घरमा म एक्लै छु। आदित्य सर पढाउन क्याम्पस जानुभएको छ। छोरी विदुषी स्कुल गएकी छिन्। दराजका छरपस्ट लुगा मिलाउने आज मेरो काम थियो। माघ महिनाको चिसो मौसमले आकाशमा बादलहरू जमिरहेका थिए। झ्यालबाट छिर्ने सूर्यको मधुरो घामको प्रकाशले कोठाभरि उज्यालो बनाइरहेको थियो। दराजका लुगा मिलाउने क्रममा मैले हातमा पुरानो फोटोको एल्बम फेला पारेँ। त्यही एल्बम जहाँ म र आदित्य सरको प्रेमकथाले चिसो मौसमलाई न्यानो बनाइदियो। म त्यो एल्बम पल्टाउँदै फेरि आफ्नो विगततिर जान्छु।
उहाँ कक्षामा छिर्नुहुँदा सधैँजस्तै ढोका चर्र गर्थ्यो। हामी सबै उठ्थ्यौँ, ‘गुड मर्निङ सर!’ तर त्यो दिन म उठ्न सकिनँ किनभने उहाँको आँखामा परेको मेरो नाम आज फेरि केही फरक देखिन्थ्यो।
सबैजना उठेको देख्दा म उठ्न नसकेको देखेर उहाँले मलाई भन्नुभयो, ‘के भयो, सन्चो छैन क्याहो विनालाई?’
मैले एक निमिषले सरको आँखामा हेर्दै टाउको मात्र हल्लाएँ। उहाँले हाजिरी गर्न थाल्नुभयो। मेरो नाम आयो— विना खड्का। ‘यस सर’ नउठी भनेँ। उहाँ हल्का मुस्कुराउनुभयो। मायालु भावमा हेर्नुभयो।
उहाँ ३२ वर्षको हुनुहुन्थ्यो। अविवाहित। पत्रकारिताको लेक्चरर, गहुँगोरो वर्ण, अग्लो कद, सधैँ फर्मल ड्रेसमा सजिने, सधैँ कपाल जिरो साइजमा। स्मार्ट पर्सनालिटी। बोलीमा स्पष्टता, ओठमा मन्द मुस्कान, इमानदार स्वभावको। तर सधैँ गम्भीर देखिनुहुन्थ्यो। अरू विद्यार्थीहरूले आदित्य सरको पर्सनालिटी देखेर ‘वाउ’ भन्थे। जो कोही पनि उहाँको व्यक्तित्व देखेर मोहित हुन्थे। विशेषगरी केटीहरूले आदित्य सरको प्रशंसा गरेको सुन्थेँ। उहाँको प्रशंसा सुन्दा खै किन किन मलाई औधी खुसी लाग्थ्यो। कक्षाहरूमा बस्ने विद्यार्थीहरूमध्ये म विशेष थिएँ। स्नातक तहकी विद्यार्थी। म जिज्ञासु थिएँ। प्रश्नहरू गहिरो गर्थेँ। हरेक छलफलमा नयाँ दृष्टिकोण राख्थेँ।
त्यो दिन शुक्रबार, कक्षाका सबै विद्यार्थीले आज नपढ्ने, केही रोचक कुरा गरेर पिरियड बिताउने निर्णय गरे। सरले पनि ‘हुन्छ’ भन्नुभयो। नपढ्ने भनेपछि मलाई पनि अलि हल्का महसुस भयो। मैले त्यही बेला एउटा प्रश्न गरेँ सरलाई, ‘सर, प्रेम र कर्तव्यबिच द्वन्द्व भयो भने कुन रोज्नुपर्छ?’
आदित्य सर केही क्षण मौन बस्नुभयो। ‘साँचो प्रेम कहिल्यै कर्तव्यको विरोधमा हुँदैन,’ उहाँले शान्त स्वरमा भन्नुभयो, ‘बरु त्यसलाई अझ पवित्र बनाउँछ।’
त्यो संवादबाट हामीहरूबिच सम्मानको धागो अझै बलियो भएको आभास भयो। त्यसै बेला सँगै पढ्ने साथी विकासले सरलाई सोध्यो, ‘सर, तपाईं कसैको प्रेममा पर्नुभएको छ कि छैन?’
