६०० मिटरभन्दा तल ३०० मिटरको बिचमा अवस्थित दुर्गम गाउँको त्यो माटो, जहाँ बी-पावरको बाल्यकाल बितेको थियो, त्यहाँको आकाशबाट भर्खरै एउटा नयाँ सूर्य उदाएको थियो। तर यो सूर्य पूर्वबाट होइन, उसको एसइई को 'ए+' ग्रेडको नतिजाबाट उदाएको थियो। नाम जस्तै 'पावर' थियो उसको नतिजामा।
एसइईको उत्कृष्टताको प्रमाणपत्र हातमा च्यापेर उसले १५-१६ वर्षको कलिलो उमेरमै जहाँ दारीका रेखाहरूभन्दा बढी भविष्यका चिन्ताका रेखाहरू कोरिनुपर्ने हो, त्यही बेला प्लस-टुको लागि सहरको ढोका ढकढकायो। उद्देश्य स्पष्ट थियो- विज्ञान संकाय, भविष्यको उज्यालो बाटो।
सहरको कोलाहल, गगनचुम्बी भवनहरू र द्रुत गतिको जीवनशैली उनका लागि बिलकुल नयाँ थियो। तर सबैभन्दा अनौठो र मीठो अनुभव थियो, सहरका कलेजका ती आकर्षक अनुहारहरू। जब सहपाठीहरू प्रेमिल गफ गर्थे, 'डेट'का किस्सा सुनाउँथे र रातो गुलाबको महत्त्व बुझाउँथे, बी-पावरको मनमा एक प्रकारको कौतुहलता र ईर्ष्या मिसिएको अभिलाषा जाग्थ्यो।
‘के प्रेम साँच्चै त्यति मीठो हुन्छ?’ ऊ आफैँलाई प्रश्न गर्थ्यो।
उसको मनमा पनि त्यो अपरिभाषित, रङ्गिन भावनामा डुब्ने तीव्र इच्छा पलाएको थियो। कक्षा ११ र १२ को त्यो उमेर, जहाँ हार्मोनहरूले पनि आफ्नै हिसाबले खेलिरहेका हुन्छन्, बी-पावरको निश्चल मन प्रेमको आगमनको लागि तयार भइसकेको थियो। उसले पर्खिरहेको थियो— कसैको अप्रत्याशित आगमन, जसले उसको जीवनको यो किताबी पानालाई एउटा सुन्दर कवितामा बदलिदिनेछ।
बी-पावर जब कक्षा १२ मा पुग्यो, उसको विज्ञानका सूत्रहरू र भौतिकशास्त्रका सिद्धान्तहरूमा अल्झिएको जीवनमा एउटा सुन्दर भेरिएसन (चर) को प्रवेश भयो। उनी थिइन्— बसन्ती। कक्षा ११ की नयाँ विद्यार्थी। पहिलो नजरमै उनको रूप, हँसाइ र हिँडाइमा एक प्रकारको मोहनी थियो। उनको आगमनले कलेजको वातावरणमा एक किसिमको कोमलता थपेको थियो।
बी-पावरको ध्यान किताबबाट चलमलाएर बसन्तीको अनुहारमा टिक्न थाल्यो। सुरुमा त केवल एउटा 'सस्पेन्स एकाउन्ट' जस्तो 'क्रश' मात्र थियो तर बिस्तारै त्यो आकर्षण एउटा गहिरो खोजीमा बदलियो। ऊ क्यान्टिनमा, कक्षा कोठाबाहिर र हिँड्ने बाटोमा बसन्तीलाई पछ्याउन थाल्यो। संयोग पनि कस्तो ऊ बसन्तीको डेरा नजिकै अर्को घरमा डेरामा बस्थ्यो, जसले गर्दा भेटघाटको संयोगहरू बढ्दै गए। १२- ११ को फिजिक्स ट्युसन पढाउने सर एउटै भएकोले इन्स्टिच्युटमा सधैँ देखाभेट हुन थाल्यो। बी-पावरले आफ्ना साथीहरूलाई चेतावनी शैलीमा भन्थ्यो— ‘यो (एसेट) मेरो मात्र हो, यसमा कसैले आँखा लगाएमा 'पेनाल्टी' लाग्नेछ!’
