कालो केश झरी मजाक रमिता बन्दैछ मेरै शिर
खुट्टो जान्नँ म भन्छ आज डरले आफ्नै करेसातिर
आँखा हेर्दिनँ भन्दछन्, भनिरहे यी हातले चल्दिनँ
मेरो आयु जसै भयो मुलुक यो खुम्चिन्छ दैनन्दिन।
मेरै टाँक सिलाउने निहुँ झिकी बाँडेर धागो सियो
भित्ता खोप्न सदा सदा सहजले पल्लाघरे पल्कियो
ए प्यारा जन हो बुझौँ अब उठौँ के उफ्रने गर्तमा
नौलो सूर्य बिहानको सुदिनको फर्काउने सर्तमा।
काला रात हटाउँदै वचनले वैषम्य चिर्ने भए
हाम्रा दुख भएर दूर सुखका स्वर्णाभ फिर्ने भए
मेरो देश हिँडेन जागरणको बाटो म भन्ने थिएँ
आफैँ मस्त सुती सुती मुलुक यो ब्युँझन्न भन्ने थिएँ।
आऊ आज विकासको प्रण गरौँ पोखौँ यतै पौरख
फर्की देश मिली छरौँ मगजमा सचेतना सौरभ
तीता पृष्ठ विभेदका विगतका च्यातेर फालौँ अब
आशा, सक्षमता र पौरख भरी झन्डा उचालौँ अब।