ तिमी
विश्वासको पर्दा र भ्रमको बादल चिरी गयौ
फुरूङ्ग थिएँ तिम्रो चौघेरा भित्रको बगैँचामा
खुला आकाशको पन्छी बनाई गयौ।