एसएलसी अर्थात् फलामे ढोका भनेर चिनिने कक्षा १० को परीक्षा। त्यो समय, त्यो उमेर, त्यो अनुभूति। जीवनको एउटा यस्तो मोड, जहाँ भविष्यका सपनाहरू पहिलो पटक स्पष्ट देखिन थाल्छन्! अनि मनभित्र कता-कता नबुझेका भावनाहरू पनि पलाउन थाल्छन्।
२०७२ सालको चैत महिनाको दोस्रो हप्ताबाट परीक्षा सुरु भएको थियो। बिहानीपखको चिसोसँगै मनभरि डर र उत्साह मिसिएको अनुभूति गज्जबको हुन्थ्यो।
भुवनेश्वरी माविको त्यो ठुलो परीक्षा केन्द्र, जहाँ पाँच वटा विद्यालयका करिब चार सय विद्यार्थीहरू आफ्नो-आफ्नो सपना बोकेर आएका थिए। सपनाका उडान भर्ने तयार भएका हामीहरूको— सबैको गन्तव्य एउटै, एसएलसी पास गर्ने थियो।
पहिलो दिन— अंग्रेजीको परीक्षा थियो।
परीक्षा हलभित्र सुई खसेको आवाज पनि सुनिने शान्ति थियो। निरीक्षकको कठोर नजर, विद्यार्थीहरूको टाउकाको चाल पनि स्थिर हुन्थ्यो। मानौँ हामी निर्जीव वस्तु जस्तै टक्क केहीमा अडिएको जस्तै। कोठा चकमन्न जस्तै थियो।
बिच-बिचमा कपीको पाना पल्टिने आवाज मात्र। त्यो वातावरणले नै मनलाई काबुमा राखेको थियो— बोल्ने त के, सास फेर्दा पनि डर लाग्ने निरीक्षकको कडा निगरानीमा परीक्षा सुरु भयो।
१५ मिनेट ढिलो, ढोकामा कोही बोले जस्तै भयो।
‘मे आई कम इन सर?’ मलिन स्वरमा एक केटीको आवाज आयो। आत्तिएकी, हतारिएकी, अनुहारभरि डर बिच, आँखा अलि रसाएका थिए। सरले कठोर स्वरमा सोध्नुभयो, ‘सिम्बोल नम्बर?’
उनले बिस्तारै भनिन्— ‘६३ भी…’
त्यो हलमा एउटा मात्रै सिट खाली थियो— मेरो अगाडिको बेन्च। उनी त्यहीँ आएर बसिन्।
त्यसपछिको समय कसरी बित्यो, मलाई थाहा भएन। प्रश्नपत्र भन्दा बढी ध्यान त उनीतिर नै जान थाल्यो। दुई चुल्ठीमा बाँधेको कपाल, रिबनको फुर्को, मिलेको दाँत, गोरो अनुहार, आँखीभौँलाई मिलाएकी मोटी— सामान्य तर असाध्यै आकर्षक थिइन्।
पहिलो दिन त्यत्तिकै बित्यो।
दोस्रो दिन— उनी मभन्दा अगाडि नै आइपुगेकी थिइन्।
म आफ्नो च्यातिएको फाइल बोकेर गएको थिएँ। हामी दुई साथीले आधा-आधा गरेर चलाउने त्यो फाइल, जुन कहिल्यै पुरै हुन्थेन। उता उनी भने मिलाएर परीक्षाको पुरै तयारी गरी पेन्सिल, स्केल, इरेजर, सबै कुरा व्यवस्थित गरेर ल्याउने उनी वास्तवमै अनुशासित केटी थिइन्।
त्यहीँबाट सुरु भयो— सिम्बोल नम्बर ६३ सँगको एकतर्फी परिचय।
मेरो सिटमा आएर बसेको देखेँ! मन ढकमक्क भयो, लाग्यो अब बोल्छु। हिम्मतै जुटाएर सोधेँ- ‘आजको तयारी कस्तो छ नि?’
‘ठिकै…’
‘कुन स्कुलबाट?’
