चुनावको मौसम फेरि आइसकेको छ
सडकभरि, सञ्जालभरि नारा जुलुस र भिडभाड व्याप्त छ
मञ्चहरूमा आरोप–प्रत्यारोपको दोहोरी चलिरहेकै छ
चिया पसल, मदिरा पसल र चोक चौतारीमा
चर्का चर्का बहस पैरवी हुँदैछ
गाउँ, सहर र बस्ती बस्तीमा
योजना र सपना बाँडिँदै छ।
इतिहासले धेरै पटक कोल्टे फेरेको छ—
राणा ढले, पञ्चायत गयो
लोकतन्त्र आयो, गणतन्त्र संस्थागत भयो
संघीयताको संरचनाले शासनका तहहरू पुनः परिभाषित गर्यो
समावेशिताको स्वर संविधानको अक्षरमा अंकित भयो
र सीमान्तका आवाजहरू संसदको हलसम्म प्रतिध्वनित भए।
तर यिनै ऐतिहासिक परिवर्तनका बिच
एउटा प्रश्न निरन्तर मौन रह्यो—
किन शिक्षालयको प्राङ्गणमा भविष्यको मुना पलाएन?
किन कक्षाकोठामा संस्कार र सभ्यता अंकुराएन?
शिक्षा—
यो केवल एउटा क्षेत्र होइन, यो त विकासको बीउ हो
परिवर्तनको मेरुदण्ड हो, र राष्ट्र निर्माणको अदृश्य शिरा हो
जसले समाजका प्रत्येक अङ्गमा जीवन प्रवाहित गर्छ।
तर हाम्रो विडम्बन!
घोषणापत्रमा शिक्षा आश्वासनको पुलिन्दा बन्छ
सबैभन्दा आकर्षक र सुन्दर नारा घन्किन्छ
र कार्यान्वयनको घडी आउँदा अवशिष्ट कुनामा थन्किन्छ।
कक्षाकोठामा भेटिनुपर्ने शिक्षक
कहिले सडकमा त कहिले दल र सरकारको ढोकामा देखिनुपरेको छ
आन्दोलनका ब्यानर बोकेर मात्र होइन
आफ्नो पेसाको गरिमा खोज्दै
सेवा–सर्तको स्पष्टता माग्दै
स्थायित्व र सम्मानको प्रत्याभूति खोज्दै;
किनकि उनीहरूलाई थाहा छ
उत्प्रेरणा विहीन मनले प्रेरणादायी भविष्य निर्माण गर्न सक्दैन।
कक्षा कोठाहरू अनिश्चितताको छायामा छन्
संघीय शिक्षा ऐन वर्षौँदेखि
प्रतीक्षाको धुलोले ढाकिएको फाइल बनेर बसेको छ
नीति आश्वासनमै थन्किएको छ
र बजेटको बहसमा शिक्षा
खर्चको शीर्षक जस्तो व्यवहार गरिन्छ
भविष्यको पुँजी जस्तो होइन।
राजनीतिक नेतृत्वलाई थाहा छ—
पुल बिना सडक चल्दैन
बिजुली बिना उद्योग बल्दैन
सिँचाइ बिना खेत हराभरा हुँदैन
तर किन बुझिँदैन कि शिक्षा बिना लोकतन्त्र दिगो हुँदैन
र शिक्षित चेतना बिना गणतन्त्रको आत्मा सबल रहँदैन।
विद्यालय कमजोर हुँदा नागरिक कमजोर बन्छ
नागरिक कमजोर हुँदा संस्थाहरू खोक्रा बन्छन्
र जब संस्थाहरू खोक्रा बन्छन्
त्यस बेला कानुन र नीतिका अक्षरहरू कागजमै सीमित रहन्छन्।
यो सत्य भाषणको सजावट होइन, न नाराको गहना हो
यो त राज्य टिक्ने आधार हो
राष्ट्र उभिने स्तम्भ हो
र भविष्य सुरक्षित हुने ग्यारेन्टी हो।
अनिवार्य तथा निःशुल्क शिक्षा
संविधानको आत्मामा लेखिएको प्रतिज्ञा हो
तर व्यवहारमा अझै अधुरो सपना जस्तो देखिन्छ;
प्राविधिक र व्यावसायिक शिक्षा
नामका लागि होइन
उत्पादन, उद्यम र रोजगारीसँग जोडिनुपर्छ
सीप सिर्जना पाठ्यक्रमको पानामा मात्र होइन
अर्थतन्त्रको चालमा देखिनुपर्छ।
२१औँ शताब्दी–
ज्ञान, प्रविधि र नवप्रयोगको युग हो
तर हाम्रो शिक्षण अझै
स्मरणमुखी संस्कारमा अडिएको छ
जहाँ सृजनशीलता हिचकिचाउँछ
र प्रश्न गर्ने साहस
पाठ्यपुस्तकको सीमाभित्रै रोकिन्छ।
उत्पादनमुखी शिक्षा बिना स्वदेशमै अवसर जन्मँदैन
र जब अवसर जन्मँदैन
त्यस बेला शिक्षित बेरोजगारी राष्ट्रको मौन पीडा बन्छ
जसले युवा सपनालाई विदेशी आकाशतर्फ धकेल्छ।
हामीलाई फेरि अर्को प्रतिज्ञा चाहिँदैन
हामीलाई स्पष्ट कार्यान्वयनको क्यालेन्डर चाहिन्छ;
समयमै आउने ऐन चाहिन्छ
सम्मानित शिक्षक जीवन चाहिन्छ
स्थायी र दूरदर्शी नीति चाहिन्छ
पर्याप्त र सुनिश्चित बजेट चाहिन्छ
उत्तरदायी नेतृत्व चाहिन्छ।
र, चाहिन्छ–
घोषणापत्रको किनारामा होइन
राष्ट्रको मूल दर्शनमा शिक्षा
चुनाव जित्ने रणनीति मात्र होइन, इतिहास रच्ने संकल्प।
किनकि शिक्षालाई बेवास्ता गर्ने राजनीति
केही समय त टिक्ला
तर यसले दीर्घकालीन भरोसा गुमाउँछ
र शिक्षा केन्द्रमा राख्ने राजनीति
केवल सरकार होइन
देशको आत्मा निर्माण गर्छ।
आज घोषणा पत्र मात्र होइन विश्वसनीय प्रतिबद्धता चाहिएका छ
शिक्षालाई प्राथमिकता दिने
शिक्षकलाई साझेदार ठान्ने
नीतिलाई कार्यान्वयनमा लैजाने
र गुणस्तरीय शिक्षा केवल भाषणको विषय होइन
राज्यको अटल संकल्प बनाउने।
किनकि शिक्षा
आजको चुनावी लाभभन्दा ठुलो कुरा हो
यो पुस्तौँ पुस्ताको भविष्य हो
यो राष्ट्रको सम्भावना हो
र यही सम्भावनालाई साकार पार्ने
सबैभन्दा पवित्र राजनीतिक साहस हो।