कक्षाकोठाका सबै विद्यार्थी गललल्ल हाँसे। सर अलि गम्भीर भएर भन्नुभयो, ‘कसैको प्रेममा परेको छैन।’ साथीले सरलाई यो प्रश्न सोध्दा खै किन किन मलाई लाज लागेर आयो।
दिनहरू बित्दै गए। पुस्तकालयका छलफल, अनुसन्धानका विषयमा लामो बहस, प्राक्टिकल, भ्रमण, विचारका आदानप्रदान; यी सबैले हामीलाई बौद्धिक रूपमा नजिक बनाइरहेको थियो। अन्तिम सत्र सकियो। मैले उत्कृष्ट नतिजासहित स्नातक तहको अध्ययन पूरा गरेँ। बिदाइको दिन मैले भनेँ, ‘सर, तपाईंले मलाई केवल पढाउनुभएन, सोच्न सिकाउनुभयो, मलाई ज्ञान दिनुभयो। हजुरको व्यक्तित्वले म प्रभावित भएकी छु। त्यसका लागि म सधैँ आभारी रहनेछु।’
आदित्य सर मुस्कुराउनुभयो।
‘तिमी अब मेरो विद्यार्थी मात्र होइनौ, एक स्वतन्त्र विचारक हौ।’
म त्यो दिन निकै भावुक बनेकी थिएँ। त्यो कलेजबाट छुट्टिनुपर्दा होइन, म आदित्य सरसँग छुट्टिँदाको पल सम्झेर।
दिनहरू आफ्नै रफ्तारमा बित्दै गए। खै किन किन आदित्य सरको यादले मलाई दिन प्रतिदिन सताउन थालेको थियो। हरबखत म आदित्य सरको पढाउने शैली, बोल्ने तरिका, शीलस्वभाव, विचार, इमानदारी आँखा अगाडि झलझली आइरहन्थ्यो। कक्षाकोठामा उहाँले बोल्दा मैले आँखा नझिम्काई मन्त्रमुग्ध भएर हेरेको याद आउँथ्यो। आजसम्म म कसैप्रति यति प्रभावित भएकी थिइनँ, जति आदित्य सरप्रति भएकी थिएँ। खै किन किन मनमा खाली आदित्य सरको मात्र झझल्को आउँथ्यो।
सायद मैले त्यही बेला सोचिसकेकी थिएँ— आदित्य सरजस्तो मान्छे पाए म कति भाग्यमानी ठान्थेँ होला आफैँलाई। मेरो मानसपटलमा खाली आदित्य सर हुनुहुन्थ्यो। म उहाँको यादमा अनायासै छटपटिन थालेकी थिएँ। हो, साँच्चै म आदित्य सरलाई भित्रभित्रै मन पराइसकेकी थिएँ। मैले उहाँलाई धेरै प्रेम गर्न थालिसकेकी थिएँ।
दिनहरू बित्दै गए, मनमा लागेका कुरा व्यक्त गर्न नसक्दा मनमा धेरै कुरा उथलपुथल हुन्थे। उहाँको मोबाइल नम्बर त थियो तर फोन गर्ने आँट आउँदैनथ्यो। फेसबुकमा साथी त हुनुहुन्थ्यो तर कुरा गर्न सक्दैनथेँ। एकदिन मलाई अचानक ज्वरो आयो। म कीर्तिपुरको आफ्नै डेरामा सुतिरहेकी थिएँ। आदित्य सरको फोन आयो। म छक्क परेँ।
फोन उठाएको त आदित्य सरले नरम स्वरमा भन्नुभयो, ‘हेलो, को विना बोलेको?’