भन्दै जिस्काइरहने हुनाले सबैले उसलाई जिस्काउँथे र बसन्तीले पनि भित्रभित्र अदृश्य रूपमा सुइँको पाइसकेकी थिइन्। यसरी दिन बित्दै जाँदा ती लुकामारीका पलहरू, छोटो नजरको आदानप्रदान र मधुर मुस्कानहरूले बिस्तारै दुवैको मौनतालाई एउटा मीठो प्रेमिल संवादमा रूपान्तरित गर्यो। जहाँ कुनै 'भ्याट' वा 'डिस्काउन्ट' को ठाउँ थिएन। प्रेमले पूर्णता लियो। उनीहरूले आफ्नो डेराको त्यो साँघुरो संसारलाई आफ्नै प्रेमको आकाश बनाए। रातको चिसो सिरेटोमा डेराको छतबाट गरिएका अनगिन्ती फोन संवादहरू, परीक्षाको तनावमा एक-अर्कालाई दिइएको सान्त्वना र भविष्यका मीठा सपनाहरू बुन्नु नै उनीहरूको दैनिकी बन्यो। साथीभाइसँग भन्दा नि ऊ बसन्तीसँग बढी समय व्यतीत गर्थ्यो।
उनीहरूको प्रेमको यो सुन्दर यात्राले एउटा अविस्मरणीय कोसेढुंगा पार गर्यो।
त्यो दिन थियो नयाँ वर्ष, वैशाख १ गते।
‘हामीले यो वर्षको सुरुवात सँगै गरौँ न, बी-पावर,’ बसन्तीले लजाउँदै भनिन्। त्यो सुन्नासाथ बि-पावरको मनमा खुसीले सीमा नाघ्यो र कौतुहलता जाग्यो, कसरी बोल्ने होला? के लुगा लगाउने होला? के खाने होला सँगै? गुलाफको फूल दिऊँ कि? मान्छेले सँगै देखे के भन्लान्? लगायतका अनेकन् प्रश्नहरूको दबदबाले ऊ रातभरि सुत्न सकेन। उसले आफूलाई ऐनामा हेरेर सोच्यो— ‘त्यो भेटघाटको रेट अफ रिटर्न (प्रतिफल) कस्तो होला? कतै मेरो 'गुडविल' (साख) मा धक्का त लाग्दैन?’
भोलिपल्ट उनीहरूले 'फिल्म हेर्न जाने' बहाना बनाएर पहिलो पटक लामो समय सँगै बिताए—पहिलो आधिकारिक डेटिङ। हलको अँध्यारोमा बी-पावरलाई फिजिक्सको 'लाइट' च्याप्टरभन्दा बसन्तीको छेउको 'हिट' ले बढी प्रभाव पार्दै थियो। जब बसन्तीको हात झुक्किएर उसको हातमा पर्यो, बी-पावरलाई लाग्यो— उसको शरीरमा २२० भोल्टको 'स्टाटिक इलेक्ट्रिसिटी' प्रवाह भयो। उसले मनमनै हिसाब निकाल्यो— ‘यो स्पर्शको मूल्य कुनै पनि 'सम्पत्ति' भन्दा बढी छ।’
सहरको त्यो सिनेमा हल, हल भित्रको चाट-पपकर्न र हात समाएर गरेको त्यो पहिलो हिँडाइ... ती पलहरू बी-पावरको लागि जीवनकै सबैभन्दा सुमधुर सङ्गीत बनेर बसे। सम्बन्ध सुमधुर बन्दै गयो। उनीहरू प्रेमका हरेक आयाममा डुब्न थाले, जहाँ भविष्य एक-अर्काबिना कल्पना गर्न सकिँदैनथ्यो। दुवै एक अर्काको मायामा डुबेका थिए- फेसबुक आइडी साटासाट थिए। बसन्तीले असाध्यै माया गर्थिन्। उनीहरू सँगै जिउने सँगै मर्ने बाचा गरेर एकाअर्कामा समर्पित भई अगाडि बढेका थिए।
