अत्यधिक जामले गर्दा गाडी चाबहिलको उकालोमा रोकिएको करिब १० मिनेट जति भएको हुँदो हो। भित्र मान्छे टनाटन। धन्न एकता बस्तीबाटै चढेको हुनाले मलाई बसको लास्ट सिटमा बस्ने सौभाग्य मिलेको थियो। नत्र भए मेरो हालत पनि स्कुल ड्रेस लगाएर उभिएको भाइजस्तै, जो चाहनाअनुसार हुनुपर्ने ढोका छेउतिर तर ठेलिँदा–ठेलिँदै पुगेको थियो बसको अन्तिम भागमा।
त्यही पनि सह–चालकलाई कहाँ पो चित्त बुझ्या हो र? मान्छे छिर्नासाथ ‘पछाडि सर्नुस् त, अलि-अलि’ भन्दै फलाकेको फलाकै, मानौँ बसको पछाडिको भाग भनेको एउटा ब्ल्याक होल हो, जहाँ भएभरका मानिस बिस रुपैयाँ तिर्दै सोसिँदै जानेछन्।
भाइ र मेरो नियतिमा फेरि पाँच–सात मिनेट जतिको मात्र फरक थियो होला। त्यसैले एक प्रकारको कृतज्ञभाव बाहेक, सहानुभूति पनि मनमा प्रकट भइरहेको थियो। आज मैले बस्न पाएँ, भोलि कोही अरू बस्ने छ र म हुने छु त्यो कुनामा, उभिँदै, कुप्रिँदै, कसै न कसैलाई सराप्दै। एक हिसाबले भाइ मेरै भविष्यको छाया थियो, जसलाई मैले वर्तमानमै निहाल्ने मौका पाइरहेको थिएँ। भोलिको दिन कोचिएको बसमा कुन चाहिँ रणनीति अपन्याये तुलनात्मक रूपमा सहज हुने रहेछ भनेर मार्केट स्टडी गर्न थाल्यो दिमागले।
दिनदिनै स्कुल जाने भएर होला, बाबु अलि खप्पिस नै पाएँ मैले। सुरुमा त बोकेको झोला उसले सर्लक्क माथिको सामान राख्ने कम्पार्टमेन्टमा हालिदियो। म चाहिँ प्रायः हातमै समाई तल लतार्ने गर्छु, जसले गर्दा अलिकति असहज भइरहेको हुन्छ। तर पनि किन हो कुन्नि, झोलालाई कि त ढाडमा नत्र भए हातमा राख्ने बाहेकको विकल्पलाई मनले कहिल्यै अनुमति दिएन। हो कि मस्तिष्कले पो हो? विडम्बनै भन्नु पर्ला।
एक हातमा नेपाल संसारकै सबैभन्दा सोझा र राम्रा जनता भएको देश, जहाँ दुष्ट त केवल नेताहरू मात्रै छन् जसले सबै सत्यानाश पारे भन्ने सामाजिक चित्रण फेसबुकमा आउँदा लभ रियाक्ट हान्ने गर्दछु। अझै त्यति मात्र नभई तल कमेन्टमा नेतालाई चोर पनि लेखे हुँला एक–दुई पटक। त्यही पनि मस्तिष्कको अर्को कुनामा यो निश्चितता पनि छ कि यदि केही गरी झोलाबाट मेरो ध्यान हट्यो भने, कसैले खल्तीमा भएको नगद अथवा सिङ्गो झोलै गायब बनाए पनि मेरो लागि त्यो आश्चर्यचकित तुल्याउने घटना हुने छैन।
झोला यदि बसमै छुटे त झन्, जुन म जस्तो भुलक्कडको लागि एउटा प्रबल सम्भावनाको रूपमा सधैँ रहिरहन्छ, पुनः प्राप्तिको आशै नगरी सिधै शोक मनाउने चरणमा पुग्ने छु। त्यसपश्चात् कदाचित दिउँसो कुनै अपरिचित नम्बरबाट फोन आएमा र ‘तपाईंको ब्याग भेटिएको छ’ भन्ने खबर पाइहालेँ भने म त्यसलाई चमत्कारभन्दा फरक पाउने थिइनँ। यो छुट्टै विषय हो कि ब्याग भेट्टाइदिए बापत अलिकति खाजा खर्च पनि दिनुपर्ने हुँदो हो। मुद्रास्फीर्तिले परोपकारलाई पनि कहाँ छोडेको हो र कलियुगमा?
