म आम नागरिक,
तिम्रो ढोका अगाडि उभिएको छु सदा
हातमा कुनै मागपत्र छैन
हृदयमा एउटा प्रश्न छ
सरकार! तिमी भन, म के गरिदिऊँ?
तिमी अभिभावक हौ
म तिम्रो जिम्मेवारीभित्रको सन्तान
तर सन्तान मात्र होइन,
सहयात्री पनि हुँ
देश बनाउने यात्राको लागि।
तिमी योजना बनाउँछौ
म त्यसलाई जीवन दिन सक्छु
तिमी नीति लेख्छौ
म त्यसलाई व्यवहारमा उतार्न सक्छु।
भन न सरकार
तिमिलाई सहयोग गर्न म के गरिदिऊँ?
के म कर समयमै तिर्दिऊँ?
के म नियम नतोडी बाटो हिँडूँ?
के म भ्रष्टाचारलाई ‘होइन’ भनिदिऊँ?
के म सत्य बोल्ने आँट गरूँ?
म तयार छु सरकार!
आफ्नो सुविधाभन्दा देश सोच्न
आफ्नो फाइदाभन्दा भविष्य रोज्न
तर तिमी पनि सुन
मौन बस्ने नागरिक होइन म।
म सोध्नेछु
किनकि प्रश्न बिना प्रगति हुँदैन
म बोल्नेछु
किनकि आवाज बिना परिवर्तन हुँदैन।
सरकार!
तिमी मार्गदर्शक हौ भने
म मार्गको यात्रु बनिदिन्छु
तर बाटो सही देखाऊ
म तिमीलाई साथ दिन तयार छु।
तिमी भन
म आम नागरिक के गरूँ?
म फोहोर नफालूँ? म फाल्दिनँ
तिमी भन,
म रुख रोपूँ? म रोप्छु
तिमी भन,
म देशप्रति इमानदार बनूँ?
म त्यसैमा गर्व गर्छु।
तर सरकार
तिमी पनि इमानदार बन
तिमी पनि पारदर्शी बन
किनकि अभिभावक सही भए
सन्तान स्वतः सही बाटोमा हिँड्छ।
आज फेरि सोध्छु
सरकार, प्रश्न शुभचिन्तकले गर्ने हो
तिमी भन, म के गरिदिऊँ?
तिम्रो सफलता मेरो पनि हो
देशको जित हाम्रो साझा सपना हो।