असोज १५ गते मेरी साथी स्मारिकाको जन्मदिन थियो, त्यही दिन ज्येष्ठ नागरिक दिवस पनि पर्छ। मेरी साथीले जन्मदिन मनाएको मलाई कहिल्यै याद थिएन। मैले जिस्काउँदै भनेँ, ‘तँ त जन्मदिन पनि कहिल्यै मनाउँदिनस्। मिठाइ बाँड्नु, क्याफेमा लैजानु, केक काट्नु केही छैन है? आज मजाले पाटी गरौँ।’
उसले ‘मेरो जन्मदिन मनाउने तरिका बेग्लै छ, जुन कुरा तँलाई मैले आजसम्म भनेकी छैन, साथ दिने भए भन्छु,’ भनी।
जन्मदिन मनाउन, रमाइलो गर्न त साथ दिइहाल्छु नि मैले भनेँ। उसले थपी, ‘मलाई रमाइलो लाग्ने ठाउँमा तँलाई रमाइलो नहुन पनि सक्छ।’
मैले पनि थपिदिएँ, ‘तँ जसरी जन्मदिन मनाउँछेस् म त्यसैमा खुसी।’
उसको जन्मदिन मनाउने योजना पहिले देखिको रहेछ। उसले ‘ल हिँड् मेरो जन्मदिन मनाउन’ भन्दै सिधै वृद्धाश्रम पुर्याई। ऊ गेटबाट छिर्न नपाउँदै वृद्धा आमाबुवाहरू छोरी भन्न थाल्नु भयो। कसैले मेरी नातिनी भन्दै उसलाई अङ्गालोमा बेर्नु भयो। म छक्क परेँ। त्यसपछि सबै बुवा-आमालाई कोसेली बाँड्न थाली।
हामी बिहान ११ बजेतिर आश्रम पुगेका थियौँ। आश्रममा खाना तयार थियो। त्यहीको खाना बनाउने दिदीले खाना तयार गर्नु भएको रहेछ। उसले आश्रमका सबै बुवा-आमालाई आफ्नै हातले खाना बाँडी। खाना खाइसकेपछि दिनभरि बुवा-आमासँग भजन गाउँदै रमाइलो गर्दै बस्यौँ।
बेलुका घर फर्किने समयमा उसले ‘आमाबुवा अब जाडो सुरु हुन लाग्यो, यो पछ्यौरा ओढ्नु’ भन्दै उहाँहरूको हातमा न्यानो पछ्यौरा थमाइदिई। आश्रमकी दिदीलाई हामी गयौँ है भन्न के गएकी थियौँ उहाँले रुँदै भन्नुभयो, ‘स्मारिका, तिमीले यहाँका आमा-बुवालाई मात्र हैन जहाँ जसलाई भेटे पनि सेवा भाव राख्नु। यहीँ छ तिमीलाई जन्मदिनको शुभकामना।’
उसले ‘हस् दिदी मैले सधैँ कोसिस गर्नेछु’ भन्दै आँखाभरि आँसु लिएर बिदा भई।
घर फर्किँदा मैले स्मारिकासँग केही कुरा गर्न सकिनँ। यत्ति सोधेँ, ‘बिहान जाँदा तैँले केही लगेकी थिइनस्, कसरी आमाबुवालाई कोसेली बाँडिस्, खाना खुवाइस्?’
