बिहानको ८:३५ बजेको थियो। विमलले आफ्नो पुरानो ल्यापटप ब्याग सम्हाल्दै ऐनामा हेर्यो। सेतो कपाल, चाउरिएको अनुहार तर आँखामा अझै त्यही अनुशासनको चमक। लगातार ३७ वर्ष, कहिल्यै बिदा नलिई, कहिल्यै ढिलो नगरी, यो उसको जीवनको एक मात्र सफलता थियो।
आज सैँतिस वर्षे जागिरे जीवनको अन्तिम दिन, कार्यालयमा बिदाइको क्षण अर्थात् कार्यालयको अन्तिम दिन। सहकर्मीहरूले फूलमाला लगाइदिए। धेरैले खुसी व्यक्त गरे- ‘विमल सर, तपाईं हाम्रो प्रेरणाको श्रोत हुनुहुन्छ।’ कतिपयले आँसु झारे। विमलले मुस्कुराउँदै सबैलाई धन्यवाद दियो। तर त्यो मुस्कानभित्र एउटा गहिरो शून्यता थियो। मनले भनिरहेको थियो- ‘अब भोलिदेखि म कहाँ जाने? कोही फोन गर्ला? कसैलाई मेरो आवश्यकता होला?’
घर फर्कँदा बाटोभरि उनले आफैँलाई सोधिरह्यो- ‘३७ वर्षको जीवन केवल यत्तिकै सकियो?’
घरको ढोकामा पुग्दा पत्नी भान्सामा व्यस्त थिइन्। उनले मुस्कुराएर मात्र भनिन्- ‘आउनुस्, खाना तयार छ।’ न त अँगालो, न त कुनै विशेष स्वागत। विमलले थालमा खाना राख्यो तर मनभरि एउटा प्रश्न- ‘के म यति मात्र हुँ? के अब मेरो जीवन सकियो?’
अवकाशप्राप्त जीवनको पहिलो हप्ता राम्रो बित्यो। बिहान ढिलो उठ्ने, फेसबुक हेर्ने, पत्रिका पढ्ने, एफएम रेडियो सुन्ने। तर दोस्रो हप्तादेखि मन अशान्त हुन थाल्यो। बेलुकीको ४ बज्दा पनि उनलाई लाग्थ्यो- ‘आज कार्यालयमा के भइरहेको होला? कसले फाइल सम्हाल्दै होला?’
श्रीमती आफ्नै घरधन्दामा व्यस्त। छोरा अमेरिकामा, छोरी जापानमा। हप्तामा एक पटक फोन आउँथ्यो- ‘बुवा, खुसी हुनुहुन्छ?’ विमलले भन्थ्यो- ‘एकदम खुसी छु।’ तर फोन राखेपछि झ्यालबाट बाहिर हेर्थ्यो र सोच्थ्यो- ‘खुसी के हो?’
पछिल्लो समय विमलको समय बिताउने सजिलो उपाय भनेको फेसबुक बनेको थियो। अर्को दिन विमलले फेसबुक पेज अपडेट गर्यो। आफ्नो १० वर्ष पुरानो फोटोलाई प्रोफाइल पिक्चर बनायो, जति बेला कपाल कालो थियो, अनुहारमा चमक थियो।
पहिलो महिनामा उसका फेसबुक साथी झन्डै दुई सय जना थपिए। अब उसका फेसबुके साथी दुई हजारभन्दा बढी भए।
विमललाई लाग्यो— वाह! म अझै पनि मानिसहरूको लागि महत्त्वपूर्ण छु। उसले घरमा इन्टरनेट हुँदाहुँदै पनि डाटा प्याक किनेर फेसबुक चलाउन थाल्यो किनकि उसलाई २४ घण्टा फेसबुकको लत लागिसकेको थियो। कति लाइक आउँछ, कतिले कमेन्ट गर्छन्, त्यसैमा रमाउन लागेको थियो।
एकदिन बेलुकी आठ बजेको थियो। ओछ्यानमा पल्टेर फेसबुक हेरिरहेको थियो। अचानक एउटा फ्रेन्ड रिक्वेस्टको नोटिफिकेसन आयो। नाम देखेर उसको मुटुको धड्कन बढ्यो— विमला!
