धेरै वर्षपछि आफूले मन पराएकी केटी अचानक काठमाडौँको न्युरोडमा भेटिई। मेरो मनभित्र अजिब अनुभूति जाग्यो। वर्षौँदेखि सम्झनामा मात्र बसेको अनुहार एकाएक आँखा अगाडि देखिँदा समय नै केही क्षणका लागि रोकिएजस्तो लाग्यो।
उसको हाँसो, कुरा गर्ने तरिका सँगै बिताएको साना पलहरू अनि कहिल्यै भन्न नसकिएका ‘म तिमीलाई मन पराउँछु’ भन्ने भावना फेरि मनको गहिराइबाट उठेर आउन थाल्यो। तर समय धेरै बदलिसकेको छ, सँगै म पनि। सायद ऊ पनि आफ्नो जीवनमा अघि बढिसकेकी होली। उसलाई देखेर त्यो क्षणमा पुराना ती दिन र यादहरू बिस्तारै मनमा एकाएक फर्कन थाले। विगतका पानाहरू आफसेआफ पल्टिन थाले।
त्यो मेरो जीवनको महत्त्वपूर्ण मोड थियो। म पहिलो पटक एसएलसीको परीक्षा दिन जाँदै थिएँ। परीक्षाको अघिल्लो रात खासै राम्रोसँग निद्रा लागेको थिएन। मनमा अनेक सोचहरू आइरहेका थिए। परीक्षामा प्रश्न कस्तो आउला, म लेख्न सकुँला कि नसकुँला! आमाबुवाको सपना अनि मेरो सपना पूरा गर्न सकुँला कि नसकुँला भन्ने तर्क मनमा आइरहेको थियो। घरबाट निस्किँदा आमाले शुभकामना दिँदै भन्नुभएको थियो- ‘आत्मविश्वासका साथ लेख्नु सबै ठिक हुन्छ।’ त्यो शब्दले मनमा साहस थपेको थियो।
परीक्षा केन्द्र पुग्दा वरिपरि धेरै विद्यार्थीहरू देखिन्थे। कसैले किताब पल्टाइरहेका थिए। कसैले साथीहरूसँग अन्तिम पटक प्रश्नहरू दोहोर्याइरहेका थिए। म भने आफ्नो सिट प्लानिङ खोज्दै भिडभाडमा गेट अगाडि उभिएको थिएँ। मुटुको धड्कन अलिअलि छिटो चलिरहेको थियो। अकस्मात् त्यही बेला पिंक कलरको स्कर्ट लगाएकी एउटी युवती मेरो नजरमा परिन्। म उनलाई शिरदेखि पाउसम्म हेरेँ। असाध्यै राम्रा बाक्ला आँखी भौँ। गोरो अनि बाटुलो अनुहार।
साँच्चै मैले आफ्नो जीवनमा यति राम्री केटी कहिल्यै देखेको थिएन। उनको रूप देखेर म चकित परेँ। हाम्रो आँखा जुध्यो। उनको अनुहारमा आत्मविश्वास र हल्का तनाव दुवै देखिन्थ्यो। म आफ्नो सिट प्लानिङअनुसार आफू परेको कोठा खोजिरहेको थिएँ। उनी पनि आफू परेको कोठा खोजिरहेकी थिइन्। रुम नं ६ मा मैले आफू परेको कोठा भेट्टाएँ। संयोगवश उनको कोठा पनि म परेकै कोठामा परेछ। उनी म भएकै कोठामा अर्को लाइनमा बसिन्। फेरि हाम्रो आँखा जुध्यो। उनी हल्का लजाइन।
अंग्रेजीको परीक्षा थियो। सोचेभन्दा राम्रो भयो। परीक्षा सकेर निस्किने बेलामा मैले उनलाई ‘परीक्षा कस्तो भयो?’ भनेर सोधेँ। उनले पनि राम्रो भएको बताइन्। ओहो! मान्छे जति राम्री बोली पनि त्यति नै मिठो रहेछ। म मक्ख परेँ। पछि नाम सोधेँ, उनले आफ्नो नाम आर्या रहेको बताइन्। उनले पनि मेरो नाम सोधिन्। मैले मेरो नाम अतीत रहेको बताएँ।
