मृत्यु निश्चित छ, तर पनि मृत्यु हुन्छ जस्तो लाग्दै लाग्दैन। यही भ्रमले नै जीवन चलिरहेको छ। सायद सबैलाई यस्तै लाग्दो हो।
सहरको बसाइ गाउँको जस्तो हुँदैन। अरूको खासै मतलब हुँदैन, मात्र सामान्य भलाकुसारी हुन्छ। हाम्रो टोलमा एक जना धनाढ्य दाजु छन्। उमेर ६० को आसपास होला, अनुमान लगाएँ मैले। अथाह छ सम्पत्ति! घरै उनका ३/४ वटा! तै पनि धेरैजसो हाम्रै टोलमा बस्नुहुन्छ। अरू ठाउँभन्दा यही मन पर्छ रे!
गजबको हुनुहुन्छ दाइ! हरेक वर्ष कुनै न कुनै धार्मिक कार्यक्रम आयोजना गर्नुहुन्छ। बाबाको मृत्युतिथिमा भव्य सप्ताह लगाउनुभयो। पण्डितलाई सप्ताह सकेर नयाँ गाडीमा घर पठाउनुभयो। त्यो पण्डितलाई दान रे! बाफ रे बाफ! दान-दक्षिणा र भोजन देखेर जिब्रो टोकेँ मैले।
टोलमा कुनै मठमन्दिर बनाउनु पर्यो वा धार्मिक कार्यक्रम गर्नुपर्यो भने ठूलो धनराशि दान गर्नेमा उहाँ नै अग्रपङ्क्तिमा पर्नुहुन्छ। म बबुरो, एउटा सरकारी अस्पतालको जागिरे...! टोल–छिमेकमा पर्याप्त गफ गरेर बस्ने फुर्सद हुँदैन। यसरी नै धेरै वर्ष बिताएँ मैले।
ड्युटी अफिसर थिएँ। त्यही ड्युटी अफिसरको नम्बरमा फोन आयो, 'सर, एक जना ५५/६० वर्षको जस्तो देखिने मान्छेलाई इमर्जेन्सी वार्डमा प्रहरीले ल्याई छोडेको छ। नाम–ठेगाना थाहा छैन। अचेत र बेवारिसे छन्। के गर्ने?'
'गरिब बिरामी कोष' बाट उपचार गर्न प्रक्रिया तत्काल मिलाउन निर्देशन दिएँ।
अस्पतालमा यस्ता घटना कति हुन्छन्, हुन्छन्। यसलाई सामान्य रूपमा लिएँ। अस्पतालको प्रक्रिया अनुसार सबै काम अगाडि बढ्छन्। बेलुकापख इमर्जेन्सी वार्डबाट फेरि फोन आयो— 'वार्डहरूमा कुनै बेड खाली छैन रे! १०,००० बराबरको उपचार भइसक्यो। अझै होश खुलेको छैन। अब के गर्ने सर?' नर्सले फोन गरिन् मलाई।
'जे उपचार गरेको छ, त्यसलाई निरन्तरता दिनू,' भन्दै बेलुका घरतिर लागेँ। अस्पतालमा काम गरेपछि घाइते, बिरामी र मृत्युका घटना सामान्य लाग्ने रहेछन्।
घरमा पुग्दै थिएँ। टोलमा गाईगुई हल्ला चल्यो। 'मदननाथ' बिहानदेखि सम्पर्कमा छैनन्। दाइको घरमा पुग्दा एक प्रकारको सन्नाटा रहेछ। टोलका मान्छे जम्मा भएर पुलिसमा जाहेरी दिने र सामाजिक सञ्जालमा मान्छे हराएको सूचना पोस्ट गर्ने भनेर सल्लाह भयो। परिवारका सदस्यले त्यसमा सहमति जनाए। पुलिसमा जाहेरी दिएको केही घण्टामा फोन गरेर पुलिसले भन्यो, 'सडकबाट एक जना वृद्ध जस्तो देखिने मान्छे बेहोश अवस्थामा भेटिएकाले शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ। तपाईंको मान्छे हुन सक्छ, पहिचान गर्नुस्।'
पुलिसको सूचनापछि पहिचान गर्ने त्यो जिम्मा मैले पाएँ, किनकि अस्पताल मेरो कार्यक्षेत्र थियो।
भोलिपल्ट एकाबिहानै अफिस गएँ। मनमा धर्सा पस्यो। हतारहतार इमर्जेन्सी पुगेँ। उनै मदननाथ पो रहेछन्! होश खुलेछ, देख्नासाथ मलाई चिने। वार्डमा बेड खाली रहेको सूचनापछि इमर्जेन्सीबाट तत्काल वार्डमा सार्ने काम भयो। सरकारी अस्पतालमा खचाखच बिरामीका कारण बेड पाउनु युद्ध जित्नु सरह हो।
अब भने छिमेकी दाइ बेवारिसे बिरामी हुनुभएन। घरपरिवारलाई अस्पतालमा रहेको खबर सम्प्रेषण गरेँ मैले। परिवारका मान्छे हस्याङफस्याङ गर्दै अस्पताल आइपुगे।
अवस्था सामान्य भएकाले मैले र परिवारका मान्छेले कुराकानी गर्यौं।
मैले सोधेँ, 'के भयो दाइ, केही थाहा छ?'
