साँझ पर्ने लागेको थियो। झ्यालबाट छिरेको सुनौलो घाम बिस्तारै कोठाको भित्तामा सर्दै थियो। घर नितान्त शान्त थियो। त्यो शान्ति कहिलेकाहीँ यस्तो लाग्थ्यो, मानौँ घरमा कोही छैन। तर घर खाली थिएन।
बैठक कोठाको एउटा कुर्सीमा विजय बसिरहेको थियो। उसको हातमा अखबार थियो, तर आँखाले शब्दहरू पढिरहेको थिएनन्। भान्सामा रेखा थाल कचौरा मिलाउँदै थिई। भाँडाको हल्का आवाज बाहेक घरमा अरू कुनै ध्वनि थिएन।
कहिलेकाहीँ यस्तो पनि हुन्थ्यो दुवै एउटै कोठामा तर संसार फरक-फरक हुन्थ्यो। एक समय थियो यही घर हाँसोले भरिन्थ्यो। सानो कुरामा पनि उनीहरू घण्टौँ कुरा गर्थे। राति अबेरसम्म भविष्यका सपना बुन्थे। विजयले रेखालाई मिठो चिया बनाइदिन्थ्यो भने रेखाले उसको मनपर्ने गीत बजाइदिन्थी।
घरको वातावरण अत्यन्त न्यानो, शान्त र खुसीले भरिएको हुन्थ्यो। घरमा बिहानको सुरुवात नै फरक हुन्थ्यो। बिहानको पहिलो घाम झ्यालबाट घरमा छिर्दा केवल उज्यालो मात्र होइन, सकारात्मक ऊर्जा पनि घरभरि फैलिन्थ्यो। विजय र रेखाबिच सानो मुस्कान र सुप्रभात भन्ने शब्द र एकअर्काप्रति देखिएको सानो चासोले उनीहरूको दिनलाई सुन्दर बनाइदिन्थ्यो।
घरमा हाँसोको आवाज धेरै सुनिन्थ्यो। कहिलेकाहीँ सानो मजाक, पुराना सम्झनाका कुरा यी सबैले घरलाई जीवित बनाइरहेको हुन्थ्यो। अफिसबाट थकित भएर घर फर्किँदा श्रीमतीको एक मुस्कानले क्षणभरमै थकित शरीरलाई शान्ति दिन्थ्यो र दिनभरको घरको कामले श्रीमान्को सानो सहाराले रेखालाई ऊर्जा दिन्थ्यो। घरमा भएका बच्चाले पनि प्रेम र सम्मान सिक्थ्यो।
तर समयसँगै केही परिवर्तन भयो। कहिले भयो, कसरी भयो दुवैलाई थाहा भएन। अब उनीहरूबिच कुरा त हुन्थ्यो तर केवल आवश्यक कुरा मात्र- चिया खायौ? बत्ती बन्द गरिदेऊ। भोलि म ढिलो आउँछु। मलाई भोली खाना नबनाउनू। त्यसभन्दा बढी अरू केही हुँदैनथ्यो। उनीहरू आँखा जुधाउन पनि चाहन्नथे।
एक रात रेखाले अचानक आफ्नो श्रीमानलाई भनी ‘विजय तपाईँलाई लाग्दैन हाम्रो बिचमा केही थियो तर आज हराइसक्यो?’
विजयले केही बेर रेखाको अनुहारमा हेरिरह्यो। उसको आँखामा थकान थियो र अलिअलि पीडा पनि। तर विजयले केही बेरको मौनतापछि बोल्यो, ‘सायद समय बदलियो।’
त्यो उत्तरपछि घरमा फेरि शान्ति छायो। दिनहरू बित्दै गए। उनीहरू भौतिक रूपमा सँगै थिए तर भावनात्मक रूपमा धेरै टाढा भइसकेका थिए। उनीहरूको सम्बन्ध कागजमा जीवित थियो तर मनभित्रको सम्बन्ध धेरै अघिदेखि नै समाप्त भइसकेको थियो।
उनीहरूबिचको संवाद, माया र नजिकपन बिस्तारै हराइसकेको थियो। दाम्पत्य जीवन खल्लो र निरस थियो। उनीहरूको दाम्पत्य जीवन खल्लो र उजाड हुनुको पछाडि यदाकदा विजयको नै हात छ।
एक वर्ष अगाडिका कुरा हो। एक रात रेखा झ्यालछेउ उभिएर बाहिर हेर्दै थिई। सडकको बत्तीको उज्यालो भुइँमा फैलिएको थियो। विजय नुहाउन बाथरुम छिरेको थियो। टेबलमाथि उसको मोबाइल राखिएको थियो। अचानक मोबाइलको स्क्रिन बल्यो नयाँ सन्देश आएको रहेछ।
रेखाको ध्यान अनायासै विजयको मोबाइलतिर गयो। उनी सामान्यतया विजयको मोबाइल नहेर्ने मान्छे। तर त्यो दिन उनलाई विजयको मोबाइल हेर्न मन लाग्यो। उनले मेसेज हेरिन्। मेसेजमा लेखिएको थियो- ‘हिजोको डेटले मलाई त कस्तो ह्याङ बनाइरहेको छ। तिमीलाई केही भएको छैन माई डियर?’
त्यो मेसेजले रेखाको मनभित्र अचानक हुरी नै ल्याइदियो र धेरै प्रश्नहरू मनमा उब्जायो। उनी छाँगाबाट खसेजस्तै भइन्। हिजो विजय अफिसको कामले बाहिर गएको र आफू घर नआउने कुरा रेखालाई भनेको थियो। उनी झसङ्ग भइन्। अफिसको कामले बाहिर जाने काम छ भन्दै अरू कसैसित डेटिङ गएको कुरा त्यो मेसेजमार्फत थाहा पाइहालिन्।
उनको मनमा अनेक तर्क वितर्क र प्रश्नहरू घुम्न थाले। उनलाई भाउन्न भयो। विजयको विभिन्न गतिविधि क्यामेराको रिल जस्तै रेखाको दिमागमा घुम्न थाल्यो। केही समयदेखि श्रीमान् अलि व्यस्त देखिन्थे। कहिलेकाहीँ मोबाइलमा मुस्कुराइरहेका पनि देखिन्थे। केही त पक्कै छ भन्दै उनको मन दुई भागमा बाँडिएजस्तो भयो। एक भाग शंकाले भरिएको अर्को भाग विश्वासलाई सम्हाल्न खोजिरहेको जस्तो।
बाथरुमको ढोका खुल्यो। रेखाले मोबाइललाई हत्तपत्त फेरि टेबलमै राखिन्। जस्तो कि उनले केही देखेकी छैनन्। तर उनको आँखामा एउटा मौन प्रश्न थियो जुन प्रश्न अझै शब्दमा व्यक्त गरेकी थिइनन्।
विजयले मोबाइल खोलेर हेर्यो। सायद उसले कसैको मेसेजको पर्खाइमा थियो होला। नभन्दै उसले आफ्नो मोबाइलमा मेसेज आएको देख्यो र त्यो मेसेज हेरिएको देख्यो। ऊभित्र डर पैदा भयो। गोप्य मेसेज एकाएक हेरेको देखियो। उसको होस-हवास उड्यो। मुटु एकछिन तेजले धड्कियो। अब के हुन्छ? भन्ने सोचले उसको मन भरियो। त्यसपछि लज्जाको भावना आयो। तर पनि उसले श्रीमतीको अगाडि केही नभएको जस्तो गर्यो।
श्रीमतीको आँखामा देखिएको मौनताले उसलाई असहज बनायो। त्यो क्षण उसको मनमा पछुतो पनि जाग्यो। किन यस्तो भयो? मैले किन यस्तो सम्बन्ध बनाएँ भन्ने प्रश्नहरू विजयको मनभित्र उठिरह्यो। उसको मनमा आफ्नो गल्ती लुकाउने इच्छा पनि नआएको होइन। अब कसरी कुरा मोड्ने? यो माहौललाई कसरी सामान्य बनाउने? ऊ सोचमग्न भयो।
अर्कोतर्फ उसको मनमा सम्बन्ध टुट्ने डर पनि थियो। परिवार, वर्षौँको साथ, सँगै बिताएको सम्झना यी सबै गुम्ने सम्भावनाले विजयको मन भारी भएर आयो। रेखा केही बोलेकी थिइनन्। तर उनको मौनता नै सबैभन्दा गहिरो प्रश्न बनेको थियो।
रेखाको त्यो मौनतालाई महसुस गरिरहेको थियो। त्यो मौनताले उसलाई आफ्नै व्यवहार र सम्बन्धको मूल्यबारे सोच्न बाध्य बनाइरहेको थियो। त्यो क्षण उसको मनमा डर, पछुतो, असहजता र अनिश्चितता सबै भावना एकसाथ उठिरहेको थियो।
रेखा केही नबोली खाना पस्की। विजयले भन्यो, ‘के भयो तिमीलाई? किन नबोलेकी?’
रेखाले मलिन अनुहार लाएर काँपेको स्वरमा भनी, ‘हिजो तपाईं कहाँ जानुभएको थियो?’
विजयले निर्धक्कले भन्यो, ‘तिमीलाई भनेको थिएँ नि अफिसको कामले बाहिर गएको कुरा।’
रेखाले ठुलो आवाजमा झुट भनेर थाल बजाई र आफूले उसको मेसेज हेरेको र उसको कसैसँग अफेयर चलेको कुरा बताई। विजयले कुरा मोड्न खोज्यो। उसको बोली लरखरायो।
‘यो तिम्रो भ्रम हो। अरूलाई पठाएको मेसेज मलाई आयो होला। तिमीले गलत बुझ्यौ। तिमीले ममाथि अनावश्यक शंका गर्यो। नचाहिने कुरा बढाइरहेकी छौ,’ विजयले केही रिसाएको भावमा झन् उल्टै रेखालाई, ‘तिमी किन यति शंकालु छौ?’ भनेर प्रश्न गर्छ।
उल्टै रेखाको भावनामा चोट पुग्ने गरी ‘हो, त्यो मेरो गर्लफ्रेन्ड हो तिमी पत्याउँछौ’ भनेर नानाभाँती स्वगान अलाप्छ। रेखा मौन रहन्छे।
हो, त्यही घटनापछि विजय र रेखाबिचको सम्बन्ध अलि चिसिएको छ। उनीहरूबिच संवाद पनि थोरै हुन थालेको छ। विजय प्रायः मोबाइलमा व्यस्त हुन्छ। मोबाइलमा फोन आउँदा खुसुक्क कौसीमा जान्छ। या त फोन काट्छ। विजयको यो गतिविधि देखेर रेखा भित्रभित्रै पिल्सिएकी छे।
एक्लोपन र शंका नै शंकाले घेरिएको सम्बन्धबिच ऊ बाँच्न विवश छे। विजय भने आफ्नै दुनियाँमा रमाइरहेको छ। आजभोलि त झन् घरमा सानो बच्चाको समेत पर्बाह छैन। रेखा दोधारे मन लिएर बसेकी छे। उसको मनमा केही भएको पनि र केही नभएको जस्तो पनि लागिरहेको छ। बच्चा सानै छ। जाऊँ भने कहाँ जाऊँ। यी सबै सत्य हो या भ्रम तर विजयको गतिविधिले सबै कुरा बताइरहेको छ। रेखा यी सब टुलुटुलु हेर्न बाध्य भएकी छे।
रेखा र विजय मन र भावना सँगै जोडिएको जोडी, तर मनहरू नजोडिएको धेरै समय भइसकेको थियो। रेखालाई यो भ्रम हो कि सत्य हो आफ्नै सम्बन्धमा अन्यौलता थियो। विजयको दिन प्रतिदिन शंकास्पद गतिविधिले रेखालाई दिक्क बनाइरहेको थियो एकातिर, मन खिन्न बनाएर आफ्नो मनलाई बुझाइरहेकी थिई। विजय भने केही नभएको जस्तो गरिरहेको थियो र रेखासँग सवाल जवाफ गर्नबाट सधैँ पन्छिन्थ्यो।
एक दिन रेखा बेलुकीपख किनमेल गर्न बजारतिर निस्केकी थिई। अचानक आफ्नो अगाडि विजयलाई एउटी केटीसँगै हात समातेर आइरहेको देखी। विजयले त्यो केटीलाई भनिरहेको थियो- ‘आज म तिमीलाई यो बिग मार्ट घुमाउँछु।’
केटी मक्ख परेर हिँडिरहेकी थिई। त्यसै बखत अचानक उसको नजर चिनारु अनुहारमा पर्यो। उनी रेखा थिइन्। विजय स्तब्ध भयो रेखालाई देखेर। उनीहरू आमनेसामने भए। रेखाको आँखामा आश्चर्य, शंका र पीडाको मिश्रण देखियो। विजयको मुटु जोडले धड्क्यो।
‘तिमी यहाँ के गर्न आएकी?’ भनेर रेखालाई सोध्यो।
त्यो केटी फटाफट कता हराई हराई।
रेखाले ‘त्यो केटी को हो र मलाई देख्ने बित्तिकै किन भागी?’ भनेर सोधी।
विजय केही कुरा थाहा नपाएझैँ गरेर ‘को केटी’ भनेर उल्टै रेखालाई प्रश्न गर्छ। विजयले बाटोमा कोही अनजान मान्छे होला भनेर कुरा टार्न खोज्छ। झुटो सफाइ दिन खोज्छ।
विजयको अनुहार रातो भयो। ऊ झुटो बोलिरहेको छ भन्ने कुरा उसको हाउभाउले बताइरहेको थियो। विजयको यो कुरा सुनेर रेखाको मन कुँडिएर आउँछ। रेखाको मनमा हजारौँ प्रश्नहरू उर्लिए। तर उनले झगडा गरिनन्। शान्त स्वरमा भनिन्, ‘ठिक छ घर जाऔँ।
रेखाको मनमा बसेको शंका हट्दै हटेन। सँगै कुरा गर्दै आइरहेको आफ्नै आँखाले देखेको तर श्रीमानले ठाउँको ठाउँ झुट बोलेको देख्दा रेखाको आशा भरोसा मरेर गयो। ऊ केही बोल्न सकिन।
त्यो साँझ घरमा कुनै ठुलो आवाज भएन। कुनै झगडा भएन। तर मौनता धेरै गहिरो थियो। राति अनेक कुरा सोच्न थाल्छे। रेखाको निन्द्रा हराउँछ। विजयको बाहिरी सम्बन्ध छ भन्ने कुरा अब रेखाले थाहा पाइसकेकी छे। विजय भने मस्त निन्द्रामा छ।
बिहानपल्ट रेखाले ऐनामा आफ्नो अनुहार हेरी। आँखा थाकेका थिए। ओठमा बनावटी मुस्कान। उसलाई आफैलाई देखेर खिन्न लाग्यो। उसको मनमा हजारौँ कुराहरू खेल्न थाले। उसले सोची, कति दिन हामी यसरी बस्ने? विजय पहिला जस्तो पटक्कै छैन। दिन प्रतिदिन मरेर बाँच्नुभन्दा मेरो जिन्दगी मेरै तरिकाले जिउँछु भन्दै उसले सोच्न थाल्छे।
त्यो दिन ठुलो पानी परिरहेको थियो। झ्यालबाट पानीका थोपा झर्दै थिए। त्योभन्दा ठुला आँसुको थोपा रेखाको आँखाबाट झर्दै थिए। ऊ एकोहोरो आँसु पुछ्दै पानीको थोपा हेर्दै आफ्नो सम्बन्ध पनि बिना आवाज, बिना घोषणा बिस्तारै तल झरेको आभास गर्दै थिई।
कहिलेकाहीँ सत्यभन्दा पनि लुकाउन खोजिएको कुरा नै सम्बन्धलाई तोड्ने कारण बन्दो रहेछ। आफूमा के कमी छ भन्दै मनलाई बारम्बार प्रश्न गर्दै थिई। रेखाले सम्बन्धलाई बचाउन अनेक प्रयास गर्छे तर विफल हुन्छे। विजयलाई प्रत्येक पल्ट मौका दिँदै जान्छे तर विजयले भने रेखाको विश्वास तोड्दै जान्छ। साँच्चै रेखा श्रीमानको व्यवहारले अत्यन्तै दुखी थिई।
धेरै समयपछि रेखाले ‘विजय’ भनेर बोली। विजय अलमलियो।
‘हँ?’
रेखाले भनी, ‘हामी ठिक छौँ नि?’
प्रश्न एउटा थियो, गहिरो थियो तर भार धेरै थियो। विजय केही बेर मौन बस्यो। उसले उत्तर खोज्यो तर के भन्ने? ठिक छौँ भन्न झुट लाग्यो। ठिक छैनौँ भन्न साहस चाहिन्थ्यो। अन्ततः उसले केवल यति भन्यो, ‘थाहा छैन...।’
त्यो थाहा छैन नै उनीहरूको सम्बन्धको अन्तिम वाक्य बन्यो। त्यो रात अँधेरी रातमा रेखा छोरी च्यापेर विजयको घरबाट सदाको लागि बिदा भएर निस्की। विजय भने रेखालाई रोक्ने कुनै आँट गर्नै सकेन।