म लाइनमा उभिएर हातमा भएको मोबाइल हेरिरहेकी थिएँ।
कसैले मलाई बोलाए जस्तो लाग्यो। यताउति आँखा घुमाएँ तर चिनेको अनुहार देखिनँ। कफी शपमा धेरै मान्छेहरू छन्। म जस्तै अर्डर लिनेको, अर्डर गर्नेको लाइन लामो छ। कुर्सीमा बसेर खानेहरू पनि प्रशस्त छन्। अरू कसैलाई बोलाएको होला भन्ने अड्कल गरेँ। बोल्ने कोही नभएपछि मोबाइल साथी बन्छ। आफ्नो पालो नआउन्जेल उभिँदै भए पनि घोप्टिएर मोबाइल हेरिरहेँ।
केहीबेरको पर्खाइपछि मेरो अर्डर काउन्टरमा आइपुग्यो।
काउन्टरमा आएको कफी समाएर वरिपरि हेरेँ। कुनामा एउटा खाली टेबुल देखेँ। बाहिर निकै चिसो छ। कफी बोकेर काम गर्ने ठाउँसम्म पुग्दा सेलाउँछ। यहीँ बसेर खान्छु भन्ने सम्झेर टेबुलतिर गएँ।
कफी अनि पेपरमा प्याक पारेको खाजा टेबुलमा राखेँ। ज्याकेट, गलबन्दी, टोपी खोलेर कुर्सीको पछाडि सिउरिएँ अनि त्यही कुर्सीमा बसेँ। कफी पिउँदै फेरि मोबाइल हेर्नमा व्यस्त भएँ।
केहीबेरमा एक व्यक्ति आए। मेरो छेउमा भएको खाली कुर्सी देखाउँदै उनले सोधे, 'के म यहाँ बस्न सक्छु?' मैले 'हुन्छ' भनेँ।
उनले, 'हाउ आर यू?' भने।
उनले सोधेको मलाई मन परेन। चुप लागेर नबसेर किन बोल्नु परेको होला? भन्ने लाग्यो। तर बेवास्ता गर्न नैतिकताले दिएन। वृद्ध व्यक्तिसँग किन असभ्य हुनू! भनेर 'मलाई ठीक छ' भनेँ।
फेरि उनले, 'मैले तिमीलाई लाइनमा देखेर बोलाएको थिएँ।' भने।
त्यसपछि मोबाइलबाट ध्यान हटाएँ। उनको अनुहारतिर हेरेँ। म उनलाई देखेर ट्वाल्ल परेँ। अकस्मात् भेटेर छक्क परेकी म बोल्न नभ्याउँदै उनले, 'तिमीले मलाई बिर्से जस्तो लाग्यो?' भने।
मैले, 'सरी क्यान, हाउ आर यू? भेट नभएको धेरै भयो। तिमीलाई बिर्सिएर होइन। नदेखेर नबोलेकी। तिमी यहाँ भेटिन्छौ भन्ने थिएन।' भनेँ।
हँसिलो मुस्कानसहित हात मिलाउँदै उनले, 'तिमीले नभुलेकामा खुसी लाग्यो। मलाई ठीक छ। बेला बेलामा म यहाँ आइरहन्छु। जाडो दिनमा हिँड्नका निम्ति भनेर सपिङ सेन्टर जान्थेँ। तर आज अलिक व्यस्त छु। जाडोले बाहिर निस्केर धेरै समय हिँड्न सकिँदैन। त्यसैले घर नजिकको कफी शपसम्म हिँड्नुपर्यो। खुट्टा पनि तन्किने कफी पनि खाने भनेर आएको तिमीसँग भेट भयो। तर तिमी चाहिँ यहाँ कसरी?' आश्चर्य मिसिएको भावमा मलाई हेर्दै उनले भने।
उनको जिज्ञासालाई शान्त पार्दै मैले 'भर्खरदेखि यही नजिकै काम सुरू गरेको छु। ब्रेकको समयमा खाजा खान आएकी तिमीलाई भेटेर खुसी लाग्यो। अनि तिम्रो प्यारो साथी खै? लिएर आएनौं?' भने।
उनले, 'ऊ बिरामी छ। हिजो बिहान उसलाई निन्याउरो देखेपछि डाक्टर कहाँ पुर्याएँ। कान इन्फेक्सन भएर ज्वरो आएको रहेछ। पाँच दिनको एन्टिबायोटिक दिएको छ। सन्चो नभएको बेला यस्तो चिसोमा बाहिर जानु हुँदैन। म चाँडै आउँछु। तिमी नसुर्ताइ बस भनेर आएको छु।' भने।
मैले उसलाई सम्झेको छु भनिदिनु। चाँडो सन्च होस् भन्न चाहन्छु। अनि एन्ड्रियाको खबर के छ? सोधेँ।