‘बोर्डिङबाट’
कुन बोर्डिङ?
‘यहाँ सेन्टर परेको एकै बोर्डिङ छ थाहा छैन!’ आँखा ठुला बनाउँदै भनिन्।
उफ् म बुद्धु हो नि, एकै बोर्डिङ त थियो! मैले पनि कस्तो प्रश्न गरेँ मन खिन्न भयो। मैले उनलाई प्रश्न गर्दा लाग्थ्यो नेपालीको जाँच दिँदा ठिक बेठीकमा उनी टिक लगाउँदै थिइन् जस्तै!
उनको स्वभाव एकदमै सरल थियो। बोलाइमा एक तरिकाको माधुर्य थियो। बोल्दा सिधै आँखा नहेर्ने सक्ने म थिएँ। म बोल्दा भने मेरो अवस्था झन् अजीव हुन्थ्यो— मुटु जोरले धड्किने अनि शब्दहरू हराउने।
सात दिनको त्यो परीक्षा— सात दिनको एउटा सानो संसार बनेको थियो।
हरेक बिहान नयाँपन आएजस्तै लाग्थ्यो। हलभित्र मात्र होइन, बाहिर पनि हाम्रो भेट हुन थाल्यो। गर्जौलाको उकालो चढ्दा हामी कहिलेकाहीँ सँगै हिँड्थ्यौँ। पुलमा पुगेपछि उनी रोकिन्थिन्— किन रोक्थिन्, केही भन्नु थियो या बाटो मात्र काट्नु थियो, त्यो कहिल्यै सोध्ने आँट गरिनँ।
कहिलेकाहीँ उनी हाँस्थिन्— त्यो हाँसोमा कुनै बनावट थिएन, सिधा मन छुने खालको हाँसो हुन्थ्यो।
उनी अनुशासित अनि अब्बल विद्यार्थी, म विषय लागी पास हुने विद्यार्थी थिएँ। उनी अक्सर पढाएको कुराहरू गर्थिन्! इन्जिनियरिङ पढ्ने भनेर भविष्यको प्लानिङ गर्थिन्। मेरो भविष्यको तार काटिएको जस्तै लाग्थ्यो, गन्तव्यको स्पष्ट योजना मसित कहिल्यै हुन्थेन।
म बिस्तारै उनको नजिकिँदै थिएँ— त्यो उमेरको आकर्षण अचम्मको हुन्छ। न पूर्ण प्रेम, न साधारण चासो बिचको कुनै अनौठो अनुभूति थियो। जहाँ हरेक सानो कुरा ठुलो लाग्छ— एक नजर, एक मुस्कान, एक शब्द पनि सर्वोत्कृष्ट लाग्छ।
परीक्षा चलिरहँदा, म आफैलाई बदलिँदै गरेको महसुस गर्थेँ।
तर समय सधैँ एकै ठाउँमा बस्दैन।
सातौँ दिन— अन्तिम परीक्षा।
सबैजना खुसी थिए। कसैले बिदामा मामाघर जाने तयारी गर्दै थिएँ भने कोही ब्रिजकोर्सका लागि धनगढी जाने त कसैले घुम्न जाने भनेर प्लानिङ गर्दै थिए। तर मेरो मन भने सिम्बोल नम्बर ६३ को पछि भाग्दै थियो। प्रेमको अपत्यारिलो अङ्कुरण सवार भएको थियो ममा।
‘सिम्बोल नम्बर ६३’ परिचयात्मक कुरा गर्छु भनेरै अन्तिम योजना बनाएँ। परीक्षा सकियो।
बाहिर भीड थियो। सबैजना एकअर्कासँग बिदा लिँदै, भविष्यका कुरा गर्दै थिएँ। म उनलाई खोज्दै थिएँ— त्यो भीडभित्र। एकछिनपछि टाढाबाट देखेँ— उनी आफ्ना साथीसँग हाँस्दै थिइन्। म नजिक जान सकिनँ। न उनले मलाई खोजिन्। न मैले उनलाई बोलाउने हिम्मत राखेँ।
सबै साथीहरू गर्जौलाको डाँडाबाट फाइल उडाउँदै थिए। मेरो मन भने उनले उडाइसकेकी थिइन्।
साथीहरूसँगै म भएको ठाउँमा पुगिन्।
‘कस्तो भयो सबै परीक्षा जोशी जी?’