प्रोफाइल फोटोमा एक सुन्दर महिला, करिब ५० वर्षकी, मुस्कुराएकी। विमलले विमलाको प्रोफाइल तलदेखि माथिसम्म हेर्यो र तुरुन्तै एसेप्ट गर्यो। वाह! विमल र विमला!
केही मिनेटमै विमलाको सन्देश आयो- ‘नमस्ते विमलजी। तपाईंको नाम देखेर मलाई लाग्यो- ‘कस्तो संयोग! हाम्रो नाम मिल्छ।’
विमल: हो, मैले पनि त्यही सोचेँ।
विमला: म एनजिओको जागिरे थिएँ। डोनरहरूले फन्ड दिन छोडे, जागिर सकियो। छोराछोरी विदेशमा छन्। बुढो आफ्नै काममा व्यस्त छन्। मलाई एक्लोपनले सताइराखेको छ। तपाईंसँग नाम मिलेकोले फ्रेन्ड रिक्वेस्ट पठाएकी। साथी बन्न मन छ?
विमलको मनमा खुसीको सीमा रहेन। उसलाई आफ्नो एक्लोपनको त्यो अँध्यारो कोठामा बत्ती बलेजस्तो भयो। जवाफमा लेख्यो- ‘कस्तो संयोग! नाम मात्र हैन समय पनि उस्तै, व्यवहार पनि उस्तै तपाईं र मेरो। म पनि एउटा अन्तर्राष्ट्रिय गैससबाट रिटायर्ड। प्रोजेक्ट सकियो अनि घरमा छु।’
अब विमल र विमला फेसबुकका गतिला साथी बने। त्यसपछि दैनिक कुराकानी सुरु भयो। बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म उनीहरूको दैनिकी फेसबुकमा बित्न थाल्यो।
विमला: शुभ प्रभात! आज तपाईंको दिन राम्रो होस्।
विमल: तपाईंको सन्देश पाएपछि दिन राम्रो भइहाल्छ।
विमला: तपाईं धेरै मिठो बोल्नुहुन्छ। तपाईंकी श्रीमतीलाई कस्तो लाग्छ?
विमल: उनीलाई यस्तो कुरामा रुचि छैन।
विमला: तर हामीजस्तो उमेरमा पनि प्रेमको भोक हुन्छ नि, हैन?
विमललाई लाग्यो- ‘यो महिलाले मलाई बुझ्छे। ऊ मेरो मनको कुरा पढ्न सक्छे।’
एक हप्तापछि विमलाले मेसेज पठाई- ‘म तपाईंलाई मिस गर्छु।’
विमल: म पनि। तपाईंको सन्देशको लागि दिनभर कुरिरहन्छु।
विमल अब श्रीमतीसँग कम बोल्न थाल्यो। खाना खाँदा पनि मोबाइल हेरिरहन्थ्यो। श्रीमतीले एक दिन सोधिन्- ‘यो के हेरिरहनुभएको?’
विमलले झर्को मान्दै भन्यो- ‘तँलाई के मतलब?’
त्यो रात विमललाई निद्रा लागेन। मनमा दुई वटा तर्कनाहरू आए- ‘यो गलत हो। तँ विवाहित मान्छे होस्।’
‘तर जीवनमा मलाई बुझ्ने मान्छे भेटिनु के गलत हो र? मलाई ३७ वर्षसम्म कसैले बुझेन। किन म प्रेम गर्न नपाउने?’