उनले, 'एन्ड्रियाको घुँडाको समस्या तिमीलाई थाहै थियो। अप्रेसन गर्नुपर्यो। तीन महिनाअघि अपरेसन भयो। मैले उनलाई हस्पिटल पुर्याउने, ल्याउने, फलोअपमा लाने, ल्याउने काम गरेँ। उनको अपरेसनका बेला म व्यस्त भएँ। तर उनलाई सघाउन पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु। त्यसले मलाई खुसी दिएको छ। अहिले उनी अमेरिका गएकी छन्। उनी आएपछि हामी मेक्सिको जान्छौं। घुँडाको समस्याका कारण लामो दूरीको प्लेनमा धेरै बेर बस्न सक्दिनन्। त्यसैले हामीले छोटो दूरीमा घुम्न जाने प्लान बनाएका हौँ। उनी छोरा छोरीसँग फेमिली डे मनाएर फर्कन्छिन्।'
उनको कुरालाई बीचमा काट्दै मैले, 'जाडोमा एक दिन भए पनि काममा आउन जाने झन्झटबाट मुक्ति पाइन्छ। फेमिली डे,पब्लिक होली डे भएकोले म पनि त्यसको प्रतीक्षामा छु। अनि तिम्रो फेमिली डे प्रोग्राम के छ?' भनेँ।
उनले, 'भान्जोले बोलाएको छ। त्यहाँ जानु छ। परिवार घटेपछि फेमिली डे प्रोग्राम धेरै हुने कुरा भएन' भने।
उनको परिवार सदस्यहरूमा अब ऊ मात्र बाँकी छन् भन्ने मलाई थाहा थियो। नसोध्ने प्रश्न सोधे छु जस्तो लाग्यो। गल्तीलाई सच्याउँदै उनका कुरालाई जोड दिँदै मैले, 'हो नि उमेरसँगै धेरै कुराहरू परिवर्तन हुँदै जाने रहेछन्। बाँचिरह्यो भने सन्तानको भविष्य अनि विज्ञान प्रविधिले ल्याएका नयाँ कुराहरू देख्न पाइने रहेछ। तर त्यसको साथसाथै इष्टमित्र, परिवारका आत्मीय जनहरू गुमाउनुको पीडा पनि सहनु पर्ने रहेछ। अरू नयाँ नौलो के छ? भन।' भनेँ।
उनले, 'अरू सब ठीक छ। दुई वर्षमा के फरक हुन्छ र? तिमी आउँदा जस्तो थियो अहिले पनि त्यस्तै छ। केवल मेरो लिभिङ रूममा भएका बिरूवाहरू पहिला जस्तो सप्रिएका छैनन्। तिमी आउँदा मेरो घरछेउ बन्दै गरेको अग्लो अपार्टमेन्ट बिल्डिङ बनिसक्यो। त्यसले घरमा आउने घाम पूरै छेलिदिन्छ। त्यसैले बिरूवा छ्याङ्गिन सक्दैनन्। फस्टाउन नसकेका तिनीहरूलाई देखेर दुःख लाग्छ। बिरूवा राखूँ वा फालुको दोधारमा हुन्छु। फुत्त फ्याल्न मनले मान्दैन। कहिले चिसो सकिन्छ अनि बाहिर निकालूँ भनेर पर्खेर बसेको छु।' भने।
पुराना यादहरू समेटेर वर्षौंदेखि बाँचिरहेका बिरूवाहरूको बारेमा कुरा गरिरहँदा उनको अनुहारमा मैले निराशा देखेँ। तर उनले तुरून्तै विषय परिवर्तन गरे अनि 'तिम्रो परिवारको बारेमा सुनाऊ' भने।
मैले, 'हामीलाई ठीक छ। छोराहरू बढ्दैछन्, पढ्दैछन्' भने। उनले, 'बढ्ने भने कै केटाकेटीले हो। स्वास्थ्य भएर बढ्दै जाऊन् शुभकामना छ। उनीहरू जस्ता नयाँ पुस्ताका लागि मैले ठाउँ खाली गर्नुपर्ने तर दुई वर्षअघि तिमीले मर्यो कि? भनेर शङ्का गरेको मान्छे अहिलेसम्म जस्ताको तस्तो छु' भनेर मज्जाले हाँसे।
उनको हाँसोमा हाँसो मिलाउँदै मैले, 'शङ्का गर्ने बाटो तिमीले बनाइदिएका थियौँ। तिमीले तिम्रो आमाको मृत्युको बारेमा नसुनाएको भए सायद म शङ्का गर्ने थिइनँ होला। तिमीले सुनाएका कुरा बिर्सियौ।' भनेँ।
उनले पुराना कुराहरू याद गर्दै भने, 'बिर्सिएको छैन। याद छ। त्यो दिन ढोका खोल्ने बित्तिकै मैले तिमीलाई भनेको थिएँ। अस्ति मेरो बर्थडे थियो। एक दुई घण्टा बस्नुपर्यो भनेर भान्जाले बुहारी अनि नानीहरू लिएर आएछन्। सर्प्राइज दिनका निम्ति बिना खबर आएका उनीहरूलाई देखेर म खुसी भएको थिएँ।
भान्जाले, 'मामा खबर नगरी आएकाले बेग्लै रमाइलो भयो।' भने।