उफ् कसरी उत्तर दिऊँ! उनी बोल्दा म आवाजविहीन भइदिन्छु।
केही समयको सन्नाटापछि भनेँ, ‘अंग्रेजीको परीक्षा बिग्रियो!’
‘अरू?’
‘अरू त ठिकै भयो।’
उनलाई कसरी सोध्नु! उनी त पुरै सोलुसन हुन्।
‘तमरो लै ठिकै भयो ब? (तपाईँ को कस्तो भयो नि)’ गाउँले मिश्रित आवाजमा भनेँ।
‘उम् ठिकै भयो राम्रो भयो।’
मुस्कानसहित बोलिन्, ‘अनि अब कता पढ्ने जोशी जी?’
उनीलाई मेरो नाम र थर दुवै थाहा रहेछ, मलाई त्यहीँ बेला थाहा भयो।
‘कसब काब हुन्छ घरै माउ जा भन्नान ताइ (खै थाहा छैन, घर-परिवारले जहाँ भन्नुहुन्छ त्यहीँ।)’
उनी स्पष्ट नेपाली बोल्दा म डोटेली भाषा मेरो स्थानीय भाषामा कुरा गर्दै थिएँ!
बेडपानीको पुलमा पुगेपछि उनले नै भनिन्- ‘यस्तो गर्मीमा घर जाने हो?’
‘उम् जाने हुँ।’
‘नत्र बस पछि जानु, गर्मी धेरै छ।’
उनको अनुरोधलाई मैले स्वीकार गर्न सकिनँ। पछितिर बाट आएको एक हुल केटाहरूले मलाई जाऊँ भन्दै करकाप गरे। मैले नाइँ पनि भन्न पाइनँ। म गएँ है भन्न पनि मौका पाइनँ।
आजभोलि लाग्छ, त्यो अन्तिम क्षणमा मैले रोकिएको भए सिम्बोल नम्बर ६३ को सबै कुरा थाहा पाउँथेँ होला। त्यो दिन, त्यो क्षण— त्यत्तिकै बित्यो। त्यसपछि कहिल्यै भेट भएन।
आज वर्षौँ बितिसकेको छ। जीवन अगाडि बढिसक्यो। समयले धेरै कुरा परिवर्तन गरिसकेको छ— विद्यालयहरू, अनुशासन, सोच अनि हामी आफैँ पनि। तर कहिलेकाहीँ— कुनै खाली समयमा, कुनै एकान्तमा— त्यो सम्झना बिस्तारै फर्केर आउँछ।
‘सिम्बोल नम्बर ६३…’
नाम थाहा छैन। घर थाहा छैन। अहिले कहाँ छिन्, के गर्दैछिन्— केही थाहा छैन।
यदि सायद आक्कलझुक्कलमा भेट भएछ भने पनि म चिन्न सक्ने छैन। किनभने त्यो समयको उनको त्यो दुई चुल्ठी, त्यो मासुम हाँसो अब उस्तै पक्कै नहोला। तर मेरो सम्झनामा भने उनी सधैँ उस्तै छिन्।
एसएलसीको त्यो सात दिन— जहाँ पढाइसँगै, मनमा पहिलो पटक एउटा नबुझेको भावना अंकुराएको थियो।
त्यो प्रेम थियो कि आकर्षण— आज पनि भन्न सक्दिनँ। तर यत्ति चाहिँ पक्का छ— कक्षा १० को त्यो वार्षिक परीक्षा सकिए पनि ‘सिम्बोल नम्बर ६३’ कहिल्यै सकिइनन्।
उनी अझै पनि मेरो स्मृतिमा जीवित छिन्— एक अधुरो कथाको सुन्दर पात्र बनेर बसिरहेकी छिन्।