प्रेम र प्रेमिकाका बारेमा संसारमा अनेकानेक चर्चा परिचर्चा भइरहन्छ। सृष्टिको आदिककालदेखि नै प्रेमका बारेमा अनेकानेक किस्साहरू सुनिन्छन्। किस्सामा जीवित ती प्रेमका बारेमा त सबैतिर चर्चा हुन्छ तर केही प्रेम चर्चा अनि लोकप्रियताभन्दा टाढा भएर पनि बाँचेका हुन्छन्, मुटुमा स्वाससँगै धड्किएका हुन्छन्। मान्छेको जीवनमा एकबार यस्तो समय आउँछ उसलाई प्रेम भएरै छाड्छ।
स्कुले जीवनका केही साथीहरूको प्रेम यतिबेला मेरा आँखामा झलमल्ल भएर आएको छ। प्रेमका लागि जे पनि गर्न तयार ती साथीहरू कहाँ होलान्? अझै उसैगरी प्रेमको बखान गर्दा हुन् कि नाइँ? आफैलाई त्यागेर प्रेमका लागि जे पनि गर्न तयार एक साथीको कहानी मलाई आज याद आएको छ।
राप्ती विद्या मन्दिर कक्षा ११ मा पढ्थ्यो मेरो साथी। अनि उसले मन पराएको मान्छे पनि त्यही कक्षामा पढ्ने। गाउँबाट भर्खर सहर झरेको भए पनि मेरो साथीले पहिरन र लवजमा सहरको सिको गरिसकेको थियो। मान्छे प्रेममा पर्यो भने जे पनि गर्न सक्दोरहेछ। मेरो साथीले बिहान पेट खाली राखेर भए पनि टोनी क्रिम किनिहाल्थ्यो, कपालमा तेल लगाइहाल्थ्यो। पेटको भोक भन्दा आँखा र मनको भोक बलियो हुँदो रहेछ। साथीले धेरै समय र पैसा सुन्दर हुनका लागि खर्चन्थ्यो। मन पराउनु र प्रेम हुनुका बीचमा कति दुरीको फरक हुन्छ? मेरो साथीलाई के थाहा? प्रेम गर्ने मान्छेलाई प्रेम बाहेक अरू के पो थाहा हुन्छ र?
'कसम आज त पूरै ध्यान दिएर हेरी यार। अनि मैले लुकेर हेरेको मलाई हेरेर हाँसिरहेको थिई यार' कुरा पूरा सुनाउन नपाउँदै कर्याककुरुक हुन्थ्यो।
'यस्तै तालले तीन दिनसम्म हेरी भने तँलाई लभलेटर पक्कै लेख्न लगाउँछु' प्रेममा डुबेको मान्छेले कहाँ निराशावादी कुरा गर्छ र?
हरेक दिन दुई घण्टा उसको प्रेमको बखान सुनिदिनुपर्थ्यो। किताबका पाना पानामा लेखेको थियो नाम। भन्थ्यो 'साला मनमा यति लेखियो कि त्यो नाम। अब त लेख्ने ठाउँ नै छैन यार। त्यही भएर कापीको पानामा लेखेको'।
उसको प्रेमका बारेमा मेरो मनमा अनगिन्ती प्रश्नहरू थिए। एक दर्जन जति जिज्ञासाहरू थिए। तर प्रेममा डुबेको मान्छेले प्रश्न मन पराउँदैन भन्ने मलाई धेरै थाहा थियो। मैले उसलाई प्रश्न गरिनँ। उसलाई मनपर्ने समर्थन मात्रै गरेँ।
'आज कलेजमा सरले भविष्यमा के बन्ने भनेर सोध्नु भयो यार। उसले हेल्थ भनी। मैले चाहिँ बैंकको म्यानेजर भनिदिएँ। म्यानेजर भनेको सुन्दा क्या हेरी यार। हाँसी पनि यार। कस्सम बत्तिस वटै दाँत देखाएर हाँसी। फिलिममा हिरोनीले हिरोलाई मन पराएपछि जसरी हाँस्छे त्यसैगरी हाँसी' कलेजको संवाद जोडेर उसले चिना बिना नै आफ्नो भविष्य हेर्थ्यो।
'उसले नर्सिङ्ग पढिसक्दा मैले पनि बिबिएस सक्छु। मेहनत गरे भने टक्क म्यानेजर पनि भइन्छ अनि उसको पनि जब हुन्छ। वाउ हाम्रो संसार नै कति राम्रो होला है। तुलसीपुर बजारमा एउटा घर हाल्ने हो अनि एउटा टक्क गाडी किन्ने हो। गाडी उसले नै चलाउँछे अनि मलाई मेरो अफिसमा छाडेर आफ्नो काममा जान्छे। साँझ कामबाट फर्कंदा टक्क रिसिभ गर्छे । घर आएर उसले खाना पकाउने अनि मैले घरको काममा सघाउने। सधैंभरी हामी सँगै रहने। कस्तो आनन्द होला है जिन्दगीमा।'
