म प्रश्न गर्छु नेता ज्यु,
उत्तर दिने कष्ट गर्नुहोस्
चुपचाप त म कसरी भोट हाल्न सक्छु र?
म त नागरिक हुँ नि
कृपया हात जोडेर भोट माग्न आउँदा
प्रश्नसँगै उभिने साहस गर्नुहोस्।
मोबाइलको लाइकको बटन होइन नि
मतपत्रमा लाग्ने स्वस्तिक छाप हो
क्षणिक तालीको हल्ला होइन
पाँच वर्षे भरोसाको हिसाब हो।
यो चुनाव लहडको लहर होइन,
यो त बहसको उत्सव हो
शब्दको आतिशबाजी होइन,
तथ्य–तर्कको स्पष्ट जवाफ हो।
म प्रश्न गर्छु?
युवा किन बिदेसिन बाध्य छन्?
देशमै सम्मानित रोजगारी
कहिले र कसरी सुनिश्चित हुन्छ?
म प्रश्न गर्छु?
शिक्षा किन गुणस्तरीय छैन?
स्वास्थ्य सेवा किन पहुँचभन्दा टाढा छ?
कृषकको पसिनाको मूल्य
किन अझै न्यून छ?
प्रश्न त अनेकौँ छन्,
घोषणापत्रका अक्षर राम्रा छन्,
तर स्रोतको यथार्थ कता छ?
बजेटको प्राथमिकता के हो?
पारदर्शिताको प्रतिबद्धता कता छ?
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
के त्यो नारा मात्र हो?
कि आचरणमै देखिने
व्यवहारिक प्रतिज्ञा हो?
समावेशिता, सामाजिक न्याय,
सीमान्तकृतको सहभागिता—
यी शब्द भाषणका गहना हुन्
कि नीति र व्यवहारका आधार?
नेता ज्यु, प्रश्नलाई विरोध नठान्नुहोस्
यो लोकतन्त्रको श्वास हो
प्रश्न सहन सक्ने नेतृत्व नै
विश्वासको आधार हो।
बहसबाट जो भाग्छ,
भविष्यबाट पनि उही भाग्छ
उत्तर दिन नसक्ने हातले
देशको जिम्मा कसरी थाम्छ?
हामी आवेशले होइन, चेतनाले सोध्छौँ
हामी आक्रोशले होइन, अधिकारले सोध्छौँ
शान्त भएर जवाफ दिनुहोस्
स्पष्ट, प्रमाणसहित, निडर भएर।
भोट माग्न आउँदा सम्झनुहोस्—
प्रश्न पनि सँगै आउनेछ
किनकि यो चुनाव नाराको होइन
यो चुनाव प्रश्नको हो।
प्रश्नबाट नभाग्नुस् नेता ज्यु,
तपाईंले ठेक्का दिएकाले मात्र होइन
यहाँ सबैले प्रश्न सोध्न पाउनु पर्छ
यहाँ व्यक्ती बलियो होइन
संस्था बलियो हुनुपर्छ
व्यक्तिको निर्णयले होइन
नीतिगत निर्णयको आवश्यक छ।
यहाँ व्यक्तिगत सुधार होइन
संस्थागत निर्णयमा सुधार हुनुपर्छ
तसर्थ प्रश्नको आवश्यकता छ
हामी सचेत नागरिक हौँ
मत हाम्रो अधिकार मात्र होइन
हाम्रो भविष्यको हस्ताक्षर हो।