उनलाई पहिलो पटक देख्दा... भाग- २
यस पटक त पक्कै भन्छु— दिलको कुरा, मनको कुरा।
त्यो दिनको एक मात्र पछुतो रह्यो— छाता त दिएँ तर न आफ्नै नाम सुनाएँ, न उनको नाम सोधेँ। साँच्चै, त्यो क्षणमा मेरा मन–मस्तिष्क प्रेमको चक्रव्यूहमा परेको थियो।
काश! हामी चाँडै फेरि भेट हुन पाऊँ त्या...
यी नै ख्यालहरूको द्वन्द्व मनमा बोकेर म बजारतर्फ लागेँ। सिमसिम पानी परिरहेकै थियो तर पनि उनीसँग भएको भेटले मनमा बगेको प्रेमको बाढीका कारण बाहिरी वातावरणको चिसो मलाई महसुस नै भएन।
उनीसँग फेरि भेटिन्छु कि भनेर मैले उनलाई पछ्याउने प्रयास गरेँ र केही बेरपछि बजारमा पुगेँ। म चिया पसल नजिक गएँ र यता–उता उनलाई खोजेँ, तर उनी कतै देखिइनन्।
चिया पसले दाइलाई मैले सोधेँ— ‘के कुनै व्यक्तिले यहाँ आएर तपाईंलाई छाता छोड्नु भएको छ?’
चिया पसले दाइले भन्नुभयो— ‘हजुर, उम्… उ त्यहाँनिर छ लिनुस्।’
मैले छाता लिएँ र त्यहाँबाट हिँडेँ। त्यत्तिकैमा फेरि पानी पर्न थाल्यो। मैले छाता खोलेँ। छाता खोल्दा भित्रबाट एउटा फूल र चिठी भुइँमा खस्यो।
मैले दुवै उठाएँ र ओततर्फ गएँ।
चिठीमा लेखिएको थियो— ‘धेरै–धेरै धन्यवाद… सायद हाम्रो फेरि भेट होला।’
उफ्! मलाई यति खुसी लाग्यो कि कुरा नै छोडौँ। आठ वटा शब्द मात्रै थिए— सामान्य लाग्ने, तर तिनको प्रभाव यस्तो थियो कि मेरो मनमै गहिरिएर बस्यो।
अनि प्रश्नहरूको बाढी आयो— आखिर उनले ‘भेट होला’ किन भनिन्? नभनेको भए पनि त हुन्थ्यो।
सायद उनले पनि मलाई मन पराइन्… सायद मेरो जस्तै भावना उनको मनमा पनि आयो।
फेरि लाग्यो— ‘हैन होला… सायद सहयोग गरेको भएर मात्र भनेकी होलिन्।’ या भन्नकै लागि मात्र भनेकी होलिन्।
यदि साँच्चै भेट्न मन लागेको भए उनले आफ्नो नम्बर छोड्थिन् होला वा ठेगाना… आफूलाई जोड्ने केही न केही सूत्र त दिन्थिन् होला। तर… पहिलो भेट पनि त एक्कासि भएको हो। सायद प्रकृतिले चाहे फेरि भेट होला।
भगवान्… यति धेरै ख्यालहरू आए, प्रश्नमाथि प्रश्नहरू आए— के कुरा गरूँ?
यी अनि यस्तै सोच मनमा बोकेर बसेको बेला नै उनले दिएको फूलमा मेरो ध्यान गयो। छाता खोल्दा भुइँमा खसेको कारण फूलमा हिलो लागेको थियो। दाग फूलमा लागेको थियो, मन मेरो धमिलो भयो। ठुलो पाप गरेजस्तो लाग्यो।
त्यो फूललाई मैले हत्त न पत्त त्यही आकाशको पानीले पखालेँ र चुमेँ। डुब्न लागेको डुङ्गालाई पतवारले पार लगाएको जस्तो मलाई लाग्यो— मेरो प्रेमको डुङ्गालाई पनि यही फूलले पार लगाइदिन्छ।
पानीले चिसो भएको त्यो फूललाई मैले आफ्नो मुटुको धड्कन सुनाएँ। मलाई उनलाई नै अँगालोमा बाँधेको जस्तो महसुस भयो।
आहा! त्यो आभास, त्यो अनुभूति, त्यो क्षण— कसरी वर्णन गरूँ र, खै?