बस सुस्तरी चल्न थाल्यो, अरू साधनहरूलाई ठेल्दै–पेल्दै राउन्डअबाउट क्रस गर्नै आँटेको थियो, जब झ्याप्प ब्रेक लागेको हुनाले उभिएका यात्रुहरू हुत्तिए। त्यही हुत्तिने सिलसिलामा बाबुले आफू अगाडिको युवतीलाई फुटबलमा झैँ साइड पुस हान्न पुगेछ। ‘कस्तो ठेलेको हो’ भन्दै क्रोधित मुद्रामा प्रतिकार गरिन् युवतीले, जबकि ठेलिएको त ती युवती अगाडिकी आन्टी पनि थिइन्। लाजले बाबु झन्–झन् बसको ब्ल्याक होलतिर सर्दै गयो। अब भाग्यै भनौँ या त्यसको अभाव। जब बाबु पछाडि सर्यो, त्यसको केही क्षणमै छेउको सिट खाली भयो र त्यहाँ विराजमान भइन् ती युवती।
गाह्रो छ नेपालमा। म भाइतिर हेर्दै थिएँ र भाइ त्यहाँ हेर्दै थियो जहाँ हर कुण्ठित व्यक्ति सोचमग्न भई हेर्ने गर्छ— झ्याल बाहिर। खै किन होला तर ठुलो राहत मिल्छ, एक रफ्तारमा संसारलाई बिना पाइला चाली निहाल्न, जब गाडीको गतिले मनमा भएका सोचहरूलाई बिस्तारै मत्थर बनाइदिन्छ। चाहे मानसपटल जति सुकै उद्वेलित किन न होस्, बाहिर टोलाएपछि एक प्रकारको एनेस्थेसिया। सडकपेटी र पेटीमा पाइला चालिरहेका अनगिन्ती अनुहारहरू, जो सबै एक अर्काका लागि अपरिचित भएता पनि एउटै ताँती जसरी हिँडिरहेका हुन्छन्— कहिले यता, कहिले उता, तिनले आभास गराउँछन् कि हामी एक्लै छैनौँ। अपरिचितले दिने निःशब्द आत्मीयता, जसको स्पर्शको निम्ति बस यात्रा एउटा तीर्थ सरह नै त हो।
यस्तै यावत कुराहरू सोच्दै थिएँ, जब छेउमा एउटा रिङटोन बज्यो। स्यामसुङ फोन हो भन्ने कुरा नहेरी चाल पाएँ किनभने मेरो काकाको पनि रिङटोन ठ्याक्कै यस्तै। ‘आउँदै छु, एयरपोर्ट पुगेँ’ भनेर आश्वासन दिँदै केही सेकेन्डमै फोन काटेको सुनियो। अधबैँसे मान्छे, ढाका टोपी र इस्टकोट लगाएको। मुखमा समयले छोडेका रेखाहरू प्रस्ट भएता पनि एकदम तेजिलो र शालीन अनुहार। फोन इस्टकोटको अगाडिको पकेट बाहिर निस्किरहेको थियो र बुढा चिन्तित मुद्रामा चालकलाई हेरिरहेका थिए। उहाँलाई देखेर खै कहिले हो पो मुसुक्क मुस्कुराइसके छु। चालै पाइनँ।
इतिहासमा यस्तो कहिल्यै भएको छैन होला जब बसमा सवार भएको कुनै यात्रुलाई फोन आउँदा उसले आफ्नो सही ठेगाना बताएको होस्। अलिकति भए पनि छलाङ हानी हाल्छ अभिव्यक्तिले। पहिले त लाग्थ्यो, मै मात्र होला यस्तो। त्यसपछि लाग्न थाल्यो म जस्तै उमेर समूहका ठिटा हुन्, जो कहिले आमा–बुबालाई अथवा पर्खिरहेको साथीलाई ढाँटिरहेका हुन्छन्। तर बिस्तारै थाहा पाएँ कि मसला त जसले पनि छर्किने रहेछ, चाहे जस्तोसुकै भलाद्मी किन नदेखियोस्। उदाहरणका लागि यही अंकल। अब सबैले ढाँट्ने भइसकेपछि त त्यसलाई कुनै विशेष अवगुण मान्न पनि नपर्ला। र सायद त्यही कारणले हो, ढाँट्ने मान्छेको अनुहारमा फिटिक्कै पनि सङ्कोच देखा पर्दैन।
