सुन्दै छु,
मेरो रगतको होली खेल्नेहरू
अझै पवित्रताको मन्त्र जप्दैछन्
मेरो छातीमा नाम्लो उनेर
सत्ताको भारी बोकेका पनि
आज
लतपतिएको रगत पुछ्दै
'न्याय' को हुंकार दिँदैछन्
जब म चिहानबाट बौरिएर हेर्छु
मेरो देश जलाएर
मेरो सपना तुहाएर
मलाई नाङ्गो बनाएकाहरू
अपार भीड उरालेर
परिवर्तनको हौवा फिँजाइरहेछन्
मेरो रगतको टाटा सडकबाट मेटिन नपाउँदै
उनीहरू 'सत्ता उत्सव' को तयारीमा छन्।
त्यो कठिन साहस
केवल मेरा लागि मात्र थिएन
त्यो पल म पाषाण भएरै
मेरो देशको लागि कुँदिन तयार थिएँ
मलाई लाग्थ्यो—
मेरो एक थान शरीरको बलिदानले
यो घनघोर अनिश्चितता मेटिनेछ
बेथितिको बन्धन टुट्नेछ
तर आज हेर्छु
जसले मलाई अघि सारेर मृत्युको मुखमा धकेले
जसले मेरो निधार ताकेरै गोलीको वर्षा गरे
अहिले
मेरै चिहानमाथि उभिएर
म सही, ऊ गलत
म ठिक, ऊ बेठिक
म नयाँ, ऊ पुरानो
म अनुभवी, ऊ कच्चा
म विद्वान, ऊ मूर्ख भन्दै
बेतुकको एजेन्डा बेचिरहेछन्,
मानौँ—
मेरो सहादत तिनका लागि एक विजयी उत्सव थियो
मेरो रगत तिनका लागि केवल रङ थियो
जसले उनीहरूको चुनाव चिह्नलाई
अझ चम्किलो बनाइदियो
आमा तिमी नरुनू
तिम्रो कोख रित्याउनेहरू
म देश बनाउँछु भन्दै आउनेछन्
तिम्रो आँसुको बदलामा
उनीहरू झुटैझुटको पुलिन्दा देखाउनेछन्
एउटाले भन्नेछ
मैले व्यवस्था जोगाउन गोली चलाए
अनि
अर्कोले भन्नेछ—
मैले अधिकार दिलाउन तिमीलाई सडकमा पठाए
तिनलाई भनिदिनु— कि म मरेको होइन,
म त ती स्वार्थी भक्षकहरूको डरलाग्दो ऐना बनेको छु
म त हरेक सचेत आँखामा बिझाइरहनेछु
म त हरेक विद्रोही मुठीमा कसिइरहनेछु
मेरो रगतले भिजेको त्यो माटोले
एकदिन पक्कै परिवर्तनको फूल फुलाउनेछ
म कदापि रोकिने छैन
किनकि
रोकिनु भनेको त सकिनु हो।
चिहानको चिसो अन्धकारभित्र पनि म सुन्दै छु
ती खोक्रा गर्जनहरू
ती झुटका खेती गर्ने मसिहाहरूका पदचापहरू
मलाई सहिदको माला लगाइदिने हातहरूमा
अझै पनि बदलाको गन्ध बाँकी छ
मलाई श्रद्धाञ्जली दिने ओठहरूमा
अझै मेरो रगतको स्वाद बाँकी छ
आऊ, अब
म दिन्छु मेरो हात, तिमी देऊ तिम्रो हात
यो भत्किएको सपना हाम्रै पसिनाले साँचौँ
जलेको भविष्य आशाको दीपक जलाऔँ
म चिहानबाट बौरिएको छु
बदला लिन होइन
तिम्रो चेतनालाई झकझकाउन
फेरि पनि ती कलिला सपनाहरूको लिलाम हुन नदिन
म चाहन्छु
मेरो चिहानबाट लास होइन,
एउटा जिउँदो क्रान्ति उठोस्!