‘हो सर, नमस्ते,’ भनेँ।
उहाँले नमस्ते फर्काउनुभयो। ‘के छ अनि हालखबर, सन्चै छौ?’ भन्नुभयो।
सन्चै छु भन्दाभन्दै मलाई त कतिखेर रुन पो आयो। बोली अड्कियो। उहाँले ‘किन नबोलेकी?’ भन्नुभयो। मैले मसिनो स्वरमा ज्वरो आएर आफूलाई सन्चो नभएको जानकारी दिइहालेँ। उहाँले सान्त्वना दिनुभयो। औषधि समयमा खान र खाना जबरजस्ती भए पनि अलिअलि खान सल्लाह दिनुभयो।
उहाँको कुराले म अलिकति तङ्ग्रिएँ। अलिकति हिम्मत आयो। सरलाई किन केही काम विशेषले फोन गर्नुभयो कि भनेर सोधेँ। उहाँले कुनै काम नभएको र तिमीलाई सम्झेर फोन गरेको भन्नुभयो। मलाई औधी खुसी लाग्यो। यत्तिकैमा ‘आफ्नो ख्याल गर्नु’ भनेर फोन काट्नुभयो।
दिनहरू बित्दै गए, आदित्यरुपी हाँगाले मलाई दिनप्रतिदिन यसरी छोप्दै गयो कि म अब बाहिर निस्किने चान्स थिएन। एक रात सोचेँ— म उहाँको प्रेममा एक्लै तड्पिनु भन्दा उहाँलाई मेरो मनको सबै कुरा भनिदिन्छु, जे पर्ला पर्ला। कमसेकम मेरो मन त हल्का हुन्छ नि भनेर राति केही शब्दहरू फुर्यो, त्यही शब्द मेसेन्जरमा लेखेर पठाइदिएँ। ती शब्द यस्ता थिए:
‘तिमी मेरो जीवनको त्यो मिठो अनुभूति हौ, जसले साधारण दिनलाई पनि विशेष बनाइदिन्छ। तिम्रो मुस्कान मेरो थाकेको मनको औषधि हो, तिम्रो स्वर मेरो हृदयको संगीत हो। जब तिमी साथमा हुन्छौ संसारका सबै चिन्ता ओझेल पर्छन् र भविष्य उज्यालो देखिन्छ।’ यति लेखेर पठाएँ। मेसेज पठाइसकेपछि आफैँलाई देखेर लाज लाग्यो। तुरुन्तै मोबाइल स्विच अफ गरिदिएँ।
उहाँले के सोच्नुभयो होला भनेर खुल्दुली लागिरह्यो। करिब एक घण्टापछि मोबाइल खोलेँ। उहाँले एउटा मेसेज छोड्नुभएको रहेछ। ‘शब्दहरू राम्रा छन्, अझै लेख्दै गर्नु,’ भन्नुभयो, अरू केही भन्नुभएन। म लाजले भुतुक्कै भएँ।
एक रात मैले हिम्मत गरेर मेसेन्जरमा आफ्नो मनको कुरा भन्ने आँट गरेँ।
‘सर, हजुरलाई एउटा कुरा भन्छु है त?’ उहाँले ‘हुन्छ भन’ भन्नुभयो।
मैले भनेँ, ‘हामीबिचको सम्बन्ध सधैँ सम्मानबाट सुरु भयो। यदि भविष्यमा केही नयाँ अध्याय लेखिन्छ भने पनि त्यो सम्मानकै आधारमा हुनुपर्छ। हजुरसँग हुँदा म आफूलाई पूर्ण महसुस गर्छु। हजुरप्रति मेरो भावना केवल शिक्षक–विद्यार्थीको जस्तो छैन। यदि हजुरलाई पनि ठिक लाग्छ भने हामी यो सम्बन्धलाई अर्को स्तरमा लैजान सक्छौँ। म अब हजुरलाई मेरै छत्रछायामा हेर्न चाहन्छु। साँच्चै यो मनले हजुरलाई मात्र खोज्छ। म हजुरलाई बेहद प्रेम गर्छु।’ यति लेखेर पठाएँ।
उता धेरै बेरपछि टाइपिङ गरेको देखायो। सरको मेसेज आयो, लेखिएको थियो— ‘विना, म तिम्रो प्रस्तावलाई सम्मान गर्छु तर हाम्रो सम्बन्ध भनेको शिक्षक र विद्यार्थीको हो। यो सम्बन्ध अति नै संवेदनशील छ र नैतिकताको कुरा पनि त आउँछ। शिक्षक र विद्यार्थीको सम्बन्ध भनेको पवित्र सम्बन्ध हो। यो सम्बन्धमा सम्मान, मर्यादा र नैतिकता अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसैले यस्ता कुरालाई थाँती राखेर आफ्नो जिन्दगी तिमी सुन्दर बनाऊ।’
