‘नानी... ए नानी! अझै उठिनस्?’
भान्छाबाटै फेरि एकचोटि बोलाउँछिन् मुनाले। तर सुरभीको कुनै जवाफ आउँदैन।
‘उठ्न त उठिसकेकी होली। ब्युँझिँदै सपना देखिरहेकी होली,’ एक्लै बडबडाउँदै भान्छाबाट मुख्य कोठामा छिरिन् मुना। नभन्दै सुरभी आँखा चिम्म पारी, टाउको छततिर फर्काएर, एक्लै मुस्कुराउँदै बसिरहेकी हुन्छे।
भान्छा र अर्को एउटा कोठा, यही दुई कोठाको फ्ल्याटमा बस्छन् दुई दिदी-बहिनी। सुरभी बिहान उठ्दासम्म मुनाले भान्छाको सबै काम सकिसकेकी थिइन्। मुनाको आज दिउँसो ११ बजेदेखि साँझ सात बजेसम्मको ड्युटी हो। नर्सिङको पढाइ सकेर जागिर खान थालेको ६ महिना भयो।
यी दुई दिदी-बहिनीभन्दा जेठा दाजु वीरेन्द्र कोरिया गएदेखि काठमाडौँमा दुई दिदीबहिनी नै बसिरहेका छन्। बा-आमा पहाडमै छन्।
मुनाले नर्सिङको पढाइ थाल्दा परिवारमा सबै खुसी भएका थिए। मध्यम वर्गीय परिवारले खोज्ने नै यस्तो पढाइ हो जहाँ जागिरको सुनिश्चितता होस्। पढाइमा तीनै जना सुरुदेखि नै अब्बल थिए।
मुनाले पढाइ सकिने बित्तिकै जागिर पनि पाइन्। नेपालमा नर्सको तलब त उस्तै हो। तर बेरोजगार बस्नु परेको छैन।
वीरेन्द्र पनि बिबिएस पढ्दा पढ्दै कोरिया गए। उनको पनि भविष्यको चिन्ता अब रहेन परिवारलाई। बाँकी रहिन् कान्छी छोरी सुरभी।
सुरभीको ताल भने परिवारमा कसैले बुझ्न सकेको छैन। अहिले कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत छे। आफ्नो क्लासको प्रथम विद्यार्थी पनि हो। दिउँसो १२ बजेदेखि उसको क्लास सुरु हुन्छ। साँझको ६ बजे सकिन्छ।
कोठा आइसकेर खानपिन गर्दा, असाइन्मेन्ट गर्दा रातको १० त यसै बज्छ। त्यसपछि ल्यापटप खोलेर खोइ के के हेरेको हो! १७ वर्षको उमेरमा सारा खगोलको ज्ञान छ उसलाई।
चन्द्रमा त खासमा पृथ्वी जस्तै एउटा खगोलीय पिण्ड हो भन्ने कुरा जुन दिन उसले पहिलो पटक सुनेकी थिई, त्यसै दिनदेखि उसको दिमाग पृथ्वीको कक्षभित्र अडिन सकेको छैन। विज्ञान विषयको शिक्षिकाले चन्द्रमामा पाइला टेक्ने पहिलो मानव निल आर्मस्ट्रङ थिए भनेर विद्यालयमा पढाउँदा सुरभीलाई उसकै खुट्टाले भुईँ छोडे झैँ भाथ्यो।
सुरभीको परिवारलाई भने सुरभीको यस्तो चालामाला निकै उत्ताउलो लाग्थ्यो। तर अब सुरभी पहाडको आफ्नो सानो गाउँबाट बाहिर आइसकेकी छे। अब ऊ काठमाडौँमा बस्छे। कलेज जान्छे। अब त ऊ आफैँ कति जान्ने भइसकी। अब त उसलाई धेरै कुराको लागि कसैको सहयोग वा सोधखोजको आवश्यकता पनि पर्दैन। आफ्नो पकेट मनी जोगाएर पनि उसले आफूलाई मन लागेको कतिपय कामहरू गर्न सक्छे। अब उसलाई कसले उत्ताउलो भन्ने?
