मैले गरेको प्रेम पाप हुने भए,
मैले छरेको निशानी दाग हुने भए,
किन रोप्थेँ र म मुटुभरि तिम्रो याद?
किन सजाउँथेँ सपनाको रमानामा
तिम्रो नामको प्रेमाभास?
किन भरोसा गर्थेँ र तिमीमा!
बरु आऊ—
रंगाइदेऊ मलाई
त्यस्तो प्रेमको रङले
जहाँ म बेप्रवाह हराउन सकूँ
जहाँ सम्झनाहरूको भेलमा
म आफैँलाई बिर्सिन सकूँ।
सम्बन्धको नकाब ओढेर
किन प्लेटोनिक प्रेमको अभिनय गर्नु?
यदि प्रेम नै थियो भने
किन जालझेललाई अङ्गीकार गर्नु?
सायद तिमीले प्रेमको अर्थ बुझेनौ
वा बुझेर पनि
मलाई बुझाउन सकेनौ।
किनकि—
कसैलाई प्रेम गर्नु
र प्रेमीको बोझ उठाउनु
दुई फरक कुरा हुन्।
सबै प्रेम गर्नेहरू प्रेमी नहुन सक्छन्
सबै प्रेमीहरू प्रेम नगर्न पनि सक्छन्—
बस्, त्यो अज्ञात समयले निर्धारण गर्छ।
सबै प्रेम सफल हुन्छन् भन्ने पनि छैन
सबै सफल प्रेम सुखद हुन्छन् भन्ने पनि छैन
सायद प्रेम हुनु र प्रेम गर्नुको औचित्य
प्रेमबाट विक्षिप्त हुनेले मात्र थाहा पाउँछन्।
प्रेमको मापन शब्दले हुँदैन
न त वाचा र देखावटी समर्पणले
प्रेम त—
मौनतामा उम्रिने विश्वास हो
समर्पणमा फुल्ने भावना हो।
किनकि अन्ततः
प्रेमको अर्थ बुझ्नेहरू
प्रेम गुमाएर पनि
प्रेमलाई कहिल्यै दोष दिँदैनन्।