असिमालाई अल्लाहप्रति औधी विश्वास छ। अब्दुल एक दिन अवश्य फर्कने छ भन्ने तिनको मनमा एक किसिमको दृढता छ। अब्दुल प्रहरी सेवामा भर्ना भएको साढे दुई वर्ष पनि भएको थिएन। सरकारले उसलाई विद्रोहीहरू सँगको मुठभेडमा बेपत्ता भएको भन्यो! यसरी कोही कसरी बेपत्ता हुन्छ?
अब्दुललाई रोल्पामा खटाइएको तीन महिना मात्र भएको थियो। अहिले यस्तो खबर सुन्दा असिमा मर्माहत भएकी थिइन। ऊ कहाँ होला? कसलाई थाहा छ, ऊ कस्तो अवस्थामा होला? अल्लाहले उसलाई जहाँ भए पनि सुरक्षित राखुन् भन्दै प्रार्थना गर्थिन। ऊ एक हप्तादेखि हराइरहेको छ तर उसको कुनै खबर आएको छैन। यदि ऊ राजनीतिज्ञ वा उच्च अधिकारी भएको भए, उसलाई जहाँबाट भए पनि फेला पार्न सक्थ्यो होला। तल्लो दर्जाको वास्ता कसलाई? जिल्लाको डिएसपी साहबलाई कयौँ पटक सोधियो, ‘साहब, पत्ता लगाइदिनुहोस्, मेरो श्रीमानको बारेमा पत्ता लगाइदिनुहोस्।’
डिएसपी साहब भन्थे- ‘हामी सक्दो प्रयास गरिरहेका छौँ।’ असिमा सोच्थिन् कसैले डिएसपी साहबलाई भनिदिए हुन्थ्यो ‘यदि तपाईंले प्रयास गर्नुभयो भने, यो सफल हुन्छ!’
अब यी बिचरा प्रहरी अधिकारीहरूको पनि के दोष? अब्दुलसँग विवाह नगरेको भए असिमाले आज यस्तो दुर्भाग्यपूर्ण खबर सुन्नु पर्दैनथ्यो होला। मिडियाका मानिसहरूले पनि अनेकौँ कुरा गरिरहेका छन्। कोही भन्छन् कि विद्रोहीहरूको पन्जामा पर्यो... कोही भन्छन् कि जंगलमा हराएको छ। कोही एउटा कुरा भन्छन्, कोही अर्को कुरा गर्छन्। सबै टिभी च्यानलहरूको आफ्नै भनाइ छ, आफ्नै धुन छ। कसैको परिवारमा विपत्ति आइलागेको छ कि छैन भनेर उनीहरूलाई कुनै वास्ता छैन। उनीहरूलाई केवल आफ्नो टिआरपी बढाउनुसँग मतलब थियो। अरूलाई के थाहा, असिमा कुन अवस्थाबाट गुज्रिरहेका छिन्।
असिमाले विगत सम्झिन्छिन्, अब्दुलले असिमालाई धेरै माया गर्दथ्यो। असिमालाई अझै याद छ कि ऊ सानोमा पहिलो पटक आफ्नो बुबासँग असिमाको घरमा आउँदा साँझ परेको थियो। असिमा आँगनमा ओखलीमा केही कुटिरहेको थिइन। अब्दुलले असिमालाई हेर्दै सोधेको थियो- ‘तिम्रो नाम के हो?’
असिमाले भनेकी थिइन्- ‘असिमा।’
‘त्यसैले त तिमी यति सुन्दर छौ।’
‘बदमास!’
‘म साँच्चै भन्दै छु। तिमी राम्रो देखिन्छौ। यसरी नै ओखल कुटिराख्।’
‘ठिकै छ! म ओखल कुटिरहन्छु अनि तिमी...?’
‘म! म विद्रोहीहरूलाई हराउनेछु,’ अब्दुलले यसो भनिरहेको देखेर असिमाकी आमाले भनिन्– ‘हेर छोरी! अब्दुल ठुलो भएपछि सिपाही बन्नेछ। त्यसपछि हामी तिमीहरू दुवैको विवाह गराइदिनेछौँ। मलाई भन, अब्दुल! के तिमी असिमासँग विवाह गर्छौ?’