त्यसपछि हामीले कफी खाँदै निकैबेर गफ गर्यौं। मेरा घरमा केटाकेटीले मन पराउने खाने कुरा हुँदैन भन्ने भान्जालाई थाहा थियो। त्यसैले भान्जाले आफैले बोकेर ल्याएको खानेकुरा नानीहरूलाई दिए। मैले डाइनिङ टेबुलमा बसेर खाऊ, सोफामा बसेर नखाऊ भनेँ। तर केटाकेटी न हुन्। उनीहरूलाई के मतलब? खुला ठाउँमा उफ्रिन, कुद्न पाएका केटाकेटीहरू के सुन्थे? खानेकुरा सबैतिर पुर्याएँ। चिप्स, बिस्कुटका प्याक बोकेर यताउता कुदेको कुदै गरे। मेरो साइट टेबुलमा वर्षौंदेखि राखेको गमला समेत फुटाइदिए। भान्जा र बुहारीले वास्ता नगरेपछि आफूले मात्रै बारम्बार यसो नगर, त्यसो नगर, न कुद भनेर मनाही गर्ने कुरा भएन। आउँदै छु भनेर आएका भए सामान मिलाएर एउटा कुनामा राख्थे। त्यसो पनि भएन। यस पटक तिमीले बढी काम गर्नुपर्ने भयो भनेको थिएँ।
तिम्रो मेहनतले काम सुरू गरेको केहीबेरमा घर पहिलाको जस्तो व्यवस्थित भएको थियो। घर चिटिक्क भएको उपलक्ष्यमा मैले मीठो कफी बनाएको थिएँ। हामीले कफी खाँदै गफ गरेका थियौं। त्यही दिन गफका क्रममा मैले मेरी आमाको मृत्युको घटना तिमीलाई सुनाउँदै भनेको थिएँ।
१२ वर्ष अगाडिको त्यो दिन म बिर्सन सक्दिनँ। धूमधामसँग बर्थडे पार्टी मनाएर सबै जना घर गइसकेका थिए। आमा मात्र बाँकी हुनुहुन्थ्यो। माइकले म आमालाई घर पुर्याउँछु भन्यो।
मैले 'तिमीले धेरै ड्रिङ्क गरेका छौ। आमालाई ट्याक्सीमा पठाऊ' भनेँ।
राति १ बजे आमालाई घर पठाएर हामी सुत्यौं। भोलिपल्ट बिहान फोनको घण्टीले मलाई बिउँझायो। आँखा मिच्दै यति बिहानै कसले फोन गर्यो? भनेर फोन उठाएँ।
बेलासँग कुराकानी भयो। मलाई मात्र बिहानै जस्तो लागेको रहेछ। घडीले दिउँसोको १ बजाइसकेछ। फोन राखेर माइकको कोठामा गएँ। ऊ मस्त निदाइरहेको थियो। बिस्तारै ढोका ढप्काएँ अनि बेलाको घरतिर लागेँ। मलाई नै पर्खेर बसिरहेकी बेलाले मलाई बोलाउनुको कारण स्पष्ट पार्दै, 'राति अनौठो आवाज सुनेर म ब्युँझिएकी थिएँ। बाहिर निस्केर हेर्दा तिम्रो आमाको रूममा बत्ती बलेको देखेँ। आइसकिछिन् भनेर फेरि सुतेँ। हिजो तिम्रो बर्थडे पार्टीबाट फर्किँदा ढिलो भएको भन्ने मलाई थाहा छ। तर पनि उनी यति लामो समयसम्म सुत्ने मान्छे होइनन्। अहिलेसम्म उनको चालचुल छैन। दिउँसो भइसक्दा पनि बत्ती बलिरहेको छ। तिम्री आमाले तिम्रो नम्बर दिँदा तिमीसँग चाबी छ भनेकी थिइन्। कतै तिम्री आमा आपतमा छन् कि? ढोका खोलेर हेर्छौ कि? भनेर फोन गरेको' भनिन्।
मैले, 'चाबी ल्याएको छैन। म घर गएर लिएर आउँछु'। भनेर त्यहाँबाट निस्केँ। बेलाले आजभन्दा अघि मलाई फोन गरेकी थिइनन्। हिजो आमाले धेरै ड्रिङक गर्नुभएको थियो। लफडा गर्नुभएछ कि क्या हो? भन्ने लागेको थियो। तर त्यस्तो होइन रहेछ। आमाले मेरो छेउको कोठामा बस्न आएकी महिला छिमेकी मात्र होइन छिमेकीका रूपमा शुभचिन्तक पाएकी छु भन्नुहुन्थ्यो। बेलाले फोन गरेर त्यसको प्रमाण दिइन् भन्ने सोच्दै घर पुगेँ। घरभित्र पसेर माइकको कोठामा हेरेँ। ऊ निदाइरहेको थियो। निदाएको मान्छेलाई किन डिस्टर्ब गर्नु? भनेर चाबी लिएर फर्केँ।