दोस्रो दिन पनि उनीसँग यसरी नै भेट भयो। लगभग परीक्षा अवधिभर हाम्रो भेट भई नै रहन्थ्यो। परीक्षा दिनुभन्दा अगाडि मलाइ उनले जहिल्यै ‘अल द बेस्ट’ भन्थिन्। मैले पनि मुस्कानसहित त्यही शब्द फर्काउँथे। परीक्षाको अन्तिम दिन म अलि भावुक थिएँ। सबै साथी छुट्टिनुपर्दा र विशेष गरी आर्यालाई देख्न पाउँदिनँ भनेर।
जीवनमा केही साथीहरू यस्ता हुँदो रहेछन्। जसले यति छोटो समयमा पनि हाम्रो मनमा विशेष स्थान बनाइदिन्छन्। त्यस्तै आर्या पनि एक विशेष भइसकेकी थिई मेरा लागि। खै! कुर्कुरे बैँसको आकर्षण हो कि प्रेम तर पहिलो नजरमै मैले आर्यालाई मन पराइसकेको थिएँ।
परीक्षाको अन्तिम दिन थियो। मैले उनलाई आज जसरी भए पनि म भित्र रहेको कुरा व्यक्त गर्छु झैँ लागेको थियो तर मनमा लागेका कुराहरू भन्न सकिरहेको थिएन। एकातिर सोचिरहेको थिएँ, सायद आज भनिनँ भने फेरि कहिल्यै मौका नपाइएला। तर डर र लाजले शब्दहरू ओठसम्म आएर पनि बाहिर निस्कन सकेनन्।
अन्तिम दिनको परीक्षा दिएर निस्किँदै गर्दा आर्याले मुस्कुराउँदै भनी, ‘अब हामी कहिले भेट्ने नि?’
मैले पनि मुस्कान दिँदै भनेँ, ‘पक्कै भेट्छौँ।’ तर म भित्र भने थाहा थियो। सायद त्यो भेट त्यति सजिलो नहोला। हामीले एकअर्कालाई बिदाइ गर्यौँ। त्यो क्षणमा मनमा मिश्रित भावना आएका थिए; खुसी, दुख, सम्झना र थोरै पश्चात्ताप। मैले त्यो दिन पनि आर्यालाई म तिमीलाई मन पराउँछु भन्न सकिनँ।
त्यो दिनदेखि हामी छुटियौँ। समय अघि बढ्दै गयो। परीक्षा दिएर लगभग तीन महिना छुट्टी भयो। तर आर्यासँगको त्यो छोटो समयको भेटले आज पनि सम्झिँदा मनमा मिठो पीडा र सुन्दर सम्झना एकसाथ जाग्छन्। जीवनमा केही मानिसहरू क्षणिक रूपमा आए पनि उनीहरूले हाम्रो मनमा कति गहिरो छाप छोडेर जाने रहेछन्। म बारम्बार यही कुरा सम्झन्छु।
ममा किशोरावस्था अर्थात् कुर्कुरे बैँस चढिरहेको थियो। त्यो समय निकै संवेदनशील र रमाइलो समय थियो। पहिलो चोटि आर्यालाई देख्दा नै मन अनायासै तानिएको थियो। अनि बिस्तारै त्यो आकर्षण माया जस्तो महसुस हुन थालेको थियो। कुर्कुरे बैँसमा मन सधैँ आफूले मन पराएको मान्छेको बारेमा मात्र सोचिँदो रहेछ। उसको मुस्कान, बोल्ने शैली, हिँडाइ सबै कुरा मनलाई राम्रो लाग्न थाल्दो रहेछ।
आफूले मन पराएको मान्छेलाई देख्दा मुटुको धड्कन पनि अलि छिटो चलेजस्तो मनमा एउटा अनौठो खुसी र चञ्चलता जाग्दो रहेछ। मनमा उसैसँग भविष्यमा सँगै हिँड्ने, सँगै हाँस्ने र धेरै समय बिताउने कल्पना आउँदो रहेछ। आफू हिरो र आर्यालाई हिरोइन कल्पना गरेर एउटा गीत खुब सुन्ने गर्थे जुन गीत थियो।- ‘तिमी जस्तो छैन कोही सुन्दरताको धनी, सपनी नै तिमी मेरो तिमी नै बिपनी...’