चार महिनापछि विमलाका सन्देशहरू गम्भीर हुन थाले- ‘विमल जी, मलाई धेरै अप्ठ्यारो परेको छ। छोराले पैसा पठाउन ढिला गर्यो। बुढालाई घरको मतलबै छैन। कहाँ जान्छन्, के गर्छन्, केही भन्दैनन्। २ लाख रुपैयाँ सापटी दिनुहोस् न। दुई महिनामा फिर्ता गरिदिन्छु।’
विमलले पढेर केही बेर सोच्यो। मनमा शंका आयो। तर उसले फेरि विमलाको फोटो हेर्यो। विमलाका मुस्कुराउँदै गरेका ओठ र आँखाहरू र सोच्यो- ‘उसले मलाई धोका दिन सक्दिन। उसले मलाई माया गर्छे। समस्यामा परेको बेला सहयोग गरे पो माया पाइन्छ त। उसको बुढो पनि मजस्तै आफ्नीलाई वास्ता नगर्ने जस्तै त होला नि।’
उसले विमलाको बैंकको क्युआर कोड माग्यो। आफ्नो खाताबाट पैसा ट्रान्सफर गरिदियो। घरमा श्रीमतीलाई समेत नभनेर दुई लाख रुपैयाँ पठाइदियो।
पैसा पठाएपछि विमलाको सन्देश अझ मिठो भयो- ‘तपाईं मेरो जीवनको सबैभन्दा बढी माया गर्ने मान्छे। म तपाईंलाई कहिल्यै बिर्सन्न। चाँडै भेटौँ है!’
विमलको मनमा एउटा अचम्मको खुसी थियो। उसले सोचेको थियो- ‘म अझै पनि कसैको लागि विशेष छु।’
तीन हप्तापछि विमलाको फोन आयो- ‘विमल जी! आज दिउँसो १ बजेतिर मेरो घर आउनुस् है। श्रीमान् बाहिर गएका छन्।’
विमलको मुटु धड्कियो। उसले आफूलाई पहिले अफिस जाँदाजस्तै सुट लगाएर, जिउमा परफ्युम छर्केर मगमगाउँदै बाहिर निस्किन लाग्दा श्रीमतीले सोधिन्- ‘कता जान लाग्नु भएको?’
विमलले छोटो उत्तर दियो- ‘साथी भेट्न जाँदैछु।’
ठिक १ बजे ठ्याक्कै ऊ विमलाको घरको ढोकामा पुग्यो। घर सानो थियो तर सफा। ढोका खोल्नेवित्तिकै विमलाले मुस्कुराउँदै भनी- ‘आउनुस्, आउनुस्। म कुरिरहेकी थिएँ।’
विमल भित्र पस्यो। विमलाले बैठक कोठामा बसाएर चिया लिएर आउँछु भनेर भान्सा कोठातिर लागी। केही बेरपछि चिया पिउँदै दुवैबिच धेरै कुराकानी भयो। करिब दुई घण्टापछि अचानक ढोकाको घण्टी बज्यो।
विमलाको अनुहार परिवर्तन भयो। उसले छटपटाउँदै भनी- ‘ओहो! मेरो बुढो फर्किए!’ उसले विमललाई हेरेर हातमा रुमाल र कुचो दिँदै भनी- ‘कृपया कोठा सफा गर्न थाल्नुहोस्।’
उसको हातमा कुचो र रुमाल थमाइयो। विमल स्तब्ध भयो। हत्तपत्त कोट फुकालेर सोफामा राख्यो र उसले बैठक कोठाका सामानहरू पुछ्न थाल्यो। आफ्नो सैँतिस वर्षको इज्जत, आफ्नो प्रेम, आफ्नो विश्वास सबै त्यो सामान पुछ्ने रुमाल र कुचोको मुठोमा समेटिएजस्तो भयो।
बैठक कोठामा एकजना मानिस भित्र छिर्यो- ‘मोटो, रिसाहा अनुहार। उसले विमललाई देखेर भन्यो- ‘यो को हो घरमा?’
विमलाले डराएको अभिनय गर्दै भनी- ‘यिनी सरसफाइको काम गर्न आएका हुन्। हिजो क्लिनिङ कम्पनीमा काम गर्ने मान्छे पठाई दिनु भनेको थिएँ, आजबाट पठाइदियो। झन्डै दुई घण्टा काम गरिसकेपछि विमल बाहिरियो। बाहिर निस्कन लाग्दा विमलाले चिया पिएर जान भनी। चिया दिइयो। तर त्यो चियामा अपमानको तीतोपन थियो, सम्मानको मिठास थिएन।
बाहिर निस्कँदा विमलको आँखा रसाएका थिए। विमलाको घरबाट निस्कँदै गर्दा ठिक त्यहीँ घरको गेट नजिकै उसको पुरानो साथी गोपाल भेटियो।
गोपालले भन्यो- ‘विमल जी! तपाईं पनि यहाँ? विमलको अनुहार कालो निलो भयो। गोपालले भन्यो- ‘मैले कुरा बुझेँ विमल जी। म पनि त्यही महिलाको जालमा परेको थिएँ। फेसबुकमा भेट भएकी थिई। उसले मसँग पाँच लाख लिएर मलाई नराम्ररी ठगी। कति रुपैयाँ ठगी?’