आमाको अपार्टमेन्टमा पुगेर ढोका खोलेँ। ढोका खोल्ने बित्तिकै आमालाई देखेँ। आमा डाइनिङ टेबुलको छेउको भुइँमा घोप्टिएर लड्नु भएको थियो। आमा, आमा भनेर बोलाउँदै भित्र पसेँ। आमाले कुनै प्रतिक्रिया दिनुभएन। आमालाई उठाउनु पर्यो भनेर छोएको छुने बित्तिकै थाहा पाएँ। आमाको प्राण गइसकेको थियो। ढिला नगरी पुलिसलाई कल गरेँ। जीवनको के भर? अहिले छ, भरे छैन।
हिजो बेलुका त्यस्तो रमाइलो गर्नु भएकी आमा अहिले मृत भइ सक्नु भयो। लामो आयु बाचेकी आमाको मृत्युमा गुनासो गरिनँ। आमासँग बिताएका पलहरू आँखामा झलझली आइरहे। सोफामा बसेर आमालाई हेरिरहेँ। आमाका छेउमा बसेकी बेलाले, 'तिमीले यति चाँडै छोडेर जान्छौ जस्तो लागेको थिएन। असल साथीको रूपमा तिमीलाई सधैँ सम्झी रहने छु।' भनिन्।
बेलाका आँसुले आमाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरे। म सुर्ताएकी बेलाको छेउमा गएँ। उनलाई अँगालो हालेँ अनि 'तिमी नभएको भए, यो घटना कति समयपछि थाहा पाउँथें भन्न सक्दिनँ। त्यसैले तिम्रो यो उपकार सधैं याद गर्ने छु। धन्यवाद बेला' भनेँ।
केहीबेरमा पुलिस आए। सोधी खोजी गरे। केही बेरको निरीक्षणपछि निष्कर्ष सुनाए। फ्रिजमा राख्नुपर्ने सामान टेबुलमै छ। जुत्ता पनि थन्काएको छैन। यसको मतलब तिम्री आमा कोठाभित्र पसिन्। बत्ती बालिन्। झोलाको सामान निकालेर टेबुलमा राखिन्। तर सामान थन्क्याउन नभ्याइकन लडिन्। झोलाबाट निकालेको दूध अनि केक बिग्रिने सामान हुन्। फ्रिजमा राख्नु पर्थ्यो। तर फ्रिजमा थन्काउन भ्याइनन्। यसबाट के देखिन्छ? भने तिम्री आमाको निधन छोटो समयमा भएको छ। तर मृत्यु शंकास्पद छैन।
मलाई राम्ररी थाहा छ। त्यही दिन मैले तिमीलाई भनेको थिएँ 'म पनि सिङ्गो घरमा एक्लै बस्छु।' उनका कुरालाई बीचमा काट्दै मैले, 'हो यही कुराको कारण मैले शङ्का गरेकी थिएँ। नत्र भने आयुको निर्धारण कसले गर्छ? यसको मापदण्ड के हो? अमूल्य जीवनको समयावधि कति हो? थाहा हुँदैन।
जीवनको अन्त्य जुन बेला हुनसक्छ। तर तिम्रो आमाको जस्तो मृत्यु मैले किताबमा मात्रै पढेकी छु। हाम्रोमा संयुक्त परिवारको परिपाटी छ। हामीहरू संयुक्त रूपमा बस्न रूचाउँछौं। वृद्धावृद्धाहरूको साथमा कोही न कोही बस्ने चलन छ। हाम्रोतिर वृद्धावृद्धाहरू यहाँ जस्तो एक्लै बस्दैनन्' भनेकी थिएँ।
फेरि संयोग पनि त्यस्तै थियो। तिम्रो बर्थडे पछाडि आउँदा ढोका खुलेन अनि शङ्का नगरेर के गर्नु? त्यो दिनको घटना तिमीलाई थाहै छ। मैले पहिला भनेको हो। त्यस दिन मैले मूल ढोका छेउमा भएको घण्टी बजाएँ। लक्की भुक्यो। केहीबेर पर्खेर फेरि घण्टी बजाएँ। केही शान्त भएको लक्की चर्को स्वरमा भुक्न थाल्यो। उसको खट्टाले ढोकामा नङ्गाइएको मैले बाहिरबाट सुनेँ। तर ढोका खुलेन। त्योभन्दा पहिले कहिले त्यस्तो भएको थिएन। जाडोको समयमा आउँदा पनि तिमीले ढोका धप्क्याएको मात्रै हुन्थ्यो। घण्टी बज्दा तिमी ढोका खोल्न असमर्थ भए भित्रबाट ढोका खुल्ला छ। आए हुन्छ भन्थ्यौं।
तिमीले सुपरभाइजरलाई अस्पतालमा भोलेन्टियरिङमा जान्छु। यस पटकको हाउस किपिङ क्यानसल गर्छु भने पनि उसले मलाई जानकारी नगराएपछि? अनि तिमीले बाहिर जाँदा सधैं झोलामा हालेर बोक्ने लक्की घरभित्र भुकेपछि? तिमी घरमा नभएर ढोका नखुलेर भन्ने मलाई कसरी थाहा हुन्छ?
