सरकार,
तिमी फित्ता नापेर पढ् भन्छौ
र बित्ता नापेर ‘ए प्लस’ दिन्छौ
'फिस' तिर्नेलाई मात्र मान्छे भनेर चिन्छौ
तिम्रा डिग्रीले फाटेका गन्जी सिलाउन सिकाएको भए
अहङ्कार बाहेक मूल्य अरूलाई दिलाउन सिकाएको भए
ठुला सपना मात्र देखिने थिएन होला
यस्ता-यस्ता कविता लेखिने थिएन होला।
तिम्रा ज्ञानले दूध खान मात्र सिकायो
गाई पाल्न सिकाएन
किन्नमै गर्व गर्ने बनायो
फाटेका टाल्न सिकाएन
त्यसैले,
तिम्रा विश्वविद्यालय चलाउन मात्र
भैगो डिग्री पढ्दिनँ सरकार
पिँधमै बसौँला बरु सन्तोक मानी
भर्याङका सिँढी चढ्दिनँ सरकार।
नागरिकता हात पर्दा बेखुस हुने रे
राहदानी बोकेर ठुलो गौचर पुग्दा जुलुस हुने रे
भएको रङ्ग उडाएर त्यसै फिकाउने
आफ्ना मासेर अन्तैबाट झिकाउने
गोबर छुँदा हात गनाउँछ भनी सिकाउने
तिम्रो संस्कार
बेतुकका हरफहरू सुगा रटाई गरेर दिइने
तिम्रा पुरस्कार
भैगो अब चाहिँदैन सरकार
डिग्रीका फुली लाइँदैन सरकार।
बा'ले आफू पढ्न बसुन्जेल सहरमा
आमाले फलाएका जेठो बुढोको चामल ल्याएर
स्टोभ जलाउँथे
आफ्नै बारीमा फलेका गहतले
तिहुनको गर्जो चलाउँथे
बा'ले सधैँ
आफ्नै देशमा बनेका बक्खु लगाए
आफ्नै बारीमा फलेको रुईले सिरक तगाए
तर म,
विदेशी ब्रान्डको धक्कु लगाउँछु
आफ्नै आत्मसम्मानमा चक्कु लगाउँछु।
ठुला सपनाका भुलभुलैयामा तिमीले
आफ्ना स्वार्थका मात्र रोटी सेक्न सिकायौ
दुई थरी मान्छे बनाउने तिम्रा ज्ञानले
खै कुन उद्यमको बाटो टेक्न सिकायौ?
त्यसैले,
भैगो कुनै डिग्री चाहिँदैन सरकार
घमन्डका फुली लाइँदैन सरकार।
बा'ले कान्लामा मात्र घरका जग खनाउँथे
पानी भए ठाउँमा मन्दिर बनाउँथे
वर्षभरिलाई पुग्ने भकारी भर्थे
शताब्दी परका विचार गर्थे
बा'को पालामा
चार कोठामा चालिस जना अटाउँथे
अरूको खुसीका लागि आफ्ना खुसी घटाउँथे
तर तिमीले
धारा भए ठाउँमा डोजर चलाउन दियौ
सुन फल्ने गरामा घर फलाउन दियौ
त्यही फाँटमा फलाएका घरका चालिस कोठामा
दुई जना पनि अटाउँदैनन् सरकार
सबै माग्ने भएपछि
दिनेले धुलो चटाउँदैनन् त सरकार?
आमाले 'कख' नपढे पनि
उध्रेका चोली आफै सिलाउँथिन्
घर-व्यवहार सबै एक्लै मिलाउँथिन्
गरी खानेलाई पनि बसी खाने बनाउने तिम्रा विज्ञान
अहङ्कारका टुसाहरू मात्रै उमार्ने तिम्रा ज्ञान
भैगो अब चाहिँदैन सरकार
डिग्रीका पगरी लाइँदैन सरकार।
न मान्छेलाई मान्छे गन्न सिकाउँछ
न कोही कहिल्यै चाहिन्छ भन्न सिकाउँछ
जता मल्को उतै लहसिने
लघुताभासले आफै भासिने
तिमी आफ्ना कखरा बन्धक राखेर
एबिसिडीको रटान लगाउँछौ
छन् त छन् नि बिना बोकी हिँड्ने कस्तुरीहरू कति
तर तिनलाई तिमी अन्तै भगाउँछौ।
आफ्नै अभिमानका पर्खालमा
घुनझैँ चढेर लड्दिन सरकार
'होला कि' मै जवानी जाने
भैगो डिग्री पढ्दिनँ सरकार।
तिमीले ज्ञानका पनि पसल बनायौ
क्रय-विक्रयका फसल बनायौ
उतैका ज्ञान मात्र ठिक देखाउने
अरूकै सहारामा खुट्टा टेकाउने
ठेली मात्र बोकेर अघि बढ्दिनँ सरकार
भैगो डिग्री पढ्दिनँ सरकार।