म अलि गम्भीर हुन्छु र फेरि लेख्छु, ‘पहिला पो हजुर मेरो शिक्षक हुनुहुन्थ्यो, अहिले हामी दुवैजना वयस्क छौँ। शिक्षक–विद्यार्थीको सम्बन्ध पूर्ण रूपमा समाप्त भइसकेको छ। कुनै मूल्याङ्कन, सिफारिस, शक्ति–असरको सम्बन्ध बाँकी छैन। अनि हामी किन एक हुन सक्दैनौँ र? यदि हजुरले मलाई अस्वीकार गर्नुभयो भने पनि म पूर्ण सम्मानका साथ स्वीकार गर्छु। सम्बन्ध बराबरी, सहमति र सहजतामा आधारित हुनुपर्छ। हजुरलाई कुनै दबाब छैन। मैले मेरो मुटु यति परिपक्व बनाएकी छु कि हजुरले मलाई अस्वीकार गर्दा पनि म स्वीकार गर्न तयार छु।’
यति कुरापश्चात् उहाँ अफलाइन हुनुभयो।
दिनहरू बित्दै गए, समय आफ्नै रफ्तारमा चलिरहेको थियो। म घर गएँ, घरमा पनि मेरो बिहेको कुरा चलिरहेको रहेछ। खै! मेरो मन खुसी नै थिएन। आदित्य सरबिनाको जीवन कस्तो खल्लो जस्तो महसुस गरिरहेकी थिएँ। यो मनले उहाँलाई खोजिरहेको हुन्थ्यो। उहाँसँग बिहे हुँदा म कति खुसी हुन्थेँ होला, कल्पना गर्थेँ। करिब एक महिनापछि मेरो फोनमा आदित्य सरको मेसेज आयो। म झसङ्ग भएँ।
मेसेजमा लेखिएको थियो— ‘प्यारी विना, धेरै माया। तिमी साँच्चै अनौठो छौ। तिमी साँच्चै प्रेमिल छौ। तिमीले मलाई पगाली छोड्यौ। तिमीले मेरो लागि जुन साहस देखायौ, त्यो तिम्रो साहसलाई म सम्मान गर्छु। तिम्रो–मेरो सम्बन्धलाई लिएर मलाई हजारौँ बार सोच्न बाध्य बनायो। अन्ततः मैले तिम्रो प्रेम प्रस्तावलाई स्वीकार गरेँ। म चाहन्छु अब हामी दुवैको सम्बन्ध, विश्वास, सम्मान र माया अझै अगाडि बढोस्। तिमीसँगै भविष्यका प्रत्येक पाटोमा मुस्कान र साथ साझा गर्न पाउँदा म पक्कै पनि आफूलाई भाग्यमानी महसुस गर्छु। पक्कै पनि तिमीजस्तो मान्छे मेरो जीवनमा प्रेरणा र आत्मीयता बनेर छाउनेछौ। धन्यवाद, मेरो जीवनमा यस्तो सुन्दर सम्बन्ध ल्याइदिएकोमा। अब हामी छिट्टै भेट्नुपर्छ। उही तिम्रो, आदित्य सर।’
यो मेसेज पढेर कतै अरूले नै पठाएको त होइन भनेर एकपटक त म सोचमग्न भएँ। नम्बर चेक गरेँ, उहाँ नै हो भनेर कन्फर्म गरिसकेपछि मन फुरुङ्ग भयो। दिल खोलेर नाच्न मन लाग्यो। ओठमा अनौठो मुस्कान छायो। मनमा एक प्रकारको शीतलता छायो। हो, त्यही दिनदेखि हामी शिक्षक–विद्यार्थीबाट प्रेमी–प्रेमिका भयौँ।
उहाँलाई भेट्न म आत्तिएकी थिएँ। दोस्रो दिन काठमाडौँमा काम पर्यो भनेर म द्रुत गतिमा हवाईजहाजमार्फत काठमाडौँ आएँ। साँझपख हामी कीर्तिपुरको चियाबगानमा भेट्ने सल्लाह भयो। मन खुसीले भरिएको थियो। उहाँ आउनुभन्दा मै अगाडि पुगेछु। टाढैबाट उहाँलाई देखेँ, मन भारी भएर आयो। अँगालोभरि टाँसिन मन लाग्यो र भित्रैबाट धन्यवाद ज्ञापन गर्न मन लाग्यो। तर त्यसो गरिनँ।
उहाँ म नजिक आउनुभयो, आमनेसामने कुर्सीमा बस्यौँ। उहाँले मट्का चिया अर्डर गर्नुभयो। मेरो हालखबर सोध्नुभयो र आफूले मेरो प्रेम प्रस्ताव स्वीकार्नु भएको कुरा व्यक्त गर्नुभयो। मेरो मनमा खुसी, उत्साह, आशा, आत्मविश्वास र मिठो डर मिसिएको एउटा अनुपम भावना जन्मिरहेको थियो, जुन यो पल जीवनभरि सम्झनालायक रहनेछ।
चिया पिउने क्रममा उहाँले आफ्नो मनको कुरा व्यक्त गर्ने अनुमति माग्नुभयो। मैले ‘हुन्छ’ भनेँ। उहाँले मलाई आफ्नो मोबाइलमा एउटा फोटो देखाउनुभयो। आदित्य सर र एउटी केटीको फोटो, जुन अनुहार मैले कहिल्यै देखेकी थिइनँ। मनमा चिसो पस्यो। आदित्य सर अर्कै युवतीसँग निकै आत्मीय देखिरहनु भएको थियो। मेरो मनमा शंका जन्म्यो। लगत्तै सोधिहालेँ, ‘को हो यो?’