त्यसमाथि तिमीले, 'तिमी काम गर्न आउँदा मैले ढोका खोलिनँ भने सम्झनु म पनि आमा जस्तै घरभित्र मरिराखेको हुन सक्छु' भनेका थियौ। त्यसैले अधिक शङ्का गर्नुपर्ने अवस्था सिर्जना भयो। वास्तवमा भन्नु पर्दा सुपरभाइजरले आज क्यान घरमा छैन नभनेसम्म तिमी घरभित्र मरिरहेका छौ कि? भनेर म डराएकी थिएँ।
उनले हाँस्दै, 'मृत्यु शाश्वत सत्य हो। म मृत्युसँग डराउँदिनँ। त्यसैले म घरभित्र मरिहालेँ भने लक्की भोककै नहोस् भनेर उसको भाँडोमा चाहिनेभन्दा बढी खाने कुरा राखिदिन्छु। मेरो मृत्युपछि मेरो बैंक खातामा बाँकी रहने पैसा डग रेस्क्यु सोसाइटीलाई डोनेसनमा दिएको छु भने घर भान्जालाई दिएको छु। केटाकेटी साना हुँदै मामा घरमा सर्न पाए अपार्टमेन्टमा कोचिएर बसेका केटाकेटी सहजले हुर्किन्थे भनेर होला भान्जाले पहिलाको भन्दा धेरै खोजी गर्छन्। बाक्लै फोन गर्छन्। त्यसैले म ढुक्क छु। म भित्रै मरिहालेँ भने लक्कीले धेरै दिन भोकै बस्नु पर्दैन। म सदैव मृत्युका लागि तयार छु। तर म मात्र तयार भएर हुँदैन। मृत्युले मेरा लागि तयार गरेको समय आउनुपर्यो।' भने।
मृत्युलाई सहज रूपमा वर्णन गरिरहेका उनलाई हेर्दै मैले सम्झेँ आजसम्म मैले आफन्त, परिवारसँग बसेर आफ्नो मृत्युको कुरा गरेको छैन। हाम्रो समाजमा मृत्युको बारेमा खुलेर कुरा हुँदैन। मृत्यु सबैले बेहोर्नुपर्छ, मृत्युको विकल्प छैन भन्ने थाहा भए पनि मृत्यु कुरा गर्न नरूचाइने विषयमा पर्दछ। मृत्युको बारेमा कसैले कुरा गरिहाल्यो भने त्यस्तो अलच्छिन कुरा किन गरेको? आफै मर्ने कुरा पनि कसैले गर्छन्? त्यस्तो कुरा गर्नु हुँदैन भन्ने परिपाटी छ।
उनले हातमा भएको घडी हेरेँ अनि, 'दुई बज्न लागेछ। आज मेरो डाक्टर एपोइन्टमेन्ट छ। मलाई देखेर डाक्टरहरू अचम्मित छन्। सिजनल सिकनेस बाहेक यो उमेरमा पनि स्वस्थ जीवन बाँचेको देखेर उनीहरू छक्क पर्छन्। सधैं प्रसन्न देखिन्छौ। तिम्रो स्वस्थ जीवनको रहस्य के हो? तिमीसँग समय छ? भने भोलिन्टियरको रूपमा आएर अरू बिरामीहरूलाई हौसला दिन सक्छौ? भनेर बोलाउँछन्।
प्रत्येक पटक मेरो दिनचर्या सोध्छन् अनि तिम्रो दिनचर्याले तिमीलाई स्वस्थ राखेको छ। त्यसलाई कायम राख भन्छन्। मेरो दिनचर्यामा दिनको दुई पटक एक घण्टाका दरले लगातार हिँड्नुलाई मैले पहिलो प्राथमिकतामा राखेको छु। तिमीलाई थाहै छ, मलाई घरभित्र मात्रै बस्न मन लाग्दैन। घरभित्र मात्र बसेर तन्दुरूस्त हुन गाह्रो छ।' भन्दै ज्याकेट लगाए।
गलबन्दी र टोपी लगाइसकेपछि 'मेरो घर नजिकै काम गर्न थालेछौ। फेरि भेट हुन्छ भन्ने आशा गर्छु। अहिले निस्कन्छु।' भनेर हात मिलाउन हात अघि सारे।
मैले, 'धेरैपछि तिमीसँग भेटेर रमाइलो कुराकानी भयो। तिम्रो दिन शुभ रहोस्। बाटो चिप्लो छ बिस्तारै जानु' भन्दै हात मिलाए। 'तिमी आफ्नो ख्याल गर्नु। तिम्रो परिवारलाई मैले सोधेको छ।' भन्नु भनेर उनी पसलबाट बाहिर निस्के। बाहिर पुगेका उनलाई ठूलो सिसाको झ्याल भित्रबाट हेरिरहेकी मैले हात हल्लाएर बाई बाईको इसारा गरे।
