जसरी एउटा मीठो धुनले वर्षौँसम्म हृदयलाई छोइरहन्छ, त्यसरी नै त्यो दिन तिमीलाई फोन गर्दा तिम्रो आवाजमा भरिएको खुसी र उमंग अझै मेरो कानमा गुन्जिरहेकै छ। मानौँ, अहिले पनि म तिमीलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भनिरहेको छु र फोनको अर्को साइडमा तिमी हाँस्दै ‘सेम टु यु’ भनिरहेकी छौ।
त्यो हाँसो सम्झिँदा आज पनि मेरो मुटुले न्यानो सास फेर्छ। त्यो क्षणमा एक प्रकारको जादुमय उमंग थियो, जसले समयलाई नै रोकिदिए जस्तो लाग्थ्यो। ‘म तिमीलाई मन पराउँछु’ भन्न नसके पनि त्यो आवाजले मेरो मनमा कहिल्यै नसुक्ने प्रेमको एउटा फूल फुलाइदिएको थियो, जसको सुगन्ध आज पनि मेरो सासमा मिसिएको छ।
२००७ को फेब्रुअरी महिना, जीवनमा केही गर्ने इच्छा र जिम्मेवारीहरू काँधमा बोकेर साथीहरूसँग मन मार्दै आफ्नो सहर छोडेर तराईकै अर्को कुनामा पढाइका लागि बसमा यात्रा गरिरहेको थिएँ। त्यो यात्रा केवल दूरी पार गर्ने यात्रा थिएन, भित्र कतै केही छुटिरहेको अनुभूति पनि सँगै यात्रा गरिरहेको थियो। राजमार्गमा बस गुडिरहँदा मनमा अनेकौँ विचारहरू एकआपसमा ठोक्किइरहेका थिए, जसरी समुद्रका छालहरू बारम्बार चट्टानमा आएर फुट्छन्। मुटु कसैले मुठ्ठीमा बेस्सरी कसिरहेको जस्तो लाग्थ्यो, सास फेर्न समेत गाह्रो हुने गरी।
बाहिरका शान्त जंगल, हरिया खेतहरू र गुडिरहेको बसले पनि मेरो अशान्त मनलाई शान्त पार्न सकेनन्। बरु ती दृश्यहरूले तिम्रो यादलाई झन् तिखो बनाइरहेका थिए, काँडाले हृदयलाई छेडे जस्तै। मेरो मन तिम्रो नाममा लेखिएको एउटा पुस्तक जस्तो भइसकेको थियो, जसका हरेक पृष्ठमा तिम्रो मुस्कान मात्रै थियो। ती पृष्ठहरू पल्टाउँदा प्रेमका कविता आफैँ बर्सिन्थे, सम्झनाका अक्षरहरू आफैँ लेखिन्थे।
केही दिनअघि मात्रै तिमीलाई भेटी मन पराउन थालेको थिएँ। मनभित्र कता–कता लाग्थ्यो, तिमीले पनि मेरो मनको चाल बुझिरहेकी थियौ। तर नभन्दासम्म विश्वास गर्न पनि गाह्रो लाग्थ्यो। तिम्रो त्यो निस्संकोच बोल्ने बानी, जे भने पनि सहजै स्विकार्ने स्वभाव यी सबै कुराले मलाई झन् तिमीतिर तानिरहेका थिए, बिस्तारै, चुपचाप, तर गहिरो रूपमा।
तिम्रो आँखामा हेर्दा लाग्थ्यो, हाम्रो सम्बन्ध कुनै अदृश्य धागोले बाँधिएको थियो, जसले शब्द बिना नै कुराहरू गरिरहन्थ्यो। तिम्रो गालामा रहेका साना कालो तिलहरू देख्दा लाग्थ्यो, तिम्रो मुहारमा कसैको नजर नलागोस् भनी भगवानले त्यो सुन्दरतालाई लुकाउन ती चिन्हहरू बनाइदिएका हुन्। ‘तिमी असाध्यै सुन्दर छौ’ भन्न मन लाग्थ्यो, तर तिम्रो आँखाको चमकले नै मेरा शब्दहरू चोरेजस्तो हुन्थ्यो। म चुपचाप तिम्रो सौन्दर्य र निर्दोषपनामा डुबिरहन्थेँ, समय बिर्सेर।