'मर्निङ वाकको क्रममा चक्कर लागेजस्तो भएको याद छ। त्यसपछि के भयो र कसरी यहाँ आइपुगेँ, पत्तै छैन। बिहान–बिहान एक्लै वाकिङ गर्थेँ, थाहै छ तपाईंलाई,' उहाँले भन्नुभयो। रिपोर्ट हेर्दा सुगरको मात्रा उच्च भएको देखेँ मैले।
ज्यान बचाइदिएकोमा उहाँले डाक्टर तथा अस्पतालसम्म पुर्याउने पुलिसलाई आभार व्यक्त गर्नुभयो। त्यसो गर्नु हरेकको जिम्मेवारी र दायित्व हो। 'ठिक हुन्छ' भनेर सान्त्वना दिएँ।
'अनि भाइ, मेरो बिल चाहिँ कसले तिर्यो र कसरी उपचार भयो?' मलाई कानमा सुटुक्क सोध्नुभयो।
'सुन्नुस् दाइ, अस्पतालमा गरिब, असहाय र बेवारिसे बिरामीको ज्यान बचाउन अस्पतालहरूमा एउटा कोष स्थापना गरिएको हुन्छ। त्यसबाट १० हजारसम्मको निःशुल्क उपचार हुन्छ। शिक्षण अस्पतालमा पनि त्यस्तो कोष छ। मनकारी दाताहरू दान गर्नुहुन्छ, सरकारले अनुदान दिन्छ।
अस्पताल आफैले पनि यस्तो कोषमा बेला-बेलामा रकम जम्मा गर्छ। त्यसैबाट उपचार हुन्छ। तर आजभोलि धेरै बेवारिसे तथा गरिब–निमुखाहरू छटपटिँदै अस्पताल आउँदा कोष रित्तिँदै गएको छ। यो चाहिँ चिन्ताको विषय हो!'
त्यसपछि उहाँ बोल्नुभएन। मनमा व्यापक अन्तर्द्वन्द्व चल्यो कि क्या हो! धेरै बेरपछि फेरि 'भाइ' भनेर सम्बोधन गर्नुभयो र भन्नुभयो, 'आज भगवानले लीला रचेर मेरो आँखा खोलिदिनुभयो। आत्मज्ञान प्राप्त भयो मलाई। अहिलेसम्म जे जति दान गरेँ, अब त्यो दान गर्ने क्षेत्र परिवर्तन गर्न चाहन्छु। भगवानले त्यही भन्नुभयो। अस्पतालको 'गरिब बिरामी कोष' (Poor Patient Fund) मा २० लाख जम्मा गर्न परिवारसँग आजै सल्लाह गर्छु।'
'दाइ, अलि कम बोल्नुस्,' म भन्दै थिएँ, तर उहाँले मान्नुभएन। बोलिरहनुभयो, 'अस्पातलको बसाइमा गरिब र निमुखाको दुर्दशा देखेँ। त्यसले मन झन् पोल्यो। त्यही गरिबको कोषले मलाई बचाएको रहेछ। हुनेखाने म जस्तोले गरिबका भाग खोसेछु। त्यसको क्षतिपूर्ति तत्काल गर्न चाहन्छु।' दाइको कुरा सुनेर मैले टाउको हल्लाएँ, केही बोलिनँ। 'रकम जम्मा गर्ने प्रक्रिया के हो भाइ? कुन खातामा जम्मा गर्न सकिन्छ? खाता नम्बर दिनू मलाई,' धेरै आग्रह गर्नुभयो।
दाइको कुरा सुन्दा मानसपटलमा लक्ष्मीप्रसाद देवकोटाको कालजयी कविता गुञ्जियो र मैले त्यसको मर्मलाई गहिरोसँग मनन गरेँ:
'कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पूजा गर्छौ, साथ कसरी लाने हो?... मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ, मनभित्रै हुन्छ ईश्वर, वरपर आँखा नलगाऊ......'।
वास्तविक दान र धर्म त त्यो हो, जसले असमयमै कालको मुखमा पुग्दै गरेकाहरूलाई बचाएर जीवनदान दिन सक्छ। हुनेले जन्मोत्सव, विवाह कार्यक्रम, पिता–पुर्खाको सम्झनामा अनावश्यक खर्च कटाएर अस्पतालको कोषमा रकम दान गर्नुपर्छ भन्ने कुरा खुब घत लाग्यो मलाई। साँच्चिकै वास्तविक भगवानको प्राप्ति त्यही कामबाट हुन्छ। त्यो दानले अस्पतालमा तड्पिरहेका आत्माहरू बचाउन सकिन्छ।
दाइको परिवर्तित रूप र कुरा सुनेर धेरै बेरसम्म घोत्लिरहेँ म!