मैले नभनेका कुराहरू
सायद भन्दै नहिँड्ने कुराहरू
तिमी पेटमा हुँदा
तिमीलाई जन्म दिँदा
धेरै पीडा भएको थियो नि!
तिमी जन्मियौ, तिमी रोयौ
प्रसव पीडा कता हराए हराए
दुखाइका आँसु कता बिलाए बिलाए
म!
धेरै खुसी भएको थिएँ नि!
मेरो स्तनबाट तिमीलाई खुलाउने
दूध नआउँदा
यसो हेर्दा तिम्रा आँखाहरू
पहेँलो देख्दा
कति आत्तिएँ आत्तिएँ
केही छिन हुन्थ्यो होला, निदाउने
आँखा खुलिहाल्ने
तिमीलाई हेर्न मन लागि
हेरिहाल्ने
मस्त निदाएको देख्दा
सन्तोकले कति मुस्कुराएँ मुस्कुराएँ
तिमीले कलिलो नरम औँलाले
मेरो औँला समात्दा
दाँत नभएको गिजा देखाउँदै हाँस्दा
मनमनै म कति नाचेँ नाचेँ
रात बिरात एक्कासि च्याँ गरी रुँदा
कहिलेकाहीँ नरोई तिमी टोलाउँदा
कति सुर्ताएँ सुर्ताएँ
तिमी घस्रिएर हिँड्न थाल्दा
यताबाट उता
उताबाट यता
तिम्रो चालमा कति पछ्याएँ पछ्याएँ
तिमीले भेट्न सक्ने
बिजुलीका प्लगका प्वालहरू
औँला हाल्छौ कि भनी
कति राखेँ कागजहरू
तिमीलाई,
तिमीलाई पहिलो पटक स्कुल छोड्दा
तिमी रुँदा कति गाह्रो भएको थियो नि!
पहिलो दिन त नसकेर मैले
फिर्तै गरेको थिएँ
अँगालोमा बेरेर धेरै बेर
केही बेर छोड्न पनि कस्तो गाह्रो
सोचेकी थिएँ
दिनभर यता उताको काम हुने
जीवनको संघर्षले
थाकेको त म पनि हुने
भोक त मलाई पनि लागेको हुने
तिमी स्कुलबाट फर्की आउँदा
भोक, थकाइ मेरा
कता हराउने हराउने
तिमीलाई खाजा बनाइदिई
तिमीले खाँदा
मलाई बचाइ राखेको
अलिकति खाजा पनि
मिठो! अझै... भनी तिमीले माग्दा
खुसी खुसी मेरो भाग पनि
तिमीलाई कति दिएँ दिएँ
तिम्रो कोठा छुट्टै भयो
बिस्तरा छुट्टै भयो
हरेक रात तिमी निदायौ कि निदाएनौ
भनी दुई/तीन पटक तिम्रो ढोकाबाट
तिमीलाई कति हेरेँ हेरेँ
मस्तसँग तिमी निदाएको देख्दा
एक्लै नडराई सुतेको देख्दा
म कति फुर्किएँ फुर्किएँ
कहिलेकाहीँ तिमीलाई छाडी
घर टाढा जाँदा
के पो गर्यौ होला भनी
कति सुर्ताएँ सुर्ताएँ
तिम्रो मनमा यो भएन
त्यो भएन भन्ने हुन्छ कि भनी
काममा कति घोटिएँ घोटिएँ
तिमी हुर्कियौ
हलक्क बढ्यौ
थाहा छ ?
तिमीले जीवनसाथी पाउँदा
सबैभन्दा खुसी म थिएँ नि!
तिम्रो विवाहमा
म खुसीले कति नाचेँ नाचेँ
म आमा हो नि!
मनभरि छन्
धेरै कुरा
सुनाउँदै हिँड्न नमिल्ने
धेरै कुरा
सुनाउँदै हिँड्न नचाहने मेरा
धे...रै कुरा...।