पोखराको बिहानहरूमा एउटा अनौठो शान्ति हुन्थ्यो। फेवातालको पानीमा परावर्तित हिमालझैँ उनीहरूको प्रेम पनि निर्मल देखिन्थ्यो क्षितिज र किरणको। काकाको ससुराली जाँदा भेटिएको त्यो सम्बन्ध कुनै सामान्य चिनजान थिएन, त्यो बिस्तारै परिवारले स्वीकारेको, सपनाले सिँचिएको र भविष्यले बोलाएको प्रेम थियो।
त्यति बेला समय उनीहरूको पक्षमा थियो। क्याफेका कुना, चिया पसलका सानो टेबल, ताल किनारका ढुङ्गा सबै उनीहरूको साक्षी थिए। ‘हामी विदेश गयौँ भने पनि सँगै हुन्छौँ नि! है?,’ किरण भन्थी। क्षितिज मुस्कुराउँथ्यो उसको मुस्कानमा विश्वास हुन्थ्यो, भरोसा हुन्थ्यो र एक प्रकारको बालसुलभ निश्चिन्तता।
‘पिआर लिएपछि त झन् रमाइलो जिन्दगी हुन्छ,’ किरणको आँखामा चमक हुन्थ्यो।
‘म त तिमीबिना केही सोच्नै सक्दिनँ,’ क्षितिजको स्वरमा कुनै नाटक थिएन, त्यो उसका लागि सत्य थियो। तर सपना र यथार्थबिचको दूरी कहिलेकाहीँ धेरै टाढा हुन्छ।
किरण विदेश जाने दिन एयरपोर्टको भीडमा क्षितिजले आँसु लुकाउने प्रयास गरिरहेको थियो। ‘छिट्टै बोलाउँछु, पर्ख है,’ किरणले हात समाउँदै भनिन्।
‘म त सधैँ पर्खिन तयार छु,’ उसले जवाफ दियो।
सुरुसुरुका दिनहरूमा सबै ठिकै थियो। भिडियो कलहरू, म्यासेजहरू, ‘मिस यु’ का म्यासेजहरू, भविष्यका योजनाहरू सबै पुरानै जस्तै लाग्थ्यो। समय फरक थियो तर मन अझै जोडिएको जस्तो थियो। तर केही वर्ष बित्दै जाँदा केही परिवर्तनहरू देखिन थाले। पहिला किरण आफैँ फोन गर्थी, अब क्षितिजले गर्नुपर्ने, कुरिरहनुपर्ने। पहिला सानो कुरा पनि सेयर हुन्थ्यो, अब मौनता बढ्दै गयो।
‘तिमी व्यस्त भयौ कि?’ क्षितिजले एकदिन सोध्यो। ‘हो, यहाँ काम धेरै छ, बुझ्नुपर्छ नि!,’ किरणको स्वर चिसो थियो।
त्यो चिसोपन पहिलो पटक महसुस भयो।
गाउँका साथीहरू भेट्दा कहिलेकाहीँ कसैले भन्थ्यो- ‘ओए, तेरो गर्लफ्रेन्ड अर्कैसँग लागेकी छ रे!’