उसले भनी, ‘मैले खाना पकाउने दिदीलाई जिम्मा दिएकी थिएँ। आमा-बुवालाई के मन पर्छ मलाई भन्दा उहाँलाई थाहा हुन्छ। मैले दिदीलाई लागेको खर्च दिएँ।’
स्मारिकाले भन्दै थिई, ‘आज मेरो घरमा जाऊँ, उतै रमाइलो गरौँ’ तर मैले मानिनँ। जन्मदिनको फेरि पनि धेरै-धेरै शुभकामना भन्दै हामी एकअर्कालाई अङ्गालो मार्दै छुट्टियौँ।
म सिधै कोठामा गएर ओछ्यानमा पल्टिएँ। दिनभरि थाकेकोले केही गर्न मन लागेन। दिनभरिको कुराले दिमागमा हानिरहेको थियो। आश्रमका बुवा-आमालाई सम्झिरहेकी थिएँ। त्योभन्दा बढी घरकी हजुरआमालाई सम्झिरहेकी थिएँ। लाग्यो, मेरी हजुरआमाले भन्दा वृद्धाश्रमका बुवाआमाले बढी सुख-सुविधा पाउनु भएको छ।’
हतार हतार हजुरआमालाई भिडियो कल गरेँ। उहाँले फोन उठाउनु भयो।
‘हजुरआमा सन्चै हुनुहुन्छ?’
हजुर आमाले ‘ठिक छ नानी’ के भन्नु भएको थियो उताबाट मम्मीको चर्को स्वर आयो- ‘२४ सै घण्टा फोनमा झुन्डिनु पर्ने।’ मैले फोन काटिदिएँ। नेट अफ गरेर बिस्तारामा पल्टिएँ। हजुरआमा मलाई माफ गर्नु अब हजुरको मन कहिल्यै दुखाउने छैन भन्दै रुन थालेँ।
हजुरआमाले बेलाबेला आफ्ना विगतका दुःखका कुरा सुनाउन खोज्नु हुन्थ्यो तर मैले सुनेको नसुनै गर्थेँ। आज उहाँले केही सुनाउन खोज्नु हुन्न। हजुरआमा अहिले केही कुरा सुनाउन नचाहे पनि आज मलाई हजुरआमाको बारेमा सुनेका थाहा पाएका कुरा लेख्न मन छ। ताकि मेरी हजुरआमाले जस्तो दुःख कसैले भोग्न नपरोस्।
मेरी हजुर आमाको १४ वर्षमा बिहे भएको थियो रे। २५ वर्ष नपुग्दै ३ जना छोराछोरी जन्मिसकेका थिएँ, दुई छोरा एक छोरी। उहाँ २८ वर्ष नपुग्दै हजुरबुवा स्वर्गवास हुनुभयो। त्यसपछि हजुरआमाको कहाली लाग्दो जीवन सुरु भयो रे। हजुरआमा धेरै पटक मर्ने कोसिस गर्नु भएको थियो रे। तर छोराछोरीको माया र जिम्मेवारीले गर्दा मर्न सक्नु भएन रे। साना छोराछोरी घरको आर्थिक अवस्था छिमेकीको रुखा वचन अनि पर-पुरुषको गिद्धे नजर उहाँ पलपल तड्पिएर छोराछोरीको मुख हेरेर बाच्नु भयो। छोराछोरीलाई अरूको मेलापात घाँस-दाउरा गरेर हुर्काउनु भयो। अरूको मेला जाँदा दिएको खाजा पनि छोराछोरी भोकै छन् भनेर पटुकीमा कुटुरो पारेर घर ल्याउनु हुन्थ्यो रे।
हजुरआमाका ती कहानीले आज पनि मलाई खुब रुवाएको छ। आफूले जति दुःख पाए पनि छोराछोरीलाई पढाउनु पर्छ भन्ने चेत हजुरआमामा भएकोले अहिले सबै छोराछोरी आ-आफ्नो क्षेत्रमा अब्बल हुनुहुन्छ। तर हजुरआमा भने कहिले मेरो काल कहिले आउला भनी कुरेर बस्नु भएको छ। दुई भाइ छोरा मध्ये हजुरआमासँग मेरो बुवा र मम्मी (कान्छा छोरा-बुहारी) बस्नु हुन्छ। तर हजुरआमा कत्ति पनि खुसी हुनुहुन्न।