मैले बजारमा गर्न आएको सबै काम छोडेर फेरि घर जाने निधो गरेँ र त्यहाँबाट हिँडेँ।
‘सुन्नुस् न…’ हिँडिरहेका पाइला रोकिए। पहिले पनि सुनेजस्तो लाग्ने आवाज…
ओहो! यो त उनकै आवाज हो।
उनी हुन् कि होइनन् होला?
मलाई भ्रम लागेको होला…
त्यत्तिकैमा फेरि— ‘ओ हेल्लो, सुन्नुस् न!’
म आँखामा आशा बोकेर पछाडि फर्किएर हेरेँ, उनी नै रहिछिन्।
म फेरि एकोहोरिएँ।
‘तपाईंलाई धन्यवाद… आज तपाईंका कारण मेरो ठुलो काम पनि बन्यो नि।’
मैले पनि भनेँ— ‘उम्… मेरो पनि ठुलो काम बन्यो तपाईंका कारण।’
‘हो र? के नि?’ उनले सोधिन्।
मसँग त्यसको जवाफ थिएन।
‘छ… कुनै दिन भनौँला।’
‘ओहो! अहिले भन्न नहुने त्यस्तो के काम बनेछ त तपाईंको?’
‘भन्नु त के हो… समय आएपछि भनौँला नि,’ फेरि भेट हुन्छ कि हुँदैन थाहा छैन तर पनि समय आएपछि भनेर वाचा दिने मेरो आत्मविश्वासलाई त मान्नै पर्छ।
‘के भन्नु हुन्थ्यो, हुनु त म अनजान मान्छे।’
त्यो ‘अनजान’ शब्द सुन्ने बित्तिकै मेरो मनमा चोट पुग्यो। भक्तले भगवानलाई अनजान मान्छ होला र? मेरो प्रेमकी देवीलाई म कसरी अनजान मान्न सक्छु होला र ?
‘तपाईंको नाम के हो नि?’ उनले सोधिन्।
‘अभि… अभिषेक सुनार,’ मैले जवाफ दिएँ, ‘अनि तपाईंको…?’
उनले आफ्नो नाम बताइन्।
उनको नाम नक्षत्रसँग मिल्दो थियो— जुन नक्षत्र मेरो कुण्डलीमा अहिले प्रेम बनेर बसेको छ।
‘आहा, कति राम्रो नाम तपाईंको,’ मैले भनेँ।
‘उम्… नाम मात्रै राम्रो अनि मान्छे नि?’
‘मान्छे त देवीजस्तै,’ मैले भनेँ।
‘कुरा गर्न त खुब आउँदो रहेछ है!’
‘हैन, सत्य कुरा गरेको,’ हल्का मुस्कानसहित भनेँ।
‘अनि मम्मीलाई भेट्नुभयो?’
‘उम्… मम्मीलाई भेटेँ अनि यताका काम सकेर मम्मी घर जानुभयो। म साथीलाई भेट्न भनेर जान लागेको थिएँ, त्यत्तिकैमा तपाईं जस्तो लागेर बोलाएँ— ठ्याक्कै तपाईं नै हुनुहुँदो रहेछ।’
‘ओहो! कसरी चिन्नुभयो त एकै पटक भेटेको मान्छेलाई पनि?’
‘त्यति पनि कमजोर छैन मेरो मस्तिष्क कि भर्खर भेटेको मान्छेलाई बिर्सौँ,’ उनले सहज रूपमा भनिन्, ‘हुन्छ है त, म लागेँ—बाई!’
यसरी टाढा जाने कुरा नभन भन्न मन लागेको थियो, तर सकिनँ।
‘सुन्नुस् न… हामी सँगै चिया पिउन सक्छौँ?’ मैले हिम्मत गरेर भनेँ।
‘के हो अभिषेक जी, छाता दिएको भरमा मेरो अमूल्य समय पाइन्छ र?’
म निराश भएँ। त्यो देखेर उनी हाँस्दै भनिन्— ‘ठट्टा गरेको… हुन्छ, तपाईंलाई मेरो समय दिएँ सित्तैमा। जाऊँ, हिँड्नुस्।’
हामी नजिकैको चिया पसलमा गयौँ।
दुई कप सेतो चिया मगायौँ।
‘साँच्चै, तपाईंको साथीको घर यहीँ नजिकै हो?’
‘उम्… तल पिपलको रुखको छेउमा हो।’
‘ए, ए… अनि सँगै पढेको साथी कि के मतलब?’