अब्दुलले खुसी हुँदै जवाफ दिएको थियो, ‘हुन्छ काकी।’
अब्दुलले यो भन्ने बित्तिकै, असिमा लाजले रातो पिरो भएको थिइन् र दौडिएर घरभित्र पसिन्। त्यति बेला अब्दुल तेह्र वर्षको हुँदो हो र असिमा त्यस्तै बाह्र वर्षको थिइन्। ऊ आठ कक्षामा थियो र असिमा सात कक्षामा थिइन्। त्यो पहिलो भेटपछि अब्दुल हरेक महिना वा दुई महिनामा कुनै न कुनै बहानामा असिमाको घर आउने गर्दथ्यो। उसको साथी नसिफ पनि ऊसँगै आउँथ्यो। तिनीहरूले असिमाको घरबाट कहिले पालुङ्गोको बिउ लैजान्थे र कहिलेकाहीँ गहतको दाल। नसिफ बदमासी गर्न अब्दुलभन्दा एक कदम अगाडि थियो।
यस पटकको बकरिद सुरु भइसकेको थियो। अब्दुल, नसिफ र उनीहरूको दस जना साथीहरू असिमाको घरमा रमाइलो गर्न आएका थिए। आमाले नाङ्लोमा खानेकुरा ल्याएर राखिदिइन्। आमा भित्र गएको बेलामा नसिफले अब्दुललाई सानो स्वरमा भन्यो- ‘अब्दुल! भाउजूको फूल...’
अब्दुलले आफ्नो झोलाबाट गुलाब निकालेर नाङ्लोमा राख्यो- ‘यो तिम्रो लागि हो...।’
असिमाले भनेकी थिइन्- ‘बदमास...!’ असिमाले रिसाए जस्तो गरेर भनिन्, ‘तिमीले किन नसिफलाई भाउजू भनेर बोलाउन लगाइरहेका छौ? जबकि हामी ठुलो भएपछि पनि विवाह गर्छौ गर्दैनौँ!’
अब्दुलले भन्यो, ‘किन हामी विवाह गर्दैनौँ? हामी विवाह गर्नेछौँ र केवल तिमी मेरो हुनेछौ।’
असिमाले लज्जित हुँदै भनिन्, ‘यदि तिमीले धेरै जिस्कायौ भने म आमालाई भनिदिनेछु।’ त्यसपछि अब्दुल त्यहाँबाट भाग्यो। असिमाले हाँसो थाम्न सकिनन्।
आठौँ कक्षा उत्तीर्ण गरेपछि उनीहरू गाउँको उच्च माध्यमिक विद्यालयमा गए। त्यस बेला अब्दुल दसौँ कक्षाको विद्यार्थी थियो। उसले सधैँ कलेजको सांस्कृतिक कार्यक्रमहरूमा उत्साहपूर्वक भाग लिन्थ्यो। असिमाले उसलाई सधैँ एउटा गीत गाएको सुनेकी थिइन्- ‘म मरे पनि मेरो देश बाँची रहोस्।’
उसको स्वरमा एक प्रकारको पीडा सुनिन्थ्यो। जुन उसको गायनमा पनि झल्किन्थ्यो। गायनका साथै अब्दुललाई बाँसुरी बजाउन पनि मन पर्थ्यो। जब ऊ आफ्ना साथीहरूसँग गोठालो जान्थ्यो उसको बाँसुरीको आवाज टाढा-टाढासम्म सुनिन्थ्यो। उसको बाँसुरीबाट प्रायः आफ्नो मनपर्ने गीतको धुनहरू निस्कन्थ्यो। असिमालाई यस्तो लाग्थ्यो कि यो धुनहरू उसको लागि मात्र बजिरहेका छन्। उनको बाँसुरीको धुन सुनेर पन्नाकाजीको ‘तिरिरी मुरली बज्यो बनैमा लौ माया नमारे’ यो गीत मेरो मनपर्ने बन्यो।
***
असिमाको आँसुको भेलले सिरानी भिज्दथ्यो। तिनी मनमनै कल्पिन्थिन्।
‘ए अब्दुल! तिमी कहाँ छौ? चाँडै फर्केर आऊ! थाहा छ, तिमी हराएको दिनदेखि मलाई न त भोक लाग्छ न त निद्रा नै। अँ, भोक र निद्राले मलाई सम्झायो... कलेजका दिनहरूमा तिमी मसँग कुनै कुरामा रिसाएर भनेका थियौ- ‘म तिमीसँग अब कहिल्यै कुरा गर्दिनँ।’ अनि थाहा छ, तिमीले भनेको कुरा मैले पत्याएको थिएँ। त्यो रात मैले न त खाना खाएँ न त रातभरि सुत्न सकेँ। आमाले मलाई दुई पटक खाना ल्याइदिनु भएको थियो। दुवै पटक मैले भोक लागेको छैन भन्दै फिर्ता गरी दिएँ। तिमीलाई मेरो अवस्थाको बारेमा के थाहा? तिमी मसँग पूरा एक हप्ता बोलेनौ, न त एक पटक मलाई हेर्यौ। तिमीले मनमा आगो लगायौ र त्यसपछि भाग्यौ। पुरुषहरूले प्रेममा यस्तै गर्दा रहेछन्! तिनीहरू के बाट बनेका हुँदा रहेछन् कुन्नि! यिनीहरूको मन मुटु जस्तो कुनै चीज हुन्छ कि हुँदैन? जे होस्, आठौँ दिनमा, तिमीले मसँग माफी माग्यौ। सायद तिमीलाई आफ्नो गल्तीको महसुस भएको थियो होला। तिमीलाई प्रहरीमा भर्ना हुन यति धेरै लगाव थियो कि दिनको दुई पटक दौडिन्थ्यौ। सासूआमाले मलाई भन्नुभएको थियो कि तिमी बिहान चार बजे उठ्थ्यौ, गाउँको कच्ची बाटो हुँदै तीन किलोमिटर टाढाको बाटोसम्म पुग्थ्यौ अनि त्यहीँबाट परको खोलासम्म दौडिन्थ्यौ। गाउँका मानिसहरूले भन्थे कि अरू कोही भर्ती नभए पनि अब्दुल पक्कै हुनेछ।’
अब्दुलको बुबा सामान्यतया धेरै राम्रो हुनुहुन्छ, तर कहिलेकाहीँ मातेर घर आएपछि रमिता देखाउने। अब्दुलको आमा र असिमाले कुनै न कुनै तरीकाले बुबालाई सुताउनु पर्दथ्यो।
असिमा पनि कहाँबाट कहाँ पुगिन! असिमाले अब्दुलको भर्तीको तयारीको कुरा सम्झिरहेकी थिइन्। भर्तीको लागि अब्दुलले जोडतोडले मेहनत गरेको थियो। हाई स्कुल पास गर्ने बित्तिकै उसले तयारी गर्न थालिसकेको थियो। एक दिनको कुरा हो अब्दुल गोठालो आएको थियो। संयोगवश त्यस दिन असिमा पनि रेखा र निर्मलासँग बाख्रा चराउन गएकी थिइन। अब्दुल महुवाको रूखमुनि बसेर बाँसुरी बजाउँदै थियो। असिमालाई देखेर उसले नजिक आउन इशारा गर्यो। असिमा लजाउँदै उसको नजिकै गएर बसिन। अब्दुलले मुस्कुराउँदै भन्यो- ‘म तिमीसँग धेरै कुरा गर्न पाउँदिनँ। तिमीलाई नराम्रो त लाग्दैन?’
असिमाले जवाफ दिएकी थिइन्- ‘छैन!’
‘उसो भए ल ठिक छ। तिमीलाई नराम्रो लागेको होला कि भनेर सोचेको थिएँ।’
‘छैन, मलाई लाग्दैन,’ असिमाले दोहोर्याएर भनेकी थिइन्।
‘तिमी धेरै बुद्धिमान रहेछौ। तिमीलाई थाहा छ मलाई सकेसम्म चाँडै भर्ना हुनु छ। म देशको लागि केही गर्न चाहन्छु,’ उसले असिमालाई हेर्दै भनेको थियो।
‘तिमी प्रहरीमा किन भर्ना हुन चाहन्छौ? तिमी शिक्षक, डाक्टरको रूपमा पनि देशको लागि केही गर्न सक्छौ ...?’
‘हे, मूर्ख केटी! म प्रहरीमा गएर सामाजिक शत्रुहरूलाई परास्त गर्न चाहन्छु।’
‘राम्रो कुरा! यदि ती शत्रुले तिमीलाई पराजित गर्यो भने?’
‘हे! पागल केटी! म शान्तिपूर्ण र अपराध मुक्त समाज बनाउन चाहन्छु। भाग्यमानीहरूले मात्र आफ्नो देशको लागि सेवा गर्ने सौभाग्य पाउँछन्। देश र जनताको लागि ज्यानको आहुति समेत दिन तयार छु।’
उसको कुरा सुनेर असिमाको आँखा आँसुले भरियो, ‘तिमीले देशलाई यति धेरै माया गर्छौ अनि मलाई नि?’
‘तिमीलाई चाहिँ पटक्कै माया गर्दिनँ,’ यसो भनेर अब्दुल हाँस्न थाल्यो।
‘तिमीले मलाई माया गर्छु भनेर कहिल्यै भनेका छौ त?’