यसरी मेरो कुर्कुरे बैँसको पहिलो आकर्षण माया सरल, निष्कलङ्क र मिठो भावनाले भरिएको थियो। त्यो प्रेम असफल भए पनि त्यो बेग्लै अनुभव भने जीवनभर सम्झनामा रहने मिठो अतीत बनेको छ आज।
दिनहरू बित्दै गए। आर्याको यादहरू तँछाड र मछाड गर्दै आउँथे। उनलाई खोज्न कहाँ जाऊँ के गरूँ हुन्थ्यो। अहिले जस्तो न सामाजिक सञ्जाल थियो न त मोबाइल फोन नै। यदि सामाजिक सञ्जाल र मोबाइल फोन हातमा भए हामी सम्पर्कमा जोडिरहन्थ्यौँ होला तर हामी दुवै बेखबर थियौँ। लगभग तीन महिनापछि एसएलसीको रिजल्ट आयो। म उत्कृष्ट अंकसहित फर्स्ट डिभिजनमा पास भएँ। खुसीको सीमा नै थिएन। आर्या के भई होला भन्ने प्रश्न मनमा लागिरह्यो।
उच्च शिक्षा पढ्नु थियो। प्लस टु को स्कलरसिपको लागि म नेपालगन्ज परीक्षा दिन गएँ। सेन्टर सरस्वती स्कुलमा परेको थियो। परीक्षा केन्द्र नजिकै पुगेको बेला अचानक एउटा परिचित अनुहार देखेँ। त्यो अरू कोही नभएर आर्या थिई। उसलाई देख्ने बित्तिकै म एकछिन अचम्ममा परेँ। मनमा अनौठो खुसी जाग्यो र मुटुको धड्कन पनि तेज भयो। ऊ पनि परीक्षा दिन आएकी रहेछ। हाम्रो आँखा जुध्यो। हामी दुवै जना मुस्कुरायौँ।
उसले सोधी, ‘तिमी पनि यहीँ परीक्षा दिन आएको?’
मैले हल्का जलाउँदै हो भनेँ। त्यसपछि हामीले केही समय तयारीको बारेमा कुरा गर्यौँ। उनले पनि अलि तनाव लागेको बताइन्। मैले भनेँ- ‘चिन्ता नगर राम्रो हुन्छ।’ ऊसँग केही कुरा गरेपछि मेरो मनको डर पनि धेरै कम भएको महसुस भयो। उसको साथले आत्मविश्वास बढेको जस्तो लाग्यो। परीक्षा हलतिर जाँदा उसले ‘बेस्ट अफ लक भनी’ मैले पनि थ्याङ्क यु सँगै त्यही शब्द फर्काएँ।
त्यो संयोगवश भएको भेटले मेरो दिन झन् विशेष बनाइदियो। परीक्षा कस्तो भयो भन्ने भन्दा पनि त्यो क्षण मेरो लागि अविस्मरणीय सम्झना बन्यो। हरबखत मेरो मानसपटलमा आइरहने आर्याको अनुहार अकस्मात् आँखा अगाडि देख्दा मन दङ्ग भयो। कहिलेकाहीँ जीवनमा यस्ता साना संयोगहरू नै मनलाई धेरै खुसी दिने अनुभव बन्दो रहेछ। यतिका दिनसम्म आर्यालाई देख्न नपाएर छटपटिएँ। धेरै पटक सोचेको थिएँ यस पटक आर्या कतै भेटिई भने उसलाई आफ्नो मनको कुरा भनिदिन्छु। तर त्यो दिन उसको सामु थिएँ। उसलाई मेरो मनको कुरा भन्ने वाला थिएँ तर फेरि मेरो आँट कहाँ हरायो हरायो।
जीवनमा कहिलेकाहीँ यस्तो अवस्था पनि आउँदो रहेछ। जब हामी कसैलाई धेरै मन पराउँछौँ तर आफ्नो मनको कुरा भन्न सक्दैनौँ। मेरो जीवनमा पनि उस्तै अनुभव आएको थियो। म आर्यालाई भित्रभित्र धेरै माया गर्न थालिसकेको थिएँ। तर व्यक्त गर्नै सकिनँ। म फेरि चुकेँ। कहीँ उसले नराम्रो मान्ली कि, कहीँ हाम्रो भएको मित्रता पनि सकिने पो हो कि भन्ने सोचले मलाई फेरि रोक्यो। खै किन-किन मलाई यो कुरामा चाहिँ साहस जुटाउन हम्मे हम्मे नै पर्थ्यो। आर्यालाई मेरो मनको कुरा भन्न नपाई ऊ हतारिँदै गइहाली, हामी फेरि छुट्टियौँ।