‘हैन… मेरो हुनेवाला श्रीमान्, इन्गेजमेन्ट भइसक्यो। त्यही बिहेको किनमेलको लागि जान लागेको।’
त्यो सुन्ने बित्तिकै म स्थिर भएँ। त्यो क्षण वर्णन गर्न मसँग शब्द नै छैन। आँखाभरि आँसु भरिन लागे।
त्यत्तिकैमा उनी फेरि हाँस्दै भनिन्— ‘हैन, हैन… मजाक गरेको! मेरो सँगै पढ्ने साथी हो।’
यो सुन्दा मानौँ मेरो सास कसैले फिर्ता दिएजस्तो भयो, म फेरि जीवित भएँ।
‘उफ्! तपाईंको मजाकले त कसैको एक दिन ज्यान नै लेला हजुर,’ मैले भनेँ।
‘मजाकमै ज्यान जाने मुटु कति कमजोर होला हजुर!’ उनले हाँस्दै जवाफ दिइन्।
त्यत्तिकैमा चिया पनि आयो।
‘अनि तपाईंको घर कता हो नि?’ उनले सोधिन्।
‘त्यहीँ माथि चोकबाट दायाँ गएर बरको रुखको छेउमा रहेको पसल नजिकको घर।’
‘ओहो! यति ठ्याक्कै त गुगल म्यापले पनि भन्न सक्दैन होला नि, यति डिटेलमा किन भन्नुभएको नि?’ उनले हाँस्दै भनिन्।
‘तपाईंलाई पत्ता लगाउन सजिलो होस्, कुनै कष्ट नहोस् भनेर नि,’ मैले मन्द स्वरमा भनेँ।
‘के रे के रे?’ उनले सोधिन्।
‘चिया कस्तो मिठो है?’ मैले कुरा फेरेँ।
‘अनि तपाईंको घर नि?’
‘मेरो त बगरमा शिव मन्दिर छ नि, त्यहीँ नजिक हो।’
उनको र मेरो घरको दूरी २२–२३ मिनेटको मात्र होला तर हामी भेट हुन २३ वर्ष लाग्यो।
अलि चाँडै भेट भएको भए…
त्यत्तिकैमा उनी भनिन्— ‘हवस्, तपाईंलाई भेटेर खुसी लाग्यो। म अहिले जान्छु है, साथी पर्खिरहेकी छ।’
‘जानु हुन्छ र? अझै केही बेर बस्न मिल्दैन?’
मलाई लाग्यो— उससँग वर्षौँको चिनजान छ, कुनै हिचकिचाहट बिना नै सोधेँ।
उनले मुस्कुराउँदै भनिन्— ‘भाग्यमा भए धेरै–धेरै बेर बसौँला नि, अभिषेक जी…’
उनका ती केही शब्द नै मलाई सबथोक मान्नका लागि पर्याप्त थिए।
म कसरी नकार्न सक्थेँ र?
‘हुन्छ…’ मात्रै भन्न सकेँ।
उनी उठेर जाँदा मेरो काँधमा हात राखेर गइन्— मानौँ उनले हात होइन, आफ्नो जिम्मेवारी नै राखेर गइन्। उनलाई सम्झिरहने, उनलाई अरूबाट जोगाएर आफ्नै बनाउने जिम्मेवारी…
उनी जाँदै गर्दा बसेकै ठाउँबाट म उनलाई हेरिरहेँ। अलि पर पुगेर उनी फर्किन् र भनिन्— ‘मैले दिएको फूल सम्हालेर राख्नु है।’
‘धत्! यो पनि भन्नु पर्ने कुरा हो?’
आफूलाई भन्दा बढी म तिमीले दिएको फूललाई सम्हाल्छु। तर तिमी चाहिँ फेरि भेटिनु। फूल ओइलिनु भन्दा पहिले, यादहरू धमिलो हुनु भन्दा पहिले।
गङ्गाजलले कर्ता चोखिएझैँ, उनको एक स्पर्शले म शुद्ध भएझैँ लाग्यो।
भौँतारिँदै हिँडेको त्यो भक्तले भगवान् भेटेजस्तो, उनलाई भेट्दा मैले आफूलाई नै पहिलो पटक भेटेझैँ लाग्यो।
अब फेरि कहिले भेट होला भनेर प्रश्न उठ्न थाल्यो। म फेरि त्यहीँ शब्दहरूको द्वन्द्वमा परेँ। प्रेमको यात्रा यसरी ढिलो अघि बढ्दा डर पनि उत्तिकै लाग्दो रहेछ। तर फेरि सोच्छु— छिटो अघि बढेर विखरिनुभन्दा बरु यात्रा नै लामो होस् तर पूर्ण रूपमा सम्हालिएको होस्।