जब प्रेम आफ्नो उत्कर्षमा थियो, जब बी-पावर आफ्नो जीवनको सबैभन्दा सुन्दर सपना बुन्दै थियो, तब नियतिले आफ्नो निष्ठुर रूप देखायो। एक दिन बसन्ती एक्कासि उदास देखिइन्। उनको अनुहारको चमक कतै हराएको थियो। अनेकौँ प्रश्नहरू गर्दा पनि उनले टार्दै गइन्। अनि त्यो कटु सत्य बाहिर आयो, जसले बी-पावरको मुटुलाई हजार टुक्रा पारिदियो; बसन्तीको पहिले नै घर-परिवारको सल्लाहमा एक जागिरे केटासँग मगनी भइसकेको रहेछ।
बी-पावरले यो पीडालाई कुनै तरिकाले सहने प्रयास गर्दै थियो तर नियतिले अर्को कठोर प्रहार गर्यो। मङ्गेतरको आमा बिरामी परेको र पारिवारिक दबाबका कारण उनीहरूले हतारमा विवाह गर्नुपर्ने भयो। बसन्तीले बी-पावरलाई नभनी घर परिवारको चर्को दबाब र विवशतामा अर्को पुरुषसँग विवाह गरिन्। जब यो अप्रत्याशित समाचार बी-पावरले सुन्यो, उसको धर्ती हल्लियो, आकाश खस्यो, उसलाई लाग्यो— उसको जीवनको 'अडिट' मा कसैले नमेटिने 'कैफियत' लेखिदियो।
बसन्ती त गइन् तर आफूसँगै बी-पावरको हाँसो, सपना र भविष्यको 'बजेट' पनि लिएर गइन्। उसले बसन्तीका लागि सजाएको भविष्यको 'बजेट' एकै पलमा 'फ्रिज' भयो र उसको प्रेमको 'अडिट' मा केवल शून्य बाँकी रह्यो।
प्रेम त केवल एउटा सुन्दर भ्रम र अस्थायी सम्पत्ति रहेछ।
ऊ वियोगको गहिरो खाडलमा डुब्यो। उसले बसन्तीलाई भेट्ने प्रयास गरेन, गर्न सकेन। आत्मसम्मान र टुटेको मुटुको पीडाले उनीहरूबिचको सबै कुराकानी बन्द भयो। वियोगको त्यो अन्धकार रातमा बी-पावरले आफैँलाई सम्हाल्यो। उसको जीवनको 'प्रफिट एन्ड लस' एकाउन्टमा अब केवल वियोगको रातो मसी पोखिएको थियो। चरिले त छाडेर गइगयो भन्ने गीतले रातभरि मार्केट खायो उसको जीवनमा।
केही समयपछि 'प्रेम त गुमाएँ, तर लक्ष्य गुमाउँदिन' भन्ने अठोटका साथ उसले आफ्नो सम्पूर्ण ध्यान लोक सेवा आयोगको तयारीमा लगायो। रात-दिनको अथक मेहनत, त्याग र परिश्रमको फल मीठो भयो। उसको नाम निस्कियो! बी-पावर अब दुर्गमको त्यो साधारण केटो मात्र थिएन, ऊ एक सरकारी कर्मचारी बन्यो। ऊ पोस्टिङ भयो— कुनै पहाडी जिल्लाको एक सरकारी कार्यालयमा लेखापालको रूपमा कोलेनिकामा।
सबै कुरा ठिकठाक चलिरहेको थियो। दिनहुँ भुक्तानी हान्ने र निकासा हान्ने काममा ऊ व्यस्त हुन्थ्यो। प्रेममा बिछोड भएको पनि लगभग ५ वर्ष भइसक्या थियो। ऊ पहिलाभन्दा अलि जिम्मेवार संवेदनशील थियो। जागिरे जीवनमा ऊ मस्त, व्यस्त थियो।
