गुराँसभन्दा सुनाखरी मन पराउने म
फाँटभन्दा डाँडा मन पराउने म
चिसो बतासले मेरो अनुहार छुँदा
आँखा चिम्म गरी बतासको स्पर्शमा
रमाउने म
छोरी मान्छे भएर यो त्यो गर्नु हुँदैन
आमाले भन्दा पनि
बादल जस्तै स्वतन्त्र
कहिले यो डाँडा कहिले त्यो डाँडा
घुमी हिँड्ने म
अझै
सेतो हिमाल देखिने देउराली
भनेपछि त
हुरुक्कै हुने म
यहाँ खाडीमा
शौचालय पो मन पराउन थालेछु
कमोड सफा राख्छु
बेसिन झनै सफा राख्छु
भुइँ त्यस्तै
अनि
शौचालयको ढोकाको चुक्कुल पनि
डाँडापाखामा जति ठुलो रुख भए पनि
घाँस झार्न सक्ने म
दाउराको सबैभन्दा ठुलो भारी
बोक्न सक्ने म
मकै रोप्दा, कोदो रोप्दा
सबैभन्दा छिटो हात चलाउने म
यहाँ खाडीमा
के-के मेसिन हुने रहेछ
काम गर्दा गर्दै
कति ठाउँमा काम बिग्रिने रहेछ
सानो काम बिग्रिँदा पनि
नबुझिने भाषामा
ठुला-ठुला आँखा बनाउँदै
कानै खाने गरी कराउँछन् यहाँ
ती आवाजहरू कान हुँदै
मनसम्म पुग्दा रहेछन्
यो मन पनि!
भाषा नबुझेपछि त
भाव पनि नबुझ्नु नि!
बुझ्दो रहेछ
म प्रतिको रिस, आक्रोश, अवहेलना
सप्पै सप्पै
यताउता हेर्छु
कोही देख्दैन आफ्नाहरू
ती कराउने पात्र हुन्जेल
अहँ!
अनुहार नै उठाउँदैन
एकटक भुइँमै हेरिबस्छु
मन दुख्नासाथ पिलपिल
आँसु चुहाउने म
आजकल घण्टौँ आँसु रोक्न सक्छु
ती पात्र गएपछि मात्र
आँखा भित्रै आँसु रोकी
अनुहार उठाउँछु
यताउता हेर्छु
हातको मोब लिएरै
सधैँ-सधैँ झैँ
शौचालय जान्छु
ढोकाको चुक्कुल लगाउँछु
बेसिनको धारा खोल्छु
कमोडको कभर घोप्टाउँछु
थचक्क बस्छु
कहिले डाँको छोडेर आमा सम्झिँदै रुन्छु
कहिले भुइँमा थचक्क बसेर
घ्वाँ-घ्वाँ घर सम्झिँदै रुन्छु
शौचालय मात्र हो यहाँ
जहाँ म खुल्ला रूपले ‘म’ हुन सक्छु
जहाँ दिल खोलेर म रुन सक्छु
लालीगुराँस भन्दा सुनाखरी मन पराउने म
यहाँ खाडीमा
शौचालय पो मन पराउने भएछु।