आदित्य सर शान्त र गम्भीर देखिनुभयो। उहाँ स्पष्ट रूपमा आफ्ना विगत सम्झिँदै भन्नुभयो— ‘मेरो जीवनमा पहिले पनि कोही थिइन्। उनको नाम विदुषी थियो। जसलाई मैले धेरै माया गर्थेँ। तर दुर्भाग्यवश गाडी दुर्घटनाले उनलाई मबाट खोस्यो। त्यो समय मेरा लागि निकै कठिन थियो। म त्यो विगत लुकाउन चाहन्नँ, किनकि म तिमीप्रति सधैँ इमानदार रहन चाहन्छु। आज म तिमीलाई स्पष्ट भन्न चाहन्छु— म तिमीलाई विगतको खालीपन भर्नका लागि होइन, तिमी स्वयंका लागि माया गर्छु। मेरो हृदयले फेरि माया गर्न सिकेको छ र त्यो मायाको भागीदार मात्र तिमी हौ विना। तिमीलाई स्वीकार छ भने म तिमीसँग छिट्टै विवाह गर्न चाहन्छु।’
आदित्य सरको कुरा सुनेर म स्तब्ध भएँ। कतिखेर आँसु खस्न थाले पत्तै पाइनँ। उहाँ जहिल्यै गम्भीर र उदास रहनुको तात्पर्य त्यो घटना रहेछ, बल्ल मेसो पाएँ। उहाँप्रति झन् बढी माया र सम्मान पलायो। कतिखेर उहाँको हात समातेर म सुँक्क–सुँक्क रुन थालेछु। उहाँले निकै प्रेमपूर्वक मलाई माया गर्नुभयो। उहाँले पनि आफ्नो बिहेको उमेर भइसकेको र छिट्टै मलाई आफ्ना आफन्तसहित मेरो घरमा माग्न आउने वाचासहित हामी छुटियौँ।
घरमा मेरो विवाहको कुरा चलिरहेको थियो। कहाँ–कहाँबाट बिहेको कुरा आउँथ्यो। घरमा मैले हेरेको भन्दा पनि उहाँहरूले हेरेको केटासँग विवाह गर्न दबाब दिन्थे। मैले एकदिन आदित्य सर र मेरो बारेमा सबै कुरा दिदीलाई भनिदिएँ। दिदीले आमाबुवालाई भन्नुभयो। उहाँहरूले मेरो लागि विदेशमा बस्ने केटासँग कुरा चलाउनुभएको रहेछ। पछि मैले अस्वीकार गरिदिएँ र आदित्य सरको बारेमा र उहाँको सबै आनीबानी, शीलस्वभावको बारेमा पनि भनिदिएँ। उहाँहरू सुरुमा त असहमति जनाइरहनुभएको थियो तर पछि मान्नुभयो। आदित्य सरको घरमा पनि बिहेको कुरा चलिरहेको थियो। उहाँलाई परिवारलाई मनाउन भने खासै झन्झट भएन।
असोजको महिनामा आदित्य सर आफ्ना आफन्तसहित मलाई माग्न आउनुभयो। उहाँको शीलस्वभाव र पारिवारिक पृष्ठभूमि पनि राम्रो देखेर मेरो घरमा बिहेको लागि राजी हुनुभयो। आउँदो माघमा हाम्रो विवाह हुने पक्का भयो। हामी दङ्ग थियौँ, खुसी पनि। यता दुवैको घरमा बिहेको भव्य तयारी चलिरहेको थियो। सबै कुरा सपनाजस्तै लागिरहेको थियो।
