काठमाडौँको चिसो बिहान थियो। रत्नपार्क वरिपरि नाराका ध्वनि घन्किरहेका थिए। सडकमा उभिएका युवाहरूका अनुहारमा आक्रोश थियो र आशा पनि। त्यही भीडको अग्रभागमा पवन उभिएको थियो। आँखा रातो, स्वर चर्को, तर भित्र भित्रै थाकेको।
‘न्याय चाहियो!’
‘राष्ट्र बचाऔँ!’
‘बलात्कारीलाई फाँसी देऊ।’
उसको स्वर भीडमा मिसिँदै आकाशतिर उड्थ्यो।
उता सिंहदरबारभित्र सपनाको नयाँ दिन सुरु हुँदै थियो। केही महिना अघिसम्म ऊ पनि यही सडकमा उभिन्थी, नारामा स्वर मिसाउँथी, पवनसँगै देशको भविष्यको सपना बुन्थी। आफूमा परिवर्तन खोज्ने तर अहिले ऊ संसद् भवनतिर जाने गाडीमा थिई। एक नवप्रवेशी सांसद, नयाँ पार्टीको प्रतिनिधि। सपना ऐनामा आफ्नो अनुहार हेर्दै थिई। आँखा उस्तै थिए तर दृष्टि बदलिएको थियो। बाटो बदलिएको तर विश्वास उहीँ।
कहिल्यै उनीहरू हिमालयन जाभाको कुनाको टेबलमा घण्टौँ बस्ने गर्थे। चियाको कपबाट उठ्ने बाफसँगै उनीहरूका सपनाहरू उही देश बदल्ने, भ्रष्टाचार अन्त्य गर्ने र पक्कै न्याय ल्याउने, परिवर्तनको बागडोर कोर्ने।
‘हामीले केही गर्नै पर्छ,’ पवन भन्थ्यो।
‘हामी बदलिन्छौँ भने देश पनि बदलिन्छ,’ सपना मुस्कुराउँथी।
तर समयले बाटो मोड्यो। सपना एउटा नयाँ राजनीतिक धारसँग जोडिइन्। उसलाई लाग्यो सडकमा कराएरभन्दा सत्ताभित्र गएर परिवर्तन गर्न सकिन्छ। पवन भने अडिग रह्यो। ‘सत्ता नै समस्या हो,’ उसको विश्वास थियो। त्यही फरकले उनीहरूलाई बिस्तारै टाढा बनायो।
आज नयाँ बानेश्वरको सडकमा उनीहरू फेरि आमनेसामने भए। भीड उस्तै थियो। नारा उस्तै थियो। तर उनीहरू फरक ठाउँमा थिए। पवन सडकको बिचमा उभिएको थियो, हातमा प्लेकार्ड बोकेर- ‘मृतकलाई न्याय देऊ।’
सपना गाडीबाट ओर्लिँदै थिई, सुरक्षाकर्मीको घेराभित्र। एक क्षण समय रोकियो। पवन र सपना दुवैका आँखा जुधे। न कुनै मुस्कान, न कुनै गुनासो। केवल मौन। त्यो मौनमा धेरै कुरा थिए। पुराना सम्झना, अधुरा संवाद अनि टुटेका सपनाहरू।
सपना अगाडि बढी। पवनले पनि आँखा फर्कायो। भीड फेरि चलायमान भयो। जीवन फेरि सामान्य जस्तो देखिन थाल्यो।
बेलुकी काठमाडौँ फेरि शान्त हुँदै गयो। बत्तीहरू बल्न थाले। सडकका आवाजहरू कम हुँदै गए। पवन आफ्नो सानो कोठामा एक्लै बसिरहेको थियो। टेबलमा चियाको कप चिसिएको थियो। भित्तामा टाँसिएको पोस्टर ‘राष्ट्र पहिले’ अझै त्यत्तिकै अडिग। उसले मोबाइल उठायो। स्क्रिन उज्यालो भयो।
उता सपना पनि आफ्नो कोठामा थिई। दिनभरको व्यस्ततापछि ऊ थाकेको महसुस गर्दै थिई। तर मन भने शान्त थिएन। आँखाअघि बारम्बार उही दृश्य आउँथ्यो- पवन, भीड, र त्यो मौन नजर।
अचानक मोबाइलमा सन्देश आयो। पवनको नाम।
सपनाको मुटु एकछिन रोकिएजस्तो भयो। उसले सन्देश खोलिन्- ‘तिमी भाग्यमानी सांसद बन्यौ, अनि म सांसदको पूर्व प्रेमी।’
सन्देश छोटो थियो तर भारी।
सपनाले लामो सास फेरिन्। आँखा केही बेर बन्द गरिन्। भित्र कतै केही चिरिएको महसुस भयो। उनले टाइप गर्न थालिन्- ‘पवन, म अझै उही सपना हुँ…’
तर औँलाहरू रोकिए।
के साँच्चै उही थिइन सपना?
ऊ संसदभित्र बसेर नीति बनाउँदै थिई। पवन सडकमा उभिएर न्याय माग्दै थियो। दुवैको उद्देश्य उस्तै थियो तर बाटो फरक।
सपनाले सन्देश मेटिन्। उनीमा हिम्मत छैन तर धैर्यता छ; परिवर्तनको, पवनप्रतिको निश्चल प्रेमको।
सपनाले फेरि लेखिन्- ‘हामी दुवै राष्ट्रकै लागि लडिरहेका छौँ।’
मैलै पनि २३/२४ को घटना बिर्सिएकी छैन पवन। म पनि निर्मला, भागरथी, इनिशा जस्तै धेरै छोरीको न्यायको लागि लड्ने छु पवन। म पदको लोभले भन्दा पनि परिवर्तनको भोकले बाटो फेरेको पवन। म तिम्री प्रेमिका भन्दा राष्ट्रप्रेमी बन्नुपर्छ पवन। तिम्रो नाम नै पवन साथमा नभए नि हरेक सासमा छौ।
पुनः रोकिइन्। किनकि उसलाई थाहा थियो। यी कुराहरूले पवनको पीडा बुझाउँदैन।
उता पवनले मोबाइल टेबलमा राखिसकेको थियो। उसले सन्देश पठाएर कुनै उत्तरको आशा गरेको थिएन। त्यो सन्देश कुनै संवाद सुरु गर्नका लागि होइन, एउटा अध्याय बन्द गर्नका लागि थियो।
बाहिर काठमाडौँ निदाउँदै थियो। दरबारमार्गका बत्तीहरू टल्किरहेका थिए। सहर उस्तै थियो तर मानिसहरू बदलिएका थिए।
सपना झ्यालबाट बाहिर हेरिरही। उसले बिस्तारै फुसफुसाई- ‘हामी हार्यौँ कि जित्यौँ, पवन?’
उत्तर आएन?
तर सायद प्रश्न नै गलत थियो। किनकि यो कथा जित वा हारको थिएन। यो कथा बाटोको थियो। पवनले रोजेको बाटो कठिन थियो तर उसलाई आफ्नो सत्यमा विश्वास थियो। सपनाले रोजेको बाटो फरक थियो तर ऊ पनि देश बदल्न चाहन्थी। दुवै सही थिए र सायद दुवै अधुरा।
त्यस रात उनीहरू एउटै सहरमा थिए, एउटै आकाशमुनि तर दुई फरक दुनियाँमा। आँखा जुधेका थिए तर जीवन फेरि कहिल्यै जुधेन।