मानौं कुनै जादुको छडी लिएर आएको छ अनि उसले भनेको कुरा एकैछिनमा पूरा हुन्छ यस्तै लाग्थ्यो उसले बोलेको सुन्दा। मैले कुनै प्रतिवाद गरिनँ। उसलाई उसको कल्पनामा मस्त रमाउन दिएँ। कल्पनामै सही उसले जिन्दगीमा कहिल्यै पूरा हुन नसक्ने कुराको पनि आनन्द लिइरहेको थियो।
प्रेममा के शक्ति हुन्छ जसलाई संसारको कुनै शक्तिले पनि परास्त गर्न धौ धौ हुन्छ। मेरो साथीको प्रेमानुभूति सुन्दा मलाई पनि प्रेममा हाम फालौं फालौं हुन्थ्यो। तर प्रेम गरौं भनेर कहाँ हुँदो रहेछ र? उसले आँखा चिम्लँदा संसारमा के के न देख्थ्यो मैले भने अँध्यारो बाहेक केही देखिनँ। प्रेम गर्छु भनेर पनि कहाँ हुँदोरहेछ र? प्रेममा रहर मात्रै गरेर पनि नहुने। अहिले सम्झन्छु मेरा अभावहरूले मलाई प्रेममा जोडिन नदिएका रहेछन्।
सधैं अनुहारमा जुन बोक्ने अनि घाम बोक्ने साथीको अनुहारमा एकाएक ग्रहण लागेको थियो। हरेक साँझ कलेजमा भएका घटनाहरू सुनाउन आतुर साथी खासै उत्साहित पनि थिएन। प्रेममा मान्छे रमाउँछन् भन्ने मात्रै बुझेको थिएँ मैले तर साथी त त्यही प्रेममा दुखेको थियो, रोएको थियो अनि एक्लो भएको थियो। हिजोसम्म सपना देख्नका लागि बनेका साथीका आँखा आज भने आँसुका लागि मात्रै बनेका जस्ता देखिन्थे। मैले प्रश्न गर्नु परेन। उसले कहानी आफै सुनायो।
'यार! जीवनमा सोचेजस्तो हुँदोरहेनछ। जसलाई मैले मनमनै मन पराएँ उसलाई त मेरो बारेमा मतलबै रहेनछ यार। आज कलेज बिहान सँगै जाने मौका परेको थियो। बाटोमा अचानक भेट हुँदा हाँसी पनि। अनि मैले कतिदिन मनमा मात्रै माया जमाएर राख्नु भनेर एक्लो पनको फाइदा उठाउँदै भनिदिएँ। उसले निकैबेर सोची तर सोचेजस्तो जबाफ आएन यार। उसले त मलाई मान्छे जस्तो नै बनाइनँ यार। के के भनी के के। तँलाई म भन्न पनि सक्दिनँ। म त एकाएक सगरमाथाको टुप्पोबाट भुइँमा लतारिए यार साथी। मेरो मुड पूरै अफ छ।'
हिजो रमाउँदा पनि मसँग केही कुरा थिएन अनि आज दुख्दा पनि मसँग केही कुरा थिएन। दुखेको मान्छेलाई चलाउनु भन्दा मौन बस्नु उत्तम भन्छन्। म मौन बसेँ। म शब्दहरू साह्रै फारो गरेर चलाउँछु भन्ने उसलाई थाहा थियो। थप कुरा र योजना उसले आफै अगाडि बढायो।
'अस्ति धड्कन फिलिम हेरेको थिएँ। हिरोइनले यसैगरी हिरोलाई गरिब भनेर धोका दिएकी थिई। माया लत्याएकी थिई। पछि हिरोले कमाएर धनी भएर यस्तो ठूलो पार्टी दिन्छ अनि केटीलाई पनि बोलाउँछ। क्या गज्जबको सिन थियो यार। म पनि अब पैसा कमाउँछु अनि त्यसलाई त्यस्तै पार्टी दिन्छु यार। कस्सम मेरो माया लत्याएको त्यसलाई पछुतो बनाउँछु।'
साथीको उचाइभन्दा अग्लो भए पनि मैले उसको सपनामा सहमति जनाएँ। दुखेको मन आफैले आफैलाई बुझायो साथीले। यो पनि त एउटा शक्ति हो। कहाँ सकिन्छ र दुखेको मन आफैले बुझाउन। प्रेमको गंगा नबग्दै सुकेपछि साथीसँग मलाई सुनाउनका लागि केही कहानी थिएनन्। उसले मलाई त्यसपछि खासै भेटेन पनि। मैले पनि उसले नभेटेपछि खोजिनँ। यस्तैमा जीवनको आआफ्नो मेलो समात्यौं हामीले। उसलाई कता बगायो अनि मलाई कता बगायो।
समयको नदी बगेर धेरै अगाडि आइसकेको छ। तर पनि त्यो साथीको सपनाले मलाई बेला बेलामा चिमोटिरहन्छ। त्यो धड्कनको सुनिल सेठ्ठीवाला पार्टी दियो या दिएन होला त्यो साथीले? समयले कुनैदिन भेटाएछ भने पक्कै पनि सोध्नेछु यो प्रश्न।