हुन पनि त्यो सानो झुटले खासै के पो बिगारेको हुन्छ र? बस चढिसकेपछि मान्छेको ठेगान सोधेर पनि कहाँ साध्य! आफ्नो नियतिको बागडोर ढोकामा सहचालक र चालकलाई सुम्पेर आएका हुन्छन् यात्री। र ती दुईको नियति चाहिँ? काठमाडौँको भिडसँगको रस्साकस्सीले गर्दा हरेक पल नयाँ आकृति लिइरहेको हुन्छ। सत्य के हो भने हामी चाबहिलमा थियौँ र पारा हेर्दा अझै केही मिनेट चाबहिलमै रहने निश्चित थियो। तर सत्य के पनि हो भने, चाहे उहाँले एयरपोर्ट वा जुनसुकै ठाउँमा छु भनेको भए पनि गन्तव्य पुग्न जति समय लाग्ने हो, त्यति लाग्ने नै छ। आखिर मान्छेको बचन र सत्यको के नै पो छ र साइनो? सत्य थोरै बोलिन्छ, सत्य त केवल हुन्छ।
अनि फेरि सामाजिक चरित्र पनि त हो सायद, हरेक चिज बढाइ–चढाइ भन्नै पर्ने। अभिव्यक्तिमा एक प्रकारको ट्याक्स, जुन गाडीमा लादिएको भन्सार शुल्कभन्दा धेरै कम नहोला। ‘लेखेर राख्नुस्, हैन भने कान काटिदिन्छु’ जस्ता वाक्यांशहरू कारणवश नै धेरै सुनिने होला। सञ्जालमा यीभन्दा व्याप्त चाहिँ मर्ने–मार्नेका अभिव्यक्तिहरू हुने गर्दछन्, जुन इतिहासको कुनै कालखण्डमा हाम्रा पुर्खाहरूले देखाएको बहादुरी र त्यसले कमाएको ‘वीर गोर्खाली’ भन्ने ट्यागबाट निःसृत हुँदो हो। जसलाई सबै नेपालीले एकैनास ‘इनहेरिट’ गरेका छन्।
‘यसरी–उसरी परिवर्तन ल्याउन मर्न र मार्न तयार हुनुपर्छ’ भन्दै गर्वका साथ भन्न पाएका छौँ, कहिल्यै टोल बाहिर ननिस्की। युद्धभूमि त प्रायको लागि केवल कम्प्युटरबाट दर्शन। अनि फेरि साहस देखाउने आह्वान सधैँ सामूहिक। म होइन, हामी। एक्लै त केही गर्न छैन। एक–दुई जनालाई बिना अनुमति समेटी हाल्नुपर्ने। देशको लागि ज्यान दिन ‘हामी’ तयार छौँ। हुन त हरेक क्रियाकलाप साथी बिना खल्लो भइरहेको हुन्छ। सायद परलोकको यात्रा पनि त्यस्तै पो हो कि न?
त्यसैले लाग्छ एक प्रकारको शौक जस्तै हो नेपाली समाजको, हरेक कुरा बढाइ–चढाइ अभिव्यक्त गर्ने। जुन उत्पन्न भएको छ कुण्ठाबाट। एउटा समाज जहाँ कलात्मक आकांक्षा धेरैमा भएता पनि सामाजिक अपेक्षाको कारण त्यसलाई पछ्याउन सकिरहेको छैन। कहिले डाक्टर, कहिले इन्जिनियर, कहिले अस्ट्रेलिया, कहिले अमेरिका– गायक, लेखक, कलाकार, खेलाडी आदिलाई यही नियतिले निलिदियो। तर अवचेतनलाई पराजित गर्नु कहाँ पो सजिलो छ र? मञ्चमा देखाउन नपाएको प्रतिभा र त्यसले भित्र जन्माएको पूर्वाग्रह त्यसैले दिनदिनै देखाउँछन् अभिव्यक्तिमार्फत। लादिएको सांसारिकतामा अवचेतनको एउटा रङ्गिन विद्रोह।
हो कि एक प्रकारले दार्शनिक हो यो समाज, जसले सत्यको अविचलित प्रकृति बुझेर शब्दहरूको खासै प्रयोजन देख्दैन। एकछिन बाहिर टोलाउँछु। दुई जना उल्टो दिशाबाट आइरहेका मान्छेहरू बाटोमा पिच्च थुकेर जान्छन्। समाधि यस्तो त नहोला।