क्षितिज हाँसिदिन्थ्यो, ‘तिमीहरूलाई अरूको खुसी देख्न मन लाग्दैन जस्तो छ। किरण त्यस्तो छैन।’
उसले अरूको कुरा कहिल्यै पत्याएन। किनकि उसले किरणलाई विश्वास गर्थ्यो अनि आफूले आफैलाई र किरणलाई आफ्नो सासभन्दा बढी।
केही समयपछि एकदिन सत्य आफैँ आइपुग्यो। त्यो साँझ सामान्य थिएन। क्षितिजले धेरै दिनपछि फोन गर्यो।
‘किरण, आज कुरा गर्न मन लाग्यो, धेरै दिन भयो,’ उसले नम्र स्वरमा भन्यो।
उता केही बेर मौनता छायो। ‘म अलि व्यस्त छु,’ किरणले छोटो उत्तर दिइन्।
‘कति व्यस्त हुन्छौ त? म तिमीलाई सम्झिन्छु…’
‘म पनि आफ्नो करियर बनाउँदै छु, सधैँ तिम्रो लागि समय निकाल्न सक्दिनँ,’ किरणको स्वर कडा भयो।
‘के हामीबिच केही बदलिएको छ?’ क्षितिजको स्वर काँप्दै गयो।
‘हो, बदलिएको छ। म अब फरक ठाउँमा छु, फरक सोचमा छु,’ किरणले भनी।
‘अनि म के गरूँ? यो सब झुट हो भन न किरण,’ क्षितिजले भन्यो।
‘तिमी… तिमी आफ्नो ठाउँमा ठिक छौ तर म अब अगाडि बढिसकेकी छु।’
त्यो शब्दहरू बिजुलीझैँ पर्यो।
क्षितिजलाई लाग्यो ऊ छाँगाबाट खस्यो। फोन हातबाट झर्यो। शरीर हल्का भयो तर मन भारी। आँखा अन्धकार भए र ऊ मुर्छित भयो। जब होस आयो घरको कोठामा थियो। आमाको चिन्तित अनुहार, बाबुको मौनता, दिदीबहिनीको आँसु सबै वरिपरि थिए।
‘के भयो बाबु?’ आमाले सोधिन्।
क्षितिजसँग उत्तर थिएन।
ऊसँग केवल एउटा प्रश्न थियो- ‘किन?
किरणका लागि उसले आफ्नो समय दिएको थियो, विश्वास दिएको थियो, भविष्य दिएको थियो। किरणसँग अब ती कुराहरूको कुनै मूल्य रहेनछ।
कहिलेकाहीँ प्रेममा हार्नु भनेको केवल सम्बन्ध टुट्नु होइन। आफ्नो विश्वास टुट्नु हो। क्षितिज टुटेको थियो। ऊ केवल प्रेमी मात्र थिएन। ऊ छोरा थियो, बाआमाको सहारा। ऊ दाजु थियो, दिदीबहिनीको तागत। ऊ एउटा घरको हौसला थियो।
उसले आँखा बन्द गर्यो। किरणका सम्झनाहरू आए। हाँसो, सपना, प्रतिज्ञा… ती सबै अहिले केवल विगत थिए। ‘म सक्दिनँ…’ उसले मनमनै भन्यो। त्यसै क्षण, आमाको हात टाउकोमा आयो। ‘तिमी बलियो छौ बाबु,’ त्यो शब्दले केही परिवर्तन गर्यो। समय बित्दै गयो। घाउहरू पुरिँदै गए तर दाग बाँकी रहे।
क्षितिज फेरि उभिन सिक्दै थियो।
ऊ अब पहिले जस्तो थिएन। सायद अझै गहिरो थियो, अझै परिपक्व थियो। उसले बुझ्यो। सबै प्रेमहरू अन्त्यसम्म पुग्दैनन्। कतिपय प्रेमहरू केवल सिकाउनका लागि आउँछन्। किरणले उसलाई छोडिन् र त उसले आफूलाई फेला पार्न थाल्यो।
एकदिन फेरि फेवातालको किनारमा ऊ एक्लै बस्यो।
पानीमा परावर्तित हिमाल हेर्दै भन्यो- ‘सपना टुट्न सक्छन् तर जीवन रोकिँदैन।’ क्षितिज फेरि उठेको थियो। टुटेको भए पनि, अझै आकाशतिर फैलिन तयार। उसले आकाशलाई भन्छ- तिमीले नेपालमा मेरो मायाले छोपेको डाहले होला। विदेशमा लगेर आफू जस्तै खुला बनाएर आखिर पन्छी उड्न दियौ। एउटै प्रश्न उसको मनमा छ- साँच्चिकै त्यो वैदेशिक हावापानीमा त्यस्तो के छ जसले बलिया सम्बन्धहरूलाई सजिलै टुटाउने गर्छ?