हाम्रो चार जनाको परिवार छ। म पनि ब्याचलर पढ्ने भइसकेकी छु। बाहिरबाट देख्दा मम्मी-बुवा जागिरे, आर्थिक-सामाजिक, पारिवारिक रूपमा हाम्रो परिवार सम्पन्न देखिन्छ तर मम्मी र हजुरआमाको बेमेलले हाम्रो घर पारिवारिक रूपमा भित्र-भित्र ध्वस्त भएको छ। म पढाइको सिलसिलामा काठमाडौँ छु, घरमा तीन जनाको दुई भान्सा हुन्छ। मम्मी-बुवा एकातिर, हजुरआमा एक्लै।
हजुरआमा ७० वर्ष हुनुभएको छ। सहाराको नाममा एउटा लट्ठी छ। शरीर झुकेको छ, आँखा धमिला छन्, हातखुट्टा काँप्छन्, बिर्सन सुरु भइसकेको छ; नाम, अनुहार र समय। तर एउटै कुरा बिर्सनुहुन्न, म छोराछोरीको लागि बाँचे! बिरामी पर्दा कोही एक गिलास पानी खान दिने मान्छे छैन। प्रेसरको रोगी हुनुहुन्छ। त्योभन्दा बढी प्रेसर हजुरआमालाई बुवा-मम्मीको बचनले दिन्छ। मम्मीले कैयौँ पटक यो बुढी कहिले मर्छे र हाईसन्चो हुन्छ भनेको मेरै कानले बारम्बार सुनेको छु। अरू छोराछोरी सहरमा छन्, एक कल फोन आउँदैन, तिमीलाई कस्तो छ भनी कोही सोध्दैनन्? हजुरआमाले फोन गर्दा पनि व्यस्त छु पछि फोन गर्छु भनेर काटिदिन्छन्। तर त्योपछि कहिले आउँदैन। तर बुवामम्मीले बारम्बार सुनाई राख्नु हुन्छ- अरू पनि छोराछोरी छन्, उतै गएर बस्दा पनि हुन्छ। यस्ता बचनले हजुरआमालाई कति बिझ्दो हो, कति मन रुँदो हो!
दुःख सुनाउने र सुनिदिने कोही छैन। भित्रभित्रै मन अमिलो बनाउनु हुन्छ,आँखाका आँसु आँखामै रोक्नु हुन्छ। बोल्न मन लागेको कुरा कण्ठमै रोक्नु हुन्छ। खान लगाउन मन लागेका कुरा मनमै कुण्ठित छन्। हजुरआमालाई राम्रोसँग थाहा छ, कोही छोराछोरीले पनि वास्ता गर्दैनन्। त्यसैले काहीँ जान पनि मन गर्नु हुन्न।
आजभोलि हाम्रो घरमा हजुरआमाका आफन्त पनि कोही आउँदैनन्। घरमा भएको बेमेलले गर्दा हजुरआमा नितान्त एक्लो हुनुहुन्छ। कति पटक त हजुरबुवाको फोटो हेर्दै मलाई तपाईंसँगै लैजानु भन्दै भक्कानिएर रोएको देखेकी छु। त्योभन्दा त बरु वृद्धाश्रमका बुवा-आमा सुखी, खुसी हुनुहुन्छ। आज वृद्धाश्रमले मेरो चेत खोलिदिएको छ।
हजुरआमा, अब हजुर कहिले रुनु पर्दैन। तपाईँको साथमा म छु। जसले जीवन दिनु भयो उहाँको जीवनको अन्त्यसम्म माया साथ दिनु, कर्तव्य पालन गर्नु मेरो धर्म हो। जसको काखबाट जीवन सुरुवात भयो, त्यही काख रित्तो बनाउनु पाप हो। हजुरआमा, आजसम्म अनजानमा मबाट भएका गल्तीहरूलाई नातिनी सम्झेर माफ गरिदिनु। अब म तपाई बाँचुन्जेल तपाईँको सेवामा लाग्ने छु।
हजुर मेरो लागि जिउँदो भगवान् हुनुहुन्छ। म सानी थिएँ, बुवा मम्मीबाट राम्रो संस्कार पाउन सकिनँ। तर अब बितेको समय फर्किँदैन। त्यसैले फेरि पनि भन्दै छु हजुरआमा, मलाई एक पटक माफ गरिदिनु!