शिशिर यामको त्यो शुक्रबारको दिन, झ्याल बाहिर सिमसिमे झरी परिरहेको थियो। २ बजेको थियो, बी-पावर आफ्नो कार्यकक्षबाट निस्कने तरखरमा थियो। त्यही बेला एक प्राविधिक कर्मचारी भुक्तानी आदेश बोकेर हस्याङफस्याङ गर्दै भित्र छिरे। उनले निकै हतारिँदै अनुरोध गरे, ‘सर, भुक्तानी आदेश चाँडो हान्दिन अलि कष्ट गर्नुपर्ला। सुर्खेत जानुपर्ने छ, गाडी छुट्छ होला सर अनि बाहिर म्याडम चोकमा कुरेर बस्नुभएको छ, आजै घर जानु पर्ने, अलि चाँडो गरिदिनु पर्यो।’
बी-पावरले नआत्तिनु काम भइहाल्छ भनेर फत्ते गरिदियो र ती प्राविधिकसँगै अफिसमै एक कप चिया पिउँदै औपचारिक गफगाफमा भुलियो। चियाको कप रित्तिएपछि दुवै जना कार्यालय बन्द गरेर सँगै चोकतिर झरे। जब उनीहरू बजारको चोकमा पुगे, बी-पावरको पाइला अचानक टक्क अडियो। उसको आँखा अगाडि एउटा यस्तो दृश्य थियो, जसले उसको मस्तिष्कको 'सिस्टम' नै ह्याङ गरिदियो। त्यहाँ सानो बच्चा च्यापेर उनी उभिएकी थिइन्— बसन्ती!
बी-पावर त हेरेको हेरै भयो, मानौँ उसको मुटुमा कसैले 'हाई भोल्टेज' करेन्ट छोडिदियो। आश्चर्यको पराकाष्ठा! बसन्तीको श्रीमान् पनि त्यही भुक्तानी आदेश ल्याएर आएका प्राविधिक कर्मचारी रहेछन्। बसन्तीले उनलाई देखिन्। आँखामा एकाएक चिनारीको चमक आयो तर लगत्तै अपार लज्जा र ग्लानि मिसियो। उनले बोल्न खोजिन्, आँखाले इशारा गरिन्। कसरी बोल्न सक्थिन् र साथमा श्रीमान् हुँदा।
उनीहरूका शब्दहरू घाटीमै अड्किए। बी-पावरले बोल्न चाहेन। उसको मनमा पुरानो पीडाको ज्वारभाटा उठ्यो। उसमाथि आकाश खसेजस्तो, धर्ती भासिएजस्तो भयो। उसको मस्तिष्कले काम गर्न सकेन। ऊ रुमतिर लाग्यो भने बसन्तीको परिवार फेरि भेटौँला सर भन्दै सुर्खेत तिर लाग्यो।
बाटोमा हिँड्दै गर्दा उसले मोबाइलमा नारायण गोपालको गीत लगायो— ‘म त लालीगुराँस भएछु, वनैभरि फुलेछु...’। उसले बुझ्यो— बसन्ती त्यही 'चरी' थिइन्, जो उसको मनको गुँडबाट उडेर गएपछि मात्र उसले आफ्नो सफलताको विशाल आकाश भेटाउन सफल भयो। बसन्तीका आँखामा पश्चात्तापको 'डेबिट' थियो भने बी-पावरको मौनतामा सफलताको 'क्रेडिट'। उसले केही नबोली मुन्टो फर्काउनु नै उसको जीवनको सबैभन्दा ठुलो 'रिकभरि' थियो।’
वास्तवमा प्रेम भनेको कुनै स्थिर सम्पत्ति होइन रहेछ, जुन सधैँ सुरक्षित रहिरहोस्। यो त भौतिक विज्ञानको 'स्टाटिक इलेक्ट्रिसिटी' जस्तै रहेछ— जसले सुरुमा मुटुमा 'हाई भोल्टेज' झड्का त दिन्छ तर यसले जिन्दगीभर उज्यालो दिने ग्यारेन्टी हुँदैन।