दादाको पूरानो ल्यापटप अनि विज्ञानका म्यागेजिन, कलेज बाहेक यही हो सुरभीको दुनियाँ। यसभन्दा बाहेक सहरमा हुने विज्ञान विषयका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलन र प्रतियोगिताहरूमा पनि भाग लिइरहन्छे ऊ।
थुप्रै प्रतियोगिता जितेकी छे उसले। अहिलेसम्मको उसको ठुलो उपलब्धि भनेको उसको कलेजले राष्ट्रिय स्तरमा भएको खगोल विज्ञानसम्बन्धी प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको थियो। सो प्रतियोगितामा आफ्नो समूहको नेतृत्व सुरभीले नै गरेकी थिई।
पुरस्कार दिइसकेपछि कार्यक्रममा आयोजकले बताएका थिए कि पहिलो हुने समूहको नाम अर्को महिना हुने खगोल विज्ञान सम्बन्धी एसियाली स्तरको अन्तर्राष्ट्रिय ओलम्पियाडमा पठाइनेछ। छनौट हुन सकेको खण्डमा सुरभी र उसको समूहले विदेश गएर खगोल विज्ञानसम्बन्धी प्रतियोगितामा भाग लिन पाउने थिए।
पुरस्कार समारोहमा आयोजकको सो उद्घोष सुनेदेखि सुरभी न त राम्रोसँग निदाउनै सकेकी छे, न त अरू काममा नै उसलाई खासै जाँगर चल्छ।
‘ओइ... महारानी! कति बेला उठ्ने हो? ज्यूनार कति बेला गर्ने हो? कि गाँस पनि मुखमै हाल्दिऊँ महारानीलाई?’
दिदीको वचन वास्तै नगरी सुरभीले मुस्कुराउँदै जवाफ फर्काउँछे, ‘उठेँ म।’
मुनालाई अचम्म लाग्छ सुरभीको ताल देखेर।
‘के तालकी केटी हो। जति गाली गरे नि फरक पर्दैन। जति बेला पनि ङिच्च हाँसिरा हुन्छे।’
सुरभीलाई साँच्चै फरक पर्दैन। ऊ कसैको कुरा सुन्दै सुन्दिन। उसको मन र मस्तिष्कमा यति धेरै कुराहरू खेलिरहेको छ कि उसलाई अरू कसैको कुरा सुन्ने फुर्सद नै छैन।
कोही रिसाओस् कि खुसाओस्, उसलाई के!
मुनाले दुवैको लागि भात पस्किन्छिन्, ‘म खान बसेँ है। तेरो थाल नि पस्किदिएको छु। छिटै आइज।’
खाना सकेर मुना अस्पताल जान तयार भइन्। सुरभी मोबाइलमा व्यस्त हुन्छे।
‘नानी।’
‘हजुर।’
‘कलेजबाट सिधै कोठा आउनु नि। आज आमा–बा आउनुहुन्छ। बिर्सिलिस् फेरि।’
सुरभीले साँच्चै बिर्सिसकेकी हुन्छे। आज आमाबुवा आउने दिन। अर्को महिना मुनाको बिहे छ। बिहेको लागि सुनका गहना हेर्न सहर आउन लागेका।
बुवा-आमा र वीरेन्द्र तिनै जनाको मत दुई दिदी बहिनीलाई पढाइ, लेखाइ, मिलेसम्म आफ्नो खुट्टामा उभ्याएर राम्रो कुल खानदानमा विवाह गरिदिनु भन्ने नै हो। सोही अनुसार जागिर थालेको केही महिनामै मुनाको बिहेको कुरा छिनेका थिए। मुना पनि खुसी-खुसी विवाहको लागि राजी भइन्। तर सुरभीको योजना अरू नै छ।
सुरभीको सपनाको उडान पढाइ, जागिर अनि काठमाडौँमा घर भएको हुने खाने जागिरे केटासँगको विवाहभन्दा धेरै परको छ।