विमलले यो कुरा सुनेर आफ्नो टाउको समात्यो। भुइँ भासिन खोजेजस्तो भयो। भन्दिन भन्दाभन्दै उसको मुखबाट फुत्कियो- ‘दुई लाख।’
विमलाको विश्वास, उसको प्रेम सबै झूटो थियो। विमलको जीवनभरको कमाइ सञ्चय कोष निकालेर राखेको रकमको दुरुपयोग भइसकेको थियो।
घर पुग्दा नपुग्दै गोपालले फेसबुकमा पोस्ट गरेछ- ‘एकजना मान्छेले फेसबुकको प्रेममा परेर दुई लाख रुपैयाँ गुमायो।’
गोपालको स्ट्याटस देखेर विमललाई यसले मलाई नै लेखेको हो भन्ने लाग्यो। मैले पनि किन नलेख्ने भनेर विमलले लेख्यो- ‘आफूले पाँच लाख गुमाएको देखेन तर अरूले दुई लाख गुमाएको देखेर सामाजिक सञ्जालमा पोस्ट गर्यो।’
चोरको खुट्टा काट् भन्दा चोरले दुवै खुट्टा एकैचोटि खुम्चाएर तानेजस्तो विमलले आफ्नो कर्तुतहरूबाट डर मानेको स्पष्ट देखियो।
घर फर्कँदा यो कुरा भाइरल बनिसकेछ। उसलाई लाग्यो- ‘घरका सबैले थाहा पाइसकेछन्।’
छिमेकी रमेशले फेसबुकवालमै सोध्यो- ‘विमल दाइ! दुई लाख गुमाउनुभयो क्या हो?’
अर्कोले फेसबुकमै कमेन्ट गर्यो- ‘बुढेसकालमा पनि यस्तो लाज? यो उमेरमा प्रेम?’
घरमा छोराले फोन गरेर भन्यो- ‘बुवा, तपाईंले हाम्रो इज्जत माटोमा मिलाउनुभयो।’
श्रीमतीले आँखा रातो पारेर भनिन्- ‘तपाईंलाई म पुगिनँ? त्यो फेसबुकमा कुरा गर्ने महिला नै सबथोक थिई?’
विमलले जवाफ दिन सकेन। ऊ चुपचाप आफ्नो कोठामा गयो। ऐनामा आफैँलाई हेरेर आफैलाई त्यो अनुहार आफ्नै लागि घृणित लाग्यो।
त्यो रात विमललाई निद्रा लागेन। बारम्बार उसको मनमा एउटै प्रश्न आइरह्यो- ‘किन? के म यति सस्तो थिएँ?’
