छोराको विवाहलगत्तै नेपाल फर्किएँ। त्यो मेरो पहिलो अष्ट्रेलिया यात्रा थियो। आफ्नोपन! सुख–दुःख साटासाट हुने! थोरै कमाइले पुग्ने! यावत सबल पक्षलाई मनमा खेलाएँ।अनि आफ्नै जन्मगाउँमा रमाएँ म!
छोरा–बुहारीसँग दैनिक अनलाइनमा कुरा हुन्थ्यो। छोरालाई देशमै रोक्न मन थियो। सकिएन। राज्यप्रति चरम अविश्वास थियो उसमा!
विदेशमा भए पनि भिडिओ कल गर्दा सँगै भएजस्तो लाग्ने। वास्तवमा प्रविधिले न्यास्रो मेटाइदिएको छ। धन्यवाद छ प्रविधिलाई। एउटा मात्र छोरा भएकोले ऊ नै संसार र सबथोक हो मेरो। संयुक्त परिवारमा हुर्किएकालाई एकभन्दा बढी छोरा वा छोरी चाहिने रहेछ। अब केवल त्यो कल्पना भो। संयोग पनि गजबको। 'बुहारी' बनेर आइन् सरूकी एक्ली छोरी!
बुहारीको प्रसूति समय आएपछि काममा जान छोडिन् रे! स्याहारका लागि नेपालबाट आमालाई बोलायो छोराले। 'के एक्लै बस्नु?' भनेर 'तेल भिसा' मा गए म पनि अष्ट्रेलिया। तर खुसी लामो समय टिकेन। बस्दै जाँदा झ्याउ लाग्यो। गुमनाम भएँ म! निस्सासिएँ!
छोराले घर किनेको थिएन। अष्ट्रेलिया पनि भने जस्तो सजिलो कहाँ थियो र? भाडाको अपार्टमेन्टमा थियो ऊ। एउटा छोराको कमाइले परिवार धान्न सकस भयो। बोझ बन्न चाहिनँ। श्रीमतीलाई उतै छोडेर नेपाल फर्किएँ। यो दोस्रो पटकको आउजाउ थियो मेरो।
यता गाउँको हालत उस्तै छ। मान्छे छैनन्। युवाहरू सहर र विदेशमा। बुढाबुढी मात्र छन् गाउँमा! पातलिँदै गएको गाउँबस्तीको दृष्य अगाडि फनफनी घुम्यो।
शासकमा गाउँ रूपान्तरणको चेत आएन। बेलाबेलामा जनता पनि बहकिय! दुःख यसैमा छ। लामो अनुभवले त्यही भन्छ।
कहिलेकाहीँ तिनै बुढाबुढीसँग गफिन्छु। वरपर डुल्छु। गाउँका अधिकांश घरमा ताला लागेको छ। एक हिसाबले गाउँ सुनसान छ। त्यही गाउँको एउटा पात्र हुँ म!
मोबाइल र टेलिभिजन मेरा दिन बिताउने मुख्य साथी हुन्। तिनकै सहारामा एक्लो जीवन बिताउँदै छु। यसरी नै बित्दैछ समय।
खै के भयो भयो। तीन दिनसम्म उताबाट मलाई फोन आएन। छटपटाएँ। सकेसम्म फोन गर्दिनथेँ। उतैबाट फोन आउँथ्यो। आएन। त्यसैले श्रीमतीलाई अनलाइनमा आफैले फोन गरेँ।
'दुःखद कुरा सुनाउन आँट आएन रे! फोन गर्न अलमल र सकस भो। ज्यादै नमिठो घटना भयो।' डराउँदै सोधेँ मैले, 'के भयो त्यस्तो?' रुँदै... 'खत्तम भयो, बर्बाद भयो! सम्धी कार दुर्घटनामा पर्नुभयो। अझै बेहोस हुनुहुन्छ,' भनी उसले। कस्तो विडम्बना!
नेपालका अनलाइन समाचारहरूमा 'सडक दुर्घटनामा नेपाली गम्भीर घाइते' भनेर समाचार आएका थिए। त्यो पढेको र हेरेको थिएँ। को र कहाँका नेपाली होलान् भनेर खुल्दुली परेको थियो मलाई। भरे, आफ्नै मान्छे परेछन्! हे भगवान्!
'छोरा–बुहारी, सानो नाति सहित म पनि सम्धिनीकै घरमा छु। छोरा–बुहारी अस्पतालमा छन्। सम्धिनी र सानो बाबुलाई हेरविचार गर्दैछु। खबर सुनेको दिन बेहोस हुनुभयो सम्धिनी। अहिले ठिकै छ,' एक सासमा सबै घटना बताइन्। सुनेर बसेँ। श्रीमतीको कुरा सुनेर छाँगाबाट खसेझैँ भएँ म। टाउकोमा गहिरो चोट भएकोले जटिल छ भनेका छन् रे डाक्टरले।
सोच मग्न भए म! सम्धीको आफ्नै घर र व्यवसाय थियो। एक हिसाबले अष्ट्रेलियामा सेटल भएको परिवार थियो। एकाएक सब चौपट....! सम्धिनीले कसरी आफूलाई सम्हालेकी होलिन्? भगवान् पनि निष्ठुरी! त्यसैले भगवान् एउटा भरोसा र विश्वास मात्र हो भन्ने मेरो ठम्याइ छ। सम्धिनीको पीडा गहिरोसँग अनुभूत गरेँ। सम्धिनीलाई फोन गरेर सम्धी हजुरको स्वास्थ्य अवस्था सोध्न मन थियो। खै आँटै आएन। कुरा गर्न सक्दै सकिनँ। काँतर भएँ म!