मुना अस्पताल गएको एक घण्टापछि सुरभी पनि कलेज जान घरबाट निस्किई। साँझ घर आउँदा आमाबुवा आइसकेका थिए। लामो समयपछि बाआमा भेट्न पाको, दुई दिदी बहिनीको साँझ बाआमासँग रमाइलैसँग बित्छ।
सुरभी त सधैँ ढिलो उठ्ने। मुनाको आज छुट्टी, मुना पनि अलि ढिलै उठ्छिन्। आज चाहिँ भान्छामा आमा छिन्। आमा काठमाडौँ आउँदा सकेसम्म आफैँले पकाएर खुवाउँछिन् छोरीहरूलाई।
चिया, खाना, दाइसँग भिडियो कल, बाआमासँग गफ गर्दागर्दै दस बजिसक्छ। सुरभीको मोबाइलमा नोटिफिकेसन आउँछ। मोबाइल चेक गर्छे। मेल आएको रहेछ।
सुरभीलाई मेल कमै आउँछ। के रहेछ भनेर हतार-हतार जिमेल खोल्छे। मेल पढिरहँदा उसलाई आफूले पढिरहेका शब्दहरूमाथि विश्वास नै हुँदैन। कोठामा सबैले सुरभीको अनुहारको भाव हेर्छन्।
आमाले सोध्छिन्, ‘के भयो? के आएछ मोबाइलमा?’
मुनाले पनि सोध्छिन्, ‘नानी, के हेरेकी त्यस्तरी?’
सुरभी आँखाभरि खुसीको आँसु बोकी केही रुँदै र केही हाँस्दै मुनातिर हेर्छे। यतिकैमा सुरभीलाई कलेजबाट फोन पनि आउँछ।
सुरभी फोन रिसिभ गर्छे। प्रिन्सिपलले फोन गरेका रहेछन्। एसियाली स्तरको अन्तर्राष्ट्रिय ओलम्पियाडमा कलेज छनौट भएको र अर्को महिना सुरभीको टिम जापान जाने बताउँछन्।
सबैजना खुसी हुन्छन्। सबैले सुरभीलाई बधाई दिन्छन्।
आमाले सुरभीलाई भन्छिन्, ‘अब त तेरो सपना पूरा भयो नि। अब धेरै कचकच नगर्नु, सन्तोकी हुनु। विदेशबाट आएपछि ज्ञानी भएर पढेस्। दिदी जस्तै राम्रोसँग पढेर राम्रो जागिर खानुपर्छ। धेरै यताउति गरेर केही पाइन्न हेर छोरी। छोरा मान्छे भा भए कुरा बेग्लै हुन्थ्यो। आखिराँ बिहे गरेर अर्काकै घर जाने हो। बरु आफ्नो एउटा जागिर भयो भने कसैको हप्कोदप्को सहनु पर्दैन।’
मुनाले सुरभीलाई अँगाल्दै आमालाई भन्छिन्, ‘भइहाल्यो नि आमा। यसको सपना थियो, केही ठुलो काम गर्ने। त्यो पूरा हुने भयो। देश विदेशमा नाम हुने भयो। पत्रपत्रिका, टिभी सबैतिर चर्चा हुने भयो। यसको पनि सपना पूरा भयो नि। अहिले यस्तो कुराहरू अब नगर्नु। हेर्नु त, कति खुसी छे मेरी बहिनी। आज त रमाइलो गर्ने दिन हो।’
सुरभी सबैको कुरा हाँस्दै सुन्छे। मुखले कसैलाई जवाफ फर्काउँदिन। तर उसको मनले सबैलाई जवाफ दिइरहेको हुन्छे, ‘अहिले कहाँ मेरो सपना पूरा भएको छ! यो त मेरो सपनाको आकाशमा पहिलो उडान हो। बल्ल मैले पखेटा खोल्दै छु। तिमीहरूको कल्पनाले पनि नभ्याउने गरी मेरो उडानको असीमितता हुनेछ। कसैले रोकेर कहाँ रोकिने हो र अब म। अब त म उड्ने हो, उड्ने नै हो। झन् माथि माथि, झन् पर पर।’