उसले विमलाको प्रोफाइल फेरि हेर्यो। तर विमलाले त्यो प्रोफाइल फेसबुकबाट हटाइसकेकी थिई। न नाम, न फोटो, न कुनै स्ट्याटस। जसरी पहिले विमलको कोही थिइन, त्यसरी अहिले पनि विमलको कोही भइन।
एकदिन बिहान तीन बजे विमलले एउटा कागजको टुक्रामा लेख्यो- ‘मलाई खोज्ने प्रयास नगर्नु। मैले ठुलो गल्ती गरेको छु। म परिवारको लागि कलंक बनेको छु। अब म बाँचेर केही फाइदा छैन। माफ गरिदेऊ।’
त्यो पत्र सिरानीमुनि राखेर ऊ घरबाट निस्किन लाग्दा उसको अनुहार भित्तामा राखिएको ठुलो ऐनामा पर्यो। बाहिर राम्ररी उज्यालो भइसकेको थिएन। विमलले त्यो झिसमिसे बिहानमा उसले धेरै पटक ऐनामा आफैँलाई हेर्यो। उसको मनमा बारम्बार एउटै प्रश्न आइरह्यो- ‘के म यति सस्तो थिएँ?’ केही बेर त उसलाई सबै छोडेर कतै टाढा भागौँ जस्तो पनि लाग्यो तर उसको मनमा एउटा दृढता पलायो- ‘३७ वर्षसम्म सेवामा इमानदार बनेको मान्छे, एउटा डिजिटल ठगको अगाडि किन हार्ने? गल्ती भयो, तर अब यसलाई सुधार्नुपर्छ।’
उसले सिरानीमुनि राख्न खोजेको त्यो निराशाजनक पत्रलाई च्यातेर डस्टबिनमा फालिदियो।
बिहानै विमलले एउटा साहसी निर्णय गर्यो। उसले श्रीमतीलाई बोलाएर सबै कुरा नलुकाई विस्तारमा सुनायो। श्रीमतीले सुरुमा केही चित्त दुखाए पनि विमलको आँखामा पश्चात्ताप र इमानदारिता देखेपछि उनले भनिन्- ‘गल्ती त भयो तर अब भागेर होइन, डटेर सामना गर्नुहोस्।’
विमलले तुरुन्तै फेसबुकमा एउटा लामो 'स्ट्याटस' लेख्यो- ‘मेरा आदरणीय फेसबुक साथीहरू, म एउटा ठुलो डिजिटल ठगीमा परेको छु। मेरो एक्लोपन र भावनात्मक कमजोरीको फाइदा उठाएर कसैले मलाई दुई लाख रुपैयाँ ठग्यो। म आफ्नो गल्ती सार्वजनिक रूपमा स्वीकार गर्दछु ताकि अरू कोही एक्लो व्यक्ति यसरी नठगियोस्। फेसबुकका लाइक र कमेन्टभन्दा परिवारको साथ र आफ्नै आत्मसम्मान ठुलो रहेछ।’
त्यो स्ट्याटस देखेपछि छिमेकी रमेश र साथी गोपाल चकित परे। समाजले उसलाई गिज्याउनुको सट्टा उसको हिम्मतको प्रशंसा गर्न थाल्यो। धेरैले- ‘विमल दाइ, तपाईँले हामीलाई ठुलो पाठ सिकाउनुभयो’ भनेर कमेन्ट गरे।
विमलले त्यसपछि साइबर ब्युरोमा गएर उजुरी दियो। उसको सक्रियताले गर्दा त्यो 'विमला' नामको नक्कली आइडी बनाएर ठग्ने व्यक्तिलाई प्रहरीले केही हप्तामै पक्राउ गर्यो। विमलको पैसा फिर्ता त भयो नै, उसले अरू कयौँ मानिसलाई ठगिनबाट जोगायो।
अहिले विमलको अवकाशपछिको जीवन फेरिएको छ। उनले स्थानीय क्लबमा 'डिजिटल सचेतना' अभियान सुरु गरेको छ। उसले सामाजिक सञ्जाललाई कसरी सुरक्षित चलाउने र फेक आइडीहरूबाट कसरी बच्ने भनेर सिकाउँदै आएको छ। छोराले अमेरिकाबाट फोन गरेर भन्यो- ‘बुवा, तपाईँले आफ्नो गल्ती सुधारेर जुन साहस देखाउनुभयो, त्यसले हाम्रो शिर झन् उच्च भएको छ’।
छोरीले जापानबाट मेसेज गरी- ‘सत्य बोल्न सक्ने तपाईँको यो हिम्मत नै हाम्रो लागि सबैभन्दा ठुलो आदर्श हो, हामीलाई तपाईँप्रति असाध्यै गर्व छ बुवा।’
विमलले राम्ररी बुझेको छ- ‘डिजिटल संसार एउटा माध्यम मात्र हो, वास्तविक जीवन त आफ्नै परिवार र इमानदारितामा छ’। विमलको कथा आधुनिक समयमा कसरी सचेत रहने भन्ने एउटा प्रेरणादायी पाठ बन्यो।