यसरी समय बित्दै गयो। तर मेरो मनको कुरा मनमै रह्यौ। त्यो एकोहोरो मायाले कहिलेकाहीँ खुसी पनि दियो। कहिलेकाहीँ दुख र पश्चात्तापको हुण्डरी पनि मच्चायो।
म प्लस-टु को अध्ययनको लागि सदरमुकाम बर्दियाको गुलरिया गएँ। त्यहाँ शनिवारको दिन हाटबजार लाग्ने गर्थ्यौँ। म तरकारी किन्न भनेर हाटबजार गएँ। अचानक मैले फेरि आर्यालाई देखेँ। पहिले त अचम्म र एक प्रकारको झसङ्ग अनुभव भयो। उसको उपस्थितिले मेरो ध्यान तुरुन्तै तानेर मेरो चारै तिरको संसार अलिकति थामिएको जस्तो महसुस भयो। फेरि मेरो मुटु छिटो-छिटो धड्किन थाल्यो।
म उसको नजिक छिटो-छिटो जाऊँ र आफ्नो मनको कुरा भनौँ कि जस्तो लागिरहेको थियो। तर भिड र परिस्थितिले रोक्यो। उसले मलाई देखी या देखिन उही जानोस्। तर मैले जे देखे देखेँ मेरो मन थाम्नै सकिनँ। हाटबजारमा आर्या अर्कै केटासँग निकै आत्मीय भएर उसको हात समातेर हिँडिरहेकी थिई। त्यो क्षण मेरो मनमा अनायासै भारीपन भयो। त्यो केटा आर्याको को हो? के हो? बुझ्नै गाह्रो भयो। मेरो मनभित्र हल्का जलन र असहजता आयो। किनकि म भित्रभित्रै उसलाई धेरै मन पराउँथे। तर उसले मेरो भावना थाहा पाएकी थिइन। उसलाई थाहा नदिनुमा मेरै दोष थियो। मैले भन्नुपर्थ्यो। आर्याको खुसी कसैसँग बाँडेको देख्दा मेरो मनमा दुःख, डाह र अलिअलि रिस र केही हदसम्म स्वीकार्यता एकैसाथ जाग्यो।
आर्याले मलाई भिडमा पनि देखिहाली। ऊ भिडलाई पन्छाउँदै म तिर आई। उसले मलाई ‘सन्चै छौ?’ भनी। मैले आफू सन्चै भएको बताएँ र उसको हालखबर सोधेँ। उसको पढाइ सोधेँ। ऊ नेपालगन्जमा महेन्द्र मल्टिपल क्याम्पसमा भर्ना भएको बताई। बाँकी कुरालाई थाँती राख्दै ऊसँग निकै घनिष्ठ देखिएको केटा को हो भनेर मैले सोधिहालेँ। आर्याले लजाउँदै भुईँतिर हेर्दै भनी, ‘ऊ मेरो ब्वायफ्रेण्ड हो। हामी केही महिनादेखि रिलेसनसिपमा छौँ।’
म झसङ्ग भएँ। हाटबजारको भीड र व्यस्तताबिच मेरो अनुहारको रंग फुङ्ग उड्यो। जसलाई म चुपचाप मन पराउँथेँ, उसको जीवनमा पहिल्यै कसैको ठाउँ रहेछ। यो कुरा सुन्दा एकछिन मन खाली भएजस्तो लाग्यो। तरकारी नकिनी म फटाफट कोठातिर लागेँ।
कोठामा गएँ। मनले बारम्बार भनिरह्यो, यदि मैले त्यो दिन साहस जुटाएर आर्यालाई मेरो मनको कुरा भनेको भए सायद ऊ आज मसँग हुन्थी होला। मैले कहिल्यै उसलाई आफ्नो मनको कुरा भन्न सकिनँ। सधैँ सोचेँ अझै समय छ। तर समय कसैका लागि रोकिँदैन रहेछ। त्यो दिन बुझे ढिलो गरेको साहस पनि कहिलेकाहीँ हारजस्तै हुन्छ। उसलाई दोष दिन पनि सकिन। किनकि उसले त आफ्नो जीवन रोजेकी हो। तर मनभित्र एउटा पछुतो भने बाँकी रहिरह्यो।
ऊसँगको हरेक क्षण उसलाई नजिकबाट हेर्ने र मुस्कानमा रमाउने अनुभवले मेरो जीवनमा मिठो स्मृति जस्तै रह्यो। प्रेम व्यक्त नगरी पनि त्यो भावनाले म अतीतको मनमा केवल अतीत बनी गहिरो छाप छोडिरह्यो।