मान्छेले नै मेशिन बनाएका हुन्
आफ्नो श्रम हल्का बनाउन
समय बचाउन, दूरी घटाउन
जीवनलाई सहज बनाउन।
उसले फलाममा गति हाल्यो
कोडमा बुद्धि हाल्यो
तर मुटु र विवेक हाल्न सकेन।
कुनै बेला सुनिन्थ्यो
मेशिनमा पनि मानवीय गुण भर्न खोजिँदै छ
करुणा जगाउन खोजिँदै छ
सहानुभूति पनि सिकाउन खोजिँदै छ
तर समय फेरियो
आज मानिसमा मेशिनकै मात्र गुण बढ्न थालेको छ
आज प्रश्न उभिएको छ-
मान्छेले मेशिन बनाएका हुन् कि
मेशिनले मान्छे बनाएका हुन्?
जहाँ न तर्क छ, न विचार छ, न बहस, न विवेक
तर गालीको वर्षा एकोहोरो ओइरिरहेको छ।
शब्दहरू अब संवाद होइनन्
एकोहोरो प्रहार बनेका छन्।
भीडको स्वरलाई सत्य ठान्दै
हामी आफ्नै विवेकलाई मौन बनाइरहेका छौँ।
स्क्रिन उज्यालो छ
तर मन अँध्यारो हुँदैछ।
औँला तीव्र छन्
तर सोच एकोहोरो र सुस्त हुँदैछ।
हामी प्रतिक्रिया छिटो दिन सिक्यौँ
तर अनुभूति र विवेक भर्न बिर्सियौँ।
चुनाव त आउँछ जान्छ
चुनावपछि नि दिन आउँछ
हामी लाइनमा उभिन्छौँ एक दिन।
औँलामा स्याही लाग्छ
तर किन अहिले मनमा प्रश्न लाग्दैन?
एकोहोरो नाराले मात्र निर्णय हुन्छ र?
एकोहोरो भीडले मात्र दिशा दिन्छ र?
तर लोकतन्त्र त मेशिनको बटन होइन।
यो त चेतनाको बटन हो।
मत केवल छाप होइन,
यो पाँच वर्षको मार्गचित्र हो
विवेक र मुटु विनाको मेशिनझैँ नचलौँ
आदेशमा होइन, विवेकमा चलौँ।
अनुहारभन्दा चरित्र हेरौँ,
नाराभन्दा नीति खोजौँ,
स्वरभन्दा सत्य सुन्न सिकौँ।
मान्छेले मेशिन बनाएको थियो
आफ्नो श्रम हल्का बनाउन
तर मेशिनले मान्छेलाई
मन हल्का बनाउन सिकाएन
उसले हिसाब मिलायो
तर संवेदना गन्न सकेन।
उसले सूचना दियो
तर विवेक दिन सकेन।
यदि अझै केही बाँकी छ भने
हाम्रो मुटुको त्यो सानो धड्कन
जसले सम्झाउँछ,
‘तिमीले अनुभूति नि गर्न सक्छौ भन्नी’
हाम्रो टाउकोको त्यो दिमाग
जसले सम्झाउँछ
‘तिमीले सोच्न नि सक्छौ भन्नी।’
आऔँ फेरि एक पटक
गालीको वर्षा रोकौँ,
तर्कलाई हात समातेर उठाऔँ,
विचारलाई बहसको आँगनमा बसाऔँ।
संवादलाई संस्कार बनाऔँ,
विवेकलाई आधार बनाऔँ।
मुटुको अनुभूति,
र
दिमागको सोचलाई
आधार इलाका बनाऔँ।
किनकि अन्ततः
मेशिन हाम्रो सिर्जना हो
तर मानवता हाम्रो पहिचान हो।
यदि मानवता जोगायौ भने
मेशिन हाम्रो सहायक रहनेछ
तर मानवता भुल्यौँ भने
हामी आफैले बनाएको मुटु र विवेक बिनाको
मेशिनझैँ भइदिनेछौँ।
त्यसैले
मानवता भुलेर मेशिन नबनौँ
सोचौँ, महसुस गरौँ, बहस गरौँ
र मत हाल्दा सम्झिऔँ
हामी मान्छे हौँ
मात्र चल्ने संरचना होइनौँ।