‘ठिक छ बाबा। म तिमीलाई धेरै माया गर्छु। तिम्रै लागि त यो सबै कुरा गर्दैछु। म चाँडै प्रहरीमा भर्ना हुनेछु र तिमीसँग विवाह गर्नेछु।’
असिमाको आँखाबाट झन् आँसु बग्न थाल्यो। त्यसपछि उसले आफ्नो खल्तीबाट चकलेट निकालेर भन्यो, ‘के बच्चा जस्तो रोएको! हेर तिम्रो लागि मैले के ल्याइदिएको छु! रेखा र नीलूलाई पनि देऊ।’ रेखा र नीलूले सायद यी शब्दहरू सुनेर होला, रूख पछाडिबाट जोडले हाँसेको आवाज आइरहेको थियो।
अब्दुलले उसलाई बढी माया गर्छ कि देशलाई बढी, असिमाले अझै पनि बुझ्न सकेकी छैन। अब्दुलले उसको लागि धेरै पटक आफ्नो ज्यान जोखिममा पारेको थियो। एक पटक हाई स्कुल पढ्दा कक्षाको एउटा केटाले बाटोमा असिमाको हात समातेर जिस्काएको थियो। असिमाले आफ्नो हात छुटाउन सक्दो प्रयास गरिन् तर त्यो केटा यति बलियो थियो कि उसले छुटकारा पाउन सकिनन्। असिमालाई थाहा भएन यो कुरा कसरी अब्दुलले थाहा पायो, ऊ दौडँदै आयो। उसले त्यो केटालाई यति नराम्रोसँग पिट्यो कि भोलिपल्टदेखि उसले असिमालाई बहिनी भन्न थाल्यो।
***
अब्दुलले स्नातक गरेको एक वर्षपछि मात्र प्रहरीमा भर्ती भएको थियो। तालिम पुरा गरेको एक वर्षपछि उनीहरूको विवाह भयो। विवाह पनि अनौठो किसिमले भएको थियो। जाडोको समय यति धेरै पानी पर्यो कि विवाहका सबै पाहुनाहरू भिजेका थिए। विवाहको दिनमा असिमाले अब्दुललाई एउटा वाचा गराएकी थिइन कि उसले असिमालाई कहिल्यै एक्लो महसुस नगराओस्। उसले असिमालाई आश्वासन पनि दिएको थियो- ‘म आफ्नो बाचा पूरा गर्नेछु। जहाँ भए पनि तिमीलाई दिनको दुई पटक फोन गर्नेछु।’
उसले सधैँ असिमालाई फोन गरिरहन्थ्यो। तर विगत सात-आठ दिनदेखि, उसको कुनै फोन वा खबर आएको थिएन। असिमाकी सासूआमा र बुबा चिन्तित थिए। अब्दुल वहाँहरूको एक मात्र सहारा थियो। अब्दुल यति लामो समयदेखि कुन अवस्थामा छ कसैलाई थाहा थिएन। अब्दुलको फोनलाई पर्खिएको पनि हप्ता दिन भइसक्यो। असिमालाई अझै पनि पूर्ण विश्वास थियो कि अब्दुलको फोन आउने छ।
एकदिन साँझ केही प्रहरी जवानहरू काँधमा कफिन बोकेर उनीहरूको घरमा आए। उनीहरूलाई गाउँलेहरूको लामो भीडले पछ्याइरहेको थियो। तिनीहरूले घरको आँगनमा कफिन राखे। असिमा कोठाबाट दौडिँदै बाहिर आइन। कफिनको एक छेउबाट राष्ट्रिय झन्डा हटाएपछि उनको मुखबाट चिच्याहट निस्कियो- ‘अब्दुल!’ अनि त्यसपछि उनी बेहोस भएर भुईँमा लडिन्।
एक सिपाहीले आफ्नो देश र समाजलाई सबैभन्दा बढी माया गर्छ भन्ने कुरा आज अब्दुलले प्रदर्शन गरेको थियो। अब्दुलको छातीमा बाह्र वटा गोली लागेको कुरा अब्दुललाई फेला पार्ने अधिकारीहरूले भनेका थिए। उनको शव भेटिएको ठाउँ नजिकै चार विद्रोहीहरूको शव पनि फेला परेको थियो। जसको अर्थ अब्दुलले चार विद्रोहीहरूलाई समेत मारेर देश र समाजको लागि आफ्नो जीवन बलिदान दिएका थिए।