मनमा सागर आँखामा पानी कसको पो नहोला
यो जिन्दगी हो बेग्लै कहानी कसको पो नहोला
संसारमा थोरै खुसी थोरै पिर सबैको हुँदोरहेछ
यहाँ बिछोड र मिलन आखिर सबैको हुँदोरहेछ
यति सुरिलो छ यात्रा यसको लय गाएर सकिँदैन
जे छ मनमा छ मोतिका दाना बगाएर सकिँदैन
पराइभन्दा आफन्त बेइमानी कसको पो नहोला
यो जिन्दगी हो बेग्लै कहानी कसको पो नहोला
यहाँ हिँड्दै जाँदा डाँडा र भिर सबैको हुँदोरहेछ
मनै त हो यो चञ्चल र स्थिर सबैको हुँदोरहेछ
बुझ्नेले बुझ्छन् नबुझ्नेलाई गुन लगाएर सकिँदैन
मुर्दो ब्यूँझन्छ बरू जिउँदोलाई जगाएर सकिँदैन
कहिले लाभ कहिले हानि कसको पो नहोला
यो जिन्दगी हो बेग्लै कहानी कसको पो नहोला