कफी शपमा बसेर बाहिर हिँडिरहेका उनलाई मैले आँखाले देखिन्जेल हेरिरहेँ। एक्लै छु जाऊँ कि नजाऊँ भन्दै आएकी थिएँ। तर उनलाई भेटेर मन प्रसन्न भयो। नत्र भने यहाँ खचाखच भरिएको पसलमा कसैलाई कोहीसँग मतलब छैन। सबै आआफ्नो धुनमा मस्त छन्। कोही खाने कुरा खाइरहेका छन् भने कोही मोबाइल हेर्नमा व्यस्त छन्।
कोही आफ्नो ल्यापटप अगाडि राखेर टाइप गरिरहेका छन् भने कोही किताब पढेर बसेका छन्। सँगै बसेर गफ गर्नेहरू पनि छेउमा बस्नेलाई डिस्टर्ब नहोस् भन्ने अभिप्रायले बोलिरहेका छन्। न कोही ठूलो स्वरले बोल्छन् न कसैले अट्टहास गर्छन्। यो दृश्य मेरा लागि अनौठो लाग्छ किनकी मेरा देशमा चिया पसलमा चिया खाना भेला भएका मान्छेहरूले गरेका चिया गफहरू चिया गफमा मात्र सीमित हुदैनन्।
चिया गफहरू देशमा राष्टिय न्युजका, न्युज लेटरका हेडलाइन सम्म पुग्ने ताकत राख्छन्। चिया पसलमा भएका गफका भरमा राजनीतिक आड भरोसाका आधारमा, कर्मचारीको सरूवा बढुवा हुनेदेखि ठूला ठेका पट्टाहरू कसले पाउने? कसले नपाउने? आदि इत्यादि निर्धारित हुन्छन्।
चिया गफहरूबाट चुनावमा कसलाई टिकट दिने? कसलाई नदिने? कसको सरकार बन्ने? कसले देश चलाउने? कुरा तय हुन्छन्। त्यति मात्र नभएर चिया गफका आधारमा देशको सर्वोच्च न्यायालयका काम कारबाहीमा समेत असर पर्छन्। त्यस्तो परिवेशमा हुर्केर आएकी मेरा लागि यो वातावरण अनौठो लाग्नु स्वाभाविककै हो। त्यसैले मलाई यहाँका चिया पसल मन पर्दैनन्। एक्लै छु भनेर नरमाइलो लाग्छ। तर उनी मेरो हजुर बाको उमेर (८५ वर्ष) को मान्छे एक्लै भए पनि रमाएर खुसी साथ बाँचेका छन्। चिसोको कारण हिउँ जमेर आइस भएको छ। यस्तो जाडोमा घरमा बस्न छोडेर किन हिँडेका होलान्? लडिहाले भने स्याहार गर्ने पनि कोही छैनन् भन्ने लाग्छ तर उनलाई ती कुराको वास्ता छैन। यसको मुख्य कारण उसले बाँचिरहेको परिवेश हो।
यहाँका नागरिकहरूको सहारा राज्य स्वयम हो। सबै नागरिकहरूले सरकारबाट पाउने सेवा सुविधा सहज र सुलभ ढङ्गले प्राप्त गर्छन्। सरकारबाट पाउने सेवा सुविधाबाट कोही बन्चित छैनन्। सरकारी सेवा सुविधा नहुने, नपाउने हो भने, सरकारले सुरक्षाको ग्यारेन्टी नगर्न हो भने सिङ्गो घरमा एक्लै बस्न सम्भव हुँदैन। त्यसमाथि वृद्ध नागरिकहरूको हालत सहजै अनुमान गर्न सकिन्छ। त्यस मामलामा उनी भाग्यमानी नागरिक हुन् जसले सरकारलाई ट्याक्स तिरेबापत राज्यबाट संरक्षण प्राप्त गरेका छन्।
राज्यबाट उनलाई आवश्यक पर्ने स्वास्थ्य सेवा, व्यक्तिगत सुरक्षा अनि आर्थिक भार जस्ता सुविधा ग्यारेन्टीसाथ उपलब्ध गराएको छ। राज्यले भरपर्दो सुरक्षाको प्रत्याभूति गराएको छ। त्यसैले उनी सिङ्गो घरमा एक्लै सुरक्षित छन्। उनको संरक्षक, सहारा राज्य हो अनि राज्यले गर्छ भन्ने उनलाई विश्वास छ। फलस्वरूप त्यो उमेरमा बिना चिन्ता निर्धक्क रमाएर बाँच्न सकेका छन्।
उनी मेरो आँखाबाट ओझेल परेपछि कफी पिउँदै मैले उनलाई भेटेको सम्झिएँ।