आजकै दिन हाम्रो बिहेको दिन थियो। जीवनको आकाशमा नयाँ जून उदाएको दिन। मण्डपमुनि बलिरहेको आगोसँगै मेरो मनभित्र पनि एउटा उज्यालो बलिरहेको थियो। माला साट्दा फूलहरू मात्र होइन, हामीले सपना साटिरहेका थियौँ। उहाँको आँखामा हेर्दा म भविष्य देख्थेँ। सिन्दुरको त्यो रातो रेखा केवल रीत होइन, मेरो हृदयको स्वीकार थियो। आफन्तको आशीर्वादको छायामा म एउटा नयाँ जिम्मेवारी बनेँ। कसैको भरोसा, उहाँको जीवनसाथी बनेँ। हाम्रो बिहे केवल उत्सव थिएन, त्यो मेरो आत्माको अर्को आत्मासँग हात समाएको क्षण थियो जहाँ माया शब्दभन्दा गहिरो र वाचा समयभन्दा लामो थियो। अन्ततः हामी शिक्षक–विद्यार्थीबाट प्रेमी–प्रेमिका हुँदै श्रीमान्–श्रीमतीको नाताको साइनोमा गाँसियौँ।
बिहेको पहिलो रात आदित्य सरले भन्नुभयो, ‘आजदेखि तिमी मेरो जीवनको आधार मात्र होइन, सिङ्गो संसार नै भयौ। तिमीले मलाई साथ दिइरह्यौ भने म हरेक दिनलाई उत्सव बनाइदिन्छु। वाचा गर्छु, सुखमा मात्र होइन, दुःखमा पनि तिम्रो हात कहिल्यै छोड्ने छैन।’
म उहाँप्रतिको प्यार देखेर मुस्कुराउँदै भनेकी थिएँ, ‘आजदेखि म हजुरलाई मेरो सर होइन, मेरो मान्छे भन्न पाउँछु नि है?’
उहाँले थप्नुभयो, ‘पाउँछौ नि, यो त तिम्रो हक–अधिकारको कुरा हो।’
मैले फेरि भनेँ, ‘हाम्रो यो प्रेमलाई के नाम दिने त?’
उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘ह्वाइट बोर्डमा लेखिएको त्यो प्रेम।’
मैले पनि हल्का मुस्कुराउँदै भनेँ, ‘राम्रो छ नाम।’
बिहेको पहिलो रात दुवैले विगतका संघर्ष सम्झियौँ। परिवारको असहमति, समाजका प्रश्नहरू, आफ्नै डर र अन्योल। तर यी सबै आज यसै बन्द कोठाको शान्तिमा हराइसकेका थिए। बाहिरको हावाले परालको छानो हल्का हल्लायो, मानौँ प्रकृतिले पनि हामीलाई मिलनको आशीर्वाद दिइरहेको थियो। हाम्रो नयाँ यात्राको पहिलो रात माया, भरोसा र साथको यात्रासँगै आजको रात हामी मिठा–मिठा कुरा गर्दै निदायौँ।
अहो! घडीमा त दिउँसोको चार बजिसकेको रहेछ। पुराना स्मृतिका पलले त मलाई एकोहोरो पो बनाइदिएछ। बाहिरको गेट बज्छ। आदित्य सरको हातमा रातो बुकी फूल छ। मलाई देख्नेबित्तिकै अँगालोमा बेरेर ‘ह्याप्पी टेन्थ एनिभर्सरी माइ डियर!’ भन्नुभयो। त्यसै बेला छोरी विदुषी पनि टुप्लुक्क स्कुलबाट आइपुगिन्। हामी दुवैलाई अँगालेर छोरीले भन्छिन्, ‘ह्याप्पी एनिभर्सरी मामु–बाबा!’
अहो! हाम्रो बिहे भएको पनि एक दशक भएछ।