लामो समयपछि होस फर्कियो! तर विस्मरणको समस्या छ रे! एक दिन बुहारी युविकाले त्यो कुरा फोनमा बताइन् मलाई। अन्ततः सत्य त्यही भएछ। सम्धी बोल्न र हिँड्न सक्नुहुन्न। स्मरण कमजोर छ रे! बिचरा सम्धिनी... आधा जीवन बाँकी छ!
छोरो काममा व्यस्त भयो क्यारे! लामो समयपछि धेरै विषयमा कुराकानी भए ऊसँग।
'ससुरा बाको व्यवसाय सम्हाल्ने निर्णय गरेँ,' भन्यो उसले। मेलबर्नको अपार्टमेन्ट छोडेर छोरा–बुहारी र नाति सिड्नी सरे रे! श्रीमतीलाई नेपाल फर्किने वा छोरा बुहारीसँगै सम्धिनीको घरमा गएर सधैं बस्ने दोधार भएछ! अन्ततः मेरो करले नेपाल फर्किई ऊ।
हामी दुई जना नेपालमै बस्यौँ। गाउँ झन्–झन् निर्जन हुँदै गयो। रोग लाग्दा एउटा सिटामोल ल्याएर दिने मान्छे भएनन्। हुँदाहुँदा लाससम्म उठाउने मान्छे छैनन्। छोरा–बुहारीले अष्ट्रेलिया नै आउन दबाब दिइरहे। श्रीमतीको ढिपी त्यस्तै छ।' सम्धिनी एक जना त हो, छोरा हाम्रै हो। बुहारी हाम्रै हो। बेहोसमा भएका सम्धीको के कुरा? ... होस्, उतै जाऊँ। यो बुढेसकालमा छोरा–बुहारीसँग छुटिएर बस्न सकिँदैन!' निर्णय नै सुनाइ मलाई। 'तपाईं नगए नजानु, म जान्छु।' झन झन फसादमा पर्दै गए म!
नगएर के गर्नु? जाऊँ कसरी...?
क्याम्पस पढ्दादेखिका सम्पूर्ण घटना सम्झिएँ। मानौं म कुनै फिल्मको दृश्य हेर्दै छु। झल्झली सम्धिनीको प्रतिबिम्ब अगाडि आइरह्यो।
भौतिक रूपमा दोस्रो पटक सरिताको अगाडि पुग्ने कि नपुग्ने अझै दोधारमा छु। अबको यात्रा र गन्तव्य फरक हुनेछ! यदि गए भने सिधै सम्धिनीको घरमा जानु पर्ने छ। छोराको विवाह मण्डपमा बाहेक सरू अर्थात् सम्धिनीलाई प्रत्यक्ष देखेको छैन। जीवनको चक्र नागबेली जस्तो! सुरू र अन्तको भेउ नहुने।
कहिल्यै कल्पना नगरेको मान्छे सम्धिनी बनेर आइन् सरू! यो अकल्पनीय र नाटकीय घटना थियो। छोराले सरप्राइज दियो। यदि छोराले एक वचन सोधेको वा सल्लाह मागेको भए अस्वीकार गरिदिन्थेँ। मनका लड्डु घिउसँग खाएँ मैले।
छोराको बिहे सकेर अष्ट्रेलियाबाट फर्कने बित्तिकै सरुसग खिचेका फोटा र आदान–प्रदान भएका पत्रलाई (लभलेटर) च्यात्ने विचार मनमा आएको थियो। लग्लगी हात काँमेर त्यसबेला च्यात्न सकिनँ। सम्झिएँ त्यो।
अवस्था पूरै फेरिएको छ अहिले। तिनलाई अन्तरमनले अब च्यात्न भन्यो। म एउटा इतिहास अन्त गर्न खोज्दै थिएँ। जतनसाथ राखेका सबै स्मरणहरूलाई टुक्रा–टुक्रा पारेँ। डस्टबिनमा फ्याँक्नु अघि ओल्टाइ–पल्टाइ हेरेँ मैले। मुस्कुराएको मुहार टुक्रा फेरि देखेँ। मन भत्भतियो। तै पनि फ्याँकिदिएँ।
खासमा 'सरू' सम्धिनी मात्र होइनन्। अतीत र अधुरो अध्याय हुन् मेरो। त्यो अतितलाई गुम्स्याएको थिएँ। आज त्यो फेरि बल्झियो। अब कुन रूपमा जाऊँ? मनोदशामा फसेँ! वास्तवमा उनी र म बाहेक अरू कसैलाई त्यो विगत थाहा छैन। बढो असामञ्जस्य छ मन। के गरूँ र कसो गरूँको अवस्थामा गुज्रिरहेको छु! छ्या, जिन्दगीका मोड पनि...!
यो पनि:
पूर्वप्रेमिका नै सम्धिनी परेपछि!