तिम्रो अगाडि म सधैँ ‘थाहा नपाए जस्तो’ गर्न रमाउँथेँ, किनकि तिमी उत्सुकतापूर्वक सुनिरहन्थ्यौ। म गएका ठाउँहरू पनि तिमीले पहिलो पटक घुमाएजस्तो गरी खुसी–खुसी घुमाउँथ्यौ। तिम्रो मुहारको त्यो चमक, त्यो मायालु मुस्कान म कुनै हालतमा गुमाउन चाहन्न थेँ। ती घुम्तीहरूमा तिम्रो हात समाउँदै हिँड्दा लाग्थ्यो, यो सानो संसार मेरो मात्र हो र समय यहीँ कतै रोकियोस्।
हाम्रो सम्बन्ध एउटा गाउँको झोलुङ्गो पुलजस्तो थियो, सानो, नाजुक देखिने तर भित्रबाट गहिरो र मजबुत। दूरीलाई जोडिरहने, हावाले हल्लाउँदा पनि मिठो संगीत झैँ कम्पन दिने। एक क्षणको भेट कहिले अनायासै गहिरो मायामा बदलियो, थाहै भएन। सायद भाग्यमा नै लेखिएको रहेछ। तिमीसँग भेट्नु र तिमीलाई मनको सबैभन्दा सुरक्षित ठाउँमा सधैँका लागि राख्नु।
तर जीवन सधैँ मनले सोचे जस्तो सहज कहाँ हुन्थ्यो र…
पढाइको बिचमा मनको कुरा तिमी सामु पोखेँ भने तिमीले कसरी लिन्थ्यौ? हाम्रो यो नाजुक सम्बन्ध कतै टुट्ला कि भन्ने डरले शब्दहरू ओठमै रोकिरहन्थे। हरेक रात सपनामा तिमीलाई देख्दा लाग्थ्यो यी भावनाहरू साँचै हुन्। तर वास्तविकताले यसलाई कसरी स्वीकार गर्थ्यो? यही प्रश्नले मनलाई बारम्बार थामिरहन्थ्यो।
‘मेरो सपनामा तिमीलाई भेट्छु…’ भन्दै धेरै रातहरू बिताएँ। बिहान उठ्दा वास्तविकतासँग सामना हुँदा तिम्रो सम्झनाले झन् गहिरो पीडा दिन्थ्यो। मनले रोक्न खोज्दा पनि खुट्टा आफैँ तिमीतिर हिँड्न चाहन्थे।
त्यो चार तल्ले घरमाथिको चिया पसल हाम्रो नियमित भेटघाटको ठाउँ बनिसकेको थियो। काम गर्ने भाइले केही नसोधी मिठो मुस्कानसहित दुई कप चिया ल्याइदिन्थ्यो। तिम्रो लागि त्यो केवल चिया थियो होला तर मेरो लागि हरेक चुस्कीमा अनगिन्ती कल्पना मिसिएका हुन्थे। हरेक सिपमा भविष्यका साना–साना सपनाहरू घुलिरहेका हुन्थे।
तिमी र म सँगै बिताउने सपनाका कथाहरू जसमा हामी सधैँ सँगै हाँसिरहेका हुन्थ्यौँ, सूर्यास्त हेर्दै कुरा गरिरहेका हुन्थ्यौँ। आज पनि चिया पिउँदा म ती कथाहरूसँग एक्लै कुरा गर्छु। तिम्रो मुस्कानभन्दा मेरो जीवन लामो छैन जस्तो लाग्थ्यो, किनकि हरेक चुस्कीमा तिम्रो हाँसो मात्र देख्थेँ, जसरी फूलमा पराग कणहरूले जीवन भर्छन्।
मनले नचाहँदा नचाहँदै छुट्टिने समय पनि आयो…
फर्किनु अघि त्यो साँझ तिमीले सम्झनाको रूपमा एउटा पेन दिएकी थियौ। मानौँ, चुपचाप भनिरहेकी थियौ ‘मनले भन्न नसकेको कुरा, यसैले लेख्नु…’
त्यो पेन समाउँदाको तिम्रो हातको न्यानोपना आज पनि कुनै पेन समाउँदा महसुस हुन्छ। त्यसले मेरो मनमा अमर प्रेमको बीउ रोपिदियो। ‘तिमी मेरी प्रियसी हौ’ भन्न नसके पनि, त्यो उपहारले मेरो मौनता बुझिदिएको जस्तो लाग्थ्यो। त्यसपछि त शब्दहरू आफैँ बहन थाले हृदयका कथा, अधुरा कविताहरूसँग…
त्यो साँझ तिमीलाई अन्तिम अँगालोमा बाँधेँ। तिमीलाई थाहा नदिई मायाले भरिएको मेरो ओठ तिम्रो निधारमा राखेँ। क्षण सानो थियो तर त्यो क्षणमा मेरो पूरा अस्तित्व भावनाले भरिएको थियो। तिमीसँग छुटिने व्याकुल मनले शरीर र मनलाई भारी बनाइरहेको थियो। अँध्यारो साँझमा तिमी बिस्तारै टाढिँदै गइरहेकी थियौ र तिम्रा हरेक पाइलाले मेरो मनमा थप भार थपिरहेको थियो।
त्यो रात म एक क्षण पनि सुतेको थिइनँ।
झ्यालमा बसेर तिम्रै सम्झनामा हराइरहेँ। हरेक सोचको अन्त्य एउटै शब्दमा पुग्थ्यो ‘काश…’
काश तिमी मेरो जीवनको हिस्सा बन्थ्यौ…
काश यो दूरी कहिल्यै आउँदैनथ्यो…
काश तिमीलाई नभेटेको भए, सायद म यति गहिरो एक्लोपन महसुस गर्ने थिइनँ होला…
जसरी नदीको पानीले बाँध छेड्न सक्दैन, त्यसरी नै ‘म तिमीलाई माया गर्छु’ भन्ने शब्दहरू मनमा गुन्जिरहे तर ओठबाट कहिल्यै निस्कन सकेनन्।
बिहान पर्यो, साथीहरूसँग चिया पिउन गएँ। त्यो दिन चियाको हरेक चुस्कीले फरक कथा भनिरहेको थियो; डर र पीडाको, बिचबिचमा तिम्रो हाँसोको झल्को आउँथ्यो, जसले मनलाई केही सान्त्वना दिन्थ्यो र तिम्रो यादले त्यो नमिठो चियालाई पनि मिठो बनाइरहेको थियो।
भारी मन लिएर बसको यात्रा गर्दै घर फर्किँदै थिए। बाटोभरि तिमीसँग बिताएका पलहरू सम्झेर कहिले हाँस्थेँ, कहिले आँसु झर्थ्यो। बसमा मेरो छेउमा बसेको केटाले मेरो मन बुझे जस्तो लागेको थियो र बिचबिचमा कुरा गर्थ्यो। धन्य त्यो केटोलाई, जसले यात्रालाई केही हल्का बनायो।
तर पनि तिम्रो तस्बिर आँखा अगाडि र तिम्रा कुराहरू कानमा गुन्जिरहन्थे।
लगभग १० घण्टाको यात्रापछि घर पुग्दा नयाँ समस्या आयो, कलेजले हामीलाई अर्कै सहर पठाएको रहेछ। विकल्प थिएन, जानैपर्यो। मन यतिकै भारी थियो, तैपनि जीवनका लक्ष्यहरू पूरा गर्ने अठोटका साथ साथीहरूसँग यात्रा गर्न थालेँ। बाटोमा देखिएका जंगल र पहाडहरूले पनि तिम्रो यादलाई झन् गहिरो बनाउँथे, मानौँ प्रकृति नै मेरो मायाको साक्षी बनेको थियो।
नयाँ सहर, जाडो, चिसो पानी। बसपार्क नजिकै होटेलमा बस्यौँ। चिसोले काँप्दै सुत्यौँ। भोलिपल्ट उठ्दा चिसो हावाले जीउ अझ पनि काँपिरहेको थियो। एकछिनपछि फ्रेस भएर चिया पिउन गएँ। चिया पिउँदै गर्दा हरेक चुस्कीमा तिम्रो कथा फेरि आउन थाल्यो। चिया पसलको भित्तामा झुन्डिएको क्यालेन्डरमा आँखा गएपछि, त्यो दिन फेब्रुअरी १४ अर्थात् प्रेम दिवस रहेछ।
तिमीसँग कुरा गर्ने बहाना मिल्यो। नजिकको पीसीओबाट फोन गरेँ। धेरै दिनपछि तिम्रो आवाज सुन्दा भारी भएको त्यो मन अलि लामो श्वास लियो र सबै पीडा हराएजस्तो लाग्यो, सूर्योदयले अँध्यारोलाई मेटाए झैँ। तिम्रो आवाज मेरो लागि एउटा मधुर संगीत जस्तो थियो, जसले मेरो मनको हरेक तार छोइरहेको थियो।
कुराकानीमा डराउँदै–डराउँदै ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भनेँ।
तिमीले पनि सधैँ झैँ एकदम सहज रूपमा ‘सेम टु यु’ भन्यौ।
आहा! त्यो ‘सेम टु यु’ ले मेरो मनमा आशा जगायो, सायद तिम्रो मनमा पनि त्यही भावना खेलिरहेको थिए होला?
त्यो दिन तिमी बसेको ठाउँमा कहिल्यै नहुने हिमपात भएको हुँदा तिमी असाध्यै खुसी थियौ। तिम्रो हरेक शब्दमा त्यो खुसी र उत्साह स्पष्ट झल्किरहेको थियो। तिम्रो प्रत्येक बोलीले काँपिरहेको मेरो शरीरलाई झन् चिसो बनाउँदै लगिरहेको थियो। तराईको म केटो, जसले त्यति बेलासम्म हिमपात देखेको पनि थिएन, तिम्रो खुसीले भरिएको आवाज सुन्दै म त्यो चिसोपन महसुस गर्थेँ। अनि मनमनै कल्पना गर्थेँ, तिमी र म सँगै हिउँमा खेल्दै रमाइरहेका छौँ। एकछिनको छोटो कुराकानीपछि फोन राखेँ तर मन तिम्रो छेउमै उभिएको थियो, जसरी फूलमा माहुरी अड्किन्छ।
त्यो दिन अर्थात् फेब्रुअरी १४, २००७ देखि हरेक वर्षको भ्यालेन्टाइन डेले मलाई त्यही क्षणमा पुर्याउँछ, जहाँ म तिमीलाई मनको कुरा भन्न चाहिरहेको हुन्छ, तर कुनै अदृश्य शक्तिले रोके जस्तो लाग्छ।
यो प्रेम दिवस संसारका लागि खुसीको दिन हुन सक्छ तर मेरो लागि भने अधुरो सम्झनाको सागरमा डुबेको दिन, जसलाई तिमीले दिएको पेनको कालो मसीले शब्दमा अझ पनि कोरिरहेकै हुन्छु।
आज पनि त्यो चिया पसलमा तिमीसँगै बसेको कल्पना गर्छु। मेरो माया एउटा सपना जस्तो छ, जुन कहिल्यै पूरा नहुने भए पनि नदेखिने गरी सधैँ जीवित रहन्छ।
हरेक वर्ष मन लाग्छ ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्न। भन्छु पनि तर मनको यो कुरा सुन्ने न तिमी छौ, न त्यो फोन, जसको अर्को साइडमा तिमी थियौ, खुसी र उत्साहले हाँसिरहेकी।
‘ह्याप्पी भ्यालेन्टाइन डे… तिमी जहाँ भए पनि खुसी रहनू।’