दुई वर्षअघि म उनको घरमा हाउस किपिङ गर्न जान्थेँ। मेरो काम तोकिएको समय अगाडि सिद्धिन्थ्यो। जति नै पुर्याएर गर्छु भने पनि एउटा मान्छे बसेको घरमा के फोहोर हुनु? त्यसमाथि १५-१५ दिनमा सोही घरमा सफा गर्न जान्थेँ। बाथरूम, किचन काउन्टर सफा गर्नु अनि कार्पेट छ भने भ्याक्युम लगाउनु र फ्लोर छ भने पुछ्नु। त्यसबाहेक लिभिङ रूममा भएका फर्निचरहरूमा डस्टिङ गर्नु मेरो काम थियो। एक घण्टा बाँकी हुँदा काम सकिन्थ्यो।
घण्टाको आधारमा पैसा पाइने भएकाले काम सक्ने बित्तिकै घर जाँदा पैसा घटेर आउँछ। काम सकेर त्यहीँ बसिराखे सुपरभाइजर छड्के चेकमा आइहाल्यो भने कुरा मिलाउँदा भइहाल्छ भन्ने हेतुले मैले उनीसँग कुराकानी सुरू गरेँ। उनी पनि गफ गर्न रूचाउने रहेछन्। हामीले फुर्सदको समयमा पुराना पिक्चरहरू हेर्दै धेरै कुराकानी गर्यौं। परिवारको प्रसङ्गमा कुरा हुँदा उनले 'मेरा बाआमा इटालीबाट बसाइँ सरेर आएका थिए। उहाँका पाँच जना सन्तान मध्येको म माइलो हुँ। मेरा दुई दिदी, दुई भाइ थिए। तर अब सबै मरिसके म मात्रै बाँकी छु' भनेका थिए।
सिङ्गो घरमा एक्लै बसेको प्रसङ्गमा उनले मैले १५ वर्षको भएपछि काम गर्न सुरू गरे। एउटै कामलाई निरन्तरता दिन सकिराखेको थिइनँ। तर २० वर्षको भएपछि पढाइ अनुसारको एकाउन्टेन्टको काम पाएँ। त्यसपछि भने रिटायर नहुन्जेलसम्म त्यही काम गरिरहेँ। मैले काम गर्ने कम्पनीमा माइक नाम गरेको जर्मनबाट आएको सहकर्मी थियो। एउटै उमेरका हामी दुई छोटो समयमा घनिष्ठ मित्र बन्यौँ। स्वतन्त्र हुन बाबाआमाको घर छोडेको म अनि आफ्ना आफन्त सबै स्वदेशमा छोडेर आएको ऊ काम सकेर पनि सँगै समय बिताउन थाल्यौं।
२४ घण्टामा १८ घण्टासँगै भइसकेपछि हामीले एउटै घरमा बस्ने निर्णय गरेर केही पैसा जम्मा गर्यौं। बैंकले बाँकी पैसा लोन दियो अनि घर किन्यौं। हामी दुवै जनाको कमाइ राम्रो थियो। त्यसमाथि ओभरटाइम समेत गर्यौं। हामी वर्षैपिच्छे घुम्न जान्थ्यौं। माइकले मलाई धेरै पटक उसको बुवाआमाको घर जर्मन पुर्यायो। हामी दुई जना नपुगेको ठाउँ सायद कमै होला। हामीले जिन्दगीमा खुब मस्ती गर्यौं। समय कसरी बित्यो पत्तै भएन। हामी सँगसँगै रिटायर भयौँ। त्यसपछि हामीले अझ रमाइलो गर्यौं। हाम्रो घरमा चाडबाड, बर्थडे पार्टीमा साथीभाइ, आफन्तकॊ भिडभाड हुन्थ्यो। सबैलाई बोलाएर खुब रमाइलो गर्थ्यौं। तर जीवनमा सधैँ रमाइलो मात्रै हुँदैन। जीवनमा सधैँ अनुकूलता मात्र हुँदैन। नियतिको अधीनमा रहेको जीवनमा भविष्यमा के व्यहोर्नुपर्छ थाहा हुँदैन। समय, परिस्थितिले जीवनको रमाइलोलाई क्षणभरमा पीडामा बदल्छ। तर जे भए पनि वर्तमानमा रमाइलो गर्नुपर्छ। जीवनकॊ उतरार्धमा पुग्दा ती यादहरूले सन्तुष्टि प्रदान गर्छन्। हामी माइकको ७० वर्षको बर्थडे मनाउन इटाली गएका थियौँ। त्यही आकस्मिक उसको मृत्यु भयो। उसको अप्रत्यासित मृत्युले मलाई धेरै पीडा दियो। उसको मृत्युपछि मलाई डिप्रेसन भएको थियो। तर माइकको मृत्युपछिको मेरो बर्थडेमा एन्ड्रियाले मलाई लक्कीसँग भेट गराइदिइन्।
एक्लै भएपछि विरक्तिएको मैले लक्की माइक भएर आएको महसुस गरेँ। उसको साथले मलाई पुनर्जन्म पाएँ झैं भयो। एन्ड्रियाको सहयोगमा वर्षदिन पछि मैले डिप्रेसनबाट मुक्ति पाएँ। उसले वर्णन गरेको लक्की उसको काखमा बसिरहन्छ। वर्ल्डमा पाइने सबभन्दा सानो (यॊक्सर) कुकुरको जातमा पर्ने लक्की चार वर्ष अनि ४.५ पाउण्डको छ। लक्की यति सानो छ कि उसलाई सोफामा चढ्नको लागि क्यानको हातको सहायता चाहिन्छ। सानो भएको कारण उफ्रिएर सोफामा चढ्न नसके पनि ओर्लिन भने सक्छ।
एन्ड्रियाको बारेमा उनले भनेका थिए। म काममा जाने क्रममा एन्ड्रियासँग भेट भयो। एउटै बसमा, एउटै समयमा चढ्ने हामीहरूबीच बिस्तारै बोलचान सुरू भयो। विपरीत लिङ्गप्रति आकर्षण बढ्नु प्राकृतिक नियम हो। छोटो समयमा हामी एकअर्काप्रति आकर्षित भयौँ। उनको घरमा लेनलाइन फोन थियो। म सार्वजनिक टेलिफोन बोथबाट उनलाई फोन गर्थें। अरू दिन उनी स्कुल जान्थिन्। म काममा जान्थेँ। शनिबार, आइतबार छुट्टीको दिन फुर्सद मिल्नासाथ हामी भेटघाट गर्थ्यौं।
हाम्रो भेट भएको एक वर्षपछि उनीहरू घर बेचेर अमेरिका गए। त्यो बेलामा अहिलेको जस्तो मोबाइल फोन, इन्टरनेटको सुविधा थिएन। उनलाई भेट्न बेचैन भए पनि भेट्ने कुनै उपाय थिएन। मैले उनीसँग सम्पर्क गर्न नसके पनि उनलाई बिर्सिएर अर्को कसैलाई आफ्नो प्रेमिका बनाउन सकिनँ। त्यसैले मैले विवाह गरिनँ। मेरो र एन्ड्रियाको प्रेमको बारेमा जानकार माइकले 'तँ विवाह नगर्ने भए म पनि विवाह गर्दिनँ' भन्यो। म प्रतिको त्यही त्यागका कारण माइकको मृत्युले मलाई मानसिक कष्ट दियो।
आफ्नो आमाको मृत्युलाई सहज रूपमा लिएको मैले माइकको मृत्युलाई सहज रूपमा लिन नसक्नुको मुख्य कारण त्यही थियो। जब एन्ड्रियासँग भेट भयो तब माइकले मलाई एन्ड्रियालाई घर ल्याऊ, सँगै बस भनेको थियो। तर त्यो बेला धेरै ढिला भइसकेको थियो। त्यतिबेला माइकको गर्लफ्रेन्ड बितिसकेकी थिई। मेरो लागि विवाह नगरेको ऊ एक्लै भएपछि म कसरी एन्ड्रियासँग बस्न सक्थेँ? उसलाई सम्झँदा अहिले पनि नरमाइलो लाग्छ। प्रेमको मतलब दुई जना एउटै घरमा बस्नु मात्रै होइन। प्रेम गर्नलाई एउटै घरमा बस्नुपर्छ भन्ने छैन। प्रेममा समर्पण चाहिन्छ। प्रेममा समर्पित हुन सक्नुपर्छ। त्यसैले म उसको कुरामा सहमत भइनँ।
कुराकानीका क्रममा मैले उनलाई सोधेँ, 'उमेरले डाँडो काटिसकेपछि एन्ड्रियासँग कसरी भेट भयो?' जबाफमा उनले अमेरिकामा विवाह गरेकी एन्ड्रियाको श्रीमानलाई क्यान्सर भएछ। लोग्नेको मृत्युपछि त्यहाँ एक्लै बस्न मन नलागेर उनी आफू हुर्किएको ठाउँ सम्झेर यहाँ आइछन्। नजिकै अपार्टमेन्टमा कोठा लिएर बसेकी उनीसँग बाटोमा हिँड्दा हिँड्दै एकदिन अकस्मात भेट भयो। वर्षौंपछि भेट भएका हामी एकअर्कालाई हेरेको हेरै भयौं। एन्ड्रियाले, 'मैले तिमीलाई भुल्न सकेको थिइनँ। तिम्रो यादले सताइरहेको थियो। तिमीसँग भेट हुने आशा मरिसकेकॊ थियो। नभेटी मर्छु होला? भन्नेमा पुगेकी थिएँ। तर यो उमेरमा भए पनि भेट भयो।' भनिन्।
विगतमा हराइरहेकी मलाई मोबाइलले बिउँझायो।
मोबाइलको नोटिफिकेसनले मेरो ब्रेकको समय सकिन लागेको संकेत दिएर मेरो एकाग्रता भङ्ग गर्यो। धन्य मोबाइल भन्दै बाँकी भएको खाजा एक गाँसमा खाएँ।
कफीलाई एक घुड्कीमा सिध्याएँ। हतार हतार गर्दै ज्याकेट लगाएर डस्टबिनमा कप र पेपर फ्यालेर टोपी, गलबन्दी लगाएर त्यहाँबाट फटाफट बाहिर निस्केँ।