बा!
म तिम्रो नाम उच्चारण गर्दा
अझै पनि पिँढीमा टेकिएको लौरोको आवाज सुनिन्छ
जस्तो— समय आफैँ
माटोमा टेकेर उभिएको होस्।
तिमीले बिहानलाई घाम आउनुअघि उठाउँथ्यौ
हलले पृथ्वीको निधार कोर्थ्यौ
कोदालोले भाग्यको पर्खाल फोर्थ्यौ
गोठभरि सास फेर्ने धन पाल्थ्यौ
र मुरीका मुरी अन्नमा
भोकलाई हराएर मान्छे जित्थ्यौ।
अठार घण्टा पसिनाको नदी बगाएर
छ घण्टा शान्त निद्रा सुत्थ्यौ—
जस्तो कर्तव्यले थाकेपछि
धर्मले आफैँ ओछ्यान ओछ्याएको होस्।
मौसमसँग तिम्रो सल्लाह हुन्थ्यो
बोटबिरुवाले तिमीलाई चिन्दथे
फलफूलले तिमीलाई आफन्त ठान्थे
आफू खानुभन्दा पहिले बाँड्थ्यौ
किनकि तिम्रो पेटभन्दा ठुलो
तिम्रो मन थियो।
चालीसौँ रोपनीको मालिक भएर पनि
कछाड र भोटोमै तेज देखिन्थ्यौ
रामायण र गीतामा
तिम्रो जिब्रोले बाटो बनाएको थियो
शंख-घण्टको ध्वनिमा
साँझ-बिहान गाउँले समय मिलाउँथे।
तिमीले पानी पँधेरो बनायौ
मान्छे तिर्खाएको देखेर,
पाटी पौवा उठायौ
थाकेका खुट्टा सम्झेर,
पोखरी खनायौ
आकाशलाई पृथ्वीमा राख्न
र चौतारो बनायौ
यात्रा कहिल्यै एक्लो नहोस् भनेर।
मर्दापर्दा तिमी पहिला पुग्थ्यौ
विद्यालय बन्नु अघि
तिमी शिक्षक थियौ
गुरुकुल बन्नु अघि
तिमी चेतना थियौ
हजुरबा-हजुरआमाको तीर्थ
तिमीले पूरा गरेका थियौ।
सर्वगुणले भरिएको तिमी
कागजमा भने केही थिएन—
र तिमी हाँस्दै भन्थ्यौ
'म गाउँले गँवार हुँ।'
बा!
म बा हुन सकिनँ—
म ड्याडी भएछु
म लौरो टेक्दिनँ, स्टेरिङ घुमाउँछु
माटो जोत्दिनँ, सहर नाप्छु
गाईभैँसी पाल्दिनँ
कागजका सपनाहरू पाल्छु।
तिम्रो चालीसौं रोपनी बेचेर
पाँच आनाको घरमा बस्छु
गमलामा फूल रोपेर
छतमा कागतीको बिरुवासँग
प्रकृतिको सम्झौता लेख्छु।
म ब्रेकफास्ट, लन्च, डिनर खान्छु
टाई-सुटले सम्मान नाप्छु
डिग्रीहरूको थुप्रो
माथि चढेर विद्वान कहलिन्छु।
देशले चिन्छ,
म कसैलाई चिन्दिनँ—
चिने पनि नचिनेझैँ गर्छु
मान दिन सिकाउने तिमी
मान नदिन सिकेको म।
उनी मेडम भएकी छन्
म सर भएको छु
केटाकेटीले 'बा-आमा' भन्दैनन्—
ममी र ड्याडीले
घरको भाषा फेरिएको छ।
उनी तरकारी केलाउन जान्दिनन्
म अंग्रेजीमा भाषण दिन जान्दछु
तर गायत्री मन्त्र
मेरो स्मृतिबाट निर्वासित भएको छ।
साँचो त के हो भने, बा—
नातिले सोध्यो
'गुन्द्रुकको बिरुवा कहिले रोप्ने?'
मैले किताब पल्टाएँ
इन्टरनेटमा खोजेँ
तर दुवै मौन रहे।
त्यो दिन बुझेँ—
ज्ञान धेरै भए पनि
बुद्धि हराउन सक्छ
घर ठुलो भए पनि
जरा सानो हुन सक्छ
र मान्छे ठुलो भए पनि
वंश सानो हुन सक्छ।
बा!
म ड्याडी त भएँ
तर
बा हुन सिक्ने विद्यालय
अझै खोल्न सकेको छैन
म बा हुन सकेको छैन।