तिमी गयौ भने
कसले ब्युँझाइदेला हरेक बिहान
थाकेर लखतरान सन्ध्याको छातीमा
ढलिरहेको सूर्यलाई?
अनि कसले सोहोरेर फ्याँकिदेला
वातावरणमा फैलिएको
बेवास्ता र व्यस्तताको
चि...सो हुस्सु र कुहिरोलाई ?
कसले तोडिदेला
मौनताको रुखबाट
संवादरूपी शब्द–पत्र र
पोखिदेला मनको बलेँसीभरि?
फेरि कसले बिच्छ्याइदेला
नयनको आँखीझ्यालभरि
उत्साहका अनगिन्ती सपना पनि?
तिमी गयौ भने
कसले सिकाइदेला दौडिन
ताल बनेर वर्षौँदेखि जमेका
मेरा रहरका नदीलाई?
अनि कसले गुनगुनाइदेला
हृदयको फराकिलो आकाशमा
प्रणयको मधुरो गीत हरहमेसा?
कसले पर्खिदेला
साँझको बार्दलीमा मलाई
आफैँसँग थाकेको वा हारेको बेलामा?
फेरि कसले हँसाइदेला
बगैँचामा एक्लो फूलजस्तो
उदास यी ओठलाई?
सधैँ तिम्रै वरिपरि भुलिबस्छ
मेरो यो मुटु
तिमी गयौ भने त
यसले बिर्सनेछ ढुकढुकीको दोहोरी
ओझेल पर्नेछ जिन्दगीको फाँटबाट
रुमानी घामहरू
अनि व्यर्थै हुनेछैन र मेरो सास फेराई?
तिमी गयौ भने
सबैभन्दा डर लाग्दो त
यो हुनेछ कि म हराउनेछु
एक्लोपनको घनघोर जंगलभित्र
अनि तिम्रो अभावको भारी
खेप्दा खेप्दै
कुरूप देखिनेछु म
आफ्नै जिन्दगीको